पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

  गोरखा । उत्तरी गोरखाको  मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् ।  अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।  नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।  “आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उहाँले भन्नुभयो । काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गर्नुभएको थियो । आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ ।   अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो ।

पोखरा : दशैंमा सुपथ मूल्यको पसल चलाउनुपर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा ६ केजी नुन बेच्न बसेको छ ।   नेपालीहरुको महानचाड दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसल सञ्चालन गरेर नुन चिनी बिक्री गर्ने गरेपनि  यो वर्ष भने नुन बेच्न बसेको छ पोखरा कार्यालय ।  कार्यालय परिसरमा नुन फिँजाएर बसेको साल्ट ट्रेडिङ्गसँग आम जनतालाई राहतस्वरुप बेच्न अरु केहि पनि छैन ।       प्रदेश कार्यालयमा यो वर्ष चिनी आयात नहुँदा एक व्यक्तिले प्रतिकेजी १८ रुपैयाँमा ६ केजी मात्र नुन किन्न पाउने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए ।    सरकारले यो वर्ष प्रशस्त चिनी आयात नगर्दा कर्पोरेशनमा चिनी नभएकाले यो वर्ष सुपथ पसल सञ्चालन नहुने संकेत दिए । ‘कोरोना भन्दा अगाडी सुपथ मूल्य पसल सञ्चालन गरिएको हो’ उनले भने ‘नेपालीहरुको महानचाड दशैं तिहार र छठलाई लक्षित गरेर पसल सञ्चालन गरिए पनि अहिले चिनी आयात नहुँदा पसल सञ्चालन गर्न कुनै निर्देशन आएको छैन ।’   ‘कार्यालयको गेटमा आएर सुपथ पसल सञ्चालन हुन्छ कि हुँदैन् ? भनेर उपभोक्ताहरु आउने गरेका छन्’  उनले भने ‘यो वर्ष चिनी आयात नभएकाले पसल सञ्चालन नभए पनि उपभोक्ता आए एक व्यक्तिलाई ६ केजी नुन बिक्री गर्न सक्छौं ।’   कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै विगतका वर्षहरुमा एक व्यक्तिलाई ३ केजी नुन र ३ केजी चिनी सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो ।    कर्पोरेशनले विगतका वर्षहरुमा चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दै आएको र अहिले बजारमा नै प्रशस्त पाइने भएकाले नुन र चिनी विक्री गर्ने गरेपनि यो वर्ष नुन मात्र विक्री गरेको हो ।    जव दशैं तिहार चाड नजिक नजिक आउँछ आम उपभोक्ताहरुको सुपथ मूल्य पसलमा लामो लस्करसँगै व्यस्त देखिने कर्मचारीहरु यो वर्ष भने आरामदायी देखिएका छन् ।    कर्पोरेशनमा ५० केजी बोराको आयोनुनको मूल्य ९ सय २५ र ४५ केजी ढिकी नुनको एक बोरालाई ६सय रुपैयाँ मूल्य तोकेको छ । कर्पाेरेशनमा नुनसँगै । किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु समेत विक्री गर्दै आएको छ ।   

  काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो ।    शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ । विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनामा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।   संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेवनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ । विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ ।    संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ । सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ ।    द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।   नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो । द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ । हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ ।   पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमाण्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ । यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ ।     शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ । हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो । उक्त कोष शान्ति सेनामा सहभागी भएवापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो । कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ ।   शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत सञ्चालन हुँदै आएको छ । शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरु राष्ट्रका सेनालाई तालिम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ । हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका एक सय ९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ । शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ ।   सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

पोखराः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागेका रवीन्द्र मिश्र आज औपचारिक कार्यक्रममार्फत भित्रिँदैछन् ।    विवेकशील साझाकै गण्डकी प्रदेश संयोजक रहेकी सुशिला केसी अधिकारी पनि यही मेसोमा राजीनामा सार्वजनिक गरी मिश्रसँगै राप्रपा भित्रिने भएकी छिन् । यसअघि पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी केसीले हिजोमात्रै सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन् ।    अधिकारीले दिएको राजीनामामा उनीसँगै केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, अर्जुनप्रसाद खनाल र हरिप्रसाद गौतमसमेत रहेका छन् । उनीहरु पनि राप्रपा प्रवेश गर्ने अधिकारीले जानकारी दिइन् ।   आज राप्रपा प्रवेशपछि एक हप्ताभित्र पार्टीले जिम्मेवारी दिने अधिकारीको भनाई छ । ‘हामी अरु पार्टीजस्तो यो वा त्यो जिम्मेवारी देउ भनेर झगडा गर्दैनौ’ अधिकारीले भनिन् ‘न्यायपूर्ण समायोजन हुनेछ ।’   तर यसअघि विवेकशील साझाको प्रदेश जिम्मेवारी सम्हालेकी अधिकारीले राप्रपाबाट पनि सोही हैसियतको पद पाउन भने मुस्किल छ ।    अब मिश्रसँगै राजाको लाइनमा लाग्नु हुने पक्को हो भन्ने प्रश्नमा उनले भनिन् ‘म पार्टी प्रवेश कार्यक्रमकालागि काठमाण्डौं जान एयरपोर्टमा छु, पछि विस्तृतमा कुरा गरौंला ।’   

  काठमाडौं । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।      दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।   न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

  काठमाडौँ:  विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ ।   ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज  सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो ।    कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा आउने अधिकांश पर्यटक ठमेल घुम्न आउँछन्, पर्यटकलाई नेपालको बारेमा सकारात्मक सन्देश दिन आज दिनभरि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा एक सिजनमा सातदेखि १० हजार पर्यटक आउने उहाँको भनाइ छ ।    ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसर पारेर आज दिनभर चोकचोकमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आज साँझ सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो ।

  काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।      अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।      अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ ।        दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।        यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी  सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।         सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।         महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दसैँका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।      अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

कास्की:  पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयले डेंगु  नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा १ को विभिन्न टोलमा र्‍याली आयोजना गर्दै शनिबार डेंगु रोगको नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरको हो ।   वडा कार्यालयबाट निकालिएको र्‍याली सिमपानी, हरिचोक, बागबजार, भिमकालीपाटन लगायतको टोलहरुमा परिक्रमा गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।   उनका अनुसार नागरिकलाई डेंगु रोगको बारेमा जानकारी दिदैं रोकथामका बारेमा नारा लगाइएको  थियो । साथै डेंगु रोगको रोकथाम गर्न अपनाउनुपर्ने विषयमा प्लेकार्ड बोकेर र्‍याली  निकालिएको थियो ।  ‘पछिल्लो तथ्याङ्क अनुसार कास्कीमा पनि डेंगु संक्रमण बढेको पाइएको छ, वडा सदस्य गुरुङले भनिन्, ‘त्यसैले हाम्रो वडाबासीलाई यसबारे जानकारी र सचेत हुन आग्रह गर्दै र्‍याली  आयोजना गरेका हौ ।’   उनले सो कार्यक्रमले नागरिकलाई सचेत बनाउन मद्दत पुगको विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत निरन्तरता दिइने जानकारी दिइन् । ‘हामीले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छौं । यसभन्दा पहिले लागुऔषधसम्बन्धि सचेता पनि गरिसेको छौं, उनले भनिन्, ‘अहिले डेंगु रोगबारे सचेतना जगाउदै छौं । यसबाहेक अन्य सामाजिक कार्यक्रमलाई पनि हामीले निरन्तरता दिनेछौं ।’   गुरुङका अनुसार उक्त र्‍यालीमा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहरा प्रधान​,जनप्रतिनिधहरु  तथा विद्यार्थीहरुसहित १ सय बढि स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

पोखराः नेपालीको महान् पर्व दशैं, तिहार संघारमा छ । चाडपर्वमा टीका लगाउनु, खानपिन र घुमघाम गर्नु नियमित क्यालेन्डर भइहाल्यो ।    तर पछिल्लो समय क्यालेन्डरमा अर्काे तालिका पनि थपिएको छ, रुचाइएको साहित्य पढ्नु । दिनहुँजसो बढिरहेको पढ्ने बानीले चाडवाडमा ह्वात्तै बढ्ने गर्छ ‘पठन संस्कृति ।’   यही मेसोमा पोखरेलीले यसपालिको दशैंमा के पढ्लान् ? भन्ने जिज्ञासा केलाउँदै न्यूरोडस्थित हिमालयन रिडर्स कर्नर पुग्दा बिक्रीको उच्चसूचीमा १० पुस्तक भेटिए ।    जसमध्ये पहिलो नम्बरमा छ, सुबिन भट्टराईको ‘इजोरिया ।’ रिडर्सका सञ्चालक विजय भण्डारी  भन्छन, ‘इजोरिया दिनको दुई सय प्रतिसम्म बिक्री गरेका छौं, यसको माग बजारमा अत्यधिक छ ।’    यसैक्रममा ‘इजोरिया’ लाई पाठकहरुले किन रुचाइरहेका छन् ? भन्ने प्रश्नमा भण्डारी  भन्छन्, ‘सुबिन भट्टराईको अघिल्ला कृतिहरु पनि बजारमा उत्तिकै रुचाइएको छ । साथै इजोरिया प्रेम, जीवन र दर्शनमा आधारित छ । प्रेम भन्नासाथ युवा पुस्ताको रुचिको विषयवस्तु हो, जसकारण पनि यो अत्यधिकरुपमा रुचाइएको छ ।’    अब लागौँ दोस्रो पुस्तकतर्फ । दोस्रो पुस्तकमा पर्दछ रामलाल जोशीको ‘बाआमा ।’ भण्डारी  भन्छन्, ‘यस पुस्तक मानव जीवनको एउटा उमेर पार गरेपछि उमेरका छेउमा उभिएका जेष्ठ नागरिकको कथा हो ।’   यसै कारण पनि यस पुस्तकले बजारमा राम्रो ठाउँ ओगटेको छ’ भण्डारीले भने, ‘बाआमा’ जोशीको ‘ऐना’ पछिको दोस्रो कथा संग्रह हो । यस कथामा उमेरको निश्चित चरणमा पुगेपछि, किनारकृत भएका जेष्ठ नागरिकको कथा समावेश छ ।’    तेस्रो पुस्तकमा रहेको छ, सूर्यबहादुर थापाको ‘मेरा नौ दशक ।’ सूर्यबहादुर  थापा राजनीतिकरुपमा परिचित हस्ती हुन् । ‘पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री भएका थापाको पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्रा समावेश गरिएको पुस्तक होे ‘मेरा नौ दशक’, भण्डारीले भने ।   चौथो पुस्तकमा पर्दछ, रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश ।’ मिश्रले आफ्नो ३० वर्ष पछिको नेपाललाई मनन गरेर लेखिएको पुस्तक हो । भण्डारीले भने, ‘ यस पुस्तकमा संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध र कल्याणकारी लोकतन्त्र जस्ता विषयवस्तु समावेश गरिएको छ ।    पाँचौ पुस्तकमा रहेको छ, खगेन्द्र लामिछानेको ‘फुर्के ।’ फुर्के एक कुकुरको आत्मा कथा हो ।   संसार सबै प्राणीहरुको साझा घर भएको बताउँदै भण्डारीले ‘फुर्के’ कुकुरको मानवसँगको सम्बन्ध र उसले हेर्ने दृष्टिकोण र उसको जीवनको भोगाइहरुलाई उसैको भाषामा समावेश गरिएको पुस्तक भएको उल्लेख गरे ।    यसै गरी अन्य पाँच पुस्तकमा पर्दछन, खगेन्द्र लामिछानेकै ‘फूलानी’ जहाँ लामिछानेले आफ्नो भोगाइ र पेरिफेरिका सातवटा कथा समावेश गरेका छन् ।    कुमार नगरकोटीको ‘मिस्टिका’मा विभिन्नखाले फ्यान्टासी राखिएका छन् ।    डा.नवराज लम्सालका ‘अग्नि’मा सिमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइलाई समेटिएको छ । त्यस्तै, अर्काे उत्कृष्ट रचना बसन्त बस्नेतको ‘महाभारा’ हो । यसमा युद्धको क्रुर समयका माया प्रेमलाई दर्शाइएको छ ।    अर्का परिचित लेखक यज्ञशको  ‘परदेशको पसिना’लाई समेत पाठकहरुले रुचाएका छन् । वैदेशिक रोजगारीका अवस्था, समस्या, उत्थान र नीतिजस्ता विषयलाई यहाँ समावेश गरिएको छ । भण्डारीकाअनुसार उल्लेखित पुस्तकहरु ‘बेस्टसेलर’ हुन् ।    भण्डारीले हाल ‘दशैँ विशेष पाँचौ रिडर्स अपरच्युनिटि मेला’ सञ्चालन गरेको जानकारी दिए । मेला असोज १ गतेबाट सुरु भएको जनाउँदै असोज १७ गतेसम्म जारी रहने उनको भनाई छ ।    ‘यस मेलाको अवसरमा जति धेरै पुस्तक किन्नुहुनेछ, त्यति नै छूट  पाउनुहुनेछ ।’      भण्डारीकाअनुसार २ हजार रुपैयाँसम्मको पुस्तक खरिदमा १० प्रतिशत छूट, ३ हजार ५सयसम्मको खरिदमा १५ प्रतिशत, ५ हजारसम्मको खरिदमा २० प्रतिशत र यस भन्दा माथि खरिद गरिएमा २५ प्रतिशत सम्मको छूटको व्यवस्था छ ।    साथै, पुस्तक खरिद तथा अध्यनको लागि बिहान ७ देखि बेलुका ९ बजेसम्म रिडर्स कर्नर खुल्ला रहने भण्डारीले बताए ।