काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको टिप्पणी गरिएको छ । सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ । सो अभियानअन्तर्गत आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ । किसानलाई कृषि सहकार्य समूह र सहकारीमा सङ्गठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन बढाउने योजना छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने कार्यक्रम बजेटमा समेटिएको छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरूसहितको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बजेटले उल्लेख गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जमिन कृषक, कृषक सहकार्य समूह तथा कृषक सहकारीलाई लीजमा उपलब्ध गराउने बजेटमा व्यवस्था मिलाइएको छ । कृषिको रूपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई रु पाँच करोडका दरले प्रोत्साहन अनुदान दिने कार्यक्रम बजेटमा समेटिएको नयाँ विषय हो । सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि रु १० अर्ब बराबरको बजेट प्रबन्ध गरिएको छ । किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रमअन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरूआत गरिनेछ । त्यसका किसान हित कोष स्थापना गरिनेछ । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको छ । कोष स्थापना गर्न प्रारम्भमा बीउ पूँजीबापत रु एक अर्ब बराबरको बजेट उपलब्ध गराइएको छ । किसान परिचयपत्रका आधारमा किसानलाई सार्वजनिक सेवामा सहुलियत तथा छुट प्रदान गर्ने व्यवस्था पहिलो पटक बजेटमा गरिएको छ । जलवायु परिवर्तन, रोग र किराको प्रकोप एवं प्राकृतिक विपद्हरूबाट कृषि, पशुपक्षीपालन तथा मत्स्य क्षेत्रमा रहेको जोखिम न्यूनीकरणका लागि पशुपक्षी बीमालगायतका अनुकूलन व्यवस्थापनका कार्यक्रम सञ्चालन हुनेछ । यसै वर्षलाई कृषि जैविक विविधता वर्षको रूपमा मनाउने, कृषि बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । त्यसका लागि रु ७६ करोड बराबरको बजेट उपलब्ध गराइएको छ । उत्पादनमा वृद्धि मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९-०८९ सञ्चालन गर्ने बजेटमा समेटिएको अर्को नयाँ कार्यक्रम हो । नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गर्ने बजेटमा योजना छ । सो कार्यक्रमका लागि रु तीन अर्ब ४५ करोड विनियोजन गरिएको छ । स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान सञ्चालन गर्ने, सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नैपर्ने व्यवस्था मिलाउने, निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल तथा मेड इन नेपाल जस्ता अभियानलाई नेपाल सरकारले आवश्यक सहयोग उपलव्ध गराउनेछ । स्थानीय तहमा उत्पादन हुने औद्योगिक उत्पादनको सम्भावना रहेका विशिष्ट उत्पादनको पहिचान गरी उत्पादकत्व र बजारीकरणमा सहयोग गर्न ‘एक स्थानीय तह, एक विशिष्ट उत्पादन’ को अवधारणा कार्यान्वयन गर्ने योजना छ । नेपालबाट निकासी हुने वस्तुहरूको सहज निकासीका लागि गुणस्तर परीक्षण गर्न विद्यमान प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाका रूपमा स्तरोन्नति गर्ने बजेटको योजना छ । कृषि, वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरी औद्योगिक प्रशोधन श्रृङ्खलामा खेतदेखि कारखाना एकीकृत नमूना कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ । प्रदेशसँगको सहकार्यमा निजी वन प्रवद्र्धन र विकासका लागि वृक्षारोपण गर्न एक करोड विरूवा वितरण गर्ने, जनताको रहर ः हरित सहर अभियानअन्तर्गत देशका सहरहरूलाई हरियालीयुक्त बनाउन १० हजार बहुवर्षीय विरूवा रोप्ने योजना बजेटले समेटेको छ । शिक्षासँगै सीप भन्ने अभियानका साथ माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्ने, माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्न सक्ने गरी विद्यार्थीलाई कुनै एक व्यावसायिक दक्षता हासिल गराई रोजगार वा स्वरोजगार बन्न सक्षम बनाउने योजना समेटिएको छ । प्राविधिक विषयको स्नातक तह र अन्य विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्थानीय तहको योजना निर्माण र ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने प्रबन्ध बजेटमा गरिएको छ । ‘हाम्रो विद्यालय हाम्रो जिम्मेवारी’ भन्ने भावना जागृत गर्न शिक्षक व्यवस्थापन समिति र अभिभावकबीच नियमित अन्तरसम्वाद गर्ने व्यवस्था मिलाउने, कार्यसम्पादन सूचकका आधारमा सामुदायिक विद्यालयलाई श्रेणीकृत गर्ने, निश्चित मापदण्ड पूरा गरेका विद्यालयलाई नमूना विद्यालय घोषणा गरी पुरस्कृत गर्ने लक्ष्य बजेटले राखेको छ । शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका गुरूकूल, गुम्बा, मदरसालगायतका शैक्षिक संस्थालाई दिँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद्को पुनःसंरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायका रूपमा विकास गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक शिक्षालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गर्ने कार्यक्रम समेटिएको छ । प्राविधिक शिक्षालयहरूलाई क्रमशः प्रदेशमा हस्तान्तरण गर्ने तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमतर्फ रु आठ अर्ब ३० करोड विनियोजन गरिएको छ । ‘राज्यको अभिभारा ‘एक घर एक धारा’ अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने र त्यो कार्यक्रम दलितको उच्च घनत्व रहेको बस्तीहरूमा प्राथमिकताका साथ सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ । चार भञ्ज्याङ चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्याङतर्फ टोखाछहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समेटिएको छ । देशलाई सुरुङमार्गको युगमा लैजाने उद्देश्यका साथ यी कार्यक्रम अगाडि बढाइएको हो । सुरुङमार्ग विकास कार्यक्रमका लागि रु एक अर्ब १९ करोड विनियोजन भएको छ । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ भन्ने अभियान सञ्चालन गर्ने, खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा, गुइँठा र ग्यासलाई प्रतिस्थापन गर्न वायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापकरूपमा प्रवद्र्धन गरी करिब एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पु¥याइनेछ । ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत् उपयोगमा अनुदानप्रदान गर्ने नीति सरकारले लिएको छ । नदी किनाराका गरा सधैँ हराभरा अभियानलाई साकार रूप दिन नदी छेउछाउका कृषियोग्य भूमिमा लिफ्ट सिँचाइका माध्यमबाट थप ६०० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याइनेछ । साइबर सुरक्षाको सुनिश्चितता २१औँ शताब्दीको आवश्यकता भन्ने अवधारणालाई कार्यान्वयन गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको कार्य अगाडि बढाउने बजेटको योजना छ । सो केन्द्रलाई साइवर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइवर सुरक्षा प्रवद्र्धन र डिजिटल फोरेन्सिक अनुसन्धानसम्बन्धी अधिकार प्राप्त निकायका रूपमा विकास गर्नेछ । सरकारका विद्युतीय प्रणालीहरूको साइवर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाउने कार्यक्रम बजेटमा समावेश छ । गृहिणीहरूलाई उत्पादनमूलक कार्यक्रमहरूमा संलग्न गराउन उद्यमी गृहिणी कार्यक्रम सञ्चालन गर्ने, उनीहरूको रुचि र दक्षताको क्षेत्रमा उद्यमशीलतासम्बन्धी तालिम र लघु वित्तमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, उत्पादित वस्तु स्थानीय तहको सहकार्यमा सञ्चालन हुने कोसेली घरबाट बिक्री हुने व्यवस्था मिलाउने सरकारको योजना छ । ‘एक घर परिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार’ को अवधारणा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहको लागत साझेदारी र निजी क्षेत्रसँगको सहकार्यमा नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य बजेटको छ । सो कार्यक्रमलाई आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमसँग आबद्ध गरिनेछ । सो कार्यक्रमबाट आगामी आर्थिक वर्ष एक लाख नयाँ उद्योग तथा व्यवसाय थपिने, एक हजार ५०० वटा नयाँ बजार केन्द्र विकास हुने, दुई हजार ५०० वटा नयाँ साप्ताहिक हाटबजार सञ्चालन हुनेछ । एक हजार ५०० वटा व्यापार मेला आयोजना हुने र थप एक लाख रोजगारी सिर्जना हुने सरकारको विश्वास छ । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि रु तीन अर्ब विनियोजन गरिएको छ । सघन र प्रभावकारी अनुगमनमार्फत राजस्व चुहावटलाई नियन्त्रण गर्न र करदातालाई सहजीकरण गरी कर सहभागिता वृद्धि गर्न आगामी आर्थिक वर्षलाई बजार अनुगमन वर्षका रूपमा मनाइने भएको छ ।
धनुषा- सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ । विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ । आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको जानकारी प्राप्त भएको सरकारी सन्चारमाध्यमले जनाएकाे छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्कविहिन बनेको थियो । आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो । आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो ।
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।” जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको उल्लेख छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ । “नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स लिएको छु”, सन्देशमा भनिएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
काठमाडौं- आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।-
कास्कीः गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई के–कस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर तयारी थालेको छ । हालै बसेको बैठकले सोही सुविधान दिन तयारी स्वरुप कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव संयोजक, अर्थ र कानुन मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् । उक्त कार्यदलले तयार गर्ने मस्यौदा आगमी २४ गते आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रस्तुत गर्ने योजना रहेको सरकारका प्रवक्ता एवं भौतिक योजनामन्त्री कुमार खड्काले जनाएका छन् । प्रदेश सरकारकाकारण आर्थिक भार बढ्दै गएको आलोचना भइरहेकाबेला प्रदेश सरकारका भूतपूर्वलाई समेत सेवा, सुविधा छुट्याउने तयारी भएपछि सर्वसाधारणले विभिन्न माध्यममार्फत रोष प्रकट गरेका छन् । यस विषयमा प्रवक्ता खड्काले भूतपूर्वलाई सुरक्षाको नाममा सुविधा प्रदान गर्न आवश्यक रहेको बताउँदै आएका छन् । पदाधिकारीलाई कस्तो सुविधा उपलब्ध गराउने भन्ने विषयमा कार्यदलको मस्यौदामा आधारित हुनेछ । यद्यपि, प्रवक्ता खड्काले सुविधा उपलब्ध गराउन कार्यदल नै खडा गरी तयारी थालेकाले आगामी बजेटमा यस योजनाले मूर्तरुप पाउने निश्चितप्रायः भएको छ ।
सर्वाेच्च अदालतले आठ वर्षअघि निर्माण सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलबारे अहिलेसम्म भएका सबै प्रक्रिया बदर भएका हुन् । प्रक्रिया बदर भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमार्फत असन्तुष्टी जनाउँदै टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका आयोजना सुरु गर्दा काठमाण्डौं–तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिए ।’ अहिले उक्त आयोजना रोकिँदा देश किन बनिरहेको छैन भन्ने बुझ्न थालेको उनको आशय छ । आयोजना रोकिएकोप्रति उनले कटाक्ष गर्दै लेखेका छन्, ‘आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु।' २०७६ फागुन २२ देखि सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुँदै आएकामा गत वैशाख १३ मा बहस सकिएको थियो । सर्वोच्च अदालतले थप एक महिना लगाएर बिहीबार फैसला सुनाएको हो । स्रोतका अनुसार अहिलेसम्म मूलत: दुई विषयमा मात्रै इजलासमा एकमत छ । ‘पहिलो– अहिलेसम्म भएका निर्णय खारेज गर्ने, दोस्रो– कानुनबमोजिम उचित विकल्प खोज्न सरकारलाई परमादेश दिने ।’ तर, त्यसको व्याख्या भने न्यायाधीशहरूले नै फरक–फरक गर्ने सम्भावना रहेको बुुझिएको छ ।
कास्की- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो । मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्नुहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताउनुभयो । पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । नवनिर्वाचित महानगरपालिका प्रमुखले सपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गर्नुभएको छ । मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो । पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी का नेता धनराज आचार्य निर्वाचित हुनुभएको थियो ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित हुनुभयो । कामपाको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय हुनुभएको हो । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८०६ मतमा सीमित हुनुभयो । कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख-उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् । कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पार्नुभएको छ । उहाँ कामपाको पूर्व नगर प्रवक्तासमेत हुनुहुन्थ्यो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ । ‘स्ट्रक्चरल इञ्जीनियर’ नगरपिता नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ । पछिल्लो समय उहाँ ‘र्यापर’का रूपमा पनि परिचित हुनुहुन्छ । हाल उहाँ काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आउनुभएको छ । कामपा प्रमुख साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिनुभयो । साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उहाँको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उहाँको तत्काल सुरुआती काम पर्ने छ । उहाँले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ । ‘लिपि क्विन’ उपप्रमुख नव निर्वाचित उमप्रमुख डङ्गोल सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उहाँ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुनुहुन्छ । उहाँ ‘लिपि क्विन’को उपनामले समेत परिचित हुनुहुन्छ । उहाँले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आउनुभएको छ । यसअघि उहाँले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उहाँले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गर्नुभएको थियो । उहाँले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आउनुभएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुनुहुन्छ । तीस वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको जनाउँदै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल हुनेमा ढुक्क हुनुहुन्छ । उहाँले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको १८ नगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उहाँको भनाइ छ ।

