पोखराः कास्की क्षेत्र नम्बर २ तर्फ प्रदेश सभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आज स्थानीय पत्रकारसँग अनौपचारिक भेटघाट गरेका छन् । भेटघाटमा थापाले घोषणापत्र लेखनमा जुटेको बताउँदै के–कस्ता योजना र कामको आवश्यकता छ भन्दै सुझाव मागे । ‘पत्रकारहरु दैनिकरुपमा जनताको गुनासो र आवश्यकताबीच काम गर्नुपर्ने भएकाले सुझावको अपेक्षा गरेको छु’ उनले भने । समृद्धि र निरन्तरको विकासमा सँधै लागिरहेको बताउँदै उनले मन्त्री भएपनि उल्लेख्य काम गर्न समायाभावले नसकेको प्रष्ट्याए । पोखराको विकासमा गर्नुपर्ने धेरै काम भएका भन्दै थापाले सोही लक्ष्य पुरा गर्न पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको जिकिर गरे । प्रदेशमा कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री रहेका थापा व्यावसायिक पृष्ठभूमिबाट उदाएका हुन् । सोही कारण पनि पोखरालाई आर्थिक क्षेत्रमा माथि उठाउन पुनः नीति निर्माण तहमा पुग्न चाहेको उनले बताए । गठबन्धनका साझा उम्मेदवारले छलफलकाक्रममा चुनाव जित्ने दाबी गर्दै महत्वपूर्ण सुझावको अपेक्षा गरे । भेटघाटमा सहभागी पत्रकारहरुले यस क्षेत्रको विकासमा उद्योग, पर्यटन, कृषि र वातावरणमा पहल गर्नुपर्ने भन्दै समयसापेक्ष कार्यक्रमहरु घोषणापत्रमा समेट्न सुझाव दिए । त्यस्तै, निर्माणाधीन कोरला नाका र हुलाकी मार्गबाट कास्की एवं पोखराले भरमग्दुर फाइदा लिनसक्ने भएकाले सोही अनुसारका योजनाहरु समेटिनु पर्ने सुझाव समेत थापालाई दिएको छ । हालसम्म निर्णय हुन नसकेको आमसञ्चार विधेयकलाई समेत टुंगोमा पु¥याउनुपर्ने पत्रकारहरुको जोड थियो । उक्त विधेयक पत्रकार र सूचनामैत्री पनि हुनुपर्नेमा सहभागी पत्रकारको जोड रहेको छ । सुझाव लिँदै थापाले सुशासन र सबल अर्थतन्त्रनै आफ्नो मूल चुनावी एजेन्डा र लक्ष्य रहेको जनाए । दोस्रो पटक प्रदेशको चुनावी मैदानमा होमिएका थापाको प्रतिष्पर्धामा नेकपा एमालेबाट मिना गुरुङ रहेकी छिन् । गुरुङ् यसअघि समानुपातिकतर्फबाट सांसद हुन् ।
सत्ता गठबन्धनको सहमति विपरित तनहुँ प्रदेश सभा १ (ख)बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीकी नेत्री कलिला खानले आज उम्मेदवारी फिर्ता लिएकी छिन् । गठबन्धनको सहमतिअनुसार नेकपा एसले तनहुँमा भाग नपाएपछि खानले उम्मेदवारी दिएकी थिइन् । ‘कार्वाही भोग्न तयार तर उम्मेदवारी फिर्ता गर्दिन’ भन्ने अडान राखेकी खानले आज पार्टीको निर्णय भन्दै पछि फर्किएकी हुन् यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान चुनावी मैदानमा छन् । प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु आजको आवश्यकता भन्दै खानले पार्टी र गठबन्धनका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् । खानले भनेकी छिन्, ‘गठबन्धनका साझा उम्मेदवार हरिबहादुर चुमानलाई जिताउन लाग्नेछु ।’
कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् । उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् । चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् । बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् । अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् । अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् । बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो । अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् ।
पोखराः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ निर्वाचन आयोग जुटिरहेको छ । आयोगले निर्वाचनको तालिका अनुसार आज दुबै सभाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार अपरान्ह १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यस्तै, बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइने आयोजले जनाएको छ ।
पोखराः पछिल्लो समय कलाकारिताबाट फुर्सद पाएपछि करिश्मा मानन्धर अर्थात् सूर्यकुमारी अभिनेत्रीबाट नेतृ भइन् । मानन्धरलाई नेकपा एमालेले स्वागत ग¥यो, त्यसपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रममा देखिइन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशमा हुने चुनावको टिकट बाँडफाँडपछि उनले हातमा वाइनको गिलास लिएर उन्मुक्त हुँदै अर्थपूर्ण स्टाटस पोस्टिएकी छिन् । स्टाटसको आशय यही हो भनेर ठोकुवा गर्न नसकिए पनि पार्टीबाट उनले समानुपातिकमा अपेक्षा गरेको हुनसक्ने आशय निस्कन्छ । उनको स्टाटसमा ‘एमाले कम्पनीभित्र गएपछि श्वास फेर्नपनि मुस्किल हुने’जस्ता कमेन्ट गरिएको छ । त्यस्तै, धेरै कमेन्टमा उनलाई स्वतन्त्र हुन पनि सुझाइएको छ । यही क्रममा उनको स्टाटसलाई टिकट नपाएपछिको रोषसमेत भनिएको छ । यद्यपि, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ लाइनलाई अब एमाले छाडेर बाहिर निस्कन लागेको भन्ने अर्थ लगाउन सकिन्छ । लोकगायिकाको छवि बनाएकी कोमल ओलीलाई एमालेले पार्टीमा भित्र्याएपछि दिएको अवसर देखेर उस्तै अवसर पाउने विश्वासमा त्यतै लागेकी मानन्धर अहिले तस्बिर र स्टाटसमा देखिएजस्तै उन्मुक्त छिन् ।
नेकपा एमालेका कास्कीमा युवा नेताको छवि बनाएका जगन्नाथ बाँस्तोलाले प्रतिनिधिसभा र प्रदेश कतैपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ बाट टिकटका आकांक्षी रहेका बाँस्तोलाको नाम केन्द्रमा सिफारिश भएपनि अन्तिममा टिकट नपाएपछि स्वतन्त्रकारुपमा बागी उठेका हुन् । यस क्षेत्रबाट पार्टीले दामोदर वैरागीलाई टिकट दिएको छ । त्यस्तै, नेपाली कांग्रेस कास्कीमा हक्की नेताका छवि बनाएका पुराना नेता महादेव गुरुङले पनि आफुलाई बागीमा दर्ता गराएका छन् । टिकटका आकांक्षी रहेका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् ।
कास्कीको क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनले प्रतिनिधि सभामा साझा उम्मेदवारकोरुपमा रामजीप्रसाद बराल ‘जीवन’लाई उठाउने भएको छ । गण्डकी प्रदेशमा अर्थमन्त्री सम्हालेका बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । बरालका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका दामोदर बैरागी रहेका छन् ।
काठमाडौं: सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ । १२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् । जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।
कास्कीः नेकपा एमालेले कास्कीलगायत गण्डकी क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुंगो लगाएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीको १ मा मनबहादुर गुरुङले प्रतिनिधिसभाको टिकट पाएका छन् । यस क्षेत्रबाट नयाँ अनुहार गुरुङ हाल एमाले कास्कीको अध्यक्ष हुन् । यसअघि स्वास्थ्य र गृहमन्त्री रहेका खगराज अधिकारी भने प्रदेश सभाको १ (क)बाट उम्मेदवार भएका छन् । त्यस्तै, यही क्षेत्रको (ख)बाट बेदबहादुर गुरुङले टिकट पाएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ बाट विद्या भट्टराईले टिकट पाएकी छिन् । भट्टराइलाई यस क्षेत्रको स्वभाविक उम्मेदवार मानिएको थियो । यहाँबाट प्रदेश सभामा भीम कार्की र मिना गुरुङले टिकट पाएका छन् । यसैगरी, क्षेत्र ३ बाट प्रतिनिधि सभामा दामोदर वैरागीले बाजी मारेका छन् । यहाँबाट प्रदेशतर्फ गणेशमान गुरुङ र राजीव पहारीले टिकट पाएका छन् । जसमध्ये राजीव पहारीले पुनः अवसर पाएका हुन् । दशैँअघि पत्रकार भेटघाटमा खगराज अधिकारीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने भन्दै आफुलाई प्रदेशमा उठाएपनि सहर्ष स्वीकार गर्ने बताएका थिए । यद्यपि, अधिकारीको रुचि भने संघमै रहेको थियो । अवसरका हिसाबले प्रदेशमा झरे पनि यसपटक राजीव पहारी र अधिकारीले नै पुनः बाजी मारेका छन् ।