पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

  काठमाडौँ । हरेक नेपालीको घरमा बिजुली पुर्याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ ।   सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल  चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् । त्यस्तै दुई सय ४२ स्थानीय तहमा आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिकरूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्णरूपमा सेवा उपलब्ध गराउने योजनाका साथ सरकार र नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।   यस्तै ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् सेवा उपलब्ध गराउन सकेको छैन । ती स्थानीय तहलाई केन्द्रमा राखेर प्राधिकरणले योजनाबद्ध प्रयास गरिरहेको छ । विशेषगरी कर्णालीका केही स्थानीय तहमा बिजुली उपलब्ध हुनसकेको छैन । ती क्षेत्रमा बिजुली पुर्याउनका लागि प्राधिकरणले रु २८ अर्ब बराबरको स्रोतको प्रबन्ध गरी बोलपत्रसमेत गरिसकेको छ । आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुलीको सहज पहुँच पुर्याउने प्राधिकरणको तयारी छ ।   प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०७९ अनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलब १४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् ।   सबैभन्दा बढी मधेस प्रदेशमा ९९ दशमलव ९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६ दशमलव  ७९ प्रतिशत विद्युतीकरण भएको छ । विवरणानुसार प्रदेश नं १ मा ९१ दशमलव २३ प्रतिशत, बागमतीमा ९७ दशमलव ४७, गण्डकीमा ९७ दशमलव ७६ प्रतिशत, लुम्बिनीमा ९६ दशमलव ७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८ दशमलव ८५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ ।   कुल ७७ जिल्लामध्ये ४२ जिल्ला पूर्ण विद्युतीकरण भएको  छ । झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर सारभूतरूपमा विद्युतीकरण भएका जिल्ला भएको प्राधिकरणको भनाइ छ ।   यसैगरी नुवाकोट, रसुवा, धादिङ, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, पर्वत, मुस्ताङ, बागलुङ, गुल्मी, प्यूठान, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा सारभूतरूपमा विद्युतीकरण भएको छ ।   इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, पाल्पा, म्याग्दी, रुकुमपश्चिम, डोटी र डडेलधुरा गरी १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ । ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गा, मनाङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा  ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ ।   रुकुमपूर्व, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी सात जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्दछन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी चार जिल्लामा २५ प्रतिशतमात्र विद्युतीकरण भएको छ ।   डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्नसकेको छैन । राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो)लगायतमार्फत विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने सरकारको घोषणालाई पूरा गर्न योजनाबद्धरूपमा काम भइरहेको बताउनुभयो ।   “आर्थिक वर्ष २०७२/७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो भने अहिले ९२ दशमलव  ५१ प्रतिशतमा पुगेको छ ।  सात प्रदेशमध्ये चार प्रदेश करिब–करिब पूर्ण विद्युतीकरण भएका छन्”, उहाँले भन्नुभयो ।     भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भएता पनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत् पुर्याउने गरी उच्च प्राथमिकताकासाथ काम भइरहेको छ ।  त्यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ ।   प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (इआइबी)बाट  २२ करोड अमेरिकी डलर (करिब रु २८ अर्ब) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गर्दै छ ।   सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा रकम जुटाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललले कोभिड–१९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरुको मूल्यवृद्धि, विश्वव्यापीरूपमा बिग्रिएको आपूर्ति चेनको अवस्थामा पनि गत आवमा थप १० जिल्लालाई विद्युतीकरण गर्न सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहमा विद्युतीकरण गर्न बोलपत्रको प्रक्रियामा गइसकेका छौँ ।”

  भक्तपुर ।  सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल विछ्याउदै छ भने कतै पर्खाल भत्किएर सडकनै पहिराले बगाएर जोखिम अवस्था छ । कतै कतै कुलो र कलर्भट पुरिँदा सडकबाटै पानी बगेर ओहोर दोहोर गर्नै जोखिम छ । यो अवस्था विगत आठ वर्षदेखि स्तरोन्नति सुरु भएर अझै निर्माण सम्पन्न नभएको ‘भक्तपुर नगरकोट सडक खण्ड’ मा सजिलै देखिन्छ ।       बिहानै ८ बजे चाँगुनारायण नगरपालिका कार्यालयमा भेला हुनुभएका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सञ्चारकर्मी र नगरपालिकाको टोली भक्तपुर नगरकोट सडकको अनुगमनमा निस्कने क्रममा नगरप्रमुख खत्रीले भन्नुभयो, “जनताले धेरै दुःख पाइसके, अब जे सुकै होस् सहेर बसिन्न, आज सडकको अनुगमन गरौँ, दुई महिनाभित्र सडक निर्माण सम्पन्न नभए ठेक्का रद्द गर्न नगरपालिकाले नेतृत्व गर्छ ।”     उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मङ्सिरमा चुनाव आउन लाग्यो, त्यही भएर जनतालाई देखाउन नगरपालिका अगाडि सर्यो भन्लान, अब सडक निर्माण सम्पन्न गराएर जनतालाई देखाउने नै हो ।” नगरपालिकाको टोलीले खरिपाटीस्थित आयोजनाको कार्यालयमा रहेका सडक निर्माणको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीलाईसँगै लिएर अनुगमनमा निस्कियो । कहाँ के के हुँदैछ रु कहाँ के कति काम भइरहेको छ रु कहाँ के गर्नुपर्नेछ रु अनुगमनकै क्रममा नगरप्रमुख खत्रीले अधिकारीसँग जानकारी लिँदै र निर्देशन दिँदै नगरकोट बसपार्कसम्म पुगियो ।      “अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिना भित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ”, म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भन्नुभयो, “सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन ।” जनताले धेरै दुःख पाइसकेकाले कहीँ कतै समस्या र अवरोध आए नगरपालिकाले सहजीकरण गरिदिने बताउँदै उहाँले काम नरोक्न निर्देशन दिनुभयो ।       नगरप्रमुख खत्रीले नगरकोट बसपार्क पुगेपछि स्थानीय र पर्यटन व्यवसायीसँग छलफल गर्दै भन्नुभयो, “गलत मनसाय, गलत नियत कसैले नराखाँै, नगरपालिकाको राम्रो कामलाई जनताको साथ चाहियो, हामी जनप्रतिनिधिको कुनै व्यक्तिगत स्वार्थ छैन, सबैको अपनत्व हुने गरी पारदर्शी ढ्गले हामी काम गर्छौं ।”      अनुगमनमा नगरपालिकाका उपप्रमुख बुढाथोकीले ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण सम्पन्न नहुँदा त्यसको अपजस नगरपालिकाले खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नुपरेको छ, सडक नबन्दा नगरपालिकाले दुई वर्षदेखि पर्यटन शुल्क उठाउन पाएको छैन, जनताको आक्रोश हामीमाथि छ, अब पनि सडक निर्माण ढिलाइ गरे नगरपालिका चुप बस्दैन ।”      चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले माथिल्लोतर्फ नगरकोट बसपार्कबाट काम अगाडि बढाउन आग्रह गर्नुभयो । सडक निर्माण सम्पन्न गर्न माग गर्दै गत असारमा पनि तीन दिन सडकमै वडा कार्यालयको काम सञ्चालन गरेर विरोध जनाउनुपरेको भन्दै अब विरोध गर्नुपर्ने अवस्था सिर्जना नगर्न कम्पनीलाई आग्रह गर्नुभयो ।       सडक स्तरोन्नति नभएकै कारण स्थानीयले सास्ती व्यहोरिरहेको, यातायात सञ्चालनमा समस्या र जोखिम बढेको, पर्यटकीय गन्तव्य नगरकोट जाने पर्यटकलाई सास्ती भोग्नुपरेको वडाध्यक्ष लामाले बताउनुभयो । बसपार्कको छलफलमा स्थानीय मनोज गिरीले निर्माण कम्पनीले नक्साअनुसार काम नगर्दा खरिपाटीमा आफ्नै र दीपक लामिछानेको निकै जग्गा मिचिएको भन्दै अन्यत्र पनि यस्ता समस्या रहेकाले त्यो समस्या सुल्झाएर निर्माण सम्पन्न गर्न माग गर्नुभयो । उहाँले वर्षामा सडकको पानी व्यक्तिको घरमा पस्ने, पानी पर्दा सडक हिलाम्मे र घाम लाग्यो धुलाम्मे हुँदा यहाँका बासिन्दा विभिन्न रोगको शिकार बन्नुपरेको गुनासो गर्नुभयो ।     नगरकोटका होटल व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले सडक नबन्दा कोरोना महामारी अगाडि र अहिले पनि पर्यटकको आगमन घटेको बताउनुभयो । यहाँका होटल व्यवसायी निकै मारमा परेको भन्दै उहाँले नगरपालिकाले पर्यटन शुल्क यथास्थितिमा नउठाउन माग गर्नुभयो ।      शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अधिकारीले सार्वजनिक खरिद नियमावली १२औँ संशोधनले एक वर्ष म्याद थपेकाले आगामी पुस मसान्तसम्म सडक हस्तान्तरण गर्ने म्याद रहेपनि मङ्सिरभित्रै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो ।     उहाँले भन्नुभयो, “कूल १५ दशमलव ६४ किलोमिटर लम्बाइ रहेको यो सडकको १३ किमिमा कालोपत्र गर्न बेस हालिसकेका छौँ, धेरै ठाउँमा फस्ट कोड पनि गरिसक्यौ, पाँच दशमलव पाँच किमिमा सेकेण्ड कोड हालिसक्यौँ, अब धेरै काम बाँकी छैन, बालाजुको काम रोकिएकाले त्यहाँको जनशक्ति र रोलर, ग्रेडरलगायत मेशिनहरु यहीँ ल्याएर तीव्र गतिमा काम गर्छौ ।”     एक्जिम बैंक इन्डियासँग ऋण लिएर भारतीय आरामाली इन्फ्रा पावर लिमिटेड ९एआईपीएल० र शैलुङ कन्स्ट्रक्सन जेभीले सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । विसं २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरि विसं २०७१ जेठ २२ बाट भक्तपुर–नगरकोट सडकको स्तरोन्नति सुरु गरे पनि अझै अलपत्र छ । अहिले आठौँ पटकसम्म म्याद थप गर्दासम्म ८३ प्रतिशत काम सम्पन्न गरेको छ ।      अन्तिम पटक भन्दै २०७८ चैत १९ सम्म म्याद थप गर्दा त्यस अवधिमा पनि सम्पन्न नगरेपछि सरकारले फेरि आठाँै पटक म्याद थप गरेर २०७९ पुस मसान्तसम्म पु¥छयाएको छ । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा कूल ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि अहिले संशोधन गरेर ३६ करोड रुपैयाँ पु¥याइएको छ  भने सरकारले ठेकेदार कम्पनीलाई करिब ३० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।      पीडित स्थानीयले कयौँ पटक सडकमै उत्रिएर आन्दोलन गरे भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नगरकोट सडकमै रोकेर अवरोध गरेपछि म्यादभित्र काम नसके ठेक्का रद्द गर्ने बचन दिए पनि पुनः म्याद थपिएको छ । स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसेर विरोध गरेका थिए । 

तनहुँ  :   तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार यसवर्ष कृष्ण न्यौपाने र प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।    राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि न्यौपाने र कान्तिपुर टेलिभिजनका प्रतिनिधि राना मगरलाई ‘युवा पत्रकारिता पुरस्कार, २०७९’ बाट पुरस्कृत गर्न लागिएको हो ।   उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ बुधबार आयोजित कार्यक्रममा प्रदान गरिने तनहुँ समाज हङकङका तनहुँ संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । पत्रकारद्वय न्यौपाने र रानाले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ । पुरस्कृत हुन लाग्नुभएका न्यौपाने नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान सहसचिव र राना हालका सचिव हुनुहुन्छ ।    समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसक्नुभएको छ ।   समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।   समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।    समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय नहुँवासी आबद्ध छन् । समाजले हङकङमा विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । 

  काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गर्नुभएको छ ।      उहाँले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुएको छ । विज्ञानको क्षेत्रमा भएका नयाँनयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ । 

  काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ ।   उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।    कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३  चालक रहेका छन्  ।  कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत  गरेको छ । 

  काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।   सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्  । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।   बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

  काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला प्रशिक्षणमा व्यस्त छन् ।           घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ ।            नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) ले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताउनुभयो । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भन्नुभयो ।            फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताउनुभयो ।     उहाँले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताउनुभयो । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उहाँले भन्नुभयो ।     तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताउनुभयो । उहाँले यसअघिका वर्षमा भने तीज मनाउँदै आउनुभएको थियो तर यसपटक भने उहाँको तीज खेलाडीसँग बित्नेछ ।             “अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उहाँले भन्नुभयो ।             उहाँले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताउनुभयो । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् ।            सन् २०१९ मा भएको अघिल्लो संस्करणको साफ नेपालले विराटनगरमा आयोजना गरेको थियो । त्यतिबेला पनि नेपाल दोस्रो नै भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यही भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछन् ।            त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्यापियनसिपमा आयोजक नेपालसहित भूटान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भारत र माल्दिभ्सको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन भूटानी टोली भने नेपाल आइपुगिसकेको छ ।            नेपाली टोलिमा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषानाथ छन् । डिफेन्डरमा हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक छनोट भएका छन् ।            मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् ।           फुटबल मात्र नभइ अन्य खेलका महिला खेलाडीलाई पनि तीज लागेको छैन । उनीहरुले तीज पर्वभन्दा पनि खेल पर्व नै ठूलो मानिरहेको देखिन्छ । अहिले विभिन्न खेलका महिला खेलाडी नवौँ राष्ट्रिय खेलको तयारीमा जुटिरहेका छन् ।           सागमा लगातार दुई स्वर्ण पदक हात पार्ने उसु खेलाडी निमा घर्तीमगर तीज मनाउनुभन्दा पनि प्रतियोगितामा कसरी स्वर्ण जित्न सकिन्छ त्यसतर्फ उहाँको ध्यान केन्द्रित भएको देखिन्छ ।             गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलका लागि उहाँ अहिले बिहान बेलुका नभनि तालिममा व्यस्त हुनुहुन्छ । तीजको खासै चासो नराख्ने उहाँलाई तीज कसरी मनाइन्छ भन्ने थाह नै छैन र हालसम्म उहाँले तीज मनाउने गर्नु नै भएको छैन ।           तीज पर्वमा खासै चासो नरहेको उहाँले हरेक खेलमा आफ्नो पफमेन्स कसरी राम्रो गर्न सकिन्छ भन्नेमा आफनो ध्यान केन्द्रित रहने बताउनुभयो । बाह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १६ वर्षकै उमेरमा उहाँले नेपाललाई स्वर्णपदक दिलाएर नेपाली खेलप्रेमीलाई खुसी प्रदान गर्नुभएको थियो ।            उसुमा दुई स्वर्ण जित्ने निमा हालसम्म एक्ली खेलाडी हुनुहुन्छ । नेपालमा नै आयोजना भएको तेह्रौँ सागमा उहाँले उसुको नानछ्वानमा कुल २० मा १८ दशमलव ९१ अङ्क स्कोर गर्नुभएको थियो । १२ औँ सागमा स्वर्ण जित्दा उहाँको स्कोर १६ दशमलव ९१ थियो । निमाले भन्नुभयो, “फेरि पनि आफनो इफोर्ट स्वर्ण पदकै लागि हुनेछ ।”           नजिकिँदै गरेको नवौँ राष्ट्रिय खेलको तयारीका लागि चेस खेलाडीले पनि जमघट गरेर तिज मनाउन पाएनन् । चेस खेलमा सर्वाधिक सफलता हासिल गर्नुभएकी खेलाडी मोनालिसा खम्बुले पनि औपचारिकरुपमा तीज पर्व मनाउने गर्नुभएको छैन । आफू किरात समुदायमा रहेकाले औपचारिक तीज नमनाए पनि विभिन्न सङ्घसंस्थाले मनाउने गरेको तीज कार्यक्रममा भने उहाँले सहभागिता जनाउने गर्नुभएको छ ।           तीजमा स्पेसली खाने र नाच्ने कार्यक्रममा मात्र नभइ महिला सशक्तीकरणमा सबैले जोड दिन आवश्यक रहेको चेस खेलाडी मोनालिसाले बताउनुभयो । त्रिभुवन आर्मी क्लबमा चेस खेलको व्यवस्थापकको जिम्मेवारी सम्माल्नुभएको उहाँले यसपटकको तीजमा खेलाडीलाई तिजको लागि भनेर घर नपठाएको बताउनुभयो ।           उहाँका अनुसार आर्मीले केही दिनअघिमात्र औपचारिक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीलाई दर खुवाएको थियो । मोनालिसा नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियनका साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । उहाँ चेस सङ्घको सचिवका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटसमेत हुनुहुन्छ ।             नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण अधिकांश खेलका महिला खेलाडी क्लोज क्याम्म नै व्यस्त छन् । तीज पर्वभन्दा पनि आफ्नो टोलीलाई कसरी पहिलो बनाउन सकिन्छ र खेलमा राष्ट्रिय कीर्तिमान कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खेलाडीको ध्यान केन्द्रित भएको छ । फेरि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले एशियाली खेलकुद (एसियाड) मा सहभागिताको मौका पाउने हुँदा पनि खेलाडीलाई चाडपर्वभन्दा पनि आफनो पफमेन्स नै महत्वपूर्ण रहेको छ ।  

  काठमाडौं । विगतका वर्षहरुमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ ।   औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित गर्न लागिएको सरकारको भनाइ छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले ‘पहिले विद्युत् बत्तीका लागि, अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने मान्यातका साथ कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो ।   सरकारले गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण तथा स्तरोन्नतिका कामलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । आफूले ऊर्जा मन्त्रालय सम्हालेको १३ महिना पूरा भएको सन्दर्भमा मन्त्री भुसालले यो अवधिको कार्यकाल सकारात्मक र प्रभावकारी रहेको बताउनुभयो ।   यो अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेकै विद्युत् व्यापारको मार्ग प्रशस्त भएको र नेपालले दैनिक तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गर्न थालेको उहाँको भनाइ छ । “ऊर्जा मन्त्रालय सम्हाल्ने माओवादी पार्टी सम्बद्ध मन्त्रीहरुमध्ये म छैटौँ नम्बरमा परेँ । माओवादीकै नेता ऊर्जामन्त्री हुँदा देशबाट लोडसेडिङको अन्त्य भयो भने मसम्म आइपुग्दा विद्युत् व्यापारसमेत सुरु भएको छ”, उहाँले भन्नुभयो “ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासमा थप मार्ग प्रशस्त भएको छ । यसले व्यापार घाटा घटाउनेलगायतका अन्य आर्थिक विकासका लागिसमेत काम गर्नेछ ।”   आर्थिक वर्ष २०७८/०७९ मा मात्रै मुलुकको केन्द्रीय प्रणालीमा सात सय ७१ मेगावाट बिजुली थप भई कूल विद्युत् उत्पादन क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ । त्यसैगरी ६६ केभीभन्दा माथिको प्रसारण लाइन चार सय ४६ मेगावाट सर्किट किलोमिटर थप भई पाँच हजार ८६ सर्किट किलोमिटर बराबर निर्माण भएको छ । यस्तै बिजुलीको चुहावटसमेत १७ दशमलमव १८ बाट घटेर १५ दशमलव ३८ प्रतिशत कायम भएको छ ।   मुलुकको ९५ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । पछिल्लो पाँच वर्षको विद्युत्को वार्षिक औसत खपतदर १८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कूल २१ हजार छ सय ४२ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भई सिँचाइ सुविधा उपलब्ध भई कूल सिञ्चित क्षेत्रफल १५ लाख ३१ हजार ६९  हेक्टर बराबर पुगेको छ । यस्तै, विद्युतीय पूर्वाधारको विकास तथा विस्तार गर्दै विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेशनका लागि सहुलियत दरमा महसुल निर्धारण गरिएको छ ।   भारत र बङ्गलादेशमा समेत बिजुली निर्यातको मार्ग प्रशस्त भएकाले जलविद्युत् आयोजना निर्माणको मोडालिटीमा समेत परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री भुसालले केही प्राविधिक समस्याका कारण बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्थापना गर्न लागिएको कम्पनीको काम अगाडि नबढेको बताउनुभयो ।   पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारका कारण मुलुकको अर्थतन्त्रमा पर्ने प्रभाव र आगामी कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो । 

  काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो ।   “सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा गर्ने सरकारको मुख्य दायित्व भएको भएको र उनीहरुको जीवनरक्षाको सिलसिलामा कहिलेकाहीँ राष्ट्रका सामु ठूलो समस्या आउने गरेको उल्लेख गर्नुभयो । “तापक्रम वृद्धि, जनसङ्ख्या वृद्धि, भाइरसको उत्पत्तिले विश्वमा ठूलो चुनौती थपिँदै गएको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।    कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कोरोना महामारीको समयमा जनताको रक्षाका लागि यस केन्द्रलगायत सामाजिक सङ्घसंस्थाले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।    उक्त केन्द्रका सल्लाहकार भरत ढकालले न्यून स्रोत र साधन भएर पनि आफूहरुले सक्दो सेवा पुर्याउँदै आएकोे जानकारी दिनुभयो। विसं २०७० मा स्थापना भएको सो केन्द्रले देशका विभिन्न भागमा तीन सयभन्दा बढी स्वास्थ्य शिविर, १७ पटक रक्तदान कार्यक्रम, दुई दर्जनभन्दा बढी उद्घोषण तथा विभिन्न किसिमका तालिम प्रदान गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले उल्लेख  गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।