काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो । भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो । उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
पोखराः नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी श्री एयरलाइन्स र चेम्बर अफ कमर्स, गण्डकी प्रदेशबीच आज राजधानीमा व्यावसायिक सम्झौता (एमओयू) भएको छ । मूलतः दुई संस्था र यसका सदस्य कम्पनीबीच व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको दुबै पक्षले जनाएका छन् । सम्झौतापत्रमा एयरलाइन्सकातर्फबाट करपोरेट म्यानेजर अनिल मानन्धर र चेम्बरकातर्फबाट अध्यक्ष किसान सुनारले हस्ताक्षर गरेका छन् । सम्झौतामा चेम्बरका सदस्यलाई एयरलाइन्सले फास्ट ट्रयाक सर्भिस दिने बताउँदै चेम्बर परिचयपत्रका आधारमा भाडादरमा छूट दिने उल्लेख छ । त्यस्तै, सामानमा ५ किलोसम्म अतिरिक्त छूट र यात्राको अनुपात अनुुसार भाडादरमा छूट दिइने एयरलाइन्सका म्यानेजर मानन्धरले जानकारी दिए । सम्झौतापश्चात् यसबारे जानकारी दिँदै चेम्बरका अध्यक्ष सुनारले सामुहिक हितमा अघि बढ्ने अभिप्रायले श्रीबीच सहकार्य भएको जनाए । ‘संस्थागतरुपमा अघि बढ्ने उद्देश्यले श्री सँग सम्झौता भएको हो’ उनले भने ‘आगामी दिनमा दुबै पक्षको व्यावसायिक हित र उत्तरदायीका खातिर हामीबीच सहकार्य भएको हो ।’ सम्झौतापत्रमा दुबै पक्षले व्यावसायिक सञ्जालमा वृद्धि गर्ने, व्यवसाय प्रबद्धनार्थ आर्थिक र व्यापारिक गतिविधिमा जोड दिने, सदस्यबीच सौहार्दता कायम गर्दै कुनैपनि कठिन परिस्थितिउपर समाधानको खोजी गर्नेलगायतका बुँदा समावेश गरिएको छ । सम्झौताबारे खुलस्त पार्दै करपोरेट म्यानेजर मानन्धरले एमओयू दुई संस्थाका सदस्यको हितमामात्र नभई देशको आर्थिक क्रियाकलापमा समेत योगदान पुग्ने उल्लेख गरेका छन् ।
मोरङ । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताउनुभयो । उहाँले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तह र प्रदेशमा पनि प्रशासनिक समस्या देखिएको उल्लेख गर्नुभयो । युनियन मोरङका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवामा देखिएको समस्यालाई समाधान गर्न सरकारले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा दिइएकहो दिवसको अवसरमा मङ्गलबार सरसफाइ, आज वृक्षरोपण र बिहीबार फलफूल वितरण कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले जानकारी दिनुभयो ।
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्। सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु, उनले भने,'मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।' हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे। काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ। त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए। लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए। सेतोपाटीबाट
कास्कीः आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनकालागि नेकपा एमाले कास्कीले उम्मेदवार सिफारिशको टुंगोे लगाएको छ । आइतबार अबेर सिफारिशका सूचि निकालेको एमाले कास्कीले कूल २८ जनालाई अटाएको छ । जसमध्ये क्षेत्र नम्बर १ बाट १५, २ बाट ४ र ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । सिफारिशमध्ये कतिपय नामको तुलना गर्दा कुनैपनि कोणबाट उनीहरुको सम्भावना छैन । पार्टीले सिफारिश गरेको आधारलाई मुल्यांकन गर्दा हालसम्म क्षेत्र नम्बर २ बाट सिफारिश गरिएकी विद्या भट्टराईको सम्भावना बलियो छ । ‘उहाँको नाम कन्फर्मजस्तै हो’ एमाले जिल्ला कमिटीका एक सदस्य भन्छन् ‘धेरै हिसाबले उहाँ बलियो उम्मेदवार हो ।’ उनका अनुसार भट्टराईको नाममा कसैले विवाद गर्ने छैनन् । त्यसो त अर्की महिला उम्मेदवार प्रभा कोइरालाको सम्भावना पनि उत्तिकै रहेको जानकार बताउँछन् । ‘मेरा नामै त नखुलाउनोस्’ मजदुर फाँटका एक नेता भन्छन् ‘कोइरालाले कास्कीमै लामो राजनीति गर्नुभएको छ, उहाँलाई मौका दिनुपर्छ भन्नेहरुको पार्टीपंक्तिमा ठूलै समूह छ ।’ कास्की २ मा भट्टराई र कोइरालासँगै भुपेन्द्र गिरी र केशव आचार्यलाई सिफारिश गरिएको छ । यद्यपि, गिरी र आचार्यको सम्भावना नभएको बताइन्छ । कास्की १ बाट सिफाशि गरिएकामध्ये खगराज अधिकारी ‘हेभिवेट’ उम्मेदवारमा पर्छन् । पूर्व स्वास्थ्य र गृहमन्त्री अधिकारी यसपटक पनि दोहोरिने दाउमा छन् । पछिल्लो पटक १८ दिन गृहको बागडोर सम्हालेका अधिकारी हाल पार्टीको संगठन विभागको नेतृत्वमा छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका अधिकारीलाई पहिलेजस्तो स्वतः उम्मेदवार पाउन वा हुन सजिलो छैन । पछिल्लो पटक एमाले कास्कीभित्र मौलाएको गूट–उपगूटको कारक मानिएका अधिकारीलाई सिफारिशमा परेका युवा नेता दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना चुनौतिकारुपमा रहेका छन् । अधिकारीको नाम कास्की १ ‘क’बाट प्रदेश सभामासमेत सिफारिसमा परेको छ । त्यस्तै, जिल्लामा अहोरात्र खटिएका मनबहादुर गुरुङ र बौद्धिक छवि बनाएका झलक सुवेदी अधिकारीको आकांक्षामाथि तगारो बन्न सक्छन् । क्षेत्र नम्बर १ का केही मतदातासँग गरिएको कुराकानीलाई आधार मान्दा न्यौपाने वा ढुंगाना उनीहरुको रोजाई छन् । युवा उम्मेदवारको माग भएपनि यसपटक न्यौपाने र ढुंगानाको सम्भावना भने न्यून छ । तर जनजातिको आँखामा भने गुरुङ सम्भावित उम्मेदवार हुन् । साथै कास्कीको अन्य क्षेत्रमा पनि बलिया जनजाति उम्मेदवार नभएकाले यहाँ मनबहादुरले बाजी मार्ने सम्भावना छ । झलक सुवेदीलाई भने पार्टीले सांसद भन्दा ‘थिंक ट्यांक’कारुपमा काम गरुन् भन्ने चाहना राखेको छ । अधिकारीले पनि नछाड्ने र युवानेता पनि पछि नहट्ने सम्भावना रहेकाले यस क्षेत्रमा कसलाई टिकट दिने भन्नेमा नेतृत्वलाई निकै सकस पर्ने बताउँदै पार्टीका बुद्धिजीवि फाँटका नेता भन्छन्, ‘दुई पुस्ताबीच रस्साकस्सी प¥यो भने जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हालिसकेका बैनबहादुर अधिकारीको नाम फाइनल हुने सम्भावना बढी छ ।’ यहाँ सिफारिशमा परेका अन्य नाममा पदमप्रसाद पौडेल, कालिदास सुवेदी, बालासिंह काउछामगर, उमा सिंह, रामराज अधिकारी, पुष्प अधिकारी, मिलन सुवेदी, शंकरनाथ पौडेल र हिमालय बख्रेल रहेका छन् । त्यस्तै, क्षेत्र नम्बर ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । जसमध्ये पूर्वमन्त्री जगत विश्वकर्मा पनि रहेका छन् । सांसदमा पुनः दोहोरिन चाहेका विश्वकर्माको सम्भावना पनि खगराज अधिकारीकैजस्तो ‘झिनो’ रहेको जिल्लाका केही नेताको भनाई छ । ‘विश्वकर्माजीले पहिलै नै एक्कासी पाएको अवसर हो, त्यतिबेला अरुलाई माइनस गरेर उहाँलाई दिइएको हो नी’ एमाले कास्कीका एक पुराना नेता भन्छन् ‘अब हामीले प्वाक्क भन्न मिलेन, पार्टीले मूल्यांकन गर्ला ।’ सिफारिशमा परेकामध्ये भरत पराजुली, देविप्रसाद सुवेदी, विवेक त्रिपाठीको कुनै पनि सम्भावना नरहेको एक उच्चतहका कार्यकर्ता ठोकुवा गर्छन् । उनले भने, ‘नामै पर्नुमा पनि उहाँहरुको जीत हो ।’ विश्वकर्मालाई चुनौती दिने नाम हो, पुण्प्रसाद पौडेल र गणेशमान गुरुङ । तीन नामलाई विश्लेषण गर्दा पौडेलले अवसर पाइसकेका छन् । यसर्थ, गुरुङको नाम फाइनल हुन पनि सक्छ । तर, पछिल्लो समयमा आफुलाई सुधार गर्दै ल्याएका जगन्नाथ बाँस्तोला पनि सशक्त उम्मेदवार हुन् । निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने बाँस्तोलाको लबिङ्मा साथ दिनेहरुको समूह पनि रहेको छ । यसर्थ, कास्की ३ मा टिकटकालागि गुरुङ र बाँस्तोलाकै सम्भावना रहेको बुझाई छ । उल्लेखित नामहरुको बढी चर्चा भएपनि प्रतिष्पर्धी दलहरुले कस्ता उम्मेदवारलाई अघि सार्ने सम्भावना छ सोही अनुसार केन्द्रमा नाम पठाइने कमिटीका सदस्यहरु बताउँछन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग प्रतिनिधिसभातर्फ १ क्षेत्र पाउनुपर्ने अडान राखेकाले सम्भवतः उसले क्षेत्र नम्बर २ वा ३ नै माग्ने सम्भावना छ । यस्तोमा यस क्षेत्रबाट कसलाई उठाउँदा जीत हात पार्न सकिन्छ सोही उम्मेदवारलाई फाइनल गर्न एमाले कास्कीलाई फलामको च्युरा चपाउन सरह हुनेछ । तरपनि एमाले बुद्धिजीवि सर्कलमा रहेका नेताकाअनुसार प्रतिष्पर्धी दल र गठबन्धनले जस्तोसुकै रणनीति अपनाए पनि कास्की २ बाट विद्या भट्टराईले टिकट पाउने र जित्ने निश्चित छ । उनी भन्छन्, ‘जगत र खगराज कमरेड यसपटक कमजोर छन्, पार्टीमा नयाँ पंक्ति सशक्त देखिएको छ ।
गुण्डागर्दीको पृष्ठभूमिबाट उदाएका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ् उर्फ मनाङेकै शैलीमा नेकपा एमाले गोरखाबाट उदाउनेक्रममा रहेका छन् अर्का पात्र मिलन गुरुङ् अर्थात् चक्रे मिलन । देशभर करिब १० लाखको हाराहारीमा संगठित सदस्य भएको दाबी गर्ने एमालेले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाकालागि चक्रे मिलनलाई सिफारिश गरेपछि गोरखाका एमाले कार्यकर्ताहरुको शिर पक्कै निहुरेको छ । राजनीतिमा गुण्डागर्दीलाई संस्थागत गर्ने एमालेको यो कदमले मंसिर ४ मा पक्कैपनि पुर्पुरोमा हात राख्ने अवस्था आउँछ । एमालेले चक्रे मिलनमा के देख्यो ? यसको उत्तर गुण्डागर्दी बाहेक अरु हुन सक्दैन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पाइला राखिसकेपछि पनि एमालेले राजनीतिमा बिहारी शैलीलाई अपनाएर देशप्रति जिम्मेवार नभएको सन्देश दिन खोजेको छ । चुनाव जित्न धन र डन चाहिन्छ भनेर स्वयं एमालेले प्रमाणित गरेको तथ्य हो, चक्रे मिलनलाई सिफारिश गर्नु । विश्वस्त सुत्रकाअनुसार चक्रे मिलनको नाम सिफारिश गर्न अध्यक्ष केपी शर्मा ओलीकै हाल छ । जानकारीमा आएको सूचनालाई विश्वास गर्ने हो भने ओलीको ठाडो निर्देशनमा उनको नाम सिफारिश भएको हो । एमाले र कतिपय अवस्थामा एमालेभन्दा बढी योगदान दिएको दाबी गर्ने नेपाली कांग्रेसको हविगत यो भन्दा पनि गतिलो देखिएन । अझ यसपालिको निर्वाचनमा नख्खु जेलभित्रै रहेका मोहम्मद अफताव आलमलाई रौतहटको क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिश गरेर नेपाली कांग्रेसले आफु नाङ्गो भएको देखाइसक्यो । कांग्रेस नाङ्गिएपछि उसलाई कुरिकुरी गर्न छाडेर एमालेले आफु पनि नाङ्गै भएको देखाउन कत्ति हतार गरेन । उसले पनि देशव्यापी खोजीपछि चक्रे मिलनलाई गोरखामा नाम चढाएरै छाड्यो । प्रहरी र अदालतले दुबैको बहिखाता सार्वजनिक गरिसकेको छ । दुबैले अपराध गरेका छन् । अपराधको तुलोमा दुबैलाई तौलँदा कांग्रेस र एमालेको समाज एवं साम्यवादको तौल उचालिएरै होला उनीहरुलाई त्यागी र महान देखायो । हालै सम्पन्न स्थानीय निर्वाचनको नतीजाबाट देशका दुई ठूला दलहरु दूरदर्शी भए होलान् वा समयलाई बुझ्न सके होलान् भनेर जनमानसले गरेको अनुमान अन्ततः फेल भएका छन् । अहिलेलाई यत्ति बुझ्न सकिन्छ, कांग्रेस र एमाले दुबै नाङ्गिने दौडमा पहिलो हुन प्रतिष्पर्धा गरिरहेका छन् । त्यसो त जनताहरुको चेतनाको स्तर स्वतः बढेको छ । उम्मेदवारको मूल्यांकन गर्ने क्षमता निखारिएको छ । नाम सिफारिश भएकाहरुले कथंकदाचित् जिते भने मतदातामाथि पुरापुर दोष थोपर्न मिल्छ । यसर्थ, यस चुनावमा उम्मेदवार हैन मतदाताहरुको परीक्षा हुनेछ ।
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पछाडि परेका वर्ग र समुदायको उत्थान नभएसम्म समाज रुपान्तरण नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा आज आयोजित मुक्त हलियाको समस्या र राज्यको दायित्व विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले देशको विकास र समाज रुपान्तरणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले हलिया मुक्ति भएको लामो समय बितिसक्दा पनि अझैसम्म पुनःस्थापना हुन नसकेकोमा मुक्त हलिया परिवारको समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मुक्तिको घोषणा भएर पनि पुनःस्थापना कार्य नभएका मुक्त हलिया परिवारको व्यवस्थापनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुक्त घोषणा भएको १४ वर्षसम्म सबै मुक्त हलिया परिवारको पुन:स्थापना नहुँदा उनीहरुलाई जीविकोपार्जनमा असर परिरहेको उहाँको भनाइ थियो । संविधानसभा सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइली लामो सङ्र्घषपछि हलियालाई सरकारले मुक्त घोषणा गरे पनि पुनःस्थापना कार्यमा ढिलाइ गरेको बताउनुभयो । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले सरकारबाट प्रमाणीकरण भएका १६ हजार ९५३ घरपरिवार मध्ये हालसम्म १३ हजार छ सय ४६ मुक्त हलिया परिवारले पुन:स्थापनाको प्याकेज पाएको बताउनुभयो ।
काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गर्नुभयो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउनुभएको हो । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो । सोही प्रचलनको निरन्तरता स्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ । दुई मुलुकका सेनाबीचको दशकौंदेखिको उक्त अनुपम अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध मात्र नभई दुवै मुलुकको मित्रता र सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउन टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल र भारत घनिष्ठ एवं शान्तिपूर्ण मुलुक हो । यी मुलुकबीच सदियौंदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक सामिप्यता तथा सेनाबीच प्रगाढ सम्बन्ध रही आएको छ । द्विपक्षीय सेनाबीच शान्तिपूर्ण सहअस्तित्व, सम्मान र सहयोगभाव पहिलेदेखि नै चलीआएको इतिहास छ । तिनै परम्परा र इतिहासले नेपाली सेना र भारतीय सेनाबीच गहिरो सम्बन्ध कायम छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा एसियाको अनुकरणीय उदाहरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाले एक अर्को मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपमा निरन्तर सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र भारतीय सेना बीच सञ्चालन हुने ‘एक्स सूर्य किरण’ सैन्य अभ्यासले दुवै देशको सेनाबीच अझै सम्बन्ध मजवुद पारेको छ । मानार्थ महारथी दर्जा प्राप्त गर्नु अघि जलनरल पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा नेपाली सेनाले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उहाँले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता पनि गर्नुभएको थियो । पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ । सेनाध्यक्ष पाण्डेको योगदान राष्ट्रपति भण्डारीबाट नेपाली सेनाको मानार्थ महारर्थी दर्जा प्राप्त गर्नुभएका भारतीय सेनाध्यक्ष जनरल पाण्डे भारतको परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडलजस्ता उच्च मानपदवी, विभूषण तथा पदकबाट विभूषित हुनुहुन्छ । एड–डि क्याम्प तथा प्रतिष्ठित नेशनल डिफेन्स एकाडेमीबाट दीक्षित पाण्डे सन् १९८२ मा भारतीय सेनाको कोर अफ इन्जिनियर्समा कमिशन हुनुभएको थियो । संयुक्त अधिराज्यको क्याम्बर्लीस्थित स्टाफ कलेजबाट दीक्षित पाण्डे हाइ कमाण्ड र नेशनल डिफेन्स कलेज कोर्ससमेत गर्नुभएको छ । भारतीय सेनाप्रतिको निस्वार्थ सेवा, इमान्दारिता, लगनशिलता, सैनिक पेशाप्रतिको समर्पणका कारण जनरल पाण्डे आफूलाई सैनिक कला र व्यावसायिकतामा अब्बल सावित गर्दै सन् २०२२ अप्रिल ३० मा भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त हुनुभएको थियो । करिव चार दशक लामो भारतीय सैनिक सेवामा कार्यरत उहाँले उल्लेखनीय कमाण्ड तथा स्टाफ भूमिकाहरूमा कार्यसम्पादन गर्नुभएको छ । महत्वपूर्ण र चुनौतीपूर्ण कमाण्डमा कार्यरत रहने क्रममा उहाँले इन्जिनियर ब्रिगेड, इन्फेन्ट्री ब्रिगेड, माउन्टेन डिभिजन र कोरको सफलतापूर्वक कमाण्ड गर्नुभएको छ । उहाँले अन्डामन र निकोबर कमाण्डमा कमाण्डर इन चिफ र पूर्वी कमाण्डको जनरल अफिसर कमान्डिङ इन चिफको जिम्मेवारीसमेत सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँले भारतीय सेनाको पूर्वी–कमाण्डमा रहँदा चुनौतीपूर्ण प्रतिविद्रोह कारवाहीमा समेत प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ । भारतीय सेनाको महत्वपूर्ण स्टाफ भूमिकामा रहेर जिम्मेवारी पूरा गर्ने क्रममा जनरल पाण्डेले भाइस चिफ अफ आर्मी स्टाफ, मिलिटरी अपरेशनमा एडिसनल डाइरेक्टर जनरल, दक्षिण कमाण्ड हेडक्वाटरमा चिफ अफ स्टाफ, डिसिप्लिन, सेरेमोनियल तथा वेलफेयर डाइरेक्टोरेटमा डाइरेक्टर जनरलको नियुक्तिमा विशेष योगदान पुर्याउनुभएको छ । उहाँले शान्ति स्थापनार्थ इथियोपिया र इरिट्रियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा चिफ इन्जिनियरको रुपमा कार्य गरी विश्व शान्तिमा विशिष्ट योगदान पुर्याउनुभएको छ ।

