पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

काठमाडौं:  घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।   दुवै नेपाल र भुटानले समूह चरणमा लाअ‍ोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअ‍ोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअ‍ोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।     आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ ‌। भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।   लाअ‍ोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअ‍ोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।   नेपालका लागि स्टार फरवार्ड अन्जन विष्ट प्रशिक्षणमा सुरक्षा मास्क लगाएर उपस्थित रहेका थिए । उनले आजको खेलमा पनि उक्त मास्कको प्रयोग गर्दै खेल्ने सम्भावना छ । अन्जन खेल्ने राइट विंगमा पहिलो खेल भरत खवास र मनिष डाँगी दुवैको प्रदर्शन राम्रो रहेको थिएन ।     यता भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । उनी नेपालकै लिग च्याम्पियन मच्छिन्द्रमा अनुबन्धित हुने चर्चा पनि छ ‌‌। नेपाल बसाइँ लम्ब्याउन उनीमाथि भुटान निर्भर हुनेछ ।

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ।   उनलाई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा आज सम्मान गरिएको हो।   खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै उनलाई प्रतिनिधि सभा सांसद विनोद चौधरीले सम्मान गरेका हुन्।   क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए।   आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने चौधरीले बताए।   कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए।   ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,’ उनले भने।   उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए।   नवलपरासी बर्दघाट–१४ का पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो।

काठमाडौं : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।    महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन्।   यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।   महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्।   छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । 

पोखरा:    अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण गत वर्षका कार्यक्रम स्थगित भए पनि यसपटक पूर्वनिर्धारित समयअनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताउनुभयो ।  विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा गम्भीर क्षति भएको थियो । नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्गको हिन्कु केभमा हिमपहिराका कारण भएको दुःखद् घटना र विश्वव्यापी कोभिड–१९ को सङ्क्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको व्यवसायी बताउँछन् । पर्यटन क्षेत्रलाई धरासायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।

गण्डकी:      लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको छ । पोखरा-२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । बजेट अभावमा डेढ वर्षदेखि निर्माण ठप्प छ ।  पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो ।   चालु आवमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रु. एक करोड दस लाख खर्च भइसकेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु. ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।  त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु. २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने उहाँको भनाइ छ । सुरुमा रु. तीन करोडको बजेट अनुमान गरिएपनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् ।   तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।”   पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।  “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।” लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो । रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताउनुभयो । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” रासस  

काठमाडौं: व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।   हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहनु भएको छ । प्रशिक्षकमा भरतकुमार कार्की हुनुहुन्छ ।    टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल हुनुहुन्छ । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ ।   चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ ।   टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

काठमाडौं:  विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ ।   कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स वर्ल्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । वर्ल्ड जायन्ट्सले दिएको एक सय ४८ रनको विजयी लक्ष्य एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।    एसियन लायन्सको जितमा तिलकरत्ने दिल्सानले ५८ रन बनाउनुभयो । उपुल थारंगाले ५७ तथा मिस्बा उल हक तथा मोहम्मद हाफिजले अविजित नौ नौ रन बनाउनुभयो । बलिङमा जायन्ट्सका मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले एक एक विकेट लिनुभयो ।    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले अविजित ७८ रन बनाउनुभयो । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन जोड्नुभयो ।   बलिङमा लायन्सका अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिनुभयो । फाइनल खेलमा पारस टोलीमा परेपनि उहाँले ब्याटिङ र बलिङको अवसर पाउनुभएन । पारसले अघिल्ला दुई खेलमा भने मौका पाउनुभएको थियो । 

काठमाडौँ:  बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।   नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरिएका नेपाली टोलीलाई प्रशिक्षणमा बोलाइसकेको एन्फा स्रोतले बताएको छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोली भने आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेका छन् एन्फा स्रोतले बतायो ।    नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल रहेका छन् । यस्तै डिफेन्डरमा  रोहित चन्द, रन्दीप पौडेल, आदित्य चौधरी, अनन्त तामाङ, निशान खड्का, विकास तामाङ र  पदम भट्टराई रहेका छन् ।    यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् । 

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९ लाई सफल पार्न पोखरा-१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ ।  शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  सो अवसरमा  स्व. पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ रहेको छ । सो कार्यक्रममा पुन परिवारका लोक पुन, उमेश पुन , मञ्चका सचिव शशी कुमार पौडेलको उपस्थिती रहेको थियो । मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नविन पुनले खुःशी व्यक्त गरे ।  मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लब पोखरा लगायतले सघाउने छन् । यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।