गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्वजनिक गरिएको हो । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाएर पनि हाल स्थलगत रुपमा सञ्चालनमा नरहेको पाइएको सार्वजनिक सूचनामा उल्लेख छ । स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागको सम्पर्क महानगरले निर्देशन दिएको छ । महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ । त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठियारलाई सम्पर्कमा आउन भनेको हो । तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ । पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।  

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागिता हुने भएको छ ।  टाइगर ग्रुप अफ पोखरा, नेपालले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने जानकारी दिएको हो ।  टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिदै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ७÷७ टिमको सहभागिता हुने बताए ।  ‘छैटौं टाइगर कप भलिबलको तयारीलाई हामीले तिव्र बनाएका छौं, माघ ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने पक्का भएको छ, अध्यक्ष शर्माले भने, ‘प्रतियोगितामा महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स र पुरुषतर्फ माल्दिभ्स र भारतीय टिमको सहभागिता हुँदै छ ।’ उनका अनुसार पुरुषतर्फ तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ पोखरा, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोशियनसन र गुजरात क्लब भारतको सहभागिता हुनेछ । गत संस्करणको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको थियो ।  यस्तै महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स, तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र बुटवलको एभरेष्ट क्लबको सहमभागिता हुनेछ । गतवर्ष महिलातर्फको विजेता टाइगर ग्रप पोखरा नेपालले प्रतियोगितामा आफ्नो टिम नखेल्ने जनाएको छ । गत संस्करणमा नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।  प्रतियोगिताको दुवैतर्फको विजेताले समान ६ लाख ६६ हजार ६सय ६६ र उपविजेततातर्फ समान  ३ लाख ६६ हजार ६सय ६६, तेस्रो हुने समूहले समान १ लाख, ६६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै प्रतियोगिताको महिला तथा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडीले समान २६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ विजेता खेलाडीहरुलाई समान ११ हजार ६सय ६६ र मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्र्तराष्ट्रिय भलिबल रेफ्रीहरुको समेत सहभागिता हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।  टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवम् समाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । प्रतियोगिता अवलोकनका लागि जेष्ठ नागरिक तथा फरक क्षमता भएका दर्शकहरुलाई निशुल्क प्रवेश गरेको छ भने, सिजनल टिकटको लागि ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।  यस्तै पत्रकार सम्मेलनको अवसरमा टाइगर ग्रप अफ पोखरा नेपालले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरुङ, नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक र टाइगर कप भलिबलका सहयोगी कोरिया निवासी खोम गुरुङलाई सम्मान गरेको थियो । 

मुस्ताङ:  माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ ।  माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेँसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् । हिउँदयामको मौसममा बेसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुस्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्‍याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पुर्‍याउन सक्ने जोखिम छ । माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको सहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् । लोमान्थाङ– ३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको बताए । माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचौँरी र भेडाच्याङ्ग्रा पालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियौँदेखि निरन्तर चल्दै आइरहेको छ । माथिल्लो मुस्ताङमा याक(चौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई  लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ– २ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ । खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा  योगदान पुर्‍याएको छ ।

पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।      हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार  एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुभयो ।       आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने जानकारी दिनुभयो । उक्त अवसरमा बार टेण्डरिङ फेलरिङ सो समेत हुनेछ ।      फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बुु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।      कार्यक्रममा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत विभिन्न प्रस्तुती रहने जनाइएको छ ।      कार्यक्रममा सशुल्क सहभागि हुने व्यवस्था मिलाइएको र यसका लागि सशुल्क अनलाइन टिकेटिङ पाटनरका रुपमा रेभेलसँग सहकार्य गरिएको जानकारी दिदै उहाँले आयोजक टिमका सदस्यबाट समेत टिकट वितरण गरिने बताउनुुभयो ।       “कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति कृयाशिल बन्नुुका साथै क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्कीको निरन्तरको सरसल्लाहमा हामी निरन्तर लागिरहेका छौंं”, उहाँले भन्नुुभयो, “कार्यक्रमको सफलताका लागि विभिन्न प्रायोजक, सहप्रायोजक एवम् सहयोगीको साथ सहयोग रहेको छ ।”      कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ ।   

पोखरा:   पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।  पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए । यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक छलफल गरिएको उनको भनाइ छ ।  अघिल्ला संस्करणहरूमा जन्ममितिका कारण बढी मात्रामा विवाद आउने गरेकोले यसपालि विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’को आधारमा कडाइ गरिएको उनले खुलाए ।  पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पोखरा महानगरपालिकामा रहेका झण्डै २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने उल्लेख गरे ।   ७० प्रतिशत भन्दा बढी विद्यालय सहभागी बन्ने निश्चित भएको भन्दै अर्को वर्ष सत प्रतिशत पुर्‍याउने लक्ष्यका साथ कार्य गर्ने समेत प्रतिवद्धता जनाए । पोखरा महानगरपालिकाको भूगोलको कारण समेत सबै विद्यालय सहभागी हुन समस्या भएको उनले औँल्याए ।  पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए ।  जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ ।   एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिष्पर्धा गर्नेछन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिष्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् ।  उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिष्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए ।  एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न  पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ । भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वीतियले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वीतियले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वीतियले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए ।  यसैगरी मार्चपासमा प्रथम टिमले २० हजार, द्वीतियले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए ।  प्रतियोगिताको उद्‌घाटन पोखरा रङ्गशालामा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन् । उद्घाटन समारोहमा मार्च पास, साँस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोस्ट्रेसन समेत हुनेछ ।  प्रतियोगितालाई भव्य बनाउन अध्यक्ष दीपक बहादुर गोदारको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति र १० वटा विभिन्न उपसमिति निर्माण गरिएको आयोजकको भनाइ छ ।

पोखरा:   लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ । सुन्तलाबाट महोत्सवसम्मको यात्रा सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ। महोत्सवले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन गरिरहेको छ । महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन्। उनका अनुसार महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याएको छ । कृषि बहस ः अनुभव, चुनौती र नीति सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न कृषि क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव र सफलताका कथा प्रस्तुत गरेका थिए । माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालन सुरु गर्दा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे चर्चा गरे ।  अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे अनुभव सुनाए । त्यसैगरी, पोल्ट्री व्यवसायी बाबुराम गिर ले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे धारणा राखे । कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न कृषक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्कृति र साहित्यसँग जोडिएको महोत्सव कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्र पनि बनेको छ । सोमबारका लागि तय गरिएका रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिबाट २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई एक हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल लाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ । दर्शक र आर्थिक कारोबारमा वृद्धि भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए । महोत्सवका आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ । समृद्धिको आधार बन्दै लेखनाथ महोत्सव स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवद्र्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ। अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।  

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उहाँले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो ।  एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो ।  जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत गरेको छ ।   सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो ।  प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणका प्रतिभाले समग्रमा ३१ अंक प्राप्त गरेको थियो ।  यसै गरी सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको छ ।  छात्र बास्केटबलमा मष्ट भेलुयलबल प्लेयर प्रतिभाका अलन शेरपुजा बने भने हाइऐष्ट स्कोरर मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट भेलुयबल प्लेयर तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइऐष्ट स्कोरर घोषित भए ।  यता छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले फाइनलमा प्रतिभालाई २५–२३, २५–२० ले पराजित गरी टिम च्याम्पियन हुदा तेस्रो स्थान न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भयो ।  न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो । छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।  १८औं हिसान स्पोर्ट्स मिट अन्तर्गतका फाइनल खेलसँगै पुरस्कार वितरण कार्यक्रम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको थियो ।  समापन कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बास्केटबल खेलको शुभारम्भ गर्दै शिक्षासँगै खेलकुदको अपरिहार्यतामा जोड दिएका थिए ।  बिजेता टिम तथा खेलाडीहरुलाई हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त र डा.स्वागत श्रेष्ठ, केन्द्रिय सदस्य सूर्य बहादुर जिशी, हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्मा, हिसान कास्कीका उपाध्यक्षद्वय ढाकाराक कंडेल र पुरन कुंवर लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  लगातार ५ दिन सम्म सञ्चालन भएको १८ औं संस्करणको हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्न्यवविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका थिए ।  जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धाहरु सञ्चालन भएका थिए ।   निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।  हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको सचिब किरण सापकोटाले जानकारी दिए ।   

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् ।  फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल रहेको उनीहरुले बताए । नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताउनुभयो ।  सरकारलाई बाहिरि हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताउनुभयो । सरकारले तोकेको अवधिभित्र निर्वाचन सम्भव नहुने उहाँले बताउनुभयो । सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिने हुनुपर्ने बताउनुभयो ।  नागरिक अगुवा माधवप्रसाद पौडेलले निर्धारित अवधिभित्रै विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरेको खण्डमा पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने दुविधा रहेको बताउनुभयो । मतदान केन्द्र राजदुतावासमा राख्ने वा त्यस भन्दा बाहिर राख्ने भन्ने प्रश्न रहेको बताउनुभयो । अन्तर प्रदेश मतदानका लागि सुरक्षा चुनौति रहेको बताउनुभयो ।  एक सय ६५ स्थानमै निर्धारित अवधिभित्र निर्वाचन सम्भव नरहेको उहाँको भनाइ छ । पूर्वमन्त्रीसमेत रहीसक्नुभएको पौडेलले अन्तरिम सरकारले गरेको निर्वाचन सर्वस्वीकार्य हुन नसके त्यसको परिणाम राम्रो नहुने बताउनुभयो । सम्भव नभएका कामहरु अघि सार्नेकुराले स्टन्टबाजी मात्रै हुने र समयमै निर्वाचन गर्नतिर सरकार लागेको छ भन्नेकुरामा नै प्रश्न उठ्ने बताउनुभयो ।  नागरिक अगुवा कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताउनुभयो । २१ फागुनमा निर्वाचन नहुँदा मुलुक अनिश्चियतर्फ जाने बताउनु भयो । आगामी फागुन २१ गतेलाई अर्जुनदृष्टिका साथ हेर्नुपर्ने बताउनु भयो ।  संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउने २१ गतेको निर्वाचन नै भएको बताउनुभयो । उहाँले नहुने सम्भावनाहरु टारेर भएपनि समयमै निर्वाचन गराउनुपर्ने जरुरी रहेको बताउनुभयो ।  नागरिक अगुवा राधेश्याम अधिकारीले निर्वाचनको प्रक्रिया शुरु गरिसकेपछि कानूनहरु परिवर्तन गर्न नहुने बताउनुभयो । यसलाई खेलाँची गरे ठिक ठाउँमा नपुर्‍याउने बताउनुभयो । विदेशमा बस्ने नेपालीहरुको मतदानको कुरा संवेदनशील रहेको बताउनुभयो ।  फागुन २१ गते निर्वाचन कुनै हालतमा हुनसक्ने अवस्था नरहेको बताउनुभयो । निर्वाचन प्रक्रिया शुरु भइसकेकाले खेलको नियम नबिगारी अघि बढ्न सुझाव दिनुभयो । उहाँले कानून संशोधन गरेर अध्यादेश ल्याउने बेला नभएको पनि बताउनुभयो ।  शिर्ष नेतृत्वलाई स्थानहद तोकेर निर्वाचन गर्न सम्भव नरहेकाले नेताहरुको स्थानहद हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित अन्य नागरिक अगुवाहरुले नेपालमा विदेशमा रहेका ४० लाख मानिसहरुलाई मतदानबाट वञ्चित गर्न नहुने सुझाव दिएका छन् ।