पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

सर्वाेच्च अदालतले आठ वर्षअघि निर्माण सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ ।    वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलबारे अहिलेसम्म भएका सबै प्रक्रिया बदर भएका हुन् ।    प्रक्रिया बदर भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमार्फत असन्तुष्टी जनाउँदै टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका आयोजना सुरु गर्दा काठमाण्डौं–तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिए ।’   अहिले उक्त आयोजना रोकिँदा देश किन बनिरहेको छैन भन्ने बुझ्न थालेको उनको आशय छ । आयोजना रोकिएकोप्रति उनले कटाक्ष गर्दै लेखेका छन्, ‘आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु।'   २०७६ फागुन २२ देखि सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुँदै आएकामा गत वैशाख १३ मा बहस सकिएको थियो । सर्वोच्च अदालतले थप एक महिना लगाएर बिहीबार फैसला सुनाएको हो ।   स्रोतका अनुसार अहिलेसम्म मूलत: दुई विषयमा मात्रै इजलासमा एकमत छ । ‘पहिलो– अहिलेसम्म भएका निर्णय खारेज गर्ने, दोस्रो– कानुनबमोजिम उचित विकल्प खोज्न सरकारलाई परमादेश दिने ।’ तर, त्यसको व्याख्या भने न्यायाधीशहरूले नै फरक–फरक गर्ने सम्भावना रहेको बुुझिएको छ ।

कास्की- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।   मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्नुहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताउनुभयो ।   पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । नवनिर्वाचित महानगरपालिका प्रमुखले सपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गर्नुभएको छ ।   मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।   पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी का नेता धनराज आचार्य निर्वाचित हुनुभएको थियो ।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ ।   नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो ।   साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित हुनुभयो ।   कामपाको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय हुनुभएको हो । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८०६ मतमा सीमित हुनुभयो ।   कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख-उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।   कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पार्नुभएको छ । उहाँ कामपाको पूर्व नगर प्रवक्तासमेत हुनुहुन्थ्यो ।   गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो ।   यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।   ‘स्ट्रक्चरल इञ्जीनियर’ नगरपिता नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ ।   पछिल्लो समय उहाँ ‘र्‍यापर’का रूपमा पनि परिचित हुनुहुन्छ । हाल उहाँ काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आउनुभएको छ । कामपा प्रमुख साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिनुभयो ।   साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उहाँको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उहाँको तत्काल सुरुआती काम पर्ने छ ।   उहाँले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ ।   ‘लिपि क्‍विन’ उपप्रमुख नव निर्वाचित उमप्रमुख डङ्गोल सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।   करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उहाँ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुनुहुन्छ ।   उहाँ ‘लिपि क्विन’को उपनामले समेत परिचित हुनुहुन्छ । उहाँले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आउनुभएको छ ।   यसअघि उहाँले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उहाँले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गर्नुभएको थियो ।   उहाँले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आउनुभएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुनुहुन्छ ।   तीस वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको जनाउँदै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल हुनेमा ढुक्क हुनुहुन्छ ।   उहाँले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको १८ नगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उहाँको भनाइ छ ।

पोखराः पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीकाे छोरी अञ्जु जिसीले हालै निर्वाचित मेयर धनराज आचार्यलाई सुझावसहित बधाई दिएकी छिन् ।    ‘नगरपितालाई छोरीको सन्देश’ भन्दै अञ्जुले मेयर आचार्यलाई बधाईमात्रै दिएकी छैनन्, उनले बुवा मानबहादुरले राम्रो काम गर्दागर्दै विभिन्न बहानामा हस्पिटलको बेडसम्म पु¥याएको दुखेसो पनि पोखेकी छिन् । बुवा मानबहादुर सत्यको बोटोमा अडिग रहँदा हस्पिटलसम्म पुग्नुपरेको अर्थात बिरामी नै हुनुपरेको र अहिलेको अवस्थमा पुगेको भाव उनको स्टाटसबाट बुझ्न सकिन्छ ।   उनको स्टाटसलाई केलाउँदा बुवा मानबहादुर आफ्नैबाट पीडित हुनुपरेको, स्वास्थ्यवस्था बिग्रेको, आसेपासेबाट दबाब आएकोलगायत उल्लेख गरिएको छ ।    अञ्जुले दिएको सुझावमा राम्रो काम गर्दा सबै आफ्नो हुन्छन् भन्ने भ्रम त्याग्न अनुरोध गर्दै दबाब सहन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरेकी छिन् ।    अञ्जुको स्टाटसः  

पर्सा- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।   पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिनुभयो । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व-पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए ।   सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताउनुभयो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ ।

पोखराः अटेरी अभियानमार्फत पोखरा महानरपालिकामा मेयरतर्फ स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पोखरेली मतदाताप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्     महानगरको नतीजा फाइनलपछि सामाजिक सञ्जालमार्फत पौडेलले भनेका छन् ‘हामी पोखरेली अभिमतप्रति उच्च सम्मान व्यक्त गर्दछौ ।’ अटेरीले महानगरभित्र विभिन्न पदमा १७ उम्मेदवारलाई प्रतिष्पर्धामा उतारेको थियो ।    लौरो चुनाव चिन्ह लिएर उठेका पौडेलले ३ हजार ३० मत प्राप्त गरेका छन् । 

पोखरा:    जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस ट्रेनिङ  सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ ।    पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए ।   त्यस्तै दोस्रो खेलमा बि–१३ लाई भिमकाली एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए ।    तेस्रो खेलमा मर्दी एफसीले रिलीमिली एफसीलाई ६–० ले पराजित गरेको छ । विशाल सुनारले दुई, रोशन थापाले २ र मनिष थापाले दुई गोल गरे । खेलमा विशाल सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा २५ केले कमलपोखरी एफसीलाई १–० को कठिन जित निकाल्यो । अनिष परियारले निर्णायक गोल गर्दै म्यान अफ दि म्याच हकदार बने ।    मन्त्र चर्च ब्वाईजले मेरो नेपाली युथ क्लब बीलाई ६–० ले पराजित गरेको छ । मन्त्रको लागि भिडी छन्त्यालले ह्याट्रिक गरे । निशान गुरुङले एक, बीर तामाङ र साईमन तामाङले एक एक गोलको योगदान दिए । छन्त्याल म्यान अफ दि म्याच भए ।    भदौरे एफसी जनएकता युथा क्लब सेतोसँग २–१ गोलले पराजित हुन पुग्यो । भदौरेका लागि राजन थापाले गोल गरे । जनएकताका लागि रविन गुरुङ र राहुल थापाले गोल गर्दै जित दिलाए । राहुल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै मनोहर एफसीलाई कमलपोखरी एफसीले ६–० ले पन्छायो । अजय गुरुङले चार तथा उपेन गुरुङ र सुदेश गुरुङले एक एक गोल गरेका थिए ।      रामेश्वरी माविको खेलमैदानमा आयोजित प्रतियोगितामा ४६ टोलीको सहभािगता रहेको छ । विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

काठमाडौं, स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ।   यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६२ पालिका जितेका छन्। मंगलबार विहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली काँग्रेसले १३४ पालिकामा प्रमुख पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।   यस्तै, नेकपा एमालेले ७९ पालिकामा प्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले ११ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता कायम गरेको छ।   यस्तै, अन्य पार्टीले ३० पालिकामा प्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता बनाएका छन्। ४६० गाउँपालिकातर्फ सबै पालिका अध्यक्षको टुंगो लागेको छ जसअन्तर्गत कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ ।। माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ ।   जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ । यस्तै, अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेका छन् । यस्तै, काँगेसले १०५ पालिकामा उपप्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले १०६ पालिकामा उपप्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर कुनै पालिकामा अग्रता बनाएको छैन ।   जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेको छ भने एक् पालिकामा अग्रता बनाएको छ । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने कुनै पालिकामा अग्रता बनाएको छैन । यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन्। एमालेले १२६ पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन ।   माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन।   अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई अग्रता लिएका छैनन्। यस्तै, काँग्रेसले दुई हजार ६३१ वटा वडामा अध्यक्ष जितेर दुई वटा वडामा अग्रता लिइरहेको छ। एमालेले दुई हजार १११ वटा वडा जित्दा कुनै वडामा अग्रता लिएको छैन । नेकपा माओवादी केन्द्रले एक हजार ४८ वटा वडामा अध्यक्ष जितेको छ। अग्रता लिएको छैन ।   यस्तै, जनता समाजवादी पार्टीले २८८ वटा वडामा अध्यक्ष जितेको छ भने कुनै वडामा अग्रता लिएको छैन । अन्यले ५८४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।

कास्कीः अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले आज सपथ एवं पदभार ग्रहण गरेका छन् ।    पदभारलगत्तै बसेको पहिलो बैठकबाट अध्यक्ष केसीले पालिकावासीलाई स्वास्थ्य बीमाको सेवा दिने बताएका छन् । बैठकको निर्णयानुसार आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ६ हजार ४०६ धरपरिवारलाई बीमा गराइनेछ ।    जसअनुसार बीमा शूल्क रहेको ३५ सय रुपैयाँमा पालिकाले पचास प्रतिशत व्यहोर्ने निर्णय गरिएको केसीले जानकारी दिएका छन् ।    त्यस्तै, उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाभित्र रहेका अपांग र असहायहरुको सामाजिक सुरक्षामा योजना अनुरुप स्वास्थ्य परीक्षण र अपांगता परिचयपत्र उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिन् । त्यस्तै, स्वास्थ्य   परीक्षण र परिचयपत्र वितरण सम्बन्धित वडाको टोलटोलमा पुगेर उपलब्ध गराउने अधिकारीले बताएकी छिन् ।    अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् ।