पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

धनुषा:  जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।   स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ  । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

पोखरा:   पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए ।  साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ ।   पाल्पा रिब्दीकोट गाउँपालिकास्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाचका लागि कलाकार टोली बाजागाजासहित यहाँ आउने छ । गत वर्ष पोखरामा उक्त नाच हेर्नेको ठूलो भीड लागेको थियो । भीमसेन गुठी भैरवस्थानले यसअघि पोखरासहित काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच प्रस्तुत गरिसकेको छ । पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।  कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका छन् । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ ।  उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए ।  ५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कला फरक छ ।  

पोखरा: चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ ।  साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने  । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन् ।  पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताए । ‘अहिल सर्वसाधारणको आम्दानी पनि कम भइरहेको अवस्थामा राहत महसुस होस् भनेर पनि यो योजना ल्याएका हौं,’ उनले भने, ‘यसले टे«ड मलमा रहेका व्यवसायलाई पनि केही मात्रामा भरथेग हुनेछ ।’  उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् । मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दसैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उनले दिए ।  स्थापनादेखि नै मलले हरेक वर्ष साउन २४ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र मलका उत्कृष्ट व्यवसायीलाई सम्मान जस्ता विभिन्न सामुदायिक कार्यक्रमको माध्यमबाट मनाउँदै आएको छ । ०६९ भदौ २४ गते विधिवत रूपमा दर्ता भएको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि ०७२ असोज २६ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो । प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरिरहेको बताए । ‘पोखराका विभिन्न स्थानमा पेसा व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित यो मल गण्डकी प्रदेशकै गहनाको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘मानवीय पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका बस्तु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’ मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् । विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । कोरियाली स्किन केयर अस्पतालले हालै मलमा सेवा सुरु गरिसकेको छ ।  मलले आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको व्यवसायी नवराज त्रिपाठीले बताए । उनका अनुसार मल व्यवस्थापनले ग्राहकको लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङको व्यवस्था गरेको छ । भवन भूकम्प प्रतिरोधात्मक छ र फायरफाइटिङ सिस्टम तथा स्मोक डिटेक्टरले सुसज्जित छ । ग्राहकको सुविधाको लागि बस्ने लबी, शौचालय, आवश्यकता अनुसार एस्कलेटर, लिफ्ट र ¥याम्पको व्यवस्था छ । मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमध्ये ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ । मलमा २ सय १० व्यावसायिक प्रतिष्ठानका ५ सय ३ सट छन् । नयाँ व्यवसाय सुरु गर्न इच्छुक उद्यमीको लागि मलमा हाल ६ सयदेखि १ हजार २ सय वर्गफिटसम्मको स्थान उपलब्ध रहेकोे छ ।

रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो ।  मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम  हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ । 

मकवानपुर:  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।    आफ्ना सदस्यहरुलाई बानियाँले कुख्यमन्त्रीमा विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ । बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् । बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् । 

काठमाडौं:  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं:   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनबाट लक्षिण गुरुङका अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।  क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन भए ।  यस्तै क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री चयन भए ।  नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकको विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने बताए ।  ‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अगाडि बढ्ने छौं, नवनिर्वाचित अध्यक्ष गुरुङले भने, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशृष ध्यान दिने गरी काम गछौं ।’

पोखरा:   पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको कारोवार भइरहेको सूचनामा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेशन एल्लो मेटल’ नाम दिएर गरिएको अनुसन्धानका क्रममा ६केजी ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेको बताए ।  ‘शुक्रबार हामीलाई पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको गहना विक्री वितरण भइरहेको सूचना आएको थियो, प्रमुख ओलियाले भने, ‘सूचनापछि कास्की प्रहरीले अप्रेशन एल्लो मेटल अनुसन्धान गर्दै जाँदा अवैध सुनसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएका छौ भने एक जना फरार छन् खोजी कार्य तिव्र पारेका छौं ।’ उनका अनुसार कास्की प्रहरीले शुक्रबारको सुनचाँदी मूल्य अनुसार करिव ११ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरेको हो ।  कास्की प्रहरीले ११ जनाको साथबाट (करिव ६केजी ४ सय ग्राम सुन )५ सय ४९ तोला ४० लाल सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी, ५ लाख १४हजा ६सय ६५ रुपैयाँ नगद बरामद गरेको छ ।  पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफुहरु पेशाले कालिगढ मात्र भनेपनि उनीहरु नै व्यवसाय र कालिगढ भएको प्रहरीको दावी छ ।   कसको साथबाट कति सुनचाँदी र नगद बरामद ?  पक्राउ पर्नेमा भारत घर भई पोखरा २ मोहरिया टोलमा विगत १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलव ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १लाख ६० हजार ५ सय नगद, मोहरिया टोलमा विगत २० वर्षदेखि कालिगढको काम गर्दै आएका मनिक लाल आदकको साथबाट १३ तोल १७ लाल सुन, १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढको काम गर्दै आएका सम्दिप ढापको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको हो ।  यस्तै मोहरिया टोलमा नै विगत १६ वर्षदेखि सुनचाँदीको डिजाइनको काम गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलव ७ लाल सुन, ९ तोला ५९ दशमलव ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा विगत २० वर्षदेखि सुनचाँदीको काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाल चाँदी, पोखरा–३ मा विगत २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा विगत २० वर्षदेखि बस्दै आएका असित वर ८६ तोला ८७ दशमलव १ लाल सुन र ३१ दशमलव ५ लाल चाँदीसहित पक्राउ परेका हुन् ।  यस्तै मोहरिया टोलमा विगत २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा विगत १२ वर्षदेखि कालिगढको काम गर्दै आएका उञ्जल भोमिक ५ तोला ४६ दशमलव ९ लाल सुन, मोहरिया टोलमा सुनचाँदीको काम गर्दै आएका सुनिता पावरको साथबाट २ तोला ५० लाल सुन, ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार नगद बरामद गरेको हो । यस्तै सन्जय ढाव भने फरार छन्  । प्रहरीले उनले काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ ।  पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ ।