काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । म्हः (आत्म)पूजा आजैको दिन नेवार समुदायमा म्हः (आत्म)पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ । दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताउनुभयो । “दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भन्नुभयो, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।” उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताउनुभयो । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उहाँको लक्ष्य छ । उहाँले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताउनुभयो । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ । मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।
झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ । पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बित्तिकै सुन्दर पार्कमा रहेको भव्य शालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले ११४औँ देवकोटा जयन्तीको अवसर पारेर माल्यार्पण गर्नुभयो । सुसेली साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञासभा सदस्य सुभद्रा अर्याल, साहित्यका पुण्य खरेललगायतले देवकोटाको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार मीरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, देवेन खरेललगायतले कविता वाचन गर्नुभएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले झुठ फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ। फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उक्त निर्देशन दिएको हो। झुठ फेसबुक पेज र ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ। उक्त फेसबुक पेज तथा ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।
काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका समस्या समाधान गर्ने बताए । घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्वर १(क)का नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई भोट हाल्न मतदाता आतुर भएको भन्दै नेकपा एमालेलाईलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे ।
पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो हिसाबले अब एमाले पार्टीले जनताको परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिवद्धता र हामीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।’ पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको विश्वास व्यक्त गरिन् । आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियारसहित आईतसिंह तामाङलाई प्रकाउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खैमराङस्थित बारीमा घाँस काट्दै गरेको महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सुचनापछि तामाङलाई कास्की प्रहरीले प्रकाउ गरेको हो । घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कास्कीको माछापुच्छ्र्र गाउँपालिका २ खैमराङ बस्ने ३३ वर्षीय तामाङलाई प्रकाउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका तामाङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

