पोखरा: पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको तुलनामा सहभागी संख्या बढी भएकोले आयोजक पनि उत्साहित छ । छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो । प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए । प्रतियोगिताको लागि दुवै संस्थाका कार्यसमितिका पदाधिकारी सम्मिलित व्यवस्थापन समिति गठन गरिएको प्रतियोगिता सहसंयोजकसमेत रहेका कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष लेखनाथ लम्सालले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूलनारा तथा ‘स्कुल स्कुलमा भलिबल’ यसको लक्ष्य छ ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको छ । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउनुभयो । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाउनुभयो । बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिनुभयो । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिनुभयो । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गर्नुभएको हो । सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ ।
दुबईः आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्। नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले चार ओभरमा २३ रन खर्चिएका छन्। दीपेन्द्रसिंह ऐरीले एक ओभरमा मेडन राखेका छन्। पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा ५९ बलमा चार चौकासहित २९ बनाएर पेभेलियन फर्केका हुन्। डोरिगा गुल्शनको बलमा करण केसीको हातबाट क्याच आउट भए। सेसे बाउ १८ रन बनाएर खेलिरहेका छन्। गुल्शनले चार ओभरमा १७ रन खर्चेर एक विकेट लिएका हुन्। पीएनजीले १८ ओभर सकिँदा दुई विकेट गुमाएर ६१ रन बनाएको छ।
काठमाडौं : नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ। नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै सहभागी हुनेछन्। पहिलो चरणका खेलहरू अप्रिल चारदेखि सुरु हुनेछन्। पहिलो चरणबाट समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछन्। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा पुगेका टिमहरूलाई तीन समूहमा विभाजन गरेर तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता टिम तेस्रो चरणमा पुग्ने छन्। तेस्रो चरणबाट शीर्ष दुई टिमले अर्को वर्ष हुने पेरिस अोलम्पिकमा स्थान बनाएने छन्। नेपाली राष्ट्रिय टिमले ओलम्पिक छनोटको तयारी स्वरूप भारतसँग यही महिना दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। भारतविरुद्धको पहिलो खेल २–२ तथा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।
म्याग्दी: प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि कास्कीकी पूर्णिमा मोक्तानले जितेकी छिन् । म्याग्दीको दर्बाङमा सम्पन्न भएको प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि प्रोफेशन खेल तर्फ पोखरा बारपाटन सिएच आईटीएफ तेक्वान्दो डोजाङका खेलाडी पुर्णिमा मोक्तान प्रथम भईन,केबि एकेडेमी म्याग्दी दर्बाङका खेलाडी सुश्मा पुन द्धितीय, बागलुङ ढोरपाटनका खेलाडी सुचना घर्ती मगर तृतीय भएकी हुन् । प्रथम, द्धितीय र तृतीय भएका खेलाडीले क्रमशः २०,१५ र १० हजारसहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । म्याग्दी कपतर्फ भने १० स्वर्ण पदक सहित बागलुङले उपाधि जितेको छ। त्यस्तै ५ स्वर्ण सहित कास्की फस्ट रनर अप तथा २ स्वर्ण सहित म्याग्फी सेकेन्ड रनर अप भएको छ। कास्की सिएच आईटीएफ तेक्वान्दो संघका खेलाडी बिना पतेल उत्कृष्ट महिला खेलाडी छनोट भएका छन। म्याग्दी कपका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट र प्रोफेशनल प्रतियोगिताका लागि देशै भरिबाट २०० बढी खेलाडी सहभागी भएका थिए। कार्यक्रममा नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढामगर (कुशल) र म्याग्दी प्याप्सनका अध्यक्ष हिरा पुन लगायतको उपस्थिति रहेको थियो । विश्व खेल जगतमा खेलको अति नै महत्व हुदा पनि नेपाली खेलाडीलाई राज्यबाट कुनै वास्ता नरहेकोले यसलाई प्रोफेशनल रुपमा लगेर लोकप्रिय बढाउन खेलको आयोजना गरिएको आयोजकले जनाएको छ। प्रोफेशनल खेलले झन खेलाडीलाई थप उर्जावान बनाउने भुमिका खेल्दछ। प्रोफेशनल खेल तर्फ ३०(३५ तौल समुहमा प्रतिस्पर्धा भएको हो। खिमलाल मरासिनीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता म्याग्दी सिएच आईटीएफ तेक्वान्दो संघका प्रबिना थापा ग्रहण गरेका हुन। कार्यक्रममा बोल्ने वक्ताहरुले खेललाई व्यवसायीक बनाउदै जानेमा जोड दिएका छन।
काठमाडौं: आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो । कुवेतका क्रिस्टोफर सालधानाले २६ रन तथा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २र२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुबेत पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
काठमाडौं: आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । नेपालका देव खनाल र अर्जुन कुमालले कीर्तिमानी शतकीय पारी खेलेका छन् । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र खनालको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
पोखरा: कास्कीको रुपा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप खुल्ला (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिता फागुन २३ गतेदेखि सुरु हुने भएको छ । रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागनु २३ देखि २७ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता आयोजना गरेको आज पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको एक जना खेलाडी राख्न पाउने बताए । ‘गाउँपालिकाको स्थापना दिवसमा ०७५ देखि खेलकुदको कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौं, ओझाले भने, ‘स्थापना दिवसमा पुरुष भलिबल, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी, माला प्रतियोगिता र रुपा रत्न पुरस्कार २०७९ आयोजना गरेका छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने समूहले ८० हजार र तेस्रो हुने समूहले ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ बेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २/२ हजार पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिका अन्तर्गत ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जाजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको ओझाले बताए । उनका अनुसार झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ । कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको छ । झाँकी प्रदर्शनीको विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने भएको छ । यस्तै माला बुन्ने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६७, दोस्रो हुने समूहले ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माला बुन्ने प्रतियोगितामा स्थानीय साम्रागीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरि फुल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको छ । रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बागलुङ: नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला /पुरुष भलिबलको आयोजना गरेको छ । मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए । ‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मान स्वरुप नै अन्य कार्यक्रम गर्दै आएपनि गतवर्ष देखि लखन कप आयोजना गरेका छौं ।’ दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए । उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका १० पाण्डवखानी उपविजेता भएका थिए । भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा हुने संघले जनाएको छ ।