पोखराः सत्तापक्ष गठबन्धनले पोखरा महानगरपालिकामा नेकपा एसबाट धनराज आचार्यलाई मेयरमा अघि सारेपछि असन्तुष्ट बनेका विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् । सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ । ‘कालेकाले मिलेर खाउँ भाले शैलीमा पार्टी र गठबन्धन चल्यो’ कार्कीले भने ‘यस्ता प्रवृत्तिविरुद्ध मैले तरुण दलमा हुँदादेखि नै विरोध गर्दै आएको हुँ ।’ सबै मिलेर भागबन्डा गर्ने हो भने किन निर्वाचन गर्ने ? भन्ने प्रश्न गर्र्दै कार्कीले गठबन्धनले मिलेर खाए निर्वाचन गर्ने ६० अर्ब खर्च जोगिने टिप्पणी गरे । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे । भरतपुरमा हँसिया हथौडा, पोखरामा कलमलाई मतदान गर्न पार्टीले गरेको अपीललाई आफुले नमान्ने उनले बताए । पार्टीले दबाब दिएपछि उम्मेदवारी फिर्ता त लिनु हुन्न ? भन्ने प्रश्नमा कार्की भन्छन् ‘म गलत प्रवृत्तिविरुद्ध विद्रोह गरेर आएको मान्छे हो, मेरो अडान र मेरो उम्मेदवारी फिर्ता हुनेछैन ।’ निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दिएका कार्कीको दर्ता नम्बर २ रहेको छ ।
काठमाडौं- नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ । बैठकको निर्णय बारे जानकारी गराउनु हुँदै एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले सिफारिस भएका नामवली सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोक्न बाँकी रहेको जनाएको छ । आज बसेको दोस्रो सचिवालय बैठकले छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका मध्ये एउटा महानगरपालिका र दुई वटा उपमहानगरपालिकाको उम्मेदवारीको नाम टुंगो लगाउन बाँकी रहेको प्रमुख गुरुङले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ । उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस हुनेहरुमा धनगढी प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु, नेपालगञ्ज प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल, तुलसीपुर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराही प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी, बुटवल प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल, हेटौंडा अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले, धरान प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्बु, इटहरी प्रमुख यमकुमार सुब्बा, उपमेयर संगीता चौधरी, कलैया प्रमुखमा विनोद साह रहनु भएको छ ।
काठमाडौं– गाउँपालिका अध्यक्षमा चुनाव लड्न नेपाल आयल निगमका अधिकृत (सातौं) गोपालचन्द्र राईले राजीनामा दिनुभएको छ । राईले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन राजीनामा दिनुभएको हो । एक महिनाअघि नै राजीनामा दिए पनि बिहीबारमात्रै स्वीकृत भएको राईले जानकारी दिनुभयो । विद्यार्थी राजनीति र पत्रकारिता पृष्ठभूमिका राई २०६९ चैत १ गतेदेखि नेपाल आयल निगमको इन्धन डिपो धनुषाबाट स्थायी जागिरे जीवन सुरु गर्नुभएको थियो । ‘निगममा मैले ९ वर्ष १ महिना ८ दिन सेवा गरेपश्चायत आजबाट यो अध्याय समाप्त भयो,’ उहाँले भन्नुभयो । राई नेपाल आयल निगम कर्मचारी संघ ९अधिकारीक ट्रेड यूनियन०को अध्यक्षसमेत हुनुहुन्थ्यो । खोटाङ जिल्लाका ८ वटा पालिकाहरुमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका सरदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादेखि दक्षिण भेगमा करीव २१ कोष दूरीमा पर्दछ ।
काठमाडौँ- काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।” वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ । नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायतका स्थान छन् । असारदेखियता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “पानी काठमाडौँ नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।” विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो । दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उहाँले भन्नुभयो, “केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।” बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ । यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ । निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्याङ्की निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पुर्याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दशकौँ पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्याङ्करमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो । निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन । सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । अहिले पुनः पानी काठमाडौँ ल्याउन पथान्तरण गरिएको छ । आइतबारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।।
महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।
काठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने भनिएको यसअघि गरेको निर्णय सच्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गर्नुभएको हो । आयोगले चैत १६ गते राजनीतिक दलहरुलाई दिइएको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ भनेर आयोगले प्रष्ट पारेको छ । राजनीतिक दललाई दिइएको यसअघिको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा ‘यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,’ उल्लेख थियो ।
काठमाडौं, चैत ३० गते । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा. देउवाले आग्रह गर्नुभएको हो । निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर, यो निर्देशनको व्यवस्था नेपालको संविधानको धारा, ३८ (४) विपरीत रहेको भन्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. देउवाले यस्तो प्रावधान सच्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै यो निर्देशिकालाई सच्याई समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न डा देउवाले निर्वाचन आयोगलाई अपिल गर्नुभएको हो । डा. देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।”
काठमाण्डौं: प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो । सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य रु २१ लाख बराबर रहेको बताइएको छ