काठमाडौं: नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।
काठमाडौं: एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्धतमा १०८ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे। करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे। यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं: नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध कीर्तिमानी विष्फोटक शतक हानेका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । कुशलले ९ चौका र ९ छक्कासहित प्रहार गर्दै शतक पूरा गरेका हुन् । स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पूरा गरेका थिए । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक हान्ने खेलाडी हुन् ।
पोखरा: ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुमाझ लोकप्रिय ह्यूस्टन एजुकेशनले मञ्चको आयोजनामा हुन लागेको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट ह्यूस्टनकोे प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । ह्यूस्टनका प्रवन्ध निर्देशक पवित्रा थापा मगरले विगतका वर्षहरुबाट मञ्चको आयोजनामा हुँदै आएको अवार्डमा पहिलो पटक सहकार्य गर्ने अवसरमा पाएकोमा आभार व्यक्त गरिन् । उनले यसलाई आगमी दिनमा पनि यसलाई निरन्तरता दिने वचन दिइन् । पोखराको बिपीचोकस्थित ह्यूस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न नेपाल बाहिर जान चाहने विद्यार्थीहरुका सहजीकरण गर्दै आइरहेको छ । विशेषगरि ह्यूस्टनमार्फत क्यानडा, अष्ट्रेलिया, यूके, यू।एस।ए, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र रिसर्चमा अध्ययनका लागि अनुभवि प्रशिक्षकहरुद्वारा सहजीकरण हुने गरेको छ । सातौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मदतमा थ्रीस्टारले ३ अंक जोडेको हो । हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्टले पेनाल्टी चुकाउँदा अंक खोस्ने अवसर गुमायो । खेलको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता लिएको थियो । थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । दोस्रो हाफमा हिमालयनले बराबरी गर्ने अवसर गुमायो । ४८औं मिनेटमा प्राप्त पेनाल्टीमा हिमालयन विश्वासको प्रहार पोष्ट माथिबाट बाहिर गएको थियो । जितपछि थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । आजै सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ र उक्त खेलमा जितेमा सातदोबाटो पुन: दोस्रो स्थानमा फर्कनेछ । हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा राजस्थान रोयल्सको शीर्षस्थान कायम छ। गएराती लखनउसँगको हारका बाबजुद राजस्थानले शीर्षस्थान कायम राखेको हो। विजयी लखनऊ ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। समानअंक भएपनि रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा छ। गएरातीको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको थियो। १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ४४ रन बनाए। उनले ३५ बलमा ४ चौका र २ छक्का हाने। ४० रनको योगदान गरेको अर्का ओपनर जोस बट्लरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै देवदत्त पाडिकलले २१ बलमा ४ चौका प्रहार गर्दै २६ रनको योगदान गरे। रियान परागले नटआउट १५ रन बनाए। बलिङमा लखनऊका अवेश खानले सर्वाधिक तीन विकेट लिँदा मार्कस स्टोइनिसले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो। लखनऊका केली मेयर्सले अर्धशतक बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए। कप्तान केएल राहुुलले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। मार्कस स्टोइनिस र निकोलस पुरनको २१ र २९ रनको योगदान रह्यो। बलिङतर्फ राजस्थानका रविचन्द्रन् अश्विनले दुई विकेट लिए। ट्रेन्ट बल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एकएक विकेट लिए।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज कीर्तिपुर मैदान र मुलपानी मैदानमा एकरएक खेल हुँदैछ । समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई तथा हङकङले सिङ्गापुरलाई हराउँदै विजयी सुरुवात गरेका छन् । एसीया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
पोखरा: अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् । पोखराबाट टेनिस सुरु गरेका बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वारियतामा पर्न सफल भएका हुन् । अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् । विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताए । उनले दशौं हजारौं खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए । बास्तोलाले १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेका छन् ।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।