काठमाडौँ- काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।” वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ । नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायतका स्थान छन् । असारदेखियता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “पानी काठमाडौँ नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।” विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो । दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उहाँले भन्नुभयो, “केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।” बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ । यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ । निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्याङ्की निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पुर्याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दशकौँ पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्याङ्करमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो । निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन । सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । अहिले पुनः पानी काठमाडौँ ल्याउन पथान्तरण गरिएको छ । आइतबारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।।
महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।
काठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने भनिएको यसअघि गरेको निर्णय सच्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गर्नुभएको हो । आयोगले चैत १६ गते राजनीतिक दलहरुलाई दिइएको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ भनेर आयोगले प्रष्ट पारेको छ । राजनीतिक दललाई दिइएको यसअघिको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा ‘यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,’ उल्लेख थियो ।
काठमाडौं, चैत ३० गते । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा. देउवाले आग्रह गर्नुभएको हो । निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर, यो निर्देशनको व्यवस्था नेपालको संविधानको धारा, ३८ (४) विपरीत रहेको भन्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. देउवाले यस्तो प्रावधान सच्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै यो निर्देशिकालाई सच्याई समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न डा देउवाले निर्वाचन आयोगलाई अपिल गर्नुभएको हो । डा. देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।”
काठमाण्डौं: प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो । सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य रु २१ लाख बराबर रहेको बताइएको छ

