काठमाडौं: नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपबमे ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालले साउदी अअरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताउनुभएको हो । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताउनुभएको छ । वर्षासँगै सुक्खाले सङ्कटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा प्रशन्न हुनुभएका प्रधानमान्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै “यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो । जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो”, भन्नुभएको छ । आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उहाँले बताउनुभएको छ । किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गर्नुभएको छ । “तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ । यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।
विराटनगर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो। आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् । आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्। क्रिकेट संघ अफ नेपाल (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। सरला राजवंशी आफ्नो जीवनकालमा सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएकी थिइन्। उनी श्रीमान्, दुई छोराछोरी र नातिनातिनीसहितको परिवारसँग थिइन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाले साउन २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको हो । सार्वजनिक बिदाको दिन अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् । गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
धनुषा: जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ । पाल्पा रिब्दीकोट गाउँपालिकास्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाचका लागि कलाकार टोली बाजागाजासहित यहाँ आउने छ । गत वर्ष पोखरामा उक्त नाच हेर्नेको ठूलो भीड लागेको थियो । भीमसेन गुठी भैरवस्थानले यसअघि पोखरासहित काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच प्रस्तुत गरिसकेको छ । पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका छन् । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए । ५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कला फरक छ ।
पोखरा: चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताए । ‘अहिल सर्वसाधारणको आम्दानी पनि कम भइरहेको अवस्थामा राहत महसुस होस् भनेर पनि यो योजना ल्याएका हौं,’ उनले भने, ‘यसले टे«ड मलमा रहेका व्यवसायलाई पनि केही मात्रामा भरथेग हुनेछ ।’ उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् । मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दसैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उनले दिए । स्थापनादेखि नै मलले हरेक वर्ष साउन २४ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र मलका उत्कृष्ट व्यवसायीलाई सम्मान जस्ता विभिन्न सामुदायिक कार्यक्रमको माध्यमबाट मनाउँदै आएको छ । ०६९ भदौ २४ गते विधिवत रूपमा दर्ता भएको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि ०७२ असोज २६ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो । प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरिरहेको बताए । ‘पोखराका विभिन्न स्थानमा पेसा व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित यो मल गण्डकी प्रदेशकै गहनाको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘मानवीय पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका बस्तु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’ मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् । विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । कोरियाली स्किन केयर अस्पतालले हालै मलमा सेवा सुरु गरिसकेको छ । मलले आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको व्यवसायी नवराज त्रिपाठीले बताए । उनका अनुसार मल व्यवस्थापनले ग्राहकको लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङको व्यवस्था गरेको छ । भवन भूकम्प प्रतिरोधात्मक छ र फायरफाइटिङ सिस्टम तथा स्मोक डिटेक्टरले सुसज्जित छ । ग्राहकको सुविधाको लागि बस्ने लबी, शौचालय, आवश्यकता अनुसार एस्कलेटर, लिफ्ट र ¥याम्पको व्यवस्था छ । मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमध्ये ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ । मलमा २ सय १० व्यावसायिक प्रतिष्ठानका ५ सय ३ सट छन् । नयाँ व्यवसाय सुरु गर्न इच्छुक उद्यमीको लागि मलमा हाल ६ सयदेखि १ हजार २ सय वर्गफिटसम्मको स्थान उपलब्ध रहेकोे छ ।
रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ ।