पोखरा: पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ । विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ । सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो । उहाँले धर्मको बारेमा बोल्नुहुदैँ कुनै व्यक्तिको काम र कर्तव्यबाट पनि प्राप्त हुने स्पष्ट पार्नु भयो । भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौं दान गरे पनि मनमा शान्ती र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो । उहाँले धर्म र संस्कृति भनेको राष्ट्रको मुल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततीलाई धर्मको बारेमा सिकाउनुभयो । गुरु चैतन्यले विदेश जाने छोराछोरीहरुलाई विदेश नजान आग्रह समेत गर्दै देशमै बसेर सेवा गर्न प्रेरित गर्नुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् गोरखा पत्र दैनिकका व्युरो प्रमुख रमेश पौडेललाई पत्रकारीता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रध्यायानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा। डा जग्गनाथ रेग्मी लगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोल्नु भएको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यहाँ हाल २६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । ७० जना विद्यार्थीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । जसका लागि गुरुकुल शिक्षाको संर्वद्धन र प्रर्वद्धनका लागि भन्दै अक्षयकोष खडा गरिएको छ । सो कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । संस्कृत विद्यालय भएपनि सो विद्यालयमा वेद कर्मकाण्ड लगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुदाँ सो विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको सो विद्यालयका प्रअ सिग्देलको भनाई छ ।
पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताउनुुभयो । कला र संस्कृतिको संरक्षण गर्न सकेमा त्यसबाट पर्यटकीय रुपमा धेरै फाइदा लिन सकिने अनुभव त्यहाँबाट हासिल भएको उहाँको भनाइ छ । कार्यक्रमकै क्रममा प्रवद्र्धन टोलीले स्थलगत रुपमा हानोईको ग्रामिण क्षेत्रमा रहेको सिल्कका कपडाको उद्योगहरूको अवलोकन समेत गरेको थियो । कार्यक्रमको इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्व अध्यक्ष विश्वराज पोखरेलले गर्नुुभएको थियो । भ्रमणका क्रममा तत्तत् स्थानका पर्यटन व्यवसायी एवम् सर्वसाधारणलाई पोखरा सहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिनुभयो । प्रवद्र्धन टोलीमा अध्यक्ष लम्साल सहित पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएको उहाँको भनाइ छ ।
पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा सञ्चालन हुनेछ । तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए । विद्यार्थी भर्ना दरमा कमी र कक्षा छाड्ने दरमा वृद्धि हुनुको पछाडि प्रभावकारी अध्ययन–अध्यापनको अभाव एक कारण हो, अध्यक्ष अधिकारीले भने, त्यसैले नेहेप प्रोजेक्ट अन्तर्गत जनप्रिय क्याम्पस जस्ता अग्रणी क्याम्पसहरूलाई तालिमको जिम्मेवारी दिइएको हो । उनले गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी रहेको तालिमले व्यवहारिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको बताउँदै अध्यक्ष अधिकारीले सहभागी प्राध्यापकहरूलाई दोस्रो चरणमा तालिम दिनका लागि योग्य बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए । यस वर्ष क्याम्पसले तीनवटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । तालिममा जनप्रिय, म्याग्दी, गलकोट, जनज्योति, मस्र्याङ्दी, द्रव्यशाह, आदिकवि भानुभक्त, कालिका, गुप्तेश्वर महादेव, कन्या, पोखरा बहुमुखी क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका छन् ।
मकवानपुर: नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२)अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् । बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
पोखरा: बेगनास तालमा मृत फेला परेको एक पुरुषको शवको सनाखत हुन सकेको छैन । बेगनास तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीले आज (सोमबार) सूचना जारी गर्दै शवको पहिचान हुन नसकेको जानकारी दिएको हो । अन्दाजी ५०/५५ वर्षीय देखिने एक पुरुष शुक्रबार बेगनास तालमा मृत फेला परेका थिए । तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु। १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए । जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु. १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको छ । त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु। ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् । “मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने । सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे । मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिनुभयो । आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो । २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोलाले बताए । उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् । यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यस सुविधामार्फत कुश्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।