पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ । यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
पोखरा: कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो । कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि कक्षा ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो। यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो । उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो । सोही पत्र अनुसार मुख्यमन्त्री कार्यालयमा आजै साँझ मुख्यमन्त्रीसहित सरोकार मन्त्रीहरू सहभागी बैठक बसेको थियो । ‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ बैठकपछि मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ ।
म्याग्दी — अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जितेका छन् । चार हजार ९१ मिटर उचाइको अन्नपूूर्ण आधार शिविरदेखि अन्नपूूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुुर्जा विजयी भएका हुन् । अन्नपूूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । अन्नपूूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुुरस्कार प्रदान गरिने अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । अन्नपूूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो । सो स्कुलका क्याप्टेन खुट्टामा चोट लागेर घाईते भएपछि अन्तिम विकेट झर्नुअघि नै रिटायर्ड हर्टहुँदै बाहिरिएका थिए । त्रिवेणीका ऋतिक रोक्काले १५ बलमा १७ रन तथा प्रतीक कँडेलले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिवेणीलाई झिनो स्कोरमा समेट्ने क्रममा गौरव क्षेत्रीले २ ओभरमा ३ रन दिएर २ विकेट लिँदा दर्शन सुवेदीले १.४ ओभरमा ४ रन खर्चेर २ विकेट हत्याएका थिए । ४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । मदरल्याण्डका ग्रेस क्षेत्रीले १५ बलमा २० रन तथा दर्शन सुवेदीले ११ बलमा १६ रनको योगदान दिए । त्रिवेणीका रोमन भाटले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलर विकेट लिन असफल रहे । सो खेलमा मदरल्याण्डका गौरव क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो । यसअघि आईतबार भएको खेलमा प्रतिभा माविसँगपनि एक सय रनले पराजित कुमुदिनी सोमबारपनि उतिनै रनले जुनियर सिटिजन एकेडेमीसँग हारेपछि समूह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्ने होडबाट बाहिरिएको छ । सोमबारको खेलमा टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार ग¥यो । विशाल योगफल तयार गर्नका लागि जुनियर सिटिजन एकेडेमीका सौरभ शर्माले ४५ बलमा ६९ रन, साहिल कुमारले ४२ बलमा ५९ रन तथा अभिषेक विकले ११ बलमा २२ रनको योगदान दिए । १७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो । कुमुदिनी होम्सका लागि मोहम्मद अलीले १५ बलमा १४ रन तथा सिद्धार्थ रावतले ९ बलमा ११ रन बनाएपनि अन्यले दोहोरो रन जोड्न सकेनन । जुनियर सिटिजनका नविन श्रेष्ठले २.५ ओभरमा १७ रन खर्चेर ४ विकेट तथा दीपेन सुवेदीले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा जुनियर सिटिजन एकेडेमीका नवीन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यूलाईट सेकेण्डरीबिरुद्ध अमरसिंह मावि तथा दोश्रो खेलमा एसओएस हर्मन माईनर सेकेण्डरी स्कुलबिरुद्ध रत्नज्योति सेकेण्डरी स्कुल आमनेसामने हुने संघका अध्यक्ष पुनले जानकारी दिए ।
काठमाडौं: २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका–२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर राय रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्न सुनचाँदी व्यवसायी महासंघहरुले माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल सुनचाँदी व्यवसायी महासंघले सँयुक्त रुपमा अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा बोल्दै विलासिता करका साथै हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनाले बताए । उनका अनुसार महासंघहरुले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरिनुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने माग राखिएको छ । यो पनि पढ्नुहोस सुनचाँदी व्यवसायमा भएको कर वृद्धिप्रति महासंघको आपत्ति ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्रलयका राजस्व महाशाखा प्रमूख उत्तर खत्रीले व्यवसायीहरुको मागहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग सम्बोधन गर्न सक्दो पहल गर्ने आश्वासन दिए । सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष तथा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य र महानिर्देशक शिव दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फबाट अध्यक्ष किसान सुनारका साथै महासचिव निर बहादुर विक लगायतको सहभागिता रहेको थियो । यसअघि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी क्षेत्रका वृद्धि गरेको करकोविरुद्धमा तीनवटा महासंघहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
पोखरा: गत १५ गतदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र अनिश्चितकालिन बन्द गरेका छन् । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । त्यही आन्दोलनलाई आज (मंगलबार) पनि यथावत राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष तथा सँयुक्त संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले बताए । उनले उक्त आन्दोलन अनिश्चितकालिन भएको स्पष्ट पारे । ‘गण्डकीमा हाम्रो आन्दोलन जारी छ । यो कहिलेसम्म हुन्छ भन्न सकिन्न, उनले भने, ‘केन्द्रमा सहमति भएको भनिएपनि स्थगन भन्ने शब्द स्वीकार्य छैन । त्यसैले हाम्रो आन्दोलन निरन्तर छ ।’ सरकारले राइड सेयरिङ रातो प्लेट नभई कालो प्लेट नै प्रदान गर्ने व्यवस्था ल्याए वार्तामा आउन सकिने केसीले बताए । ‘हामीले त खारेजै भनेका छौ । यदी राइड सेयरिङलाई पनि रातो प्लेट नभई कालो प्लेट नै दिने भए हामी वार्तामा जान सक्छौ,’ उनले भने । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।