पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।        राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप  उत्साह, उमङ्गका साथ  क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।   सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”   वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादशैं पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।   “घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ” सन्देशमा भनिएको छ, “बडादशैंको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादशैं नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।”   नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दशैं आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

चितवन: दसैंमा मासु खानेक्रममा अड्किएर एक जनाको ज्यान गएको छ ।   कालिका नगरपालिका वडा नं ८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दसैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याइएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुर तर्फ लगिएको स्थानीयले जानकारी दिए ।   क्षेत्रीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

ताप्लेजुङः  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।   सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।   लुटपाटमा सम्लग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।   प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिव छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ ।    घटनामा सम्लग्न अन्यको खोजी कार्य तीब्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए ।   आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ ।    आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेनी  :  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ ।    सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ ।    उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।   भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ ।   नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ । 

काठमाडौं :  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।   महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।   पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।    मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।   नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।   महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।   हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै   हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।    तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।   मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।   दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिनुभयो ।   “यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।”   प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुदाँ ठुला बसका लागि भने टाइमकार्ड लागु गरिएको छैन् । डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ । ४५ किलोमिटर दुरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ ।   प्रत्येक सवारी साधनका लागि टाईमकार्ड उपलब्ध गराइएको छ । चाडपर्वका समयमा तीव्र गतिमा सवारी साधन कुँदाउदा दुर्घटना हुने भएकाले न्युनीकरणका लागि टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने भूपी–शेरचन राजमार्ग प्रयोग गरेर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा आवत जावत हुन्छ ।  

सिरहा: लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ ।   माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारदाले जानकारी दिनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोलाको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का छन् ।    ती सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट सङ्कलन गरिएको आर्थिक सहयोगबाट निर्मित भएका हुन् । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेत चाँदीका गरगहनाले सजाइएका छन् । अन्य देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृङ्गार तथा हातहतियार पाँच केजी चाँदीका छन् ।   मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।    गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।    

राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भएर विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो।    खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ।   खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ।   उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद रु। २५ लाख कायम हुनेछ।    यस्तै १७ वटा निर्वाचन क्षेत्रमा रु. २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु. २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु. ३३ लाख कायम हुनेछ।   त्यस्तै उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  २३ लाख कायम गरिएको छ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख हुनेछ।    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार  एक लाख ५० हजार कायम हुनेछ।   निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।   नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।  

बडादशैँको आठाैँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।   महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ ।   केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।   नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।   दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभं्रस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।   समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।