काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । आइतबार दिउँसो देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नुभएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ । लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ । भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा यो तेस्रो सम्मेलन हुनलागेको हो । सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ । भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराउनुभएको छ ।
पोखरा: नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ। पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘कचहरी’ शृंखलामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। रामप्रसाद अर्यालले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार, सन् १९९७ मा तीर्थयात्राका लागि ४,०६८ विदेशी पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या ३५ गुणाले बढेर १ लाख ४१ हजार ३३ पुगेको थियो। डा। अर्यालले नेपालको आध्यात्मिक आकर्षण तीव्र गतिमा बढिरहेको बताउँदै यो केवल संयोग नभएर एक स्थापित प्रवृत्ति भएको उल्लेख गरे। डा। अर्यालले आफ्नो अध्ययनका क्रममा भेटिएका पर्यटकहरूको अनुभव उद्धृत गर्दै भने, ‘उनीहरू नेपालको भूमिमा एक विशेष आध्यात्मिक स्पन्दन र ऊर्जा महसुस गर्छन्, जुन अन्य भौतिकवादी देशहरूमा पाइँदैन।’ प्रतिवेदनमा पोर्चुगलका २३ वर्षीय कार्लोसले रेकी सिक्न पोखरा आएको, बेल्जियमका २८ वर्षीय दानले पूर्वीय दर्शनमा गहन सत्य पाएको र नेदरल्यान्डका ५४ वर्षीय रामदासले नेपाललाई ‘भगवानको भूमि’ को संज्ञा दिएको जस्ता अनुभव समेटिएका छन्। अध्ययनले योग, ध्यान, भजन र कीर्तन जस्ता अभ्यासले धर्मको परिधिभन्दा बाहिर रहेर पनि मानिसको मानसिक सन्तुलन र जीवन सन्तुष्टिमा उल्लेखनीय सुधार ल्याएको देखाएको छ। डा। अर्यालका अनुसार, उनको अध्ययन विश्व स्वास्थ्य संगठनले प्रस्ताव गरेको अवधारणात्मक ढाँचामा आधारित छ, जसले आध्यात्मिक अभ्यासको स्वास्थ्य र समग्र जीवनमा पर्ने असरलाई जोड दिन्छ। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाकी पूर्व सदस्य डा। पुष्पा केसीले आधुनिक जीवनको तनाव व्यवस्थापनका लागि आध्यात्मिक केन्द्रहरू महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन्, ‘हाम्रा आस्थाका केन्द्रहरूले अब स्वदेशी र विदेशी दुवैका लागि शान्तिको मलम लगाउनुपर्छ।’ जनप्रिय क्याम्पसका उपप्राध्यापक दीपेन्द्र पहारीले पूर्वीय दर्शनको शक्तिले नै विदेशीहरूलाई मानसिक सन्तुष्टि खोज्दै नेपालसम्म ल्याएको बताए। पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले करिब १२ प्रतिशत पर्यटक धार्मिक उद्देश्यले आउने गरेको तथ्यांक प्रस्तुत गर्दै भौतिकवादी विकासबाट आजित मानिसहरू पुनर्ताजगीका लागि यता आउने गरेको उल्लेख गरे। नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले पर्यटनको सबैभन्दा पुरानो विधा ‘तीर्थाटन’ भएको स्मरण गराउँदै भने, ‘हामी धार्मिक रूपले सम्पन्न भूगोलमा छौँ तर यसको सदुपयोगमा चुकिरहेका छौँ।’ यसैगरी, डा. रामजी शर्माले ‘वेलनेस टुरिजम’को बढ्दो महत्वबारे चर्चा गरे भने योगगुरु तीर्थप्रकाशले नेपालले शान्ति र आनन्दको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बताए। खगराज आचार्यले मनको शान्तिका लागि नेपाल आउने पर्यटकलाई उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। खुला छलफलमा घनश्याम पौडेल, लक्ष्मण शर्मा, खेमराज जोशी, शान्ता पन्त भट्ट, रामप्रसाद गौतम र गणेश शर्माले पनि आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रमको अन्त्यमा लेकसिटी कलेजका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले मानसिक र शारीरिक सन्तुष्टिका लागि आध्यात्मिक पर्यटन अपरिहार्य रहेको बताए। कलेजका संस्थापक उपेन्द्रप्रसाद पौडेलले अनुसन्धानमा लगानी अत्यन्तै कम भएको बताउँदै नेपालले आफ्ना पर्यटकीय उत्पादनलाई प्रभावकारी रूपमा बेच्न नसकेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए। सो अवसरमा कलेजका उपप्राध्यापक अनिश पौडेलले लेकसिटी कलेजमा मानविकी अन्तर्गत सामाजिक कार्य ९बिएसडब्लु० र व्यवस्थापन अन्तर्गत पत्रकारितासहितको बिबिएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। बिएसडब्लु चौथो वर्षमा अध्ययनरत सुयशा पुनले सञ्चालन गरेको कार्यक्रमको समापन तेस्रो वर्षकी विद्यार्थी प्रतिमा पौडेलले गरेकी थिइन्।
पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । पोखरा रंगशालामा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन् । उनले महिलाहरूको मैदानमै सक्रियता समाज रुपान्तरणको आधार बन्ने बताइन् । आमा सुमह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो, रिया गुरूङ तेस्रो, सूर्यकला थापा चौथो, राधिका थापा पाँचौ स्थान बनाउन सफल हुँदा । त्यस्तै छैटौ देखि १० औं स्थान सम्म क्रमश झगदेबी बुढा, मधु देवकोटा, सिता तामाङ, सरिता जिशी र विमला केसी बने । त्यस्तै छात्र ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७.३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७.४१ मिनेटको समय लिंदै दोस्रो तथा माछापुच्छ्रे माविका राजिव बास्तोलाले १८.३३ मिनेटको समय खर्चिदै तेस्रो स्थान प्राप्त गरे । दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेजका दिपेन्द्र नेपालीले पाचौ स्थान प्राप्त गरे । त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भइन । मेघराज माविकी उनले आफ्नो दौड २१.०२ मिनेटमा पुरा गरिन् भने दोस्रो भएकी गौरीशंकर मावीकी कविता मगरले २१.३८ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । त्यस्तै महेन्द्र माविकी सोनिया नेपालीले २१.५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गरिन् । दौडमा सरस्वती टिका स्कुलकी शाकिरा परियार चौथो र कोपिला चिल्ड्रेनकी आशा केसी पाँचौ स्थान प्राप्त गर्न सफल रहे । बिजेता सबैलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
पोखरा: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् । फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु प्रशंसायोग्य रहेको बताइन् । ‘रिसाइक्लिङ र अपसाइक्लिङले फोहोर मात्रै व्यवस्थपन हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ भन्ने उदाहरण फेस्टिभलमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालका अन्य सहरका लागि पनि यो परियोजना उदाहरणीय बन्न सक्छ ।’ उनले फेस्टमा स्टल राखेका आरयू उद्यमीलाई हौसला समेत प्रदान गरिन् । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तरगत आरयू फेस्ट शुक्रबार सुरु भएको थियो । फेस्टको दोस्रो तथा अन्तिम दिन शनिबार उत्पादक स्वयंमलाई फोहोर व्यवस्थापन प्रति उत्तरदायी बनाउन संवादको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र व्यवसायीसँग अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा संवाद चलाए । शनिबार नै कम गुणस्तरका प्लास्टिकको पुनर्प्रयोग गरी घरायसी सामान बनाउने प्रविधि, काठको विकल्पमा रिसाइकल गरिएको प्लास्टिक प्रयोगको प्रविधि, पुराना प्लास्टिकबाट कालोपत्र गर्ने प्रविधिका बारेमा विज्ञले आफ्नो प्रस्तुति राखेका थिए । रिसाइकल र अपसाइकल उद्योगको दिगोपनाका बारेमा फेस्टमा सहभागीले बुझ्ने मौका पाए । फोहोरबाट बनाइएका कपडाको पनि फेस्टमा प्रदर्शन गरिएको थियो । शनिबार सकिएको फेस्टमा दुई दिनसम्म झण्डै ५ हजारजनाले अवलोकन गरेका छन् । फेस्टको शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ् र युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले उद्घाटन गरेका थिए । फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधि माथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपाय लगायत विषयमाथि चर्चा भएको थियो । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख आचार्यले भने । फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
पोखराः पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको बृत्तिविकासका लागि पोखरा महानगरपालिकाका वडा नं ८ र ७ ले सहयोग गर्ने भएको छ । विगत देखिनै श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक निर्माणमा साथ र सहयोग गर्दै आइरहेको ७ र ८ नम्बर वडाले आगामी दिनमा पनि मन्दिरको भौतिक निर्माणका लागि सहयोग गर्ने भएको हो । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको १९ औं दिन शनिवार सहभागी भएका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक बिकासका लागि साथ र सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका हुन । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले आफु विगत ७ वर्षदेखि जनप्रतिनिधीको रुपमा वडाको प्रमुख भएर आएदेखि हाल सम्म श्रीकृष्ण प्रणामी मन्दिरका लागि १८ लाख रुपैयाँ निकासा गरिसकेको बताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष बरालले आफुले वडा भित्रका मन्दिरहरुलाई सहयोग गर्दै आइरहेको र श्रीकृष्ण प्रणामी मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिती रहने भएकाले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी असोजमा आयोजना गर्ने कार्यक्रमका लागि समेत आफ्नो वडाको तर्फबाट सहयोग गर्ने समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिर वडा नं ८ मा स्थापित रहेको भएतापनि वडा नं ७ र ८ को महत्वपूर्ण धार्मिक स्थल रहेको बताए । मन्दिरलाई आफ्नो वडाबाट सहयोगलाई निरन्तरता दिदै यो पटक समेत मन्दिरको रंग रोकनको लागि एक लाख प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । श्रीमदवीतकको १९ औं दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको छ । श्रीमदवीतकमा भारतको सिलगुडीबाट समेत सहभागीता जनाएका छन । शनिवार सिलगुडीबाट आएका हंशदास महाराजले श्रीमदवीतकको बारेमा भक्तजनहरुलाई जानकारी दिएका थिए । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका संस्थापक कला माताले रत्नचोकमा ३४ वर्ष अगाडी श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताइन । आफुले सुुख दुख गरेर रत्नचोक संगै पोखराको विभिन्न तीन ठाँउमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा जुनसुकै धर्ममा आस्था राख्नेहरुले पुजाआजा गर्न पाउने समेत बताइन । सो अवसरमा श्रीकृष्ण प्रणामी मन्दिरको तर्फबाट कला मातालाई सम्मान समेत गरिएको थियो । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले ३४ वर्ष पहिले स्थापना भएको श्रीकृष्ण प्रणामी मन्दिरमा आजको दिन सम्म श्रीकृष्णवीतक चर्चालाई निरन्तरता दिइएको बताए । स्थानिय तह र प्रदेश सरकारको सहयोग प्राप्त भएकाले मन्दिरलाई अझै ब्यवस्थित गर्दै भौतिक संरचना निर्माणमा जोड दिने ढकालको भनाइ रहेको थियो । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिर स्थानिय सरकार र प्रदेश सरकारको साथ र सहयोग जारी रहे पोखराकै उत्कृष्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण हुने बताए । आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुने श्रीमदवीतक तथा श्रीकृष्ण कथा प्रवचनमा प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका करिब १८० जना आश्रितहरूलाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो । उक्त कार्यक्रम अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको थियो । उक्त दिन दिउँसो सस्थाका सदस्यहरुलाई नविनतम प्रविधीको जानकारी गराउने उद्देश्यका साथ व्यवसायिक अभ्यासमा कृतिम बौद्धिकता (ब्चतषष्अष्ब िक्ष्लतभष्निभलअभ–ब्क्ष्)का अबसर तथा चुनौती विषयक प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू केशबहादुर के.सी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धुु पोखरेललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला सचिव अर्थ विज्ञ टंक पाण्डेले रजिष्टर्ड अडिटर्सहरूले प्रमाणपत्र मात्र लिएर नभइ पेशा व्यवसायमा आवश्यकता अनुसार व्यावसायिक ज्ञान र शिप हासील गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एशेसियशन २०६३ श्रावण २० मा स्थापना भएको बताउँदै संस्था स्थापनाको उद्देश्य, सदस्यहरूको पेशागत हक हितका पक्षमा सस्थाले गरेका कामहरू बारे जानकारी गराउनुभयो । लेखापरिक्षण व्यवसायमा आएका नविनतम मापदण्हरूको प्रयोग एवम् व्यवसाय माथि गैर व्यवसाही विचौलियाहरूको आक्रमण नियन्त्रण गर्न चुनैती भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण लेखा व्यवसायीहरूले अनुशासित भै व्यवसाय गर्नुपर्नेमा जोड दिनुुभयो । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरिक्षकहरुले प्रचलित ऐन कानुन मापदण्ड समेतलाइ अध्यन गरी वित्तीय विवरणहरू पेश गर्न सुझाव दिनु भयो । अडान कास्कीका अध्यक्ष गुणनिधी पाण्डेको अध्यक्षता एवम् सदस्य कृष्णराज ढुङ्गनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा काठमाडौं युनिर्भसिटी एआइ विज्ञ मनोज शाक्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष दिनेश बास्तोला , लेखनाथ उद्योग वाणिज्य संघ, आइक्यान पोखरा, क्यान महासंघ कास्की, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष एवम् पदाधिकारी, अडान केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, अग्रज अडिटर्स लगायत ८० जना सहभागी हुनुहुन्थ्यो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे । उनका अनुसार प्रदेश सरकार अहिले उद्योगमैत्री नीतिगत संरचना निर्माण, व्यवसाय दर्ता प्रणाली सरलीकरण, सीप विकास तालिम र युवा उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित छ । “उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए । तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०५ अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले उद्योग–लगानी सम्मेलन गर्ने तयारी गरिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापनामा प्रोत्साहित गर्ने वातावरण निर्माण तर्फ लागिरहेको धारणा राखे । शासन व्यवस्थामा सुधार ल्याउन शिक्षा परामर्श संस्थाहरुको दर्ता–नवीकरण अब पोखराबाटै हुने व्यवस्था मिलाइएको र कम्पनी रजिस्टारको युनिट समेत प्रदेशमा नै स्थापना गर्न लबिङ गरिरहेको उनले जानकारी गराए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे । २७ औं साधारण सभा तथा १४औं अधिवेशनले एशोसियसनलाई अझ सुदृढ बनाउने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग गर्नेमा उनी विश्वस्त छन् ।
बागलुङ: बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिएकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ छ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्यले बताए । उनले भने, ‘अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरिएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जानेछौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।’ धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाखालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले बताए । सबैभन्दा बढी कोलिफर्म भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिका मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्माले बताए ।