काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएको छ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएको दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो । नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएको थियो । जसमा नेपाल र अमेरिकाले १/१ वटा खेल जितेका थिए । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो । यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टोलीबीच दुई वटा खेल भएको थियो । पहिलो खेल बराबरीमा सकिएकोमा दोस्रो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो ।
पोखरा: पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि च्याम्पियन भएको छ । पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिला ब्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जनप्रियका प्रतिक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने । छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान हाँसिल ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङ्गले १५ रन जोडे । जितका लागि ८० रनको लक्ष्य सहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल ग¥यो । बाराहीका कमला बुढाले १३, सफलता भुजेलले ५ रन बनाए । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव बेष्ट ब्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेष्ट बलर भए । छात्रातर्फ सिद्धका रचना चौधरी बेष्ट व्याटर तथा सिद्धकै सुसिला तामाङ्ग बेष्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफि, मेडल सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधी सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवर लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायो । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ सोमपाल कामी र गुलसन झाले १र१ विकेट लिए । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए । आजदेखि सुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ । समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
काठमाडौं: विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बावेका रिचर्ड नागरभाले ४ विकेट लिए ।
पोखरा: युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले सरकारले खेलकुुद क्षेत्रको विकासको लागि निजि क्षेत्रलाई समेत समेटेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । ‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, मन्त्री लिम्बुले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’ उनले खेलकुदका विभिन्न संघका पदाधिकारीबीच नै आन्तरिक प्रतिस्पर्धाले खेलकुदको विकासमा असर गरेको बताए । ‘खेलकुद क्षेत्र खेलकुदकै पदाधिकारीको आन्तरिक प्रतिस्पर्धाका कारण विकास हुन सकेको छैन, यसलाई मिलाउने प्रयासमा नै छौं’, मन्त्री लिम्बुले भने, ‘अहिलेको बजेटमा सरकारले खेलकुद मन्त्रालयलाई प्राथमिकता दिएन, अब खेलकुद मन्त्रालयलाई कसरी सरकारको प्राथमिकतामा राख्न सकिन्छ त्यसरी नै अगाडि बढ्दै छौं ।’ राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवादले खेलकुद क्षेत्रको विकास हुन नसकेको मन्त्री लिम्बुको भनाई छ । ‘राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवाद देखिएको छ, मैले खेलकुद क्षेत्रको विकासका लागि सबैलाई मिलेर आउन आग्रह गरेको छु , विवाद चाँडै मिलाउँछौं ।’ उनले भने ।
काठमाडौं: आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले आज घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो । जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय १६ रनले पराजित भएको छ । नेपालले जिम्बाब्वेसँग सन् २०१८ मा खेलेको थियो । विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्य १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ । यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ र एक खेल वर्षाको कारण रद्द भएको छ । आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
पोखरा: युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगोविकासका लागि लागि परेको बताएका छन् । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीतिनिर्माण गर्नुका साथै आवश्यक कानुनहरु परिमार्जन गर्नकालागि लागि परेको बताएका हुन् । उनले यस कार्यका लागि सरकार एक्लैले मात्रै सम्भव नभएकोले खेलकुदमा निजी क्षेत्रको समेत लगानी सुनिश्चित गर्दै सबैको साथ र सहयोगले यस क्षेत्रलाई गर्भ गर्न लायकको बनाउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लिम्बुले पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन नसक्ने भन्दै प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई सङ्घीयताअनुसार परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो खेलाडीले वितृष्णा मान्नुपर्ने वाताबरण नहुने बताउदै अव ढुक्क भएर यसमै आफ्नो भविश्य देख्न खेलाडीहरुलाई आग्रह गरे । त्यसै गरि गण्डकी प्रदेशका सांसदहरु लिल थापामगर,दोर्ण कुवँर,जीत शेरचन,प्रकाश बराल लगायतले खेलाडीहरुले अन्तराष्ट्रिय सम्बन्ध बजबुत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खेलकुद र खेलाडीहरुका लागि आर्थिक,नैतिक,भौतिक तथा नीतिनिर्माणमा सहयोग गर्न जरुरी रहेको बताए । उनीहरुले खेलाडीहरुले आफ्नो खेलकौशलताको प्रयोग गरि नेपाललाई देशविदेशमा चिनाउन सक्षम रहेको बताउदै विगतामा हेरिएको खेलकुदप्रतिको दृष्टिकोणलाई परिवर्तन गरेर अव खेलकुदलाई देशको अर्थतन्ञसंग जोड्ने पहल गरिने बताए । देशलाई खेलकुद पर्यटनमा अगाडी बढाउन सके खेलाडी र देशको अर्थतन्त्रले फड्को मार्ने बताए । कार्यक्रममा नेपाल आईटिएफ तेन्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम बहादुर थापाले आईटिएफ तेक्वान्दो खेलबाट देशका विभिन्न दुरदराजमा खेलाडीहरु उत्पादन भई विभिन्न विभागिय टिमहरुमा समेत आवद्ध भएको जानकारी दिए । उनले यस विद्याका खेलाडीले आफ्नो खेलकौशलता प्रदर्शन गरि गण्डकी प्रदेशलाई मात्रै नभई अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट देशलाई विभिन्न पदकहरु दिलाउन महत्वपुर्ण भुमिका खेलेको भएतापनि सरकारबाट भने खेल र खेलाडी नजरमा नपरेको भन्दै गुनासो गरे । उनले खेलाडीहरुको बृढीविकास र हौसलाका लागि भौतिक विकास,खेलाडीहरुको सेवाका लागि पर्याप्त बजेट विनियोजनका लागि पहल गर्न गरिदिन प्रदेश सांसदहरुलाई अनुरोध गरे । भोली सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए । खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् ।
पोखरा: सृजना लिडर्स क्लबको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश स्तरीय (एसईई) टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लब सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो । विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लबका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दोस्रो हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाउने छन् ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ«े गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता माछापुच्छ«ेले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३-० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो । महानगरको टिमले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन र कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । अन्नपूर्णकै मन्दीप परियार उत्कृष्ट सेटर र आकाश धमाल उत्कृष्ट ब्लकर बनेको महानगर भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए । माछापुच्छ«ेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर र पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर बने । अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले नगद ५÷५ हजार रूपैयाँसहित प्रमाणपत्र पुरस्कार दिइएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका २-२ र माछापुच्छ्रे गाउँपालिकाको एक टिम गरी ९ टिम सहभागी थिए ।

