पोखरा: त्रिभुवन आर्मी फुटबल क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए। आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको विजेता थ्री स्टार क्लबको सामना गर्नेछ। पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल गरेका थिए। प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो । फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए। नेपाल पुलिस क्लबलाई क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए। प्रतियोगिताको फाइनल शनिबार हुनेछ। जावलाखेल युथ क्लबलाई बुधबार १-० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो। सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
पोखरा: बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । आगामी आइतबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर समुहमा प्रतियोगिता हुनेछन् । ‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उदेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो’ उनले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं’ उनले भने । उनले तीन विधामा आयोजना हुने प्रतियोगितामा ५० वर्ष माथिको भेट्रानमा कैलालीको टिमबाट गण्डकीका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ेले सहभागिता जनाउनेछन् । सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक हुन् । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि रहेको छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ । विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ । आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।
पोखरा: पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो । दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो । यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो । यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो । जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।
पोखरा: पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रीस्टारक्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई गोलमा परिणत गरेका हुन् । थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा! राराको उपाधि जितेको छ । थ्रीस्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । भोलि अन्तिम सेमिफाइनल अन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।
पोखरा: पोखरामा जारी २३औं आहा! रारा पोखरा गोल्डकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदै छ । पहिलो सेमिफाइनल खेलमा आज थ्रीस्टार र जावलाखेल युथ क्लब खेल्दै छन् । उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । खेलको विजेता टोली फाइनलमा पुग्नेछ । आहा! रारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । यस्तै दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्
काठमाडौं: आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । यता, बङ्गलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।
पोखरा: १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण सँगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् । १८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए । “अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।” गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथन मात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदैछ । यसले नेपाली खेलकुदलाई प्रविधीमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ ।” नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्नेछ भने सहभागि हुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।” सबै इभेन्टमा टेक्निकल डिभाइस ९चिप्स०को प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म अन्तिम दर्ता तोकेको छ । तर यस अघि दौडको अघिल्लो दिन सम्म धावकहरु दर्ताका लागि आउने गरेको अध्यक्ष पराजुलीले बताए । उनले विगतका वर्षहरुलाई सम्झिंदै भने–“विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ संख्या अनुसार खेलाडीहरुको सहभागिता हुनेछ भने अन्यलाई हामीले ‘रन फर फन’मा जोड्ने छौं । ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुनेछ ।” उनका अनुसार खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना, महिला हाफ म्याराथन– ५० जना,१० किमि पुरुष–४५० जना,१० किमि महिला–१५० जना,५ किमि छात्र–१२०० जना,५ किमि छात्रा–७०० जना,५ किमि भेट्रान पुरुष– ५० जना र ५ किमि भेट्रान महिला–२५ जनाको सहभागिता रहनेछ । अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन । पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ । पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो भने १८ औं सस्करणमा ४१ जना विभिन्न इभेन्टमा बिजेता प्रतियोगीहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।
पोखरा: प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन् । पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रिक्वार्टर फाइनलमा अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो । रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ । रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० कोे सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो । सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ । १२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबारनै महिलातर्फ २ खेल भए । पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो । अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउदै अघिल्लो चरणकोे यात्रा तय गरेको छ । १५ समूह सहभागि रहेको महिलातर्फको विजतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, खुल्ला पुरुषतर्फको पनि १ खेल मंगलबार भएको छ । पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डि दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भयो । पुरुषतर्फ १८ टिमको सहभागीता रहेको छ । माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।