पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम गरी भव्यताकासाथ स्थापना दिवस मनाउने तयारीमा रहेको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए । उनका अनुसार आगामी २३ गते आदिवासी जनजाति संगठनका अगुवाहरुको उपस्थितिमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । यस्तै २५ गते शुक्रबार पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने प्रतियोगिता संयोजक प्रविण थापामगरले बताए । ‘आपसी भाइचारा मजबुद बनाउने उद्देश्यसहित २४ औं स्थापना दिवसको अवसरमा पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसलको आयोजना गरेका छौं, उनले भने, ‘आयोजक फोनिजको पुरुष र महिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पुरुष टिम र नेपाल पत्रकार महासंघ कास्कीको महिला टिम गरी ४ टिमको सहभागिता रहनेछ ।’ संयोजक थापामगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै २७ गते पोखरा २५ स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा स्थापना दिवसको अवसरमा ‘कञ्चन पत्रकारिता पुरस्कार –२०८०’ अर्पण गरिनेछ । यस वर्षको उक्त पत्रकारिता पुरस्कार कास्कीबाट हुम बहादुर तमु र मुस्ताङका सुन्दर कुमार थकालीलाई अर्पण गरिनेछ । फोनिज गण्डकीले सञ्चालन गर्दै आएको सो पुरस्कार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
काठमाडौं: काठमाडौंमा आजोजना हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । किंग्स क्लब काठमाडौंले आगामी साउन २३ देखि २७ गतेसम्म ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा आयोजना हुने ‘दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको’ तयारी तिब्र पारिएको संस्थाका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए । उनका अनुसार घान्द्रुक दुर्घटनामा ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा सो प्रतियोगिता सञ्चालन हुदै आएको छ । उनले सो प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलील १ लाख १ हजार तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने समुहले ५० हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै चौथो हुने समुहलाई पनि हौसला प्रदान गर्दै २० हजार २ सय रुपैयाँले पुरस्कृत गरिनेछ । अध्यक्ष शाहीले विधातर्फ सर्वोकृष्ट खेलाडीलाई ८ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकउत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक जनही ३÷३ हजार प्रदान गरिने बताए । उनका अनुसार सो प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, आर्मीको जगदल गण, गण्डकी प्रदेश, जिएम समाज नवलपुर, खोटाङ हलेसी पूर्व, किंग्स क्लब काठमाडौं, न्युटन स्कुल लगायतका टिमहरुले सहभागीता आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टोली हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
काठमाडौं: वुमेन्स वर्ल्डकप २०२३ काे नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै खेलमा फर्किएको छ । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए । संयोगले महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो, तर स्पष्ट जित हात पार्न नसकेकोमा उसाई पछुताउ भने रहनेछ । यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह ‘जी’ को पुछारमा रहेकाे छ ।
काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टोली प्रशिक्षणमा छ । यतिबेला २२ सदस्यीय महिला टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीलाई बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँगै राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्यले पनि सहजीकरण गरिरहेका छन् । यी हुन् प्रशिक्षणमा रहेका खेलाडीहरु:- फरवार्ड (६ जना)- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल मिडफिल्डर (६ जना )- रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही डिफेन्डर (७ जना)- अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे गोलरक्षक (३ जना)- अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ एसियाली खेलकुदको महिला फुटबल प्रतिस्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ:- समूह ए – चीन, उज्बेकिस्तान, मंगोलिया समूह बी – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत समूह सी – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया समूह डी – जापान, भिएतनाम, नेपाल, बंगलादेश समूह ई – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार
काठमाडौं: एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
पोखरा: यू–१६ राष्ट्रिय फुटबल टोलीका लागि गण्डकी प्रदेशबाट ४५ जना छनौट भएका छन् । एन्फा गण्डकी प्रदेशका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट मनाङ र पर्वतबाट २÷२ जना, गोरखाबाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना गरी कुल ४५ जना छनौट भएका हुन् । एन्फा गण्डकीले आइतबार र सोमबार गरी दुई दिन सञ्चालन गरेको छनौट प्रतियोगिताबाट कुल ४५ जना छनौट गरिएको गुरुङले बताए । छनौट प्रतियोगिताको निर्णायकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ रहेका थिए । एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङका अनुसार छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । गण्डकीबाट छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
पोखरा: लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ । जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो । उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे । यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो । विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आज (आइतबार) बाट सुरु भएको हो । एन्फा गण्डकीका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट अन्तिम नामावली भोलि (सोमबार) सार्वजनिक हुनेछ । ‘यति जना भन्ने छैन जे होस् राम्रो खेलाडीहरु छानिएर माथि जान्छन्,’ गुरुङले भने । एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं छनौट प्रतियोगिताका संयोजक मिलन गुरुङले छनौट प्रतियोगितामा मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी, गोरखा, नवलपुर, बाग्लुङ र लम्जुङका गरी करिब २ सय खेलाडीहरुको सहभागिता रहेको बताए । ‘लगभग सबै जिल्लाको खेलाडीहरुको सहभागिता छ, भोलि पनि गेम हुन्छ त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्छाै, उनले भने, ‘फाइनल सेलेक्सन काठमाडौंमै हुन्छ ।’ उनका अनुसार छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङको सिफारिसमा खेलाडी छनौट हुनेछन् । प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।

