पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखराः गत जेठ ५ गत कार्यकाल सकाएर पोखरा महानगरपालिकाबाट बाहिरिनु अगावै पूर्वमेयर मानबहादुर जिसीले गरेको कर्तुत ४७ दिनपछि सार्वजनिक भएको छ ।    पदावधि सकिनु २ दिन अघि जेठ ३ गते पूर्वमेयर जिसीले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको करिब ६३ रोपनी जमिन ३ कम्पनीलाई दिने एकल निर्णय गरेको सार्वजनिक भएको छ । जमिन भाडामा लगाएकोमध्ये पर्यटन बसपार्कमा पर्यटकले सेवा लिन नपाएपछि केही गडबड भएको आशंकामा पर्यटन व्यवसायीहरुले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जानकारी गराएपछि अन्य जमिनसमेत भाडामा लगाएको पाइएको छ ।    पूर्वमेयरले बसपार्ककाे १८ राेपनीसँगै, पोखरा ९ मा पर्ने ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडामा दिएका छन् । त्यस्तै, वडा १७ स्थित गल्फ ट्रेनिङ सेन्टर रहेको ४० रोपनी जमिन एक्सन बिल्डर्स प्रालिलाई मासिक २ लाख ७२ हजार र बसपार्कलाई मासिक २ लाख ७५ हजार रुपैयाँ भाडामा दिएका छन् ।    जसमध्ये गल्फ कोर्षलाई २५ र अन्य दुई कम्पनीलाई १० वर्षकालागि दिइएको हो । कुनैपनि जमिन भाडामा लगाउन मेयर एक्लैको निर्णय काफी नहुने भएपनि यस विषयमा उनले एकलौटी र मनोमानी निर्णय गरेका हुन् । सबै निर्णयमा पूर्वमेयर जिसीकोे हस्ताक्षर रहेको छ ।    यस विषयमा जानकार हुनुपर्ने व्यक्ति हुन् प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल । उनैलाई यस विषयमा थाहा नभएपछि अहिले उनी पत्रकारको प्रश्न झेलिरहेका छन् । त्यसोत यो घटना हालै सञ्चारमाध्यममा आएपनि महानगरका केही कर्मचारीले भने असार १२ गते सुइँको पाएका थिए ।      सुनगाभाले पाएको सूचना अनुसार भाडामा लगाइएको ३ अलग जमिनको सम्झौता एकैदिन भएको हो । अझ, रोचक प्रश्न त यो छ कि पुर्वमेयरले नगर विकासको जमिन भाडामा लगाउँदा कुन ठाउँमा बसेर सम्झौता गरे ?      नियमतः कायालयमै बसेर सम्झौता गर्नुपर्ने बताइन्छ । तर मुलुकभर वैसाख ३० गते स्थानीय निर्वाचन सुरु भएको र त्यसपछि मतगणनाको प्रक्रिया अघि बढेको हो । तदनुसार उपत्यका नगर विकास समितिमा मतगणना कार्य भइरहेको थियो ।    यही बीचमा नगर विकासको कार्यालयमा सम्झौता नभएको ठहर गरिएको छ । कडा सुरक्षाकोबीच मत गणना भइँरहँदा बाहिरका मान्छेलाई प्रवेश सहज थिएन भने उक्त दिनहरुमा पूर्वमेयर त्यहाँ गएका पनि थिएनन् । यसकारण सम्झौता कार्यालय बाहिर निजी परिसरमा भएको पुष्टी हुने आधार मिलेको छ ।    साथै, सम्झौता हुने दिन जिसीले खाजा खर्चको शीर्षकमा ५० हजार रुपैयाँको बिलसमेत समावेश गरेको पाइएको छ । सोही बिललाई आधार मान्ने हो भनेपनि उक्त सम्झौता अज्ञातस्थलमा गरिएको हो ।    खारेज हुन्छः महानगरपालिका   पूर्वमेयर मानबहादुर जिसीले एकलौटी ढंगले गरेको जग्गा ठेक्का प्रकरण खारेज गरिने महानगरपालिका स्रोतले बताएको छ । जिसीले ठेक्का दिँदा प्रक्रिया नै नपु¥याएको भन्दै खारेजीको प्रक्रिया सुरु भइसकेको महानगरले जनाएको छ ।    ‘सिस्टम हुन्छ, समिति हुन्छ’ महानगर स्रोत भन्छ ‘मनोमानी र व्यक्तिगत तवरमा सरकारी सम्पत्ति ठेक्कामा लगाउँन पाइँदैन ।’ आज बसपार्क हस्तान्तरणपछि यस विषयमा टीम बनाएर छानबिन अघि बढाउने महानगरको योजना छ ।  उक्त सम्झौतापत्रसँग सम्बन्धित हालसम्म प्राप्त कागजात अनुसार ठेकेदार कम्पनीसँग धरौटी रकमसमेत नलिइएको पाइएको छ ।    त्यस्तै, उक्त बोलपत्र आव्हान गरिएको विज्ञापन नियमित प्रकाशन रोकिएको आदर्श नेपाल दैनिकमा गरिएको थियो । त्यसदिनको ३ प्रति महानगरमा रहेको छ भने विज्ञापन शूल्कको नाममा अनुमानित ८ हजार रुपैयाँ बुझाइएको जानकारी प्राप्त भएको छ । 

पोखराः पोखरामा हालै एक साहित्यकारले प्राप्त गरेको दर्जन हाराहारीको पुरस्कार एवं सम्मानलाई लिएर गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का बिखर्ची आलोचित भएका छन् ।    प्रसंग हो, गत शनिबार आयोजित देशभक्तसिंह कुँवरलाई गरिएको सम्मान कार्यक्रम । आफुलाई अलौकिक कवि भनेर चिनाउने कुँवरलाई एक दर्जन संस्थाले ५० हजारका दरले ६ लाख रुपैयाँको नगदसहित सम्मान गरे ।    उक्त सम्मान कार्यक्रममा १ दर्जन नै प्रमुख अतिथि रहेका थिए । जसमध्ये एक अतिथि हुन् प्रज्ञा प्रतिष्ठानका कूलपति बिखर्ची । सुन्दै विशेष र महान लाग्ने उपाधिबाट सुशोभित गराइएका कुँवर र उनकाबारे जिज्ञासा राख्दा कूलपति बिखर्चीले साहित्यकार केही भावुक हुने भन्दै कुँवरलाई साथ समर्थन गरे भोली देशकै ठूला साहित्यकार हुनसक्ने टिप्पणी गरे ।    ‘महाकवि देवकोटालाई पनि पहिले पागल भनिएको थियो’ बिखर्चीले भने ‘भोली उनी पनि त्यस्तै नहोलान् भन्न सकिन्न नी !’ यद्यपि, सामान्य सम्मान कार्यक्रम भनेर निम्तो गरिएपछि कार्यक्रममा पुगेको र त्यहाँ पुगेपछि अद्भूत–अद्भूत विभुषण दिइएको उनले सुनाए ।    ‘उनको (देशभक्त) बुवा मेरा साथी पनि हुन्, त्यही भएर पनि कार्यक्रममा गएको हुँ’ बिखर्ची भन्छन् ‘साहित्कायरले नै बोलाएको कार्यक्रममा प्रतिष्ठानकोतर्फबाट नजाने कुरा पनि भएन ।’ कुँवरले १ सय ८ कृति रचना गरिसकेकाले उनमा केही खुबी भएको उनको भनाई छ ।   तर हालसम्म कुँवरको कुनैपनि रचना नपढेको जनाउँदै बिखर्चीले झण्डै मरेर बाँचेका हुनाले उनलाइ ‘अलौकिक कवि’ भनिएको प्रष्ट्याए ।  प्रतिष्ठानले ‘दुर्लभ महामानव’ भन्ने विभुषणलाई कसरी व्याख्या गर्छ ?’ भन्ने प्रश्नमा बिखर्ची भन्छन् ‘अब धेरै सोधखोज नगर्नुस् न, आइन्दा यस्तो कार्यक्रममा म जान्न ।’   सोही कार्यक्रममा कूलपति बिखर्ची अतिथिको हैसियतमा उपस्थिति भएको विषयमा सदस्य–सचिव मनकुमार श्रेष्ठले भने खरो टिप्पणी गरेका छन् । ‘पोखरा साहित्य र संगीतको उर्वरभूमि हो तर कूलपति जुन कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सहभागी हुनुभयो त्यसले प्रतिष्ठानको गरिमामाथि आँच आउने काम भयो ।’   कुनैपनि कार्यक्रममा कतैबाट निम्तो आए त्यसउपर छलफल गरेरमात्रै सहभागी हुने परम्परा राख्न आवश्यक भएको उनको बुझाई छ । ‘शनिबारको कार्यक्रम त गाइजात्रा नै भयो’ श्रेष्ठ भन्छन् ‘अतिथिको पनि दोष छैन होला, यस्ता कार्यक्रममा स्वयं आयोजकले पनि ध्यान पु¥याउनुपर्ने हो ।’   त्यसो त उक्त कार्यक्रममा पोखराका चर्चित र स्वनामधन्य व्यक्तिलाई अतिथि बनाएर आयोजक र पुरस्कृत व्यक्तिले वाहवाही लुट्न खोजेको श्रेष्ठको अनुमान छ । श्रेष्ठ भन्छन् ‘आयोजकको स्वार्थमा प्रतिष्ठानलाई बेच्न खोजियो, आइन्दा कूलपतिज्यूले पनि सामान्य हेक्का राख्नुप¥यो ।’     इन्याल्क नेपाल नामक संस्थाद्वारा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा बिखर्चीसहित शिक्षावीद् जर्ज जोन, छन्दनायक माधव वियोगी, समीक्षक मदन भण्डारी, वरिष्ठ गायिका बाबा राणालगायत प्रमुख अतिथि रहेका थिए ।  सम्मान गर्ने संस्थाहरुमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौं र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौं, काविन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छे« नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार रहेका छन् ।    कार्यक्रममा कुँवरलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो ।     जानकारहका अनुसार कुँवरलाई सम्मान गर्ने संस्था र पुरस्कारको राशीमा परिवारकै योगदान रहेको छ । कुँवर सम्मानित भएपछि सामाजिक सञ्जालमा विभिन्नखालको टिका–टिप्पणी गरिएका छन् ।   

सञ्चारकर्मबाट राजनीतितर्फ मोडिएका रवि लामिछानेले गत ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ चयन भएका छन् ।    चिकित्सकसँगै सामाजिक कार्यमा सक्रिय श्रेष्ठ चीनको डाली युनिभर्सिटीमा ६ वर्ष अध्ययन गरेर नेपाल फर्किएका हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी वार्ड सम्हालेका श्रेष्ठ हाल आफ्नै शुभबिहानी पोलिक्लिनिकमा व्यस्त छन् ।    ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत रहँदा सुधारको काम गरेको हुँ’ श्रेष्ठले भने ‘तर देशको बेथितिविरुद्ध लाग्न राजनीतिमा लाग्नुपर्छ भन्ने लागिरहन्थ्यो ।’ नेपालमा रहँदासम्म राजनीतिमा खासै चासो नरहेपनि अध्ययनकाक्रममा चीन पुगेपछि देश बदल्ने माध्यम नै राजनीति भएको चेत खुलेको उनले सुनाए ।    ‘राजनीतिक प्लेटफर्मको आवश्यकता थियो, यसैबीच रविजीले पार्टी खोलेपछि म पनि आबद्ध भए’ उनले सुनाए । हाल श्रेष्ठ आफ्नै पोलिक्लिनिक, समाजसेवा र राजनीतिमा सक्रिय छन् ।    पार्टीले योग्य ठानेर प्रदेशको जिम्मेवारी दिएकोप्रति उनले एकैपटक अवसर र चुनौति पाएको भनि टिप्पणी गरे । ‘बाहिर बसेर धारे हात लगाएरमात्र हुँदैन, समुन्नत नेपाल चाहनेले राजनीतिमा आउँनैपर्छ’ उनले प्रतिक्रिया जनाए ।    परिवर्तन नेपाल नामक संस्थाबाट समाजसेवामा सक्रिय श्रेष्ठले अब पार्टीसँग छलफल गरी छिट्टै प्रदेशस्तरीय कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए । ‘देश बनाउने बाहेकको कुनै अर्काे स्वार्थ छैन, आउनुहोस् हातेमालो गरौं, हामी अघि बढौं र देशलाई अघि बढाऔं’ श्रेष्ठले भनेका छन् ।    हाल पार्टीमा २१ सदस्य रहेका छन् । जसमध्ये लामिछाने सभापति, मुकुल ढकाल प्रवक्ता र अन्य सदस्य रहेका छन् । 

पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गर्दै महिना दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गा खोजी गर्ने बताएका छन् ।    आफुले तोकेको समयसीमाभित्र नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर सार्वजनिक गर्ने मेयर आचार्यको प्रतिबद्धता छ ।    ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसँग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन’ आचार्यले भने ‘संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने आम नगरवासीलाई परेको छ । आफ्नो सम्पत्ति संरक्षण गर्न सकेन भन्ने परेको छ ।’   यसैबीच जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगरविकास समितिको ठहर्ने फैसलाबाट प्राप्त जमिन सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउने बैठकले निर्णय गरेको छ ।    त्यसका लागि ३५ दिने सूचना निकाल्ने र सम्याउने निर्णय भएको हो । साथै उक्त जग्गा प्राप्त गर्न नगरविकास समितिको तर्फबाट मुद्धा दायर गर्ने र बहस गर्ने सबैप्रति बैठकले आभार प्रकट गरेको छ ।   

पाेखराः असार १ गते गण्डकी प्रदेशको बजेट सार्वजनिक गरेपछि गठबन्धनबाटै आलोचित भएका अर्थमन्त्री रामजी बराललाई मन्त्रीबाटै हटाउने योजना बनाइएपनि अहिले उक्त संकट टरेको छ ।    बजेटमा मन्त्रीपरिषद्बाट पारित भएको योजनामात्रै हैन मुख्यमन्त्रीको योजनासमेत बाइपास भएको भन्दै नेपाली कांग्रेसबाट विरोध भइरहेको छ । त्यस्तै, प्रतिपक्ष दल नेकपा एमालेले पत्रकार सम्मेलननै गरेर प्रदेश सरकारले हालसम्म पनि बजेटबारे छलफल नचलाएकोमा रोष प्रकट गरेको छ ।    बजेटकै विषयमा खेलकुद मन्त्री राजीव गुरुङले अर्थमन्त्री बराललाई बेइमानीको संज्ञासमेत दिए । गठबन्धनका सहयात्रीमात्र नभएर आफ्नै पार्टीबाट पनि मन्त्री बरालमाथि आलोचना भएको छ ।    मन्त्रीपरिषद्बाट पारित भएको बजेटको साटो आफ्नो गोजीबाट बजेट प्रस्तुत भएको भनि मुख्यमन्त्रीले टिप्पणी गरेपछि कांग्रेस र माओवादीबीच बिग्रिएको सम्बन्धले हाल प्रदेश सभाको बंठक डाक्ने माहौलसमेत बन्न सकेको छैन ।    यस्तै बिग्रदो परिस्थितिबीच सरकारले मन्त्री नै हेरफेर गर्ने तयारी थालेको सुइँको पाएपछि अर्थमन्त्रीले गल्ती स्वीकार्दै बजेटबारे पुनः गृहकार्य गर्ने बताएका छन् । मन्त्रालय स्रोतकाअनुसार अर्थमन्त्री फाल्ने सहमति भएपछि बरालले बजेटको समीक्षा गरेर मन्त्रीपरिषद्को सल्लाह अनुसार चल्न राजी भएका हुन् ।    माओवादीबाट पनि गठबन्धनको सरकार भएकाले ‘सबैको कुरा सुन्नुपर्ने’ भन्दै मन्त्री बराललाई हटाउन ग्रीन सिग्नल दिइएको थियो । तर बुधबार अर्थमन्त्री बरालले मन्त्रीपरिषद्बाट पारित बजेटलाई समेटेर सभामा छलफल चलाउन राजी भएका छन् ।    ‘उहाँ (अर्थमन्त्री) गठबन्धनको प्रमुख दलसँग मन्त्रीपरिषद्ले तयार पारेको योजना अनुसार बजेटलाई समेट्न तयार भएपछि हाललाई मन्त्रीमण्डल पूनःगठनको अध्याय सकिएको छ’ मन्त्रालय स्रोतले भनेको छ ।    स्रोतका अनुसार हिजो पनि अर्थमन्त्रीले अटेर गरेको भए आज मन्त्रीमण्डल हेरफेर हुने प्रबल सम्भावना थियो । हाललाई संकट टरेपछि गण्डकी सरकारले सकेसम्म आगामी आइतबार अन्यथा सोमबार बजेटबारे छलफल गर्न प्रदेश सभा डाक्ने भएको छ ।    बजेट सार्वजनिक गरेलगत्तै मुख्यमन्त्रीले बराललाई डाकेर स्पष्टीकरण सोधेका थिए । त्यतिबेला पनि बरालले माफी मागेको बताइएको छ ।    अर्थमन्त्री बरालले असार १ गते आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । 

पोखराः गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७९/८० लाई लक्षित गरेर तयार पारेको बजेटमा सवारी कर ह्वात्तै बढेको भन्दै चौतर्फी विरोध भइरहेकाबेला मन्त्रालयले स्रोतले भने बजारमा हल्ला चलेजस्तो कर वृद्धि नभएको जनाएको छ ।    यसअघि अर्थ मन्त्रालयले बजेट तयारीका दौरान सवारी करसम्बन्धि छलफल गर्न सातै प्रदेशबाट सम्बन्धित मन्त्रीलाई पोखरा डाकेको थियो । मन्त्रीस्तरीय भेलाले नै करको दर सातै प्रदेशमा समान बनाउने निर्णय गरेका थिए । यसअनुसार हाल बढेको भनिएको कर देशैभर समान रहेको छ ।    गण्डकी प्रदेशमा सवारी कर बढाइएको भन्दै दैनिकरुपमा विरोध भइरहेको छ । विभिन्न संघ, संगठनले ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने काम भइरहेका छन् । त्यसो त युवा संघ गण्डकीले सडकमा उत्रिएर नै विरोध पनि जनायो ।    करको निरन्तर विरोध भइरहँदा यसबारे मन्त्रालयमा सम्पर्क गर्दा बढेको भन्न नमिल्ने जवाफ आएको छ । अर्थका प्रवक्ता एवं उपसचिव बसन्तराज तिवारीले अघिल्लो वर्ष तोकिएको कर र अब आउने बजेटमा तोकिने करमा भिन्नता नभएको दाबी गरे ।    ‘सवारी कर धेरथोर बढ्यो होला’ प्रवक्ता तिवारी भन्छन् ‘त्यसलाई ह्वात्तै बढाएको भन्न मिल्दैन ।’ उनका भनाइअनुसार अघिल्लो वर्षको कर दाँज्दा ‘बढेको’ भन्न मिल्दैन । विशेषतः दुई पांग्रे सवारी साधनमा ४०० सीसीसम्म ११ हजार रुपैयाँ अघिल्लै वर्ष लिने गरिएको रहेछ ।    त्यस्तै, १२५ देखि ४०० सीसीसम्म लिइने कर पनि समान रहेको तथ्यांकले देखाउँछ । मोटरसाइकलको हकमा ६ सय ५० सीसीसम्म २० र त्यसभन्दा माथि ३० हजार रुपैयाँ अघिल्लै वर्षदेखि लिन थालिएको हो ।    ‘मोटरसाइकल धनीहरुले बुझेर वा नबुझेर किन विरोध गरे थाहा छैन तर चारपांग्रेमा भने कर बढेको छ’ तिवारीले भने । कर बढाइएपनि कति सीसीको गाडीलाई बढाइएको हो भन्ने बुझ्न उनको आग्रह छ ।    कम क्षमताका गाडीमा हजार, बाह्रसय कर बढाऔं भनेर दायरा तोकेको बताउँदै प्रवक्ता तिवारीले २५ देखि ३५ सय सीसीसम्मका गाडीको कर १० हजार रुपैयाँकादरले बढेको जानकारी दिए । ‘एकैपटक १० हजार रुपैयाँ कर बढी तोक्दा जनतामाथि अन्याय भएन र ?’ भन्ने प्रश्नमा तिवारी भन्छन्, ‘त्यो कर गाडीको हैन, विलासिताको हो ।’    ट्याक्सी र बसमा बढेको करबारे जिज्ञासा राख्दा यदि त्यो व्यावसायिक प्रयोजनका लागि हो भने त्यसलाई ‘बढी’ भन्न नमिल्ने उनको तर्क छ । अहिले हजारदेखि १५ सय सीसीसम्मका गाडिमा ३ हजार रुपैयाँ बढी तोकिएको छ । त्यस्तै, बसको हकमा ३५ हजार रुपैयाँ तोक्ने तयारी छ ।    उनका अनुसार देशैभरका प्रतिनिधिबीच भएको छलफल र मन्त्रालयलाई बजेटसम्बन्धि सुझाव दिन गठित उपसमितिले आवश्यकता र विलासिताको आधार प्रष्ट्याएर कर तोकेको हो । ‘तपाई आफै भन्नुहोस्, ६ सय ५० सीसीको मोटरसाइकल र ३५ सय सीसीको गाडी आवश्यकता हो कि विलासिता ? तिवारीले प्रतिप्रश्न गरेका छन् ।    प्रदेश अन्तरगत विकास र अवसर पु¥याउन प्रदेश सरकारलाई पैसाको खाँचो भएको बताउँदै उनले प्रदेशसँग आन्तरिक स्रोत नभएको प्रष्ट्याए । ‘सबै क्षेत्रमा योजना र आवश्यकता छ, त्यसलाई पुरा गर्ने दायित्व मन्त्रालयको हो र रकम जुटाइदिने दायित्वको अर्थको हो’ तिवारी भन्छन् ‘कर नउठाई हुँदैन, तर सवारी कर वैज्ञानिक छ ।’   ६–६ महिनामा नवीकरण भनेको छैन यसैबीच, अर्थ मन्त्रालयले केही मिडियामा सवारी नवीकरण ६–६ महिनामा गर्नुपर्ने भनि समाचार आएकोमा आपत्ति जनाएको छ । यस विषयमा तिवारीले भने, ‘सार्वजनिक सवारीलाई मात्रै ६ महिनामै सवारी जाँच गर्न भनिएको हो यसको अर्थ यात्रुको सुरक्षासँग जोडिएको छ ।’   उनका अनुसार ६–६ महिनामा सवारी नवीकरण गर्न भनिएको छैन । 

गण्डकी प्रदेशको आर्थिक वर्ष ०७९/८० को बजेटउपर छलफल हुन नसकेकोप्रति नेकमा एमाले गण्डकी प्रदेश सभा, संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले रोष प्रकट गरेका छन् ।    प्रदेशको बजेटकै विषयमा आज पोखरामा पत्रकारसँग तय गरिएको कार्यक्रममा नेता गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीबीचको झगडाले बजेट लथालिंग हुन लागेको प्रतिक्रिया दिएका छन् । ‘मुख्यमन्त्री र अर्थमन्त्रीबीचको झगडाले संसदमा लगिसकेको बजेटमा नियमित छलफल हुन सकेन’ गुरुङले भने ‘बजेटसम्बन्धी दफावार छलफल हुने र मन्त्रीले जवाफ दिने काम हालसम्म हुन सकेन ।’     बजेटउपर उठेका प्रश्नको मुख्यमन्त्री र अर्थमन्त्रीले जवाफ दिएपछि बल्ल बजेटले पूर्णता पाउने भन्दै गुरुङले अझैपनि त्यस्तो वातावरण तयार पार्न नसकेर मन्त्रीहरु गैरजिम्मेवार भएको आरोप लगाए । एकापसको इगोले संसद र बजेट दुबै अवरुद्ध भएको उनले उल्लेख गरे ।    ‘सभामा छलफलकालागि बजेट लैजानुपर्नेमा अर्थ तथा विकास समितिको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको छ’ उनले भने ‘यस्तो पनि कहिँ हुन्छ ?’ यस्तो प्रक्रियाप्रति एमालेको गम्भीर आपत्ति रहेको उनले सुनाए ।    प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले सरकार एकतन्त्रीय र निरंकुश शैलीमा अघि बढ्न खोजेको आरोप लगाउँदै बजेटबारे तुरुन्त छलफलको कार्यक्रम राख्न माग गरे ।   

कास्कीः ०२१ सालमा रुपन्देहीबाट नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय भएका वामदेव गौतमले राजनीतिमा ५८ वर्ष बिताइसकेका छन् ।    कम्युनिष्ट राजनीतिमा खरो स्वभावले चिनिने गौतम राजनीतिक यात्राको दौरान ५८ वर्षपछि आज दोस्रोपटक नयाँ पार्टीको स्थापनामा जुटेका छन् । यसअघि राजनीतिक करिअरबाट गृह र उपप्रधानमन्त्री भइसकेका गौतम नेकपा एमालेको विभाजनपछि तटस्थ रहेका थिए ।    यसैबीच स्थानीय निर्वाचनताका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सहयोग पुग्ने हेतुले चुनावी गीत लेखेका थिए । यही गीतकाकारण गौतम नेकपा एसमा जाने अनुमान गरिएपनि उनले त्यसलाई अनुमानमै सिमित राखिदिएर आज नयाँ दल घोषणा गर्दैछन् ।    ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक दल घोषणा साँझ ३ बजे राखिएको छ । भित्रभित्रै तयारीमा जुटेका गौतमको यो दोस्रो दुस्साहस हो । यसअघि भारतसँग गरिएको महाकाली सम्झौंतामा चित्त नबुझेपछि गौतमले एमाले छाडेर नेकपा माले स्थापना गरेका थिए । जसको महासचिव गौतम थिए । त्यसबेलासम्म कम्युनिष्ट पार्टीमा महासचिव मुख्य पद थियो ।    पछि ०५५ सालको निर्वाचनमा पार्टीले एक सिटपनि जित्न नसकेपछि वर्षदिनमै गौतम पुनः एमालेमा फर्किए । लगत्तै उनले उपप्रधानमन्त्री हुने अवसरसमेत पाए । ०५६ सालमा एमालेको बुटवल अधिवेशनबाट उनी पार्टीको उपाध्यक्षमा निर्वाचित भएर आफ्नो औचित्य पुष्टि गरिछाडे ।    बर्दिया र प्युठान दुबै क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका गौतम पछिल्लो निर्वाचनमा बर्दियाबाट पराजित भए । ४४ हजार बढी मत ल्याएर पनि नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग झिनो मतान्तरले पराजित भए । गौतम हाल राष्ट्रियसभा सदस्य रहेका छन् । 

पोखराः मणिपाल अस्पतालका कर्मचारीले प्रशासनसमक्ष विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको आज २६ दिन भइसकेको छ । यसबीच अस्पतालको ओपिडीसमेत पूर्णरुपमा सुचारु हुन सकेको छैन ।    आन्दोलनका कारण अपरान्हपछि मात्रै ओपिडी सेवा दिइँदै आइएको छ । आन्दोलित कर्मचारी आबद्ध युनियन र अस्पताल प्रशासनबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन ।    कर्मचारीहरूलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सन् २०१० मा कर्मचारी सङ्गठनहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको, सञ्चित बिदा र अतिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेकोे उनीहरुले जनाएका छन् । यसको विपरित अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनुसार सबै सेवा सुविधा दिएको भन्दै अडिग रहेको छ ।    यही विषयमा साेमबार पनि आन्दोलनरत कर्मचारी र प्रशासनबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वार्ताबाट समस्याको निकास नआउनुमा बतास समूहको संलग्नता भएको जनाइएको छ ।    ‘हामी सोमबार वार्ता बस्यौं’ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाई अध्यक्ष अमृत पौडेलले भने ‘तर प्रशासनले नयाँ मालिकसहित वार्ता गरेर पुनः छलफल गर्ने जानकारी दियो ।’ नयाँ मालिक को हो ? भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन् ‘बतास समूह ।’   मणिपाल अस्पताल खरि प्रक्रिया टुंग्याएको दाबी गर्ने बतास समूहकै अप्रत्यक्ष हस्तक्षेपका कारण कर्मचारी आन्दोलनको समस्या समाधान हुन नसकेको पौडेलको बुझाई छ । ‘हिजो अस्पताल प्रशासनले वार्ताकै दौरान नयाँ मालिक भन्दै बतास समूहसँगै बसेर छलफल गर्ने भनेपछि हामी बल्ल स्पष्ट भयौं’ पौडेलले भने ।    आज दिउँसो ३ बजे बतास समूहसहित त्रीपक्षीय वार्ताको तालिका रहेको बताउँदै पौडेलले कर्मचारीहरुको माग पुरा हुनेमा आशावादी रहेको जनाएका छन्  ।   मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेको बताइएको छ । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ ।    करिब सवा ३ अर्ब रुपैयाँमा यी दुई व्यवसायीले मणिपाल खरिद गर्ने प्रारम्भिक सम्झौता भएको थियो । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको सार्वजनिक भइसकेको छ।   भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल सञ्चालन गरेको थियो ।