पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २७ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, घोडा दौड प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ८५ हजार र उपविजेतालाई नगद ५० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । टिम दर्ता गर्न शुल्क नगद रु ६ हजार रुपैयाँ तोकिएको छ । यसैगरी घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ५० हजार र उपविजेताले २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क नगद रु २ हजार ५ सय रुपैयाँ तोकिएको छ । उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले विजेताले ३० हजार उपविजेताले २० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता गर्न शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् । मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।
चितवन: चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उनले बताए । जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उनले बताए । विदेशमा बसेका नेपालीहरूले नेपालमा लगानी गर्न सहजताका लागि गैरआवासीय नागरिकता लिने गरेको उनले जानकारी दिए । जिल्लामा दुई जनाको नागरिकता रद्द गरिएको उनले बताए । दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो । साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन् ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यात्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिनेछ । सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ । विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न नपाइने र कुनै पनि अनुमति नदिइने प्रस्तावित आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारीसाधन प्रयोग गर्न सक्नेछन् । सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन बर्जित गरिएको छ । अनुमति प्राप्त गरेको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पाउने छैनन् । प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन् । हिँड्डुल गर्न नस्क्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपले असक्तता वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा भने सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ । राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँच वटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले एकजुट गराएको छ । गत बिहीबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकालाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो । बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृङ्खला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ । यसबाट स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ । साथै यस क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ । भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्ययोजना बनाउनेबारे तीनदिने गोष्ठी तथा तालिम सञ्चालन भएको अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले बताइन् । तालिममा पाँचैवटा गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखले सहभागिता जनाएको उनले जानकारी दिइन् । तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतमलगायत सहभागी थिए ।
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका यादवको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । सप्तरीको राजविराज नगरपालिका– ९ घर भएका यादव अस्पताल गेट तर्फको भवनको पाँचौ तलाबाट खसेका हुन् । उनी कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । मोरङ प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०र५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०/५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।” अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उहाँको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१।६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार माधब बियोगी, कार्यक्रमका सभापति एवम् गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गर्नुुभएको हो । कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’का विविध पक्षबारे चर्चा गर्नुुभएको थियो । नारी बाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गिताञ्जली साहित्य परिवार पोखरा पूर्व अध्यक्ष शिवप्रसाद गौतमले गर्नुुभएको थियो भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गनर्नुभएको थियो । कार्यक्रममा अग्रज साहित्यकार छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतका साहित्यकारहरूले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो । दर्जनौ कृतिहरूबजारमा ल्याइसक्नुुभएकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाबाट सम्मानित बनिसक्ननुुभएको छ । समाजका विविधता र वास्तविकता उहाँका कृतिमा जीवन्त चित्रण गरिएको पाइन्छ । प्रत्येक महिनाको पहिलो शनिबार गिताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र कोषाध्यक्षमा अग्नी ढकाल चयन हुनुुभएको छ । समाजका सदस्यमा सञ्जय ढकाल, पुष्पा ढकाल, कृष्णराज ढकाल, शुक्रराज ढकाल, कपिल ढकाल, नारायण ढकाल रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि ढकाल समाज प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, विशिष्ट अतिथि ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य फडिन्द्रराज ढकाल लगायत तनहुँ जिल्ला निवासी ढकाल बन्धुहरूको उपस्थितिमा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि ढकालले प्रतिष्ठानको आजिवन सदस्य र विशिष्ट सदस्यबाट उठेको रकम संकलनबाट देवघाट तनहुँमा जग्गा खरिद गरी कुल मन्दिर, शिव मन्दिर लगायत नेपाल ढकाल प्रतिष्ठान आश्रम निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको बताउनुभयो । यसमा सबैको साथ र सहयोग आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

