दार्चुला : अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युतको सफल परीक्षण गरिएको छ । विद्युत गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भई लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुसी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत् निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो । अपिहिमाल– ३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ती अन्य बस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुनसकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्यूत् पुर्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै रु सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले रु एक करोड ९२ लाख, सङ्घीय सांसदको सांसद विकास कोषमार्फत रु ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उहाँको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो । उज्यालो अपिअन्तर्गत अपिहिमाल–२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल –६ मा १०० किलोवाट क्षमताको जलविद्युत् निर्माणकार्य जारी छ । अपिहिमाल–५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पु¥याएको छ ।
धादिङ : त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उहाँले सिभिल इञ्जीनियर उत्तीर्ण गर्नुभएको हो । । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ । पिता तिलक चेपाङ र आमा लक्ष्मी चेपाङको कोखबाट विसं २०५५ मङ्सिर ६ गते जन्मिएका मनिष सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो । उहाँले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याउनुभएको थियो भने विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका जनाइएको छ । नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको संयोजक तिलक चेपाङले जानकारी दिनुभो । मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट विद्यालय जीवन सुरु गरेका मनिषले काठमाडौँको माउन्ट सिनाई स्कुलबाट ८७ प्रतिशत प्राप्ताङ्कसहित एसइइ उत्तीर्ण गर्नुभको हो । सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययान गर्नुभएका उहाँ नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण हुनुभयो । मनिष भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहनुहुन्छ। उहाँले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताउनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ । सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ । त्यो सँगै शिक्षा स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ । १९ बुंदे मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै देशभरी भत्काईएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् । त्यसैगरि पार्टीले एक घर एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ । पार्टीले दोहोरो करको खारेजीसँगै राज्यले सिमाक्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने बताएको छ । ‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौँ । र, हाम्रो माग पुरा नभएको खण्डमा अझै बढि सशक्त रुपमा यो आन्दोलन चर्किदै जान्छ ’ राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने–‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्रभने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’ अर्को सन्दर्भमा गुरुङले नेपाली भूमीमा अमेरिकी सेनाको प्रवेश हुनेगरि सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भएको खण्डमा राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए । ज्ञापनपत्र बुझाउन अघि राप्रपाको ¥याली सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालय सम्मपुगेर टुंगिएको थियो । ¥यालीमा सहभागीहरुले हिन्दु धर्म झल्कने खालका पहिरन लगाउनुका साथै शङ्ख, घण्टी र बाजागाजासहित प्रदर्शन गरेका थिए । ‘देशव्यापी रुपमा पार्टीले घोषणा गरेको विरोध कार्यक्रम अन्तरगत नै पोखरामा प्रदर्शनसँगै प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका हौं’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने– ‘मागहरु सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । तर सरकारको रवैया हेर्दा त्यस्तो देखिँदैन ।’ माग पुरा नभए चरणबद्धरुपमा दबाबमुलक आन्दोलन गर्ने उनले जनाए ।
अमेरिकी ‘स्टेटशीप पार्टनर प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा नेपाली अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति नेपालस्थित अमेरिकी दूतावासले प्रष्टीकरण दिएको छ । समाचारमा जनाइएअनुसार ‘नेपालमा अमेरिकी सैन्य गतिविध हुने’, ‘नेपालमा अमेरिकी सेनाले मोर्चाबन्दी गर्ने’ जस्ता विषय असत्य रहेको दूतावासको टिप्पणी छ । एसपीपी अमेरिकी राज्यको नेशनल गार्र्ड रहेको भन्दै दूतावासले यसमा सामेल हुन कुनैपनि देशलाई आग्रह नगरिने जनाएको छ । यदि, दूतावसको प्रष्टीकरणलाई आधार मान्ने हो भने यो सम्झौता नेपालले नै चाहेर भएको हो । ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ’ दूतावासले भनेको छ । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ। २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको दूतावासको दाबी छ ।
काठमाण्डौं: काठमाण्डौंको सार्वजनिक क्षेत्रमा साइकल चलाउने २ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारवाही गरेको छ । उक्त स्थानमा साइकल चलाउँदा बाधा–अवरोध भएको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आइन्दा पैदलयात्री एवं सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुनैपनि अवरोध नगर्न र ट्राफिक नियमसम्बन्धी जानकारीसहित आवश्यक कारवाही गरेको बताएको छ । उपत्यका ट्राफिकले दिएको जानकारी अनुसार उनीहरुलाई केही समय नियमित सम्पर्कमा रहनसमेत निर्देशन दिइएको छ । प्रहरीको फेसबुक पेज र ट्विटरमा केही दिनदेखि जनगुनासो आइरहेपछि नियन्त्रणमा लिइएको थियो । पशुपति क्षेत्रमा साइकल चलाउँदा एक पैदलयात्रीलाई सामान्यरुपमा छोइएपछि उनले भिडियोमार्फत प्रहरीलाई जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक संजीव शर्मा दासका अनुसार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीमाथि अनावश्यक निन्दा भएपछि उनीहरुलाई बोलाएर सम्झाई बुझाई गरिएको छ । नेपालमा साइकल, रिक्सा, ठेलागाडासम्बन्धी नीति नियम नभएकाले बेलामौका यस्ता सामान्य घटना हुने गरेको दासले जनाए । ‘साइकल वातावरणमैत्री सवारी साधन हो, यसकाले मानव स्वास्थ्यलाई समेत हित गर्छ, तर सामान्य हेक्का राखिदिन आग्रह गर्दछु’ दासले भने
मोरङ : संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको सोमबार शुभारम्भ गर्दै सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले दिने सबै प्रकारका सेवा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो । जिल्लाको १७ पालिकामध्ये सातवटा पालिकामा परिचयपत्रका लागि विवरण सङ्कलनको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयमा चारवटा स्टेशन राखेर विवरण सङकलन गर्ने काम भइरहेको छ । गत असोज ४ गतेबाट जिल्लामा सुरु भएको सो अभियानमा अहिलेसम्म दुई लाखभन्दा नागरिकको विवरण सङ्कलन गर्ने काम भइसकेको प्रजिअ दाहालले जानकारी दिनुभयो । परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताका आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । मिक्लाजुङका अध्यक्ष वविकुमार राईले घरआँगनमा आएको सेवालाई उपयोग गरी अभियान सफल बनाउन नागरिकसँग आग्रह गर्नुभयो ।
सर्लाही: गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भए पनि सरोकारवाला निकायको बेवास्थाका कारण ती उपकरण प्रयोगविहीन भएको उक्त केन्द्रका डा हंशनारायण झाले बताउनुभयो । उहाँका अनुसार आफूहरुले आइसियु र भेन्टिलेटर प्रयोग गर्न सक्ने भए पनि व्यस्तताका कारण आइसियु र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छुट्टै जनशक्ति राख्न समितिसँग आर्थिक अभावसमेत रहेको बताउनुभयो । जेठ महिनामा मात्रै ४० सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि सञ्चालन गर्ने व्यक्तिको अभावमा ती उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष उद्वव पौडेलले बताउनुभयो । उहाँले स्थानीय निकायले राम्रो सहयोग गरिरहे पनि दक्षजनशक्ति अभाव रहेको बताउनुभयो । ती उपकरण सञ्चालनमा ल्याउन नसक्दा राख्नु र नराख्नुको कुनै अर्थ नरहेको सर्पदंशका बिरामी मानबहादुर मोक्तानले बताउनुभयो ।उहाँले ती उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्रै लैजना परेको र समयमै पुर्याउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ भन्नुभयो । मधेश प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नाका साथै दुईजना एमबिबिएस चिकित्सक भएर पनि ती उपकरण सञ्चालन गर्ने व्यक्तिको अभावमा अहिले प्रयोगविहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका– १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले बताउनुभयो ।
गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी १ गते आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दैछ । तर सरकारकै घटक जनता समाजवादी पार्टी (जसपा)ले भने त्यसको विरोध गरिरहेको छ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका जसपाका नेता हरिशरण आचार्यले आज संसदीय कार्यालयको कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आगामी बजेट ढोकाबाट नभई झ्यालबाट आउन लागेको कटाक्ष गरेका छन् । अघिल्लो वर्ष अर्थात् चालू बजेटमा १२ दशमलब ६ प्रतिशत छुट्याइएपनि आगामी बजेटमा मन्त्रालयलाई ६ दशमलब ३ प्रतिशतमात्रै बजेट छुट्याउन लागेको सूचना पाएको भन्दै उनले विरोध गरेका हुन् । मन्त्री आचार्यले भने ‘यो बजेट गैरकानूनी तवरमा आउँदैछ, ढोकाबाट आउनुपर्ने बजेट झ्यालबाट आउन लागेकोमा हाम्रो आपत्ति हो । सरकारले बजेट विनियोजन गर्ने छलफलमा एकाधिकार जमाएको प्रति उनले रोष प्रकट गरेको छ । त्यसो त बजेटको नीति तथा कार्यक्रमबारे आयोजित कार्यक्रमलाई जसपाले बहिष्कार गरेको थियो । उक्त बहिष्कारलाई जसपाले ‘भद्र अवज्ञा’को नाम दिएको छ । मन्त्री आचार्यले गण्डकीको चालू बजेट ३० अर्ब रुपैयाँ रहेको र अब अनुमानित ३६ अर्ब रुपैयाँको बजेट आउन लागेको जानकारी दिँदै रकम बढेपनि मन्त्रालयलाई झन् कम बजेट दिन लागिएको जनाए । उनका अनुसार हाल आउने बजेटमा झण्डै आधा प्रतिशत कममात्र मन्त्रालयले पाउनेछ । ‘पहिले भन्दा अहिले योजनाहरु बढेका छन्’ आचार्यले भने ‘अबको कार्यक्रममा करिब १ हजार ८६० योजना छन्, जसलाई २० लाख रुपैयाँकादरले बजेट विनियोजन गर्दा पनि ३ अर्ब ७२ करोड रुपैयाँ छुट्याउनुपर्ने हुन्छ ।’ तर आगामी बजेटमा मन्त्रालयलाई बढीमा २ अर्ब रुपैयाँमात्र विनियोजन हुने सूचना पाएको आचार्यको दाबी छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ अर्ब रुपैयाँ आफैसँग राख्ने हिसाबले बजेटको बाँडफाँड गर्न लागेको भन्दै यस बजेटलाई उनले 'लाजमर्दाे र नौटंकी'को संज्ञा दिएका छन् । ‘प्रदेश सरकारले आगामी बजेटलाई गलत ढंगले प्रस्तुत गर्न लागेको छ, मुख्यमन्त्रीले बजेटको खिल्ली उडाउँदैछन्’ आचार्यले भने । यसैबीच, सरकारमा रहेर सरकारकै विरोध गरिएकोबारे प्रश्न सोध्दा उनले जसपा जनताको पार्टी भएको र जनताको आवाज सँधै उठाइरहने जवाफ फर्काए । उनले जबर्जस्ती बजेट ल्याए कार्यान्वयन तहमा अवरोध गर्ने समेत स्पष्ट पारेका छन् । मुख्यमन्त्री र अर्थमन्त्रीको हालिमुहालीविरुद्ध केही सांसदले राजीनामा दिएको दाबी गर्दै आचार्यले जसपा पनि सरकारमा बसिरहन नचाहेको उल्लेख गरे । उनले भनेका छन् ‘नीति तथा कार्यक्रममा मुख्यमन्त्रीले बिरालो बाँधेर श्राद्ध गरेका छन् ।’
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो । सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “गाउँपालिका र वडा कार्यालयले सेवा शुल्कको रसिद सफ्टवेयरबाट काट्ने गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले हरेक १०/१० दिन र गाउँपालिकामा सङ्कलित राजस्व भोलिपल्ट बैंकमा दाखिला गरेर रसिद सफ्टवेयरमा अपलोड गर्छन् । तोकिएका समयमा राजस्व जम्मा नगरेसम्म रसिद काट्न सफ्टवेयरले नै दिदैन ।” गत आर्थिक वर्षमा रु छ लाख ७१ हजार ५०० सङ्कलन भएको सिफारिस दस्तुरबाट चालू आर्थिक वर्षमा रु १६ लाख आम्दानी हुने अनुमान गरिएकामा जेठ २० गतेसम्म रु ३१ लाख ८६ हजार ८५४ सङ्कलन भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो । रघुगङ्गाले बनाएको सर्भरमा सार्वजनिक गर्न मिल्ने कार्यपालिका, गाउँसभाका निर्णय र भुक्तानीको बिलकोसमेत भण्डारण गर्ने काम सकिएपछि आम नागरिकको पहुँच हुनेछ । औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र सेवाग्राहीलाई इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको छ । सिफारिस, उपभोक्ता समितिलगायत विभिन्न काम लिएर आउने सेवाग्राहीले गाउँपालिकामा दिनुपर्ने निवेदनको नमूना विकास गरिएको छ । आफ्नै भवनबाट सञ्चालन भएको रघुगङ्गामा सेवाग्राहीले भर्ने सन्तुष्टि फाराममा दिने सुझाव विश्लेषण गर्ने संयन्त्र बनाइएको छ । कार्यालयको सुरक्षा र निगरानीका लागि सिसीटिभी जडान, म्यानुअलका अतिरिक्त विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएका छन् । आठवटै वडा कार्यालयमा पूर्वाधार, कृषि र पशु सेवाका प्राविधिक वडा कार्यालयमै बसेर सेवा दिन थालेका छन् । वडा सचिव नहुँदा ४, ६ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीका रुपमा काम गरेका छन् । कर्मचारीको सेवासुविधाको विषय समेटेर कार्यक्रम सञ्चालन निर्देशिका बनाएको रघुगङ्गाले बेरुजु असुल उपर गर्न घरदैलो अभियान चलाउने तयारी गरेको छ । असुल गर्नुपर्ने बेरुजु भएकाको घरमै गएर भेट्ने र फछ्र्योट गर्नेलाई सम्बन्धित ठाउँमै प्रमाणपत्र दिने गरी कार्यक्रम बनाएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कूल रु ९३ लाख ७१ हजार २४५ बेरुजु रहेको छ । रु २६ लाख १३ हजार ८७२ असुल गर्नुपर्ने, रु ६० लाख १९ हजार ८८३ प्रमाण पेश गर्ने र रु सात लाख ३७ हजार ४९० पेस्की बेरुजु छ । उपभोक्ता समितिमार्फत भएका केही योजनामा तोकिएको दररेटभन्दा कम दरमा काम हुँदा पनि बेरुजु औल्याइएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा १६० वटा योजनामध्ये १४० सम्झौता र ८७ वटा सम्पन्न तथा २० वटा सम्झौता हुन बाँकी छन् ।

