काठमाडौं : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल जिततर्फ उन्मुख बनेको छ। नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ३५औं ओभरमा सात विकेट गुमाएको छ। नेपालका लागि सन्दीपले आठ ओभरमा २६ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिएका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको छ। पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। पीएनजीलाई जितका लागि १०.४ ओभरमा एक सय १९ रन आवश्यक छ। आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे। पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।
काठमाडौं: आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेल बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले बिहीबार पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा हालै युएईमा भएको सिरिजमा रहनुभएका सन्दीप जोरा बाहेक सबै खेलाडीलाई निरन्तरता दिइएको छ । नेपालले दोस्रो खेल फागुन २८ गते युएई तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यस सिरिज लिग–२ को अन्तिम खेलहरू हो । नेपाललाई विश्वकपमा स्थान बनाउन चारवटै खेल फाइनल सरह रहेको छ । नेपाल अहिले तालिकामा पाँचौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ३२ अङ्क बनाएको छ । समान खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ । नेपाली टोली रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछाने । वैकल्पिक खेलाडीहरूमा सन्दीप जोरा, कमलसिंह ऐरी, श्याम ढकाल र अर्जुन साउद ।
काठमाडौं: फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो । यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
काठमाडौं: भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो । यो विधामा शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् । यस्तै घरेलु प्रतियोगिता छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर बनेकी थिइन् । वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी अरुणाले पल्सर मोटरसाइकल पुरस्कार पाएका छिन् ।
काठमाण्डाै: फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए । मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
काठमाण्डाै: नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे । यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् । अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ । एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन् घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् । आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ। मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।” प्रधानमन्त्रीले “खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ। पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ। त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो। खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्। कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ। आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ। खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ। दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु। अन्त्यमा, यस प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो । यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले । उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए । बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिए । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई(दुई विकेट लिए । कार्तिक मेइयापानले एक विकेट लिए । जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।