पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ ।   पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अयोजनामा जेठ १७ देखि २० गतेसम्म सेन्चुरी महोत्सव आयोजना हुन लागेको हो ।    महोत्सवको अवसरमा म्याराथन, पुरुष भलिबल, बास्केटबलसँगै अन्य सांस्कृतिक कार्यक्रम हुने पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।    उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको बताए । महोत्सवलाई भव्य बनाउनका लागि तयारी तिब्र पारिएको समेत जानकारी दिए ।   सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।  ‘दुईपटकसम्म अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथन सम्पन्न गरिसकेका छौं, केहीवर्ष कोरोना भाइरसका कारण रोकिएको हो, अब निरन्तरता दिन्छौं, गुरुङले भने, ‘दिवसको अवसरमा पर्यटन महोत्सवमा म्याराथन, भलिबल, बास्केटबलसँगै अन्य सास्कृति कार्यक्रम आयोजना गरेका छौं ।’   उनका अनुसार म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।    म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । म्याराथन प्रतियोगितामा सहभागि हुन धावकहरुले जेठ १५ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।    भलिबल र बास्केटबलकाे उपाधि राशी ८० हजार    अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।    खुल्ला गाउँस्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । एकजना गाउँभन्दा बाहिरको खेलाडी समावेश गर्न पाइने खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगितामा ६ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको अमृत गुरुङले बताए ।    उनका अनुसार सो महोत्सवमा खुल्ला पुरुष बास्केटबल प्रतियोगितासमेत समावेश गरिएको छ ।  बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।   महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।   तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा अन्धानिशान, छेलो,चम्चा दौड, बोरा दौड र म्यूजिकल चियर प्रतियोगितासमेत आयोजना गरेको छ । महोत्सवमा करिव ८० लाख खर्च हुने आयोजकले जनाएको छ । 

तानसेन:  पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठको दोस्रो साता कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।    पर्यटकीय नगर तानसेनको  टुंडीखेलमा आगामी १२ गतेदेखि प्रतियोगिता हुने खेल संयोजक कर्ण चित्रकारले जानकारी दिए । उनका अनुसार तयारी तिब्र पारिएको छ ।   सो प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।   यस्तै सो प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए ।   उनले सो प्रतियोगितामा पाल्पासहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने जानकारी दिए ।    सो प्रतियोगितालाई तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।  

पोखरा:   अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।   पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । उसले बुधबार माछापुच्छे क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।   यस्तै, ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो ।   योसँगै समूह ए बाट किङ्स र माछापुच्छे« उपाधि होडबाट बाहिरिए र समूह बि का टिमबीच बिहीबारदेखि खेल हुने छन् । बिहान साढे ८ बजे सांग्रिला क्रिकेट क्लब र तनहुँको पेलिकन्स क्रिकेट क्लब तथा दिउँसो साढे १२ बजे काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र राइजिङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक अरण्यज्योति क्रिकेट क्लब अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।   बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माछापुच्छे« क्रिकेट क्लबले पूरै २० ओभरमा ९ विकेट खर्चेर ९७ रनको झिनो योगफल तयार पारेको थियो । ९८ रनको लक्ष्यसहित मैनान उत्रिएको अरण्यज्योतिले ४ विकेटको क्षतिमा १४.४ ओभरमै लक्ष्य भेटाएको हो । जितका लागि प्लेयर अफ दि म्याच सोनु तामाङ नटआउट रहँदै ५७ रनको अर्धसतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्याप्टेन विधान श्रेष्ठले २७ बलमा २६ रनको योगदान दिए । विपक्षी माछापुच्छे«का तर्फबाट राजुकुमार गुरुङले २ विकेट लिए । आफ्नो पारीमा अश्वीनी थापाले सर्वाधिक ३५, मनोज कोइरालाले १६, अशीषेक थापाले १५, प्रवीण ढकालले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन् ।    बुधबार बागलुङ र किङ्सबीचको पहिलो खेलमा बागलुङको झिनो योगफलबीच पनि किङ्सलाई ४६ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको उसले पूरै २० ओभरमा १०३ रनको योगफल तयार पारेको थियो । तर १४.३ ओभेरमै अलआउट हुँदै किङ्स मात्र ५७ रनमै समेटिएको थियो । सस्तैलाई समेट्नलाई बागलुङका युनिषविक्रम सिंहले मात्र २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । १४ बलको सामना गर्दा १६ रन जोड्ेका उनी प्लेयर अफ दी म्याचसमेत हुन् । यस्तै, सञ्चार निउरेले ३, दीपेन्द्र राउतले २ र विश्व कार्कीले १ विकेट झारे । मात्र ९८ रनको लक्ष्यका साथ इनिङ सम्हालेको किङ्सका लागि रसिक काफ्लेबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको योगदान तयार पार्न सकेनन् ।    आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

पोखरा:        गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको खेल्छ गण्डकी कार्यक्रम गण्डकी प्रदेशको महिला भलिबल खेलको विकासमा अघि बढ्ने भएको छ । परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रम मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निधो गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै सो रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए । नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै गएकोमा सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए । आ।व २०७९र०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ । कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीहरुलाई ट्यालेन्ट हन्टको माध्यमबाट  ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवाशिय सुविधा सहितको प्रशिक्षण दिइने छ । कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृतीमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ । सो को लागि उच्च मावी शिक्षा परिषद गण्डकी, निजि विद्यालयहरु, निजि क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ । खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसंग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए । उनले भने–“यो कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण र सकारात्मक कार्यक्रम हो । हाम्रो पहिलो ध्यान खेलाडी उत्पादनमा नै हो । महिला भलिबलबाट सुरुवात भए संगै अन्य खेलहरुलाई क्रमैसंग यस प्रकारका परियोजना अघि बढाउने छौं साथै १० औं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्छौं ।” साथै बैठकले आ.व. २०८०÷०८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आ.व २०७९०८० को बाँकी कार्यक्रमहरु समेत चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित मेश्रम बराह माविको लागि आर्थिक सहयोग जुटाउन ७ जनाले एभरेष्ट म्याराथानमा सहभागिता जनाउने भएका छन् ।  अन्नपूर्ण–१० घान्द्रुकस्थित मेश्रम बराह माविको आर्थिक सहयोग जुटाउन उनीहरु एभरेष्ट म्याराथनमा सहभागिता जनाउन लागेको पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् ।  विद्यालयको आर्थिक सहयोगका लागि युकेबाट सूर्य गुरुङको नेतृत्वमा आएका ७ जनाको टोलीले यहि जेठ १५ गते आयोजना हुने ‘एभरेष्ट म्याराथन’ एभरेष्ट क्याम्पबाट नाम्चे बजारसम्म हुनेछ ।  एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने एभरेष्ट म्याराथनका संयोजक सूर्य गुरुङले जानकारी दिए ।  ‘विद्यालयको विकासको लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यले एभरेष्ट म्याराथन–२०२३ मा आयोजना गरेका हौं, गुरुङले भने, ‘ विद्यालयको लागि अहिले ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य भएपनि अहिले दोब्बर पाउण्ड संकलन भएको छ ।’ उनका अनुसार एभरेष्ट म्याराथनमा ट्याप ट्याप सेण्डले ३५ सय पाउण्ड आर्थिक सहयोग गरेको छ । आथिक संकलन अभियान जेठ १५ गतेसम्म नै खुल्ला रहने भएकाले सहयोग रकम अझै बढ्ने संयोजक गुरुङले बताए ।  एभरेष्ट म्याराथनमा दोस्रो पटक सहभागी हुन आएका ताङतिङका तर्कजङ्ग गुरुङले विद्यालयर एभरेष्ट म्याराथनलाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्धेश्यले सहभागि भएको बताए । ‘म्याराथन सहभागिता मेरो दोस्रो पटक, विश्वकै अग्लो एभरेष्ट नेपालमा छ, म्याराथनको माध्यमबाट पनि चिनाउन लागि सहभागि भएको छु ।’ गुरुङले भने ।  अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयमा २०४७ सालबाट कक्षा ११ र १२ संचालनका अनुमति आर्थिक सहयोगबाट नै कक्षा संचालन हुँदै आएको छ । मेश्रम बाराह माविलाई शैक्षिक गुणस्तर वृद्धि गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न, गाउँपालिका क्षेत्रकै पर्यटन सम्बन्धी नमुना शिक्षण संस्थाको रुपमा स्तरोन्नती गर्ने उदेश्यले एभरेष्ट म्याराथनमा सहभागि भएर आर्थिक सहयोग अभियान सुरु भएको जनाइएको छ । 

पोखरा:   कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए ।  ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे । प्रमुख आचार्यले मानिसको व्यस्त व्यवसायिक जीवनमा कहाँ, कहिले , कसरी अपाङ्ग भइन्छ भन्ने ठेगान नहुने भन्दै अपाङ्गता भएर पनि खेलको माध्यमले आफूमा भएको प्रतिभा प्रस्फुटन गरेका सबैप्रति आभार व्यक्त गरे । उनले महानगर सधै अपाङ्गमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए । वडाध्यक्ष बानियाँले आफ्नो वडामा अपाङ्गता भएका व्यक्तिहरु धेरै बसोबास गर्ने गरेको आफूहरुले गरेको अध्ययनले देखाएको हुँदा उनीहरु लक्षित कार्यक्रमहरुलाई वडाले निरन्तरता दिने बताए । कार्यक्रममा अमृत बराल, दिपक गोदार लगायतले बोलेका थिए ।  सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा वडा नं १५ कासदस्य तथा खेल संयोजक आशिष भण्डारीले गरेका थिए । खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो ।  पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । ९०६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय , जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन् ।   

पोखरा:    अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।   क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए ।  प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंका क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिने छन् ।  लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि-२० आधारमा हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक २ खेल हुने छन् । विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय पाउने छन् । प्रतियोगिता प्रायोजन गरेको लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्याले सामाजिक उत्तरदायित्व अन्तर्गत अरण्यज्योतिसँग जोडिएको बताए ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले कर्पोरेट हाउसले कम्तीमा एउटा प्रतियोगितामा जोडिए खेलकुदसँगै नयाँ नयाँ प्रतिभा जन्मिने र खेलकुद पत्रकारिताको पनि विकास हुने विचार व्यक्त गरे । प्रतियोगितामा बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायतले सहयोग गरेको क्लब सचिव विधान श्रेष्ठले बताए ।   

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा भएको माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब च्याम्पियन भएको छ । भिडाबारीस्थित बराह माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा ह्याप्पी ब्रदर्श लाहाचोकलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । आयोजकको जीतमा अनुप लामिछाने, सुजन मगर र मनिष ठकुरीले समान १\१ गोलको योगदान दिए । च्याम्पियन बनेको खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब (पहेलो) ले ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ह्याप्पी ब्रदर्शले १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे भने सान्त्वना स्थान हाँसिल गरेको ग्रीनहिल क्लब ल्वाङलाई ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीका रुपमा आयोजककै सुनिल विक पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै मनिष ठकुरी, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमकै अनुप लामिछाने, उत्कृष्ट डिफेन्डरका रुपमा आयोजककै सुजन मगर घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै पारसमान गुरुङ र उत्कृष्ट मिल्डफिल्डरका रुपमा ह्याप्पी ब्रदर्शका मनोज नेपाली आकर्षक पुरस्कृत भएका थिए । सो प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका कुल ३४ टिमको सहभागिता रहेको थियो ।  

पोखरा:  तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ ।   व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो ।   उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए ।     उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।    प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएको खेल संयोजक कुशल थापाले बताए  । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए ।    प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए  ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरको खेलाडी उत्पादन गराउनका लागि वडास्तरीय प्रतियोगिताको आवश्यकता रहने धारणा राखे ।   उनले आगामी दिनमासमेत सो प्रकारका प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । उनले प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अवसर मिल्ने बताउदै प्रोत्सहान गर्न अपरिहार्य रहेको उल्लेख गरेका थिए ।      सो प्रतियोतिको प्रथम पुरस्कार बेलायती सेना विजय सुनारले, द्वित्तिय पुरस्कार पोखरा इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर यम बहादुर थापामगरले र तृतीय पुरस्कार पुष्पराज ओझाले प्रायोजन गरेका थिए ।    क्लबका अध्यक्ष सुक बहादुर थापामगरको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन विकास थापामगरले गरेका थिए ।