निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिनुभयो । सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ । सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो । नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ । “नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ । सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।
सल्यान: सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् । उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् । कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् । त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।
पाेखरा: नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसँैका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।
पोखरा: ‘एउटा भनाई विद्यमान छ मासु खाँदा–खाँदा मासिने भइयो’ यो भनाई छ्यासछ्यास्ती सुन्न सकिन्छ । दशैं भन्ने बित्तिकै मासुलाई पहिलो नम्बरमा राख्ने गरिन्छ । खसी र उच्च हिमाली भेगमा पाइने भेडा र च्याङ्ग्राको मासुलाई विशेष प्राथमिकता दिने भएकाले ताजा मासु ग्राहकहरुले कसरी चिन्न सक्छन् भन्ने जानकारी दिनु समाचारको उद्देश्य हो । ताजा, स्वच्छ मासु छुट्याउन नसक्दा केहीको भान्सा बिग्रन पनि सक्छ, त्यसैले ताजा मासु किनेर भान्सालाई स्वादिष्ट बनाउने कि ! ताजा मासु कसरी छुट्याउने भन्ने विषयमा रिर्पाेटिङको क्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीका भेटेनरी निरीक्षक डा. अनन्त कोइरालाले ताजा मासुुलाई रंग र गन्धले छुट्याउन सकिने बताए । ‘कम मूल्यमा पाएको मासु स्वच्छ नहुन सक्छ’ केन्द्रका डा. कोइरालाले भने ‘ताजा मासु छुट्याउन ग्राहकले कलर र गन्धमा विशेष ध्यान पुर्याउन पर्छ ।’ दशैं नजिकिएसँगै खसी, बोका, कुखुरा र उच्च हिमाली भेगका भेडा, च्याङ्ग्रा पनि गाउँ, शहर भित्रिसकेका छन् । डा. कोइरालाका अनुसार ग्राहकहरुले सर्वप्रथम खसीको ताजा मासु छुट्याउन सर्वप्रथम मासुको रंग हेर्नु आवश्यक छ । ‘खसीको ताजा मासु छुट्याउन हामीले मासुको रंग रातो भए ताजा भन्न सक्छौ’ उनले भने ‘मासुको रंग रातो भएर मात्र हुदैन मासु पसल कस्तो छ, भण्डारण ठाउँ कस्तो छ र कस्तो औजारले मासु काटिएको छ भनेर पनि विशेष ध्यान पुर्याउन सके ताजा मासु छुट्याउन सकिन्छ ।’ यही विधि नै जुनसुकै जनावर वा पंक्षीको मासु किन्नुपूर्व अपनाउनुपर्ने टिप्स रहेको कोइरालाको भनाई छ । दशैंका लागि ग्राहकहरुले मासु किन्दा बधशाला कस्तो ठाउँमा छ, मासु काट्न प्रयोग गरिएको औजार, मासु भण्डारण गर्ने ठाउँहरु सफा छ कि छैन भनेर विशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीको सुझाव छ ।
पाेखरा: पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा निलकमल म्यानपावर सञ्चालन गरी दक्षिण कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा सञ्चालक कृष्ण रोका पक्राउ परेका छन् । रोकालाई बिहीबार अन्तर्वार्ता लिने भन्दै ८० जना युवासँग जनही २ लाख रुपैयाँ उठाइरहेको सूचना प्राप्त भएपछि वैदेशिक रोजगार विभागको टोलीले ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो । युवाहरुलाई सिजनल भिसामार्फत कोरिया पठाउने भन्दै बखुण्डोलमा अन्तर्वार्ताकालागि बोलाइएको थियो । सोहीक्रममा रोकाले बिनाभौचर जनही २ लाख रुपैयाँ उठाइरहेका थिए । आफुले बुझाएको पैसाको प्रमाण नदिएपछि सहभागीले नै विभागमा खबर गरेका थिए । यसअघि म्यानपावरको पोखरा कार्यालयमा पनि कोरिया जाने प्रक्रियामा रहेका केहीले जिल्ला प्रहरी कार्यालयमा ठगिएको सूचना दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तर त्यसको भोलीपल्टै रोकाले अन्तर्वार्ता लिने भन्दै उनीहरुलाई ललितपुर पु¥याउन सफल भएका थिए । सरकारले वैधता नदिएको सिजनल भिसामा कोरिया पठाउने भन्दै पोखरामा करिब २ महिनादेखि रोकाले मान्छे भेला गर्दै आएका थिए । म्यानपावर कम्पनीको बोर्डसमेत नराखि ठगीमा जुटेका उनले जनही १३ लाख रुपैयाँ लिने योजनामा रहेका थिए । रोकाको यस योजनामा माछापुच्छ्रे गाउँपालिकाका साजन र गुणराज अधिकारीको सहयोग रहेको बताइएको छ । अधिकारीद्वयले छोटो समयमै युवाहरुलाई लाखौ कमाउने प्रलोभन देखाउँदै उनीहरुलाई रोकाको जिम्मा लगाउने गरेको पाइएको छ । जसमध्ये साजन तरुण दल लाहाचोकका अध्यक्ष हुन् । कोरिया जाने तयारीमा रहेको एक युवाले उनीहरुसँग अहिले २ लाख दिनुपर्ने र पछि १० देखि १३ लाख रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । सोही अनुसार बिहीबार ८० जनासँग १ करोड ६० लाख रुपैयाँ उठाउँदै गर्दा रोका विभागको फन्दामा परेका हुन् । नेपालको कानून अनुसार कुनैपनि देशमा सिजनल भिसामा कामदा पठाउनु अवैधानिक ठहर्छ । त्यस्तै, कोरिया पठाउन सकारलेनै इपिएस प्रणालीमार्फत आफै उक्त काम गर्दै आएको छ । तर रोकाले उनीहरुलाई सरकारमार्फत नै पठाउने झुठो आश्वासन दिएको पीडितले बताएका छन् । रोकाले यसअघि पोखरामा पनि रकम उठाएर श्रीमति राजकुमारी रोकाको बैंकखातामा राख्ने गरेको सूचना पाएको विभागले जनाएको छ । यस विषयमा विभागमा महानिर्देशक उमाकान्त आचार्यले बिनाआधार कोरिया पठाइदिन्छु भन्दै पैसा असुल्ने कामलाई ‘सरासर ठगी धन्दा’ भएको जनाएका छन् । आचार्यका अनुसार सरकारले अहिलेसम्म सिजनल भिसासम्बन्धी कुनै पनि नियम बनाइसेकेको छैन । हाल रोकालाई कस्टडीमा राखेको जानकारी गराउँदै थप पीडितहरुलाई सम्पर्कमा आउन आव्हान गरी अनुसन्धान सुरु गर्ने आचार्यले बताएका छन् ।
पोखराः गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले अर्का मन्त्री कुमार खड्काकारण आफुले कानून मन्त्रालयमा चित्त बुझाउनु परेको गुनासो गरेका छन् । मन्त्री थापाले आज पोखरामा सांसद र मन्त्रीमा बहाल रहँदा पाएको तलबभत्ता सार्वजनिक कार्यमा खर्च गरेको हिसाब देखाउनेक्रममा उक्त धारणा राखेका हुन् । कांग्रेस कास्कीमा शक्ति संघर्ष गरिरहेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र मन्त्री थापाबीच पछिल्लो समय झनै दूरी बढेर गएको छ । पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले गठबन्धन सरकार निर्माणकाक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवासमक्ष खड्काको खेलेको भूमिकाले आफु कानूनमन्त्रीमा खुम्चन परेको तीतो पोखे । ‘मेरो चाहना अरु नै मन्त्रालय थियो’ थापाले भने ‘काम देखाउनेखालको प्रभावकारी मन्त्री बन्नबाट रोक्न उनले अस्वस्थ राजनीति गरे ।’ पछिल्लो समय खड्काले गूटगत भेला गरी मुख्यमन्त्रीको टिकट पाउन चलखेल गरेकोप्रति थापाले त्यसलाई ‘अस्वस्थ’ र ‘अनावश्यक गतिविधि’ भनि टिप्पणी गरे । खड्काको गतिविधिप्रति इंगित गर्दै थापाले ग्रुपिज्मको विरोध गरेका हुन् । ‘मैले उहाँ (कुमार खड्का)मात्र हैन, कसैलाई पनि बिझाउने काम गरेको छैन’ थापाले भने ‘तर उहाँ कोठेभेला गर्दै मेरा विरुद्ध किन लाग्नुभएको छ, मैले बुझ्न सक्या छैन ।’ त्यस्तै, अर्काे प्रसंगमा मन्त्री थापाले पछिल्लो बजेटमा करसम्बन्धी विवादको जवाफ दिएका छन् । सरकारले करको दर नभई दायरा बढाउन खोजेको जानकारी दिँदै अर्थमन्त्रीकाकारण विवाद निम्तिएको प्रष्ट्याए । ‘मुख्यमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुपर्ने रहेछ’ उनले भने ‘त्यसो नहुँदा करमा विवाद बढ्यो ।’ जनस्तरबाट व्यापक विरोध भएपछि पनि अर्थमन्त्रीले चासो नदिँदा गत शुक्रबार मुख्यमन्त्रीले हस्तक्षेप गरी केही महत्वपूर्ण क्षेत्रको करको दर घटाएको उनले जनाए । अर्थमन्त्रीले चुनावको मुखमा कर बढाएर सरकारलाई अलोकप्रिय बनाउन उद्दत देखिएकाले मुख्यमन्त्रीले हस्तक्षेप गरेको उनले स्पष्ट पारे । त्यस्तै, यस ५ वर्षमा आफु सांसद हुँदै मन्त्रीसम्म बन्न सफल भएकोमा उनले मतदातालाई धन्यवादसमेत व्यक्त गरे । अबपनि राजनीतिक यात्रा निरन्तर रहने बताउँदै थापाले आफु पनि टिकटको आकांक्षी रहेको र पार्टीले पक्कै मुल्यांकन गर्ने आशा पोखे । मन्त्री थापाले सार्वजनिक गरेको हिसाबअनुसार ५ वर्षमा बैठक भत्ता र पारिश्रमिकवापत ४० लाख ७१ हजार २ सय ४९ प्राप्त भएको र त्यसमा थप गरी कूल ५८ लाख २९ हजार ६६ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए ।
गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो । “आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उहाँले भन्नुभयो । काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गर्नुभएको थियो । आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ । अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो ।
पोखरा : दशैंमा सुपथ मूल्यको पसल चलाउनुपर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा ६ केजी नुन बेच्न बसेको छ । नेपालीहरुको महानचाड दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसल सञ्चालन गरेर नुन चिनी बिक्री गर्ने गरेपनि यो वर्ष भने नुन बेच्न बसेको छ पोखरा कार्यालय । कार्यालय परिसरमा नुन फिँजाएर बसेको साल्ट ट्रेडिङ्गसँग आम जनतालाई राहतस्वरुप बेच्न अरु केहि पनि छैन । प्रदेश कार्यालयमा यो वर्ष चिनी आयात नहुँदा एक व्यक्तिले प्रतिकेजी १८ रुपैयाँमा ६ केजी मात्र नुन किन्न पाउने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए । सरकारले यो वर्ष प्रशस्त चिनी आयात नगर्दा कर्पोरेशनमा चिनी नभएकाले यो वर्ष सुपथ पसल सञ्चालन नहुने संकेत दिए । ‘कोरोना भन्दा अगाडी सुपथ मूल्य पसल सञ्चालन गरिएको हो’ उनले भने ‘नेपालीहरुको महानचाड दशैं तिहार र छठलाई लक्षित गरेर पसल सञ्चालन गरिए पनि अहिले चिनी आयात नहुँदा पसल सञ्चालन गर्न कुनै निर्देशन आएको छैन ।’ ‘कार्यालयको गेटमा आएर सुपथ पसल सञ्चालन हुन्छ कि हुँदैन् ? भनेर उपभोक्ताहरु आउने गरेका छन्’ उनले भने ‘यो वर्ष चिनी आयात नभएकाले पसल सञ्चालन नभए पनि उपभोक्ता आए एक व्यक्तिलाई ६ केजी नुन बिक्री गर्न सक्छौं ।’ कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै विगतका वर्षहरुमा एक व्यक्तिलाई ३ केजी नुन र ३ केजी चिनी सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो । कर्पोरेशनले विगतका वर्षहरुमा चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दै आएको र अहिले बजारमा नै प्रशस्त पाइने भएकाले नुन र चिनी विक्री गर्ने गरेपनि यो वर्ष नुन मात्र विक्री गरेको हो । जव दशैं तिहार चाड नजिक नजिक आउँछ आम उपभोक्ताहरुको सुपथ मूल्य पसलमा लामो लस्करसँगै व्यस्त देखिने कर्मचारीहरु यो वर्ष भने आरामदायी देखिएका छन् । कर्पोरेशनमा ५० केजी बोराको आयोनुनको मूल्य ९ सय २५ र ४५ केजी ढिकी नुनको एक बोरालाई ६सय रुपैयाँ मूल्य तोकेको छ । कर्पाेरेशनमा नुनसँगै । किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु समेत विक्री गर्दै आएको छ ।
काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ । विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनामा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेवनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ । विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ । सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ । द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो । नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो । द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ । हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ । पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमाण्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ । यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ । शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ । हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो । उक्त कोष शान्ति सेनामा सहभागी भएवापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो । कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ । शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत सञ्चालन हुँदै आएको छ । शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरु राष्ट्रका सेनालाई तालिम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ । हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका एक सय ९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ । शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ । सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

