पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

सिरहा: लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ ।   माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारदाले जानकारी दिनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोलाको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का छन् ।    ती सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट सङ्कलन गरिएको आर्थिक सहयोगबाट निर्मित भएका हुन् । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेत चाँदीका गरगहनाले सजाइएका छन् । अन्य देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृङ्गार तथा हातहतियार पाँच केजी चाँदीका छन् ।   मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।    गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।    

राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भएर विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो।    खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ।   खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ।   उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद रु। २५ लाख कायम हुनेछ।    यस्तै १७ वटा निर्वाचन क्षेत्रमा रु. २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु. २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु. ३३ लाख कायम हुनेछ।   त्यस्तै उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  २३ लाख कायम गरिएको छ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख हुनेछ।    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार  एक लाख ५० हजार कायम हुनेछ।   निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।   नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।  

बडादशैँको आठाैँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।   महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ ।   केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।   नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।   दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभं्रस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।   समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।   गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिनुभयो । सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ ।   सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो ।   कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो । नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ ।   एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ । “नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो ।   उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ । सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।

सल्यान: सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।   उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।   रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो ।   सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् । उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् ।   दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् ।   कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् । त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।   चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।

पाेखरा:   नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ ।   निगमले एक सूचना प्रकाशित गरी दसँैका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।   उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।   निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।

पोखरा:  ‘एउटा भनाई विद्यमान छ मासु खाँदा–खाँदा मासिने भइयो’ यो भनाई छ्यासछ्यास्ती सुन्न सकिन्छ ।    दशैं भन्ने बित्तिकै मासुलाई पहिलो नम्बरमा राख्ने गरिन्छ । खसी र उच्च हिमाली भेगमा पाइने भेडा र च्याङ्ग्राको मासुलाई विशेष प्राथमिकता दिने भएकाले ताजा मासु ग्राहकहरुले कसरी चिन्न सक्छन् भन्ने जानकारी दिनु समाचारको उद्देश्य हो ।    ताजा, स्वच्छ मासु छुट्याउन नसक्दा केहीको भान्सा बिग्रन पनि सक्छ, त्यसैले ताजा मासु किनेर  भान्सालाई स्वादिष्ट बनाउने कि !   ताजा मासु कसरी छुट्याउने भन्ने विषयमा रिर्पाेटिङको क्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीका भेटेनरी निरीक्षक डा. अनन्त कोइरालाले ताजा मासुुलाई रंग र गन्धले छुट्याउन सकिने बताए ।  ‘कम मूल्यमा पाएको मासु स्वच्छ नहुन सक्छ’ केन्द्रका डा. कोइरालाले भने ‘ताजा मासु छुट्याउन ग्राहकले कलर र गन्धमा विशेष ध्यान पुर्‍याउन पर्छ ।’   दशैं नजिकिएसँगै खसी, बोका, कुखुरा र उच्च हिमाली भेगका भेडा, च्याङ्ग्रा पनि गाउँ, शहर भित्रिसकेका छन् ।    डा. कोइरालाका अनुसार ग्राहकहरुले सर्वप्रथम खसीको ताजा मासु छुट्याउन सर्वप्रथम मासुको रंग हेर्नु आवश्यक छ ।   ‘खसीको ताजा मासु छुट्याउन हामीले मासुको रंग रातो भए ताजा भन्न सक्छौ’ उनले भने ‘मासुको रंग रातो भएर मात्र हुदैन मासु पसल कस्तो छ, भण्डारण ठाउँ कस्तो छ  र कस्तो औजारले मासु काटिएको छ भनेर पनि विशेष ध्यान पुर्‍याउन सके ताजा मासु छुट्याउन सकिन्छ ।’   यही विधि नै जुनसुकै जनावर वा पंक्षीको मासु किन्नुपूर्व अपनाउनुपर्ने टिप्स रहेको कोइरालाको भनाई छ ।      दशैंका लागि ग्राहकहरुले मासु  किन्दा बधशाला कस्तो ठाउँमा छ, मासु काट्न प्रयोग गरिएको औजार, मासु भण्डारण गर्ने ठाउँहरु सफा छ कि छैन भनेर विशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीको सुझाव छ ।     

पाेखरा: पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा निलकमल म्यानपावर सञ्चालन गरी दक्षिण कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा सञ्चालक कृष्ण रोका पक्राउ परेका छन् ।      रोकालाई बिहीबार अन्तर्वार्ता लिने भन्दै ८० जना युवासँग जनही २ लाख रुपैयाँ उठाइरहेको सूचना प्राप्त भएपछि वैदेशिक रोजगार विभागको टोलीले ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो ।    युवाहरुलाई सिजनल भिसामार्फत कोरिया पठाउने भन्दै बखुण्डोलमा अन्तर्वार्ताकालागि बोलाइएको थियो । सोहीक्रममा रोकाले बिनाभौचर जनही २ लाख रुपैयाँ उठाइरहेका थिए । आफुले बुझाएको पैसाको प्रमाण नदिएपछि सहभागीले नै विभागमा खबर गरेका थिए ।    यसअघि म्यानपावरको पोखरा कार्यालयमा पनि कोरिया जाने प्रक्रियामा रहेका केहीले जिल्ला प्रहरी कार्यालयमा ठगिएको सूचना दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तर त्यसको भोलीपल्टै रोकाले अन्तर्वार्ता लिने भन्दै उनीहरुलाई ललितपुर पु¥याउन सफल भएका थिए ।    सरकारले वैधता नदिएको सिजनल भिसामा कोरिया पठाउने भन्दै पोखरामा करिब २ महिनादेखि रोकाले मान्छे भेला गर्दै आएका थिए । म्यानपावर कम्पनीको बोर्डसमेत नराखि ठगीमा जुटेका उनले जनही १३ लाख रुपैयाँ लिने योजनामा रहेका थिए ।    रोकाको यस योजनामा माछापुच्छ्रे गाउँपालिकाका साजन र गुणराज अधिकारीको सहयोग रहेको बताइएको छ । अधिकारीद्वयले छोटो समयमै युवाहरुलाई लाखौ कमाउने प्रलोभन देखाउँदै उनीहरुलाई रोकाको जिम्मा लगाउने गरेको पाइएको छ ।    जसमध्ये साजन तरुण दल लाहाचोकका अध्यक्ष हुन् ।    कोरिया जाने तयारीमा रहेको एक युवाले उनीहरुसँग अहिले २ लाख दिनुपर्ने र पछि १० देखि १३ लाख रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । सोही अनुसार बिहीबार ८० जनासँग १ करोड ६० लाख रुपैयाँ उठाउँदै गर्दा रोका विभागको फन्दामा परेका हुन् ।    नेपालको कानून अनुसार कुनैपनि देशमा सिजनल भिसामा कामदा पठाउनु अवैधानिक ठहर्छ । त्यस्तै, कोरिया पठाउन सकारलेनै इपिएस प्रणालीमार्फत आफै उक्त काम गर्दै आएको छ । तर रोकाले उनीहरुलाई सरकारमार्फत नै पठाउने झुठो आश्वासन दिएको पीडितले बताएका छन् ।    रोकाले यसअघि पोखरामा पनि रकम उठाएर श्रीमति राजकुमारी रोकाको बैंकखातामा राख्ने गरेको सूचना पाएको विभागले जनाएको छ ।    यस विषयमा विभागमा महानिर्देशक उमाकान्त आचार्यले बिनाआधार कोरिया पठाइदिन्छु भन्दै पैसा असुल्ने कामलाई ‘सरासर ठगी धन्दा’ भएको जनाएका छन् । आचार्यका अनुसार सरकारले अहिलेसम्म सिजनल भिसासम्बन्धी कुनै पनि नियम बनाइसेकेको छैन ।    हाल रोकालाई कस्टडीमा राखेको जानकारी गराउँदै थप पीडितहरुलाई सम्पर्कमा आउन आव्हान गरी अनुसन्धान सुरु गर्ने आचार्यले बताएका छन् ।   

पोखराः गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले अर्का मन्त्री कुमार खड्काकारण आफुले कानून मन्त्रालयमा चित्त बुझाउनु परेको गुनासो गरेका छन् ।    मन्त्री थापाले आज पोखरामा सांसद र मन्त्रीमा बहाल रहँदा पाएको तलबभत्ता सार्वजनिक कार्यमा खर्च गरेको हिसाब देखाउनेक्रममा उक्त धारणा राखेका हुन् । कांग्रेस कास्कीमा शक्ति संघर्ष गरिरहेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र मन्त्री थापाबीच पछिल्लो समय झनै दूरी बढेर गएको छ ।    पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले गठबन्धन सरकार निर्माणकाक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवासमक्ष खड्काको खेलेको भूमिकाले आफु कानूनमन्त्रीमा खुम्चन परेको तीतो पोखे । ‘मेरो चाहना अरु नै मन्त्रालय थियो’ थापाले भने ‘काम देखाउनेखालको प्रभावकारी मन्त्री बन्नबाट रोक्न उनले अस्वस्थ राजनीति गरे ।’   पछिल्लो समय खड्काले गूटगत भेला गरी मुख्यमन्त्रीको टिकट पाउन चलखेल गरेकोप्रति थापाले त्यसलाई ‘अस्वस्थ’  र ‘अनावश्यक गतिविधि’ भनि टिप्पणी गरे । खड्काको गतिविधिप्रति इंगित गर्दै थापाले ग्रुपिज्मको विरोध गरेका हुन् ।    ‘मैले उहाँ (कुमार खड्का)मात्र हैन, कसैलाई पनि बिझाउने काम गरेको छैन’ थापाले भने ‘तर उहाँ कोठेभेला गर्दै मेरा विरुद्ध किन लाग्नुभएको छ, मैले बुझ्न सक्या छैन ।’   त्यस्तै, अर्काे प्रसंगमा मन्त्री थापाले पछिल्लो बजेटमा करसम्बन्धी विवादको जवाफ दिएका छन् ।    सरकारले करको दर नभई दायरा बढाउन खोजेको जानकारी दिँदै अर्थमन्त्रीकाकारण विवाद निम्तिएको प्रष्ट्याए । ‘मुख्यमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुपर्ने रहेछ’ उनले भने ‘त्यसो नहुँदा करमा विवाद बढ्यो ।’   जनस्तरबाट व्यापक विरोध भएपछि पनि अर्थमन्त्रीले चासो नदिँदा गत शुक्रबार मुख्यमन्त्रीले हस्तक्षेप गरी केही महत्वपूर्ण क्षेत्रको करको दर घटाएको उनले जनाए । अर्थमन्त्रीले चुनावको मुखमा कर बढाएर सरकारलाई अलोकप्रिय बनाउन उद्दत देखिएकाले मुख्यमन्त्रीले हस्तक्षेप गरेको उनले स्पष्ट पारे ।    त्यस्तै, यस ५ वर्षमा आफु सांसद हुँदै मन्त्रीसम्म बन्न सफल भएकोमा उनले मतदातालाई धन्यवादसमेत व्यक्त गरे । अबपनि राजनीतिक यात्रा निरन्तर रहने बताउँदै थापाले आफु पनि टिकटको आकांक्षी रहेको र पार्टीले पक्कै मुल्यांकन गर्ने आशा पोखे ।    मन्त्री थापाले सार्वजनिक गरेको हिसाबअनुसार ५ वर्षमा बैठक भत्ता र पारिश्रमिकवापत ४० लाख ७१ हजार २ सय ४९ प्राप्त भएको र त्यसमा थप गरी कूल ५८ लाख २९ हजार ६६ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए ।