उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ। उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए ।
काठमाडौं: साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उहाँले भन्नुभयो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।
हेटौंडा: बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले बिहीबारका लागि तय भएको शपथ ग्रहण कार्यक्रम हाललाई स्थगित भएको उल्लेख गरिएको छ । यसअघि बुधबार बिहान ९ बजेका लागि शपथको कार्यक्रम राखिएकोमा सहयात्री दल एमालेले कांग्रेसको आन्तरिक विवाद कायमै रहेको र संसदीय दलको नेतामा समेत फेरबदल आएकाले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।
बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ । काठमाडौँबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरूले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो । भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसद्मा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसद्मा पेस भएका विधेयकहरू अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरूले बताउनु भएको छ । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने २२ औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो । अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रम मै उल्लेख गरेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । स्पोटर््स अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उहाँले जोड दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उहाँले बताउनुभयो । कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।
मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।” उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।
पोखरा: पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ ।”, उनले भनिन् । उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । “सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनेछ”, उनले भनिन् । उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् । कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे । अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे । उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । “यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ”, उनले भने। बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ । आफ्ना बुवा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुुवरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए । बगैँचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलर देखि ३ सय ५० डलर सम्मको रुमको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू ९स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट० छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ । रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्म बाट ल्याइनेछ । बगैँचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ । रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ । स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैँचाको विशिष्टता भएको संचालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । यो पुरस्कार फोनिजको २६ औं स्थापना दिवसका अवसरमा साउन २७ गते प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरिसकेका छन् । उनी नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । सम्मानित हुन लागेका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनले दरौदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गरेका थिए । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम (काठमाडौं), रेडियो पालुङ (मकवानपुर), रेडियो मुक्तिनाथ (पाल्पा), रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरिसकेका छन् । अहिले उनी गोरखा समाचार डटकममा आवद्घ छन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई फोनिज गण्डकीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि.स २०७७ सालमा स्थापित यो पुरस्कारबाट यसभन्दा अगाडि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन् । साथै, स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले तीन दिवसीय कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । जसअनुसार साउन २५ गते फोनिज संवाद, २६ गते पत्रकारहरुबीच मैत्रीपूर्ण खेलकुद र २७ मूल समारोह आयोजना गरिने अध्यक्ष गुरुङले बताइन् ।