झापा:  काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बि...

झापा:  झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो ।  मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ । यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन ।  गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।  विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।  बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उहाँहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रमस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् ।   अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताउनुभयो । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ ।  बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवद्र्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उहाँ बताउनुहुन्छ । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुईरतीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टेसुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरुलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।” महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्नुभएको हो । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताउनुभयो । गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको रु दुई हजार पाँच सय शुल्क लिने गरेको उहाँको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उहाँले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पदमार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ”, घर्ती मगरले भन्नुभयो, “बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।” गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका–७ बाट आउनुभएका मुकेश सुब्बाले बताउनुभयो ।  बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उहाँले सुनाउनुभयो । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उहाँको भनाइ छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सप्तरी:  मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमानजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।  प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।  सो क्रममा यादवको तिघ्रामा गोली लागेको थियो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।  चार दिनअगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो ।  प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो । 

पोखरा:  पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख आचार्यले वि।स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो ।  किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगर भित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्य सहित नगर ऊर्जा योजना निर्माण गरिएको उहाँले बताउनुभयो । दैनिक जीवनमा प्रयोग गरिने सामाग्रीहरूमा विद्युतीय उपकरणहरूको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।  पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययन सहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना (२०८१–८६) तयार गरिएको उहाँले बताउनुभयो ।  यसले महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “पोखरा महानगरपालिकाको घरेलु, व्यवसायीक र औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोगको अवस्था सहित ऊर्जा दक्षताको पहिचान, दक्ष र भर पर्दो ऊर्जामा नगरवासीहरूको पहुँच अभिवृद्धि, स्थानीय आर्थिक विकासमा टेवा र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा नगर ऊर्जा योजनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ, नगर प्रमुख आचार्यले भन्नुभयो, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमन सम्बन्धी योजना तथा नीति तर्जुमा सम्बन्धी अधिकारको उपयोग गर्दै नगर क्षेत्रको ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाको प्रथम नगर ऊर्जा योजना तयार गरिएको हो ।” उहाँका अनुसार ऊर्जा योजना कार्यान्वयनका लागि पाँच वर्षसम्म रु।१ अर्ब ३३ करोड ३० लाख ८२ हजार लाग्ने अनुमान गरिएको छ । महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवर्द्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधार लगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न नगर ऊर्जा योजना (२०८१–८६) ले नीतिगत व्यवस्था गरेको छ ।  कार्यक्रममा ऊर्जा विशेषज्ञ डा।नारायण प्रसाद चौलागाई, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका  कार्यकारी निर्देशक डा।नारायण प्रसाद अधिकारी, पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल  तिम्सिना, पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया लगायतले नगर ऊर्जा योजनाले समग्र महानगरको ऊर्जा व्यवस्थापनमा स्पष्ट नीतिगत मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ  पोखराको निर्माण गर्ने ध्येय राखेको छ । यसले घरायसी तहमा स्वच्छ र दक्षता सहित नवीकरणीय ऊर्जाको उत्पादन तथा उपयोगलाई प्रभावकारी बनाउने, व्यवसायमा परम्परागत तथा आयातित इन्धन न्यूनीकरण गर्दै ऊर्जा दक्षता सहित नवीकरणीय ऊर्जाको उपयोग बढाउने, उद्योगहरूबाट हुने हरित गृह ग्याँस  उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय  ऊर्जा उपयोग र दक्षता अभिवृद्धि गर्ने र वातावरण संरक्षण र आर्थिक समृद्धिका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता नीति  र शैक्षिक अभियानहरू मार्फत दिगो अभ्यासहरूमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।  साथै आवासीय क्षेत्रमा ऊर्जाको वितरणलाई नियमित, भरपर्दो र प्रभावकारी बनाउने, परम्परागत ऊर्जा उपयोगलाई न्यूनीकरण गर्दै नवीकरणीय र हरित ऊर्जाको विविधीकरण गर्ने, सन् २०२९ सम्म पोखरा महानगरका प्रत्येक घरमा विद्युतीय चुल्होको पहुँच सुनिश्चित गर्ने, व्यवसायीक क्षेत्रमा हरित अर्थतन्त्र विकासको लागि ऊर्जा दक्षता अभिवृद्धि गर्ने, परम्परागत र खनिज इन्धनको खपतलाई कम्तीमा २५ प्रतिशत ले कम गर्ने, औद्योगिक क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग विस्तार गर्ने, उद्योगहरूको ऊर्जा दक्षता प्रवर्द्धन गर्ने र अन्तर विषयगत क्षेत्रमा लक्षित समुदायमा ऊर्जा दक्षता  र पहुँच वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन र नगर ऊर्जा योजनाको सफल कार्यान्वयन लगायत यसका उद्देश्यहरू रहेका छन् ।  नगर ऊर्जा योजनाका लक्ष्य तथा उद्देश्यहरू हासिल गर्न ऊर्जा दक्षता प्रविधिहरू लागु गर्दै ऊर्जा वितरण पूर्वाधारको  स्तर वृद्धि गर्ने, नवीकरणीय ऊर्जामा सहुलियत तथा अनुदान प्रदान, खनिज इन्धन खपत र ऊर्जा दक्षताका लागि नवीनतम पहलहरू गर्ने, ऊर्जा दक्षता सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन र समावेशी ऊर्जा नीति र नियमहरूको निर्माण तथा कार्यान्वयन गर्ने रणनीतिहरू अवलम्बन गरिनेछ ।  जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ),  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल प्रा।ली र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले यो नगर ऊर्जा योजना तयार गरेको हो ।

काठमाडौं:   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न विभिन्न तीन वटा टोली परिचालन गर्ने भएको छ ।   उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन नसकेकाले मन्त्रालयले टोली परिचालन गर्ने निर्णय गरेको सङ्घीय मामिलामन्त्री भगवती न्यौपानेका स्वकीय सचिव नारायण बुढापृथीले जानकारी दिए ।  अतः मन्त्रालयले त्यस्ता स्थानीय तहमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै सभाबाट यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने वातावरण निर्माणका लागि पहल गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा बुधबारदेखि तीन वटा टोली परिचालन गर्ने निर्णय गरिएको हो ।  नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।  उल्लिखित अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेश गरी पारित गराउनु पर्ने व्यवस्था छ ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।  भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।   सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई बोल्न दिएका थिए ।  उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यति मात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।   त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । उनले आफूहरूले संसद् बैठक बहिष्कार गर्ने र बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने बताए ।  दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

काठमाडौं:  म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ मापन गरिएको हो। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको छ। तर भूकम्पको धक्का म्याग्दी तथा वरपरका जिल्लामा महसुस गरिएको जनाइएको छ।

काठमाडौं:   ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।  नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् ।  प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।  कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।