काठमाडौँ: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ ।भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
कास्की: बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भोली (२२ गते) देखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । ‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ । भोली दिनको १ बजे उद्घाटन गर्न तयारीमा छौ उनले भने, ‘हालसम्म ४६ टिमको दर्ता भइसकेको छ ।’ फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा हुदै आएको थियो । तर मौसमका कारण यस वर्षदेखि स्वर्गीय गुरुङको जन्मदिनको शुभ दिन पारेर सञ्चालन गर्न लागिएको हो । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गर्ने आयोजकले जनाएको छ ।
ढल्केवर: पाँचौ संस्करणको साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो । मधेश प्रदेश हक्की टिमका संयोजक रवीन्द्र सिंहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले हिमालय युवा क्लब नकटाझिजको खेल मैदानमा माघ २३ गते २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो । मधेश प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपालका छ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) को टोली गरी सात वटा टीमको सहभागिता रहने छन् । सहभागी टीमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम छन् । समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मी रहेका छन् । प्रतियोगिताको पहिलो दिन २३ गते तीनवटा खेल हुने संयोजक सिंहले बताउनुभयो । मधेश प्रदेशका महिला खेलाडीलाई प्रोत्साहन तथा महिला सशक्तिरणमा जोड पुग्ने उद्देश्यले यस पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता तराईको भूभागमा गर्न जोडबल गरिएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।
काठमाडौं: अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफपी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ । बहराइनमा बुधबार अबेर सम्पन्न एएफसीको ३३औं कंग्रेसबाट नेम्वाङ सदस्य पदमा निर्वाचित हुनुभएको हो । नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित हुनुभएको एन्फाले जनाएको छ । दक्षिण एसियाली क्षेत्रबाट भुटानका युगेन सेचत एएफसीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यस क्षेत्रबाट अर्को सदस्यमा माल्दिभ्सका बसम अदेल जालिल निर्वाचित हुनुभएको छ । एएफसीको अध्यक्षमा बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा पुन: निर्वाचित हुनुभएको छ । खालिफाको यो तेस्रो कार्यकाल हो । नेपालबाट एफसीमा यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सदस्य हुँदै उपाध्यक्षसम्म बनेर एएफसीमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
गण्डकीः गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो । सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे । क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर््स’लाई दिएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । सोको निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उहाँको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उहाँले भन्नुभयो, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।” अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गर्नुभयो । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उहाँले भन्नुभयो । आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताउनुभयो । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन रु”, उहाँले भन्नुभयो, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।” क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टस्ले रु ३३ करोड दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो । स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताउनुभयो । लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उहाँको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ । केन्द्रीय सदस्य गौतमले भन्नुभयो, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।” क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उहाँको भनाइ छ । “अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टस्बीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भन्नुभयो । क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताउनुभयो । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उहाँले भन्नुभयो । क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ । विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आउनुभएको थियो । उहाँले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पोखरा २३ च्याम्पियन भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जित्दै च्याम्पियन भएका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८ को टिमलाई ३–० को सोझो सेटमा हराउँदै वडा नम्बर २३ दुवैतर्फ प्रथम भएको हो । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा नम्बर २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा नम्बर २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए । वडा नम्बर १६ का विजय सुनारले प्रतियतोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाए । महिलातर्फ वडा नम्बर २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सबिना पौडेल उत्कृष्ट डिफेन्डर र वडा नम्बर १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए । वडा नम्बर २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् । पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए । प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ । फरकफरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ दुई र महिलातर्फ एक टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । यसरी बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्ने उनले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताए । भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उनको भनाइ थियो ।
पोखराः नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा दिनुपर्यो नि त,’ मंगलबार बसेको क्यानको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मल्लले भने। संघलाई नै राजीनामा गराएर नेपाली क्रिकेटलाई समाप्त पारिन खोजेको आरोप मल्लले लगाएका छन्। केन्द्रीय कार्यसमितिमा भएका सात जनाले हिजो बैठक सुरु भएपछि राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए। ‘क्यानको राम्रो काम देखेर आईसीसीले बजेट बढाइरहेको र इभेन्ट पनि दिइरहेको छ,’ आक्रामक शैलीमा प्रस्तुत हुँदै मल्ले भने, ‘यो टिमले यसअघि आर्थिक पक्षमा उठ्ने गरेका प्रश्नलाई पनि दुरुस्त पारेको छ। ’ एउटा मानिस बद्नियतसहित नेपाल क्रिकेटमा प्रवेश गरेको चिन्न नसक्दा एउटा घटनामा क्यान असफल भएको उनले बताएका छन्।
पोखरा: नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरकोे छ । आज (मंगलबार) पोखरामा बसेको क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ ती सदस्यले भने । बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो ।
काठमाडौं: नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको छ । डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६, ११–९ को सोझो सेटमा पराजित गरेको छ । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५, ११–८ ले हराउनुभयो । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४, ११–७ ले पाखा लगाउनुभयो । ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो हुनुभयो । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५, ११–४ को सोझो सेटमा पन्छाउनुभयो । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो हुनुभयो । प्रतियोगितामा विभिन्न ७ स्पर्धामा दुई सय पुरुष र ५६ महिलासहित दुई सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् । सिंगल्स र टिममा शीर्षतीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।