काठमाडौं: नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीवार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन । भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ । साफ च्याम्पियनशिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ ।
काठमाडौं: काठमाडौंको सुकेधारास्थित बुकलिन कलेजले आयोजना गरेको एसईई बास्केटबलको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेका हुन् । छात्रतर्फ क्लस्टर प्रथम, रिलाइन्स कोएड दोस्रो भएको छ भने, छात्रातर्फ इन्साइट भिजन स्कुल प्रथम, हिमशिला र दिक्षान्त मिम्स समूह दोस्रो भएका छन् । एसईई बास्केटबल प्रतियोगिता २०८० मा छात्रतर्फ १६ र छात्रतर्फ ६ समूहको सहभागिता रहेको थियो । उपाधि विजेता टिमलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको बुकलिन कलेजको अनुशासन तथा अतिरिक्त क्रियाकलापका इन्चार्ज रन्जीत क्षेत्रीले जानकारी दिए ।
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् । अहिले आएर त्यो सपना पूरा हुने बाटोमा रहेको सावित्राले बताइन् । ‘यो मेरो लागि र नेपाली महिला फुटबलकै खुशीको कुरा हो । एकदमै राम्रो लागेको छ’, सावित्राले भनिन्, ‘पहिलेदेखिनै एउटा सपना थियो । अहिले त्यो सपनाको बाटोमा छु । पाइला चालिहरेको छु । सपना पूरा हुन बाँकी छ ।’ सावित्राले यसलाई आफ्नो खेल करियरको अर्को महत्वपूर्ण स्टेपको रुपमा लिएकी छन् र यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म हुने बताइन् ।
पोखरा: मुआथाई खेलको अन्तर्राष्ट्रिय छाता संस्था वर्ल्ड मुआथाईको नेपाल प्रतिनिधिमा खगेन्द्र क्षेत्री मनोनयन भएका छन् । वर्ल्ड मुआथाईले क्षेत्रीलाई नेपालमा मुआथाई खेलको विकास एवं प्रवर्द्धन गर्न जिम्मेवारी दिंदै नेपालको प्रतिनिधि समेत तोकेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका वोर्ड सदस्यसमेत रहेका क्षेत्री लामो समय देखि मुआथाई खेलको विकासमा कार्यरत छन् । खेलाडी हुँदै प्रशिक्षकसमेत बन्न सफल रहेका क्षेत्री वर्ल्ड मुआथाईले नेपालमा आयोजना हुने मुआथाई खेलका गतिविधि बारे जानकारी राख्न र अवलोकन गर्न समेत अनुमती प्रदान गरेको छ । नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाँदासमेत अब क्षेत्रीले प्रमाणिकरणसमेत गर्नुपर्ने गरी वर्ल्ड मुआथाई तोकेको छ । आफूलाई दिएको जिम्मेवारीका लागि आभार व्यक्त गर्दै क्षेत्रीले नेपालमा प्रोफेशनल मार्शल आर्ट खेललाई विकास तथा विस्तारका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । उनले भने–“मलाई जुन जिम्मेवारी दिएको छ त्यसलाई सतप्रतिशत रुपमा अघि बढाउने छु भने विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने मेरो मुख्य ध्येय हुनेछ ।” स्मरणिय के छ भने क्षेत्रीले आफ्नै पहल तथा निजि खर्चमा हालै पोखरामा विद्यार्थी लक्षित ४५ दिने मुआथाई समर क्याम्प सञ्चालन गरेका थिए । जसमा १ सय भन्दा वढि विभिन्न उमेर समुहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । हिन्दु र बौद्ध धर्मको समिश्रण रहेको मार्शल आर्ट खेल मुआथाई विश्वमा नै सर्वाधिक लोकप्रिय र धेरै राष्ट्रमा खेलिने खेलको रुपमा रहेको छ । तर नेपालमा भने आपसी विबाद र खेलकुदमा गरिने राजनितिक प्रभावले यो खेल समेत त्यही भूमरीमा गाँजिन पुगेको छ । विश्वमा मुआथाईको एउटै खेल महासंघ भए पनि नेपालमा कुर्सीको लुछाचुँडीले ‘मुआथाई’ ‘मोआथाई’ र ‘मोवाथाई’ नाममा छुट्टा छुट्टै संघहरु गठन छन् । तर उनीहरुको खेलको प्रकिति, नियम, उद्गमस्थल भने एउटै हो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार (आज) हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार रहेको छ । सोही अन्तरगत वर्ष उत्कृष्ट खेलाडी (महिला)को विधामा फुटबलकी भण्डारीले अवार्ड जित्न सफल भइन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी लमजुङकी हुन् । उनीसँगै आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए । स्कुटर हस्तान्तरण गर्दै मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले खेलाडीको मनोवल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । हस्तान्तरण कार्यक्रममा मञ्चका कावा अध्यक्ष सुरज क्षेष्ठ, अवार्ड प्राप्त गर्ने खेलाडी सावित्रा भण्डारी, टेल्जी नेपालको पोखरा शाखा प्रमुख हिरा कोइराला, वरिष्ठ खेल पत्रकार सुदर्शन रञ्जित, मञ्चकी कोषाध्यक्ष कविता घर्ती मगर, मञ्चका कार्यवाहक सचिव राजु गिरीलगाएतको उपस्थिति रहेको थियो । मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । खेलाडीलाई उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए । महिला खुल्ला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए । न्यौपानेले एक घण्टा ६ मिनेट ३७ सेकेण्ड, राउतले एक घण्टा सात मिनेट २१ सेकेण्ड र चौधरीले एक घण्टा आठ मिनेट १६ सेकेण्डमा दूरी पूरा गरेको आयोजकले जनाएको छ । म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाण–पत्र पाएका छन् । २१ किलोमिटरको म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । पाँच किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन् । उनले २४ मिनेट ५० सेकेण्डमा दूरी पार गरिन् । मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमश ः २५ मिनेट ३८ सेकेण्ड र २६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए । छात्रतर्फ १७ मिनेट ४० सेकेण्डमा पाँच किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए । विवेक परियार १७ मिनेट ५० सेकेण्डमा र सुनिल वि.क १७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्र–छात्राले १५ हजार, १० हजार र पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् । चेतनाथ पोखरा च्याम्पियन धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन् । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । उक्त समयमा निर्धारित दूरी पार गर्दा उनी १३ औं भएका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् ।
पोखरा: पोखराको नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । मदरल्याण्ड माध्यमिक विद्यालयले भण्डारीलाई नगद २५ हजार, सम्मानपत्रसहित दोसल्लाले सम्मान गरेको हो । उनलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सम्मान अर्पण गरे । सो अवसरमा बोल्दै भण्डारीले खेल जिवनका लागि थप हौसला मिलेको बताइन् । भण्डारीले आफ्नो फुटबल अभ्यासका अतीत सम्झँदै सँघर्षले नै सफलता प्रदान गर्ने बताइन् । उनले आगामी दिनमासमेत राष्ट्रको शिर उचो बनाउनका आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा राखेकी थिइन् । को हुन् साम्बा ? साम्बा उपनामले परिचित सावित्रा भण्डारी २६ वर्षअघि लमजुङको बाहुन्डाँडामा जन्मिएकी हुन । विगत एक दशकदेखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् । साम्बको सोही योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताएका थिए । गण्डकी प्रदेशस्तरीय फुटसल सुरु मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । भर्खरै एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कुल ६० टिमको सहभागिता रहेको छ । पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले सो प्रतियोगिताको उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
काठमाडौं: असार ६ बाट सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि अन्तिम टिम घोषणा गरेका हुन्। नेपालले असार ६ मा कुवेतसँग खेल्नेछ भने असार ९ मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप तयारी अन्तर्गत नेपालले जेठ ३२ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ। च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। नेपाली टिम गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब) डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)
पोखरा: बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यहि जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै खेलकुद संगै सामाजिक अभियानमा सक्रिय भाई खलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताले पोखरालाई खेलकुद मार्फत परिचय गराउन सहयोग मिल्ने बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक सालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने संगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।” सो अवसरमा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए । पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् । टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाँको चिनो स्वरुप खेल पोशाका प्रदान गरेका थिए । बगर भाई खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो । नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाई खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घनटा व्ययाम, नागरिक हरुको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ । यसै विच भाई खलकले सञ्चालन गरेको ग्रासरुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उनी विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहेका छन् ।

