पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

चितवन:  चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिनुभयो ।

धनगढी: महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ । गोदावरी नगरपालीका-१ चैतनेपुरस्थित सडकमै बेवारिसे अवस्थामा एकजना आमाले बच्चा पाउँदै गरेको बेला सहयोग र उद्धार गरेकी देउवालालाई सम्मान गरिएको हो । गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी ती २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरेर शिशुको पनि ज्यान बचाएएपछि देउवालाई सम्मान गरिएको हो । बाध्यात्मक अवस्थामा सडकै बच्चा पाइरहेकी आमालाई सहयोग गरेर देउवाले प्रशंसा पाएकी छन् । अहिले आमा र बच्चा पद्मा अस्पताल अत्तरियामा छन् । ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी हतार हतार गयौँ, कसैले छुन मानेनन् । मैले उनको पीडा सहन नसकेर बर्दीमै रहेको बेला पनि सघाएकी हुँ ।’ त्यसपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको उनले बताइन् । ‘तर उहाँहरू आउन समय लाग्ने भयो । स्वास्थ्यकर्मी आउँदासम्म आमाले बाटोमा बच्चा जन्माइन्’, उनले भनिन्, ‘ती महिलाको पीडा देखेर सुडेनीको काम आफैँले अघि सरेर गरेँ ।’ चन्द्रिका इलाका प्रहरी कार्यलय मालाखेतीअन्तर्गत अस्थायी प्रहरी पोष्ट खैराना प्रहरी बिटमा कार्यरत छिन् । ती सुत्केरी आमाको मानसिक स्वास्थ्यमा समस्या हुँदा बेवारिस अवस्थामा रहेको खुलेको छ । बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो । सुत्केरी भएको ठाउँमा पुगेको पद्मा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोली पुगेको थियो । महिलाको साल अड्किएर अवस्था जटिल भएपछि अस्पताल लगेर उपचार गरिएको छ।

रुकुमपूर्व:  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् ।  प्रचण्ड नेतृत्वको जनतासँग माओवादी(मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अहिले रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ ।   प्रचण्डले घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनः स्थापनाको माग गरेका थिए । त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए ।  सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको, र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुन मै व्यवस्था गरिएको जानकारी दिए । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन दुई वटा समिति गठन भइसकेको जानकारी दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोही अनुसार ती समितिले काम गर्ने उनले बताए ।  सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरिब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए । उनले आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रस्ट पारे । पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । साथै, बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए । पार्टीले आत्मसमिक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरू सँग भेट्दै पिर मर्का बुझ्दै र सके सम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ ।  न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबार सुनुुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।  सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डा। सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न नसकेको जानकारी दिनुभयो ।   सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रूपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदन बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार हेर्न नमिल्ने सूचीमा परेको थियो ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।   बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए ।  मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे । पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मङ्गलवार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

चितवन: चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो । प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।    भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । 

काठमाडौं:  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । महाशाखाले आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

काठमाडौं:  राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ। निर्माण कार्यका लागि सडक बन्द गर्न लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए। “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने। नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के–सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं:  चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।  घरजग्गाको कारोबारमा सामान्य सुधार आएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चैतको तुुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले तथ्याङ्क छ । विभागका अनुसार चालुु आवको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड दुई लाख, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।  विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख, पुसमा चार अर्ब २५ करोड, माघमा तीन अर्ब ८७ करोड, फागुनमा चार अर्ब १२ करोड र चैतमा चार अर्ब ३९ करोड ४६ लाख रुपियाँको घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ । सबैभन्दा बढी राजस्व वैशाखमा चार अर्ब ५४ करोड २२ लाख र सबैभन्दा कम कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।  विभागका अनुसार वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । गत चैतमा ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल लाख ४४ हजार ६० र चैतमा एक लाख ४७ हजार ४१६ वटा कारोबार भएको विभागको तथ्याङ्क छ  ।  घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायतका शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने विभागले जनाएको छ ।