कास्कीः शनिबार अपरान्हदेखि निरन्तर वर्षा हुँदा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा चहलपहल ह्वात्तै घटेको छ । गर्मीको सिजनमा घुम्न उत्तम मानिले घान्द्रुकमा शनिबारदेखि निरन्तर परेको पानीले सडक सञ्जाल अवरुद्ध हुँदा त्यहाँ रहेका आन्तरिक र बाह्य पर्यटक पैदल फर्कन थालेका छन् भने बाहिरबाट त्यहाँ जान कठिनाई भएको छ । बिरेठाँटीबाट घान्द्रुक जानेक्रममा क्ल्यु खोला, भिचु, छैसरीमा पहिरो गएकाले यातायात अवरुद्ध हुँदा साँदीखोलादेखि पैदलै हिड्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवस्थापन समिति, घान्द्रुकका सदस्य राजबहादुर गुरुङले जनाएका छन् । गुरुङका अनुसार शनिबारअघि त्यहाँ पुगेका पर्यटकहरु पुरानो बाटे हिँडेर साँदीखोलासम्म आएका छन् । साँदीखोलाबाट बिरेठाँटी–पोखरा गाडी चलिरहेको गुरुङले जानकारी दिए । हाल स्थानीय एवं केही पर्यटकहरु साँदीखोलाबाट ५ किलोमिटर हिँडेर घान्द्रुक पुग्न बाध्य भएको छन् । सडकमार्ग करिब १० किलोमिटर भएपनि पैदलमार्ग ५ किलोमिटरको हाराहारीमा रहेको छ । सडक सुचारु गर्न पर्यटन व्यवस्थापन समित, घान्द्रुक जीप व्यवसायी समिति र अन्नपूर्ण गाउँपालिकासँग समन्वय भएपनि यतिबेला मर्मत कार्य गर्न कठिनाई रहेको छ । जीप व्यवसायी समितिको सहसचिवसमेत रहेका गुरुङले भने, ‘यतिबेला तात्तातै मर्मत गर्दा भरे नै उस्तै हुने सम्भावना छ, केही दिनपछि मौसममा सुधार भएपछि काम थाल्नेछौं ।’ गुरुङ भन्छन्, ‘अहिले प्रायः होटल रित्तिएका छन्, मेरै लज पनि खाली छ ।’ गुरुङले पानोरामा भ्यू पोइन्ट लज सञ्चालन गरेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका रुममा सोमबार बिहान ३ बजे पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । पहिरोले ३ घर पुर्दा १५ वर्षीय नविन र १३ वर्षीय राजन विकको मृत्यु भएको छ । वडाध्यक्ष उदयकुमार बुढाथोकीले दिएको जानकारी अनुसार घामबहादुर विक, उनका श्रीमति र सात वर्षीया छोरीको अवस्था अझै अज्ञात छ । मृतक नविन र राजन पनि घामबहादुरकै छोरा हुन् । अध्यक्ष बुढाथोकीका अनुसार अहिले दरवाङ प्रहरी चौकी, वडा सदस्यहरु, स्थानीयवासी र हेल्थपोस्टका कर्मचारीहरुले खोजी कार्य जारी राखेका छन् । मध्यरातमा घरमाथिबाट एक्कासी ठूलो पहिरो जाँदा घटना घट्न पुगेको बुढाथोकीले बताएका छन् । त्यस्तै, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । त्यहाँबाट सडक सम्पर्कसमेत विच्छेद भएका कारण घाइतेलाई उपचारार्थ पोखरा ल्याउन प्रभुको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर मौसम अत्यन्त प्रतिकुल भएकाले घाइतेलाई पोखरा ल्याउन सकिएको छैन । उनको शरिरको विभिन्न स्थानका हड्डी भाँच्चिएको बताइएको छ ।
पोखराः शनिबार दिउँसोदेखिको निरन्तर वर्षाले कास्कीका विभिन्न स्थानमा सवारीसाधन आवागमनमा अवरोध पुगेको छ । अहिले रुपा गाउँपालिकास्थित गैरीपोखरी सडक खण्डमा सडक भाँस्सिदा बेगनासबाट लमजुुङको भोर्लेटार जाने यातायात सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा २५ मिटर सडक खयड डेढ फिट भाँस्सिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाअन्तरगत नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि अवरोध भएको छ । बिरेठाटी सामुदायिक बनको पाखाको २५ मिटर माथिबाट गएको पहिरोले बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै, पोखरा वडा नम्बर २९ को घोघोतेस्थित पृथ्वी राजमार्ग खण्डमा नहरको पानी सतहमा आउँदा अवरोध भएको छ । उक्त क्षेत्रमा सडक खुलाउन हाल उक्त पानि पावरहाउसबात तालचोक डाइभर्सनतर्फ मोड्ने काम भइरहेको जिप्रका कास्कीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले खानेपानी वितरण स्वच्छ, सर्वसुलभ बनाउने योजना अनुरुप ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ । उक्त विधेयक प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको छ । विधेयक अनुसार कसैले खानेपानी संस्थानको पानी चोरी गरी उपभोग गरेमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख गरेको छ । त्यस्तै, खानेपानीमा ढल वा मलमुत्र मिसाएमा ५ लाख रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गत चैत २३ गते विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए । ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ। ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य गरेमा पचास हजार रुपैयाँ तथा मानव मलमूत्रसहित वा रहितको फोहोर पानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मलमूत्र सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पाँच लाख सम्मको जरिवाना हुने भनिएको छ। यस्तै, अनुमति नलिईकन खानेपानी सेवा, सरसफाइ तथा आयोजना वा सेवा प्रणालीको निर्माण तथा सञ्चालन पनि गर्न नपाइने तथा विधेयकमा भएको प्रावधान विपरीतको कार्य गरेमा प्रदेश सरकारले एक लाख रुपैयाँसम्मको जरिवाना तिराउने उल्लेख छ। ऐनको दफा ३३ मा ऐनले कसुर मान्ने कुराहरू उल्लेख गरिएको छ। जसमा अनुमति पत्र नलिई खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको निर्माण वा सञ्चालन, खानेपानी सेवा तथा सरसफाइ सेवाको अनधिकार प्रयोग गरेमा वा त्यसको दुरुपयोग, अनुमति पत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले अनुमति प्राप्त संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले गरिने कार्य, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य, जलाधार क्षेत्र भित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहावमा असर पर्ने काम रहेका छन्।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताउनुभएको छ । निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवम् ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिनुभयो । “वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताउनुभयो । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगनदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ । गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् । त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् । यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ । स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ । त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन । ‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’ जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए । त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’ गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’
पोखराः पोखराको महतगौंडामा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ । असोजमा औचपारिक उद्घाटन गर्ने योजना भएपनि पार्क निर्माण सकिएपछि सञ्चालनमा ल्याइएको हो । ‘वाटर स्पोर्टस्’ र ‘फनपार्क’ समेत भनिने पार्क अन्तर्राष्ट्रियस्तरको रहेको सञ्चालकमध्येका कमल बस्नेतले जानकारी दिए । पोखरा प्रायः प्राकृतिकरुपमा चिनिएपनि पार्कले संरचनागत हिसाबले पनि चिनाउने उनले बताए । पोखराकै ठूलो मानिएको पार्कमा एकैपटक ५ हजारसम्मले रमाउने वातावरण तय गरिएको छ । ‘पार्क ठूलोमात्र हैन’ बस्नेत भन्छन् ‘सुरक्षित पनि छ ।’ पार्कमा २ दर्जनजति फरक गतिविधि गर्न सकिने बस्नेतको भनाई छ । ६५ रोपनी क्षेत्रफल ओगटेको पार्कमा वेभपुल, रोलरकोस्टर, ५ स्वीमिङपुल र विभिन्न इन्डोर गेम रहेका छन् । त्यस्तै, पार्कभित्र फुडकोर्टसमेत रहेको छ । पार्क सञ्चालनमा १३ जनाले करिब ५० करोड रुपैयाँको हाराहारीमा लगानी गरेको बस्नेतले बताए । पार्क प्रवेशका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । त्यस्तै, त्यहाँ रहेको सम्पूर्ण गतिविधिमा सरिक हुन १२ सय रुपैयाँ शूल्क तोकिएको छ । प्याकेजबाहेक रुचिअनुसारको खेलमा १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिइने उनले जानकारी दिए । यहाँ वाटर र ड्राइपार्क रहेको छ । ड्राइपार्कको प्याकेज शूल्क ४ सय ५० रुपैयाँ रहेको छ भने बालबालिकालाई हाल ५० प्रतिशत छूट दिइएको छ ।
पोखराः पोखराका साहित्यकार दीपक पराजुलीको पहिलो उपन्यास ‘मिथ्या’ पद्यश्री पुरस्कारकालागि मनोनयनमा परेको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्ष ५ कृतिको सूचीमा मिथ्यालाई समावेश गरेको हो । सूचीमा परेका अन्य कृतिमा डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय रहेका छन् । यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो । उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ । रचनाको हिसाबले मिथ्या दोस्रो कृति रहेको पराजुलीले बताएका छन् । पद्यश्रीको छनौटमा परेपछि सुनगाभा न्यूजलाई छोटो प्र्रतिक्रिया दिँदै पराजुलीले साहित्यको उत्कृष्ट पुरस्कार पद्यश्रीमा मनोनयन हुनु खुशीको विषय भएको उल्लेख गरे । ‘सामान्य बिरामी छु, अहिले आरामको आवश्यकता छ’ पराजुलीले भने ‘मनोनयन सूचीमा परेकाे छु प्रतिष्ठानलाई धन्यवाद ।’
पोखरा: पोखरामा देशका ६ ठुला महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा सम्पन्न भएको सम्मेलनमा स्थानीय सरकार सञ्चालनमा सार्वजनिक खरिद ऐन २०६३ बाधक भएको बताएका छन् । मेयर सम्मेलनमा भएको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले स्थानिय सरकारले खुल्ला गरेका टेण्डरहरुमा सार्वजनिक ऐन २०६३ लागु हुदा विकासका पुर्वाधारहरु अलपत्र परेको बताए । उनले आफ्नो ५ वर्षको मेयरको अनुभव सेयर गर्दै स्थानीय सरकारमा सार्वजनिक खरिद ऐन लागु भइरहदा महत्वपुर्ण विकासका योजना अलपत्र परेको छ । मेयर महर्जन भन्छन् सरकारले यसलाई सञ्चाउन आवश्यक छ । सार्वजनिक खरिद ऐनमा रहेर टेण्डर आह्वान गर्दा कम मुल्यमा टेण्डर पाएर ठेकेदारले काम अलपत्र पार्ने गरेको मेयरहरुले गुनासो गरेका थिए । पोखरामा सम्पन्न मेयर सम्मेलनले संयुक्त ७ बुदे घोषणा पत्र समेत सावैजनिक गरेको छ । सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कार्यलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । सम्मेलनमा ६वटै महानगरको साझा चुनौति फोहोर व्यवस्थापन देखिएको मेयर आचार्यको भनाई छ । मेयर आचार्यले सबै महानगरको साझा समस्या फोहोर व्यवस्थापन भएकाले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा केन्द्रीत रह्यौं,’ ‘हिजो विगतमा रहेका सरकारले फोहोर निश्चित ठाउँमा लगेर पुर्ने गर्दै आएको थियो तर, अहिले आफूहरुको माझामा रियुज, रिसाइकल सहितको फोहोर व्यवस्थापन प्रविधि आवश्यक रहेकाले यसैमा केन्द्रीत रहेर सम्मेलनमा एउटै घारणा बनाएको मेयर आचार्यले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै वीरगंज महानगरपालिकका प्रमुख राजेशमान सिंहले सवै महानगरमा सरकारले बजेट विनियोजनमा सौतेनी व्यवहार गरेका बताए । वीरगंज महानगरपालिकालाई आर्थिक नगर घोषणा गरिएको छ तर पर्यटक क्षेत्र लगायतमा पछि रहँदा पनि यो पालिकामा कसरी आर्थिक नगरी घोषणा गरियो उनले प्रश्न गरे । उनले भने स्थानीय सरकारले खुल्ला गर्ने टेण्डरमा कमसल काम गर्ने ठेकेदारले कम मूल्यमा टेण्डर पारेर वीरगंजमा योजनाहरु अलपत्र पार्दा समेत सरकार उदासिन बनेको छ । चालु आर्थिक वर्षको रातो किताब आएकाले यो वर्ष सवै महानगरको साझा कार्यक्रम बनाएर अगाडी बढ्न नसकेको पोखराकाका मेयर आचार्यले बताए । यस्तो छ ७ बुँदे घोषणापत्र १ संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरुसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन , नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाइै थप सृदृढ बनाउन स्थानीय सरकार सञ्चालन एने २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्वन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरवालिकाहरुका लागि संघीय संसदबाट छुुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौ । २ महानगरपालिकाहरुका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरुलाई सम्मान र संवोधन गर्दै महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रबद्र्धन गरी आपसी सहयोग र सहकार्यलाई “महानगर मञ्च नेपाल माध्यमद्वारा संस्थागत गर्न प्रण गर्दछ । ३ उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन नेपाल को आयोजनासँगै त्यसका प्रतिबद्धताहरुको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति गर्दछौ । ४ संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्धतिसंग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जवाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्न प्रतिवद्धता व्यक्त गर्दछौ । ५ महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष में कानूनी रक्षा÷प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गईरहेको परिप्रक्ष्यमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै नहानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति जाहेर गर्दछौ । ६ महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाहरुसंग समेत हरित तथा समावेशी प्वाधार सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने दृढता व्यक्त गर्दछौं । ७ महानगरहरुका पारस्परिक सवाल, समस्या र चुनौतीहरुलाई समन्वित ढङ्गबाट संबोधन गर्ने सन्दर्भमा संघर प्रदेश सरकार एवं राज्यका अन्य अङ्ग र निकायहरुसंग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क समन्वय र सहकार्य गर्न ऐक्यबद्धता जारी गर्दछौं ।

