काठमाडौँ: विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइतः बिहान १०:२३ बजे आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १०स्२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उहाँले बताउनुभयो । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
पोखरा: पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्तालाई खाताबाटै पैसा निकाल्न सकस परेको छ । सहकारीले २ हप्ताअघि मिटिङ् बसेर जति नै बचत भएपनि हाल ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको हो । त्यसबेला कुनैपनि खातावालको चेकबाट पहिलो आउनेलाई ५० हजार रुपैयाँ दिने गरिएको थियो । तर सहकारीको उक्त निर्णय पनि हप्ता दिनभन्दा बढी टिक्न सकेन । हाल सहकारीले १० हजार रुपैयाँभन्दा बढी झिक्न नपाउने सूचना निकालेको छ भने कारोबारको समयसमेत घटाएर दिनको २ बजे बनाएको छ । सहकारीले संस्थाको आन्तरिक आर्थिक रणनीति व्यवस्थापनको लागि सेयरधनीको खाताबाट दिनमा १० हजार मात्र निकाल्न दिएको बताएको छ । त्यस्तै, आइतबार देखि बिहिबारसम्म १० देखि २ बजे र शुुक्रबार १० देखि १२ बजेसम्म कार्यालय खुल्ला रहने सुचना निकालेको छ । यस विषयमा सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकताअनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । ‘लिक्विडिटीको मारमा परेर भुक्तानी दिन नसकेका हौं’ व्यवस्थापक बुढामगर भन्छन् ‘तिहारयता सहकारीले १० हजार बढी दिन सक्दैन ।’ उनले सूर्यदर्शनमात्रै नभएर प्रायः सहकारीको अवस्था उस्तै रहेको जनाए । राष्ट्रबैंकले दैनिक ८ लाख रुपैयाँको हाराहारीमामात्रै पैसा दिने गरेकाले पनि भुक्तानीमा असहज भएको सहकारीको भनाई छ । व्यवस्थापक बुढामगर भन्छन्, ‘तिहारपछि अवस्था सहज हुन्छ, हामीले चाहेको भुक्तानी दिन्छौं तर रकम डुब्ला भनेर चिन्ता लिन पर्दैन ।’ सहकारीका एक संरक्षक हेमन्त अधिकारीका अनुसार देशमा आर्थिक मौज्दात कम छ । बित्तीय संस्थाहरुमा पैसा सटही (रोटेसन) भएको छैन । त्यसैले सेयर धनीले माग गरेजति पैसा दिन समस्या भएको छ । चाडवाड नजिकिएकाले पैसा निकाल्ने बढी भएकाले आन्तरिक आर्थिक रणनीति व्यवस्थापन गर्न एक खाताबाट १० हजार मात्र दिने गरेको उनले बताए । अधिकारीले थपे ‘अरु कुनै कारणले होइन ।’ उनका अनुसार देशको केही शहरमा सहकारीहरुले चाबी लगाएर शेयर सदस्यलाई बिचल्ली पारेका छन् । ‘त्यसैले पनि केही सेयर धनीहरुले हामी प्रति नकारात्मक साेंच राखेका हुुन सक्छन्’ उनले भने ‘हामी शेयरधनीलाई बिचल्लीमा पार्दैनौ ।’ आर्थिक मौज्दात बलियोे हुँदा बचतकर्तालार्ई २० लाख रुपैयाँसम्म दिएको बताउँदै उनले यतिबेला शेयरधनीलाई अवस्था बुझ्न अनुरोधसमेत गरे । संरक्षक अधिकारीका अनुसार लाख भन्दा बढी कारोवार गर्ने व्यापारीलाई दैनिक ५० हजार दिएर नपुग्ने भएपनि केही दिनपछि अप्ठ्यारो हुनेछैन । ‘जसले कुटो कोदाली गरेर, ज्याला मजदुरी गरेर बचत गर्नुुभएको छ, उहाँहरुले रकम नपाउने भन्ने हुँदैन’ अधिकारी भन्छन् ‘तर केही समयका लागि धैर्य गरिदिनुहोस् ।’ यता, यही विषयमा पोखरा महानगरपालिकाअन्तरगतको सहकारी शाखाले नजिकबाट अध्ययन गरिरहेको छ । शाखाका जिम्मेवारी पाएका प्रमुख भरतराज पौडेलले सूर्यदर्शन सहकारीलाई ‘समस्याग्रस्त’ सहकारीको सूचीमा राख्ने बताएका छन् । ‘हामीलाई हप्ताअघि नै जानकारीमा आएको हो’ प्रमुख अधिकारी भन्छन् ‘बचतकर्ताले खाता बन्द गर्न आए सबै भुक्तानी दिनुपर्छ, तर सूर्यदर्शनमा त्यस्तो पाइएन ।’ उनका अनुसार सहकारीले लगानी गरेपछि उ सँग बचत छैन भने हाल १० प्रतिशत सञ्चिति रकम पनि छैन । अहिले नै कारवाहीको प्रक्रिया अघि बढाए हाल बाँडिरहेको १० हजार रुपैयाँ पनि बचतकर्ताले नपाउने भएपछि महानगरले कारवाही अघि बढाउन सकेको छैन । ‘अब लिक्विडेसनमा लैजान पर्ने हुनसक्छ’ पौडेल भन्छन् ‘त्यतापट्टिबाट भएपनि शेयर सदस्यको रकम उठाउने काम हुनसक्छ ।’ जानकारीमा आए अनुसार सूर्यदर्शन सहकारी जिल्ला सहकारी संघ कास्कीमा आबद्ध छैन ।
पोखराः गणतन्त्रको पहिलो कार्यकाल सकिँनैलाग्दा प्रदेश सरकारहरुको खर्च सार्वजनिक हुन थालेको छ । प्रदेशको खर्च विवरणअनुसार गण्डकी प्रदेश सरकारले ५ वर्षमा सांसद र पिएको सेवा–सुविधामामात्रै ३३ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । कानूनतः तलब वा पारिश्रमिक नभनि सेवा, सुविधा भनिन्छ । यस ५ वर्षमा प्रदेशमा विभिन्न संसदीय दल सञ्चालनको लागि चियापान खर्चमा ६४ लाख ७५ हजार १ सय रुपैयाँ खर्च भएको जनाएको छ । जसमध्ये पछिल्लो तीन आर्थिक वर्षमा संसदीय दलका सदस्यहरुले वार्षिक २० लाख बढीको चियापान गरेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एसको कार्यालय रहेको छ । त्यस्तै, प्रदेश सभा बैठकमा २७ लाख ६६ हजार २७१ रुपैयाँ चियापानमा खर्च भएको प्रदेशसभा सचिवालयको विवरणमा जनाइएको छ । सभा र सचिवालयको चियापानमामात्रै कूल ९२ लाख ४१ हजार ३७१ रुपैयाँ खर्च भएको छ ।
काठमाडौं: समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची छानविन गरी आबश्यकता अनुसार सच्याउनलाई दलहरुलाई सूचित गर्न निर्वाचन आयोगले निर्धारण गरेको समयाबधी आज सकिदैछ । गत ४ गतेदेखि आजसम्म बन्दसूची सच्याउनलाई सूचित गर्ने निर्णय आयोगले गरेको थियो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय पनि गरेको थियो । त्यसअनुसार अब आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ । बन्द सूचीको छानवीनका क्रममा त्रुटी देखिएपछि केही दललाइ बन्द सूची सच्याउन आयोगले पत्रचार गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
पोखराः गण्डकी प्रदेश सरकारले चालु बजेटमा बढाएको करमध्ये ४ शीर्षकका करको दर घटाएको छ । अर्थमन्त्री रामजी बरालले वैज्ञानिक र समायानुकूल भन्दै बढाएको करलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा घटाइएपछि दुई मन्त्रीबीचको टकराव पुनः सतहमा आएको छ । यस आर्थिक वर्षमा अर्थमन्त्री बरालले घरजग्गा नामसारीमा ३२८ प्रतिशतसम्म कर बढाएको थियो । त्यस्तै, सवारी करमा पनि १० हजार रुपैयाँसम्म बढाएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जनस्तरबाट करको वृद्धिमा भएको विरोध र आन्दोलनलाई समेत बेवास्ता गरेको सरकारले शुक्रबार घटाएपछि अर्थमन्त्री असन्तुष्ट भएका छन् । प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद् बैठकले घरजग्गाको रजिष्ट्रेशन शूल्क, तीन पुस्ताभित्रको नामसारी, सवारी कर र विद्यार्थी सहुलियत दरलाई पुरानै अवस्थामा कायम गरेको छ । आर्थिक ऐन, २०७९ अनुसार तीन पुस्ताभन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० हजार र गाउँपालिकामा पाँच हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५ सय रुपैयाँ मात्र थियो । तीन पुस्ताभित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५ सय तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपरेको थियो । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा ५०० तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार ५ सय कायम थियो । हाल साबिक दस्तुर पनि महानगरमा ४ सयबाट एक हजार रुपैयाँ पुग्यो । नगरपालिकामा यो शुल्क २ सयबाट ५ सय र गाउँपालिमा १ सयबाट २ सय रुपैयाँ पुगेको थियो । संशोधन शुल्क पनि दोब्बर बढाइएको थियो । अंशबन्डामा पनि ५० प्रतिशतसम्म कर बढाइएको थियो । अंशबन्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्र भएकोले कर घटाउनुपर्ने माग संसद्मा पनि उठेको थियो । मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को ९क० अन्तर्गत घरजग्गालगायत रजिष्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्कको क्रमसंख्या ४ अंशबन्डा तथा अंश भर्पाइको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिष्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ । यस्तै, अनुसूची–१ को क्रमसंख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरिएको छ । अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण (२) को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ) सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ । अनुसूची–२ को प्रकरण (६) अन्तर्गत भाडाका बस, मिनिबस तथा माइक्रोबस सवारीसाधनले विद्यार्थीलाई सहुलियतको रूपमा भाडामा छुट दिएबापत त्यस्ता सवारीसाधनका धनीले तिर्नुपर्ने सवारीसाधन करमा ३३ प्रतिशत छुट पाउने व्यवस्थालाई गत आवबमोजिम नै हुने गरी व्यवस्था गर्ने निर्णय गरिएको छ ।
पोखराः नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । आइतबारसम्म चल्ने एक्सोपोको उद्देश्य नेपालबाट इन्धनमा बाहिरिने पैसालाई रोक्नुपनि हो । पेट्रोल र डिजलमा वर्षेनी बाहिरिने अर्बाै रुपैयाँलाई जोगाउनु र वातावरणमैत्री बनाउन पनि एक्सपो आयोजना गरेको नाडाले जनाएको छ । एक्सपोमा हाल १६ लाखदेखि २ करोड रुपैयाँ बढी पर्ने गाडीहरु राखिएको छ । उक्त गाडीबारे जानकारी लिने र खरिदमा रुचि राख्नेहरुको भीड आज सबैभन्दा बढी रहेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिएका छन् । ‘एक्सपोमा आकर्षण बढेको पाइयो, भिजिटरहरुको चासो र सकारात्मक टिप्पणी पाइएको छ’ अध्यक्ष थापा भन्छन् ‘अबको भविष्य नै विद्युतीय सवारीको हो ।’ उनले विश्वबजारमै इभिको माग बढिरहेको सन्दर्भमा नेपाली उपभोक्ताको पनि चासो बढ्नु सकारात्मक भएको टिप्पणी गरे । पोखरामा पनि इभि एक्सपो सम्भव छ ? भन्ने प्रश्नमा थापाले भने ‘कामठमाण्डौंमा जस्तो वृहतस्तरमा उपभोक्ता भेट्न पोखरामा सम्भव छैन, तैपनि उद्योग वाणिज्य संघमार्फत आयोजना हुने मेला÷महोत्सवमा प्रदर्शन गर्नेछौं ।’ एक्सपोमा हालसम्म कति गाडी बुकिङ् वा बिक्री भयो भन्ने जानकारी आइतबारमात्रै दिइने आयोजकले जनाएको छ । एक्सपोमा सहभागी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले विद्युतीय गाडीबाट आफु प्रभावित भएको बताएका छन् । ‘एक्सपो शानदारमात्र हैन, प्रभावकारी पनि देखियो’ अध्यक्ष प्रजापतिले भने ‘अब देशमा उत्पादित विद्युत खपत गर्न पनि इभि चढ्नुपर्छ ।’ उद्योग वाणिज्य संघले पनि अटो मेलाको आयोजना गर्ने बताउँदै उनले त्यहाँ विद्युतीय गाडीकोसमेत स्टल राखिने जनाएका छन् । प्रजापति भन्छन् ‘अब बिस्तारै विद्युतीय साधनको प्रयोग बढाउँदै देशबाट पैसा बाहिरिने क्रम रोक्नुपर्छ । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ । साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखेकाे छ ।
पोखरा : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कला यात्री प्राज्ञ नगेन सिंहलाई प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो मानपदवीबाट उहाँ सम्मानित हुनुभएका हुन् । नेपाली कला क्षेत्रको श्रीवृद्धिका लागि उहाँले कलाकारिताको माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको उच्च योगदानको कदर गर्दै कलाकार सिंहलाई राष्ट्रपतिले सो मानपदवीबाट सम्मान गर्ने निर्णय गर्नुभएको हो । सोही सम्मान दिने घोषणा भएकै दिन सिंहले नेपालको संविधानमा कलाकार अंगको रुपमा लेखिनुपर्ने माग राख्दै सो माग सम्बोधन नभएसम्म कपाल नपाल्ने प्रतिज्ञा गर्दै वर्षौदेखि पाल्दै आएको १८ इन्च १ सेन्टिर मिटर लम्बाइ भएको कपाल काट्ने पर्फमेन्स आर्ट गर्नुभएको छ । उहाँले सो पर्फमेन्स आर्ट गर्दै नेपाल ललितकला विकास बोर्डको स्थापनार्थको लागि माग पनि गर्नुभएको छ । यसअघि उहाँ प्रथम अरनिको कला कार्यशाला प्रतियोगिता २०५९, नेपाल पेन्टिङ प्रतियोगिता, नेपाल कमरर्सियल आर्टिस्ट पेन्टिङ प्रतियोगिता सान्तोना पुरस्कार २०५९, स्वर्ण पदक अरनिको युवा पुरस्कार २०७४ (राष्ट्रिय युवा कोष), दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्मिाञ्चल क्षेत्रीय पुरस्कार )२०६९ बाट पुरस्कृति भईसक्नुभएको छ । त्यस्तै विश्व कला यात्री प्राज्ञ सिंह यूथ राजदूत फर २०६५ यूपिएफ, साउथ कोरिया, द हन्ट यूथ लिडरसीप २०६६ (चेमोनिकस् एलएनसी, अमेरिका) बाट समेत सम्मानित हुनुभएको छ । कलाकार सिंहको जीवनीमा नै आधारित भएर एम.आर्ट थिएटरको प्रस्तुतीमा नाट्य निर्देशक विरेन्द्र हमालले २०६४ सालमा नगेनको नग्न तृष्णा नाटक समेत मञ्चन भईसकेको छ । उहाँले नेपालमा पहिलो पटक २०६४ मा नेपाल आर्ट काउन्सील, काठ्माण्डौंमा मेरो अस्वीकृत कला शिर्षकको एकल कला प्रदर्शनीमा र पोखरा आर्ट ग्यालरीमा २०७४ मा भएको सात प्रदेश कला प्रदर्शनीमा टिकट सिस्टमको सुरुवात गर्नुभएको थियो । उहाँले हालसम्म ११ वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । हाल सिंहले पोखरामा नगेन आर्ट एकेडेमी संचालन गर्दै आईरहनुभएको छ । यस्तै सरकारले संविधान दिवसको अवसरमा पारेर प्रतेक वर्ष देशभरीबाट विभिन्न विधा र क्षेत्रमा अतुल्नीय योगदान पु¥याउने व्यत्तित्वहरुलाई मानवदवी, अलङ्ककार र पदकद्धारासम्मान गर्दै आएको छ ।
काठमाडौं : कलाकार बुद्धि तामाङले अनु थिङसंग वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
रुकुम: रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताउनुभयो । यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताउनुभयो । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाउनुभयो । शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो । समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उहाँले बताउनुभयो । पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताउनुभयो । युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताउनुभयो । वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताउनुभयो ।