गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

चितवन:  अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो । फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट रु  ५५० बाट रु ४६० मा झरेको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा रु २५ बाट रु २० मा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा  कुखुरा  बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो । पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताउनुभयो ।  “अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेभएको छ”, उहाँले भन्नुभयो । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।

काठमाडौं: नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् ।  नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।  श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ ।  श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ । 

लमजुङ: विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन। करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाए। एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७औं मिनेटमा युवराजको गोलमार्फ एपीएफले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरे। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। नाल्मा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो। एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको थियो। खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। व्यक्तिगत विधातर्फ एपीएफले एकलौटी सफलता जमायो। सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए। यी दुईले समान ३ गोल गरे। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ ।  संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो ।  यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए । वन्तका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।  

काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थानहद फुकुवा गरिएको जानकारी दिनुभयो । “भदौ २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न असोज १२ गतेको बैठकबाट निर्णय गरिएको थियो”, आयोगको निर्णयमा भनिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ ।” आयोगको टोली बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेको थियो । आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाउनुभएको थियो ।  यसअघि, आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । प्रवक्ता शर्माका अनुसार चार सुरक्षा निकायका प्रमुखसँग, जिल्ला प्रशासन कार्यालयका प्रमुख लगायतका व्यक्तिसँग बयान लिने काम गरिसकेको छ ।  “बयान लिने काम लगभग सकियो, आयोगले तीव्ररुपमा काम गरिरहेको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “जेनजी आन्दोलनमा प्रत्यक्ष सरोकार भएका र अन्य सम्बन्धित व्यक्तिहरुसँग भेटेर विवरण लिने काम भएको छ ।” आयोगको कार्यादेशअनुसार तीन महिनाको अवधि सकिएपछि एक महिनाका लागि थप गरिएको छ ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।  आयोजित विश्व कप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।” राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पनि बताउनुभयो ।  नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त  गर्नुभयो । नेपालमा तीन दिन ट्रफी टुर  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा राष्ट्रपति कार्यलयबाट सुरु भएको ट्रफी टुरको थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । क्यानकाअनुसार ट्रफी मङ्गलबार पोखरा लगिने र मङ्गलबारनै काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी गरिनेछ । यस्तै बुधबार दिउँसो बौद्धनाथ स्तूप परिषरमा प्रदर्शनी गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिने छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै  नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ ।  समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र  एक छोरी सुस्मिता नेपालीलाई नेपाली नागरिकता प्रदान गरेको हो ।  गत मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतानामूलक अन्र्तक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष हालसम्म तीन सन्तानको जम्मदर्ता नपाएको कारण नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि समस्या भएको विषय उठान गरेकी थिईन् ।  स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कास्कीले जन्मदर्ता बनाउन सहजीकरण गरेपछि आइतबार उनीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।  निरुता नेपालीको पूर्व घर बताउने विक्रम राईसँगक सम्बन्ध कायम भई तीन सन्तानको जन्म भएपछि विक्रमले उनीहरुलाई छोडेर वेपत्ता भएपछि बावुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता पाउनबाट वञ्चित भएका थिए । 

काठमाडौं:  साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, सोमबार चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

म्याग्दी:   कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी – १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच छलफल भएको थियो ।  जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङले निर्माण कार्यको गुणस्तर सुनिश्तित गर्ने जिम्मेवारी बोध गर्दै हालसम्म भएका कामको अनुगमन गरी सुधार गर्नेपर्ने देखिए सुधार गर्ने र अब हुने निर्माणसमेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय भएको जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारीदिनुभयो ।  कार्यबाहक प्रमुख खत्रीको अध्यक्षतामा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनीयर हरि सुवेदीलगायत प्राविधिक, बेनी–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्कीलगायत जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँ, अनुगमन समिति र उपभोक्ताको उपस्थिति रहेको थियो ।  बिटुमिनले सडकमा विछ्याएको चिप्स नसमातेर भत्किन थालेको र खाल्डैखाल्डा बनेको विषयमा बेनी नगरपालिकाले यही पुस ४ गते भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रश्न उठ्नुका साथै पुस ९ गते जनप्रतिनिधि र स्थानीयवासीको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।  बेनी–२ का वडाध्यक्ष कार्कीले बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दूरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।  नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।  सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख सुवेदीले ठेक्का र मर्मत अवधिभर सडकलाई तोकिएको गुणस्तर तथा मापदण्ड अनुसारको बनाइने प्रतिबद्धता जनाउनुभयो ।  “चिसोका कारण जमेको बिटुमिन गर्मी र सवारी साधनको चाप बढेपछि पग्लिएर चिप्स र जमिनलाई समात्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो “गर्मीयाममा पनि चिप्स समात्न नसकेर भत्किने अवस्था भेटिएछ भने तोकिएको गुणस्तर अनुसारको बनाउन लगाएर मात्र हस्तान्तरण गर्न लगाउछौँ ।” निर्माण कम्पनीले भत्किएको ठाउँमा सुधार गर्न पत्राचार गरिसकेको सुवेदीले बताउनुभयो ।  निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाइँले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा विछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।