नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ । वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ । आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् । गाेरखापत्रबाट साभार
काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो । निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए । निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारको ठक्करबाट ज्यान गुमाएको बावु छोरीको पक्षमा न्याय माग्दै आफन्तहरुले सडक अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेका कार चालक एन्जल बम मल्ललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ नगरेको भन्दै करिब २ सय जनाको उपस्थितिमा पोखरा २५ स्थित याम्दी पुलमा सडक अवरुद्ध गरेका हुन् । उनीहरुले यसअघि विहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी विरोध प्रदर्शन गरेका थिए । पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको आज उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सविना पुनले आइतबारनै ज्यान गुमाएका थिए । मृतक परिवार तथा आफन्तहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राख्दै आएका छन् ।
काठमाडौं, वैशाख १८ गते । स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे सात लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको खर्च सीमामा सो कुरा उल्लेख छ । महानगरका प्रमुख र उपप्रमुखले मतदाता नामावली खरिद गर्न एक हजार रुपियाँ खर्च गर्न पाउने छन् । त्यस्तै, सवारी साधन–घोडामा साढे एक लाख रुपियाँ र घाेडाकाे दानामा ४० हजार रुपियाँ खर्च गर्न पाउनेछन् । त्यस्तै गोठी–कार्यकर्ता परिचालनका लागि एक लाख ३९ हजार रुपियाँ र कार्यालय सञ्चालन गर्न एक लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् । त्यस्तै, वडाअध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले तीन लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउने छन् । उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सवारी साधान–घोडाका लागि एक लाख दश हजार रुपियाँ खर्च गर्न पाउने छन् । साथै गोठी–कार्यकर्ता परिचालन र छाप एवम् विद्युतीय माध्यम अन्य प्रचारप्रसारका लागि एक–एक लाख रुपियाँ खर्च गर्न पाउने छन् । त्यस्तै, वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले साढे दुई लाख रुपियाँ खर्च गर्न पाउने छन् । यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे चार लाख रुपियाँ खर्च गर्न पाउने छन् भने वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले दुई लाख रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ । गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे तीन लाख रुपियाँ र वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वडा अल्पसङ्ख्यक सदस्यले डेढ लाख रुपियाँ खर्च गर्न पाउने छन् ।
पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् । खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् । यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।
काठमाडौं: २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले धिरज प्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । यसअघि शैलेश थापा क्षेत्री महानिरिक्षक थिए । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाश भए ।
चितवन: बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । उनका अनुसार दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको मेयर पदका एमाले उम्मेदवार कृष्ण थापाले आफु निर्वाचित भएको खण्डमा कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता जनाएका छन् । पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए । थापाले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने बताउदै भने, ‘हामी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको साथसाथै अन्तरराष्ट्रिय विमानस्थल पनि छिटै सञ्चालनमा ल्याएर अन्तरराष्ट्रिय लेवलको शहर बनाउने प्रतिवद्धता जनाउँछु ।’ उनले पूर्व मेयर मानबहादुर जिसीको पदछापलाई फेरी कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक भएको घोषणापत्रलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने उल्लेख गरे । उनले समग्र नेताहरुलाई साक्षी राखेर भने, ‘म आफ्नो नेता कमरेडहरुलाई साक्षी राखेर, मेरो शिर झुकाएर म त्यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, पार्टी र नेतालाई आँच आउँने कान जिवनभरी नगर्ने प्रतिवद्धता गर्दछु ।’ आज सार्वजनिक भएको २० पृष्ठ लामो घोषणा पत्रमा पोखरामा मनोरेल र मेट्रोलले सञ्चालन ल्याउने उल्लेख गरिएको छ । एमालेको तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदान होमिएकी छिन् । प्रतिबद्धतापत्रको पूर्णपाठ PurnaPath.pdf