पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

  काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो ।   एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका अधिकांश व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेकाले त्यसलाई पुनरावलोकन गर्नु आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । विद्यमान आपूर्ति नीतिमा खाद्य सुरक्षाका लागि सरकारले कम्तीमा २५ हजार मेट्रिक टन खाद्यान्नको मौज्दात राख्नुपर्ने लक्ष्य भएपनि त्यो पूरा हुन नसकेको तथा सहुलियत पसलको सङ्ख्या बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।   “खाद्य सञ्चितिमा नेपाल सरकारको सार्वजनिक संस्थान र प्रदेश सरकारसँग समन्वय गरी प्रदेशगत रुपमा खाद्य भण्डारण गर्ने र यस कार्यमा प्रदेशलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “ आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनावद्ध आपूर्तिको व्यवस्था गरिनुपर्छ ।” नेपालको संविधानले हरेक नेपाली नागरिकलाई खाद्यको हक सम्बन्धी व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन सुस्त भएकाले अब खाद्य वस्तुको वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने आयोगको निष्कर्ष छ । सार्वजनिक र निजी क्षेत्रसँगको साझेदारीमा एक पालिकामा कम्तिमा एउटा सहुलियत पसल खोली आवश्यक खाद्यान्न वस्तु प्रति परिवार तोकेको सहुलियत मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाउनुपर्ने उसको सुझाव छ । यस्ता सहुलियत पसलमा चामल, पिठो, दाल, नुन, तेल जस्ता पदार्थ अनिवार्य रुपमा राख्नुपर्नेछ । त्यस्तै, खाद्य सुरक्षाका लागि स्थानीय वस्तुको उत्पादन र सञ्चय बढाउनुपर्ने तथा स्थानीयस्तरमा नै खरिद गरी वितरण गर्ने व्यवस्था गनुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय उत्पादनबाट अपुग भएमा मात्र आयात गर्ने नीति सरकारले लिनुपर्ने पनि आयोगको सुझाव छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको संयन्त्रले मात्रै बजार अनुगमन प्रभावकारी हुन नसकेको विषय पनि प्रतिवेदनमा औल्याइएको छ । “उपभोक्ता हित संरक्षण ऐनले बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई समेत संलग्न गराउन खोजे पनि समुचित कार्य हुन नसकेको तथा तहगत जिम्मेवारी स्पष्ट नभएको अवस्था छ”, प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक वितरण प्रणालीलाई बढी जोड दिने तथा खाद्य अधिकार र खाद्य सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक वितरण, खाद्य सुरक्षा तथा पोषण समेटी नयाँ नीति तय गर्नुपर्ने आवस्यकता छ ।”  वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न उपयुक्त बजार हस्तक्षेपको संयन्त्र परिचालन गर्दै मूल्य स्थिरता कायम गर्न सकिने सुझाव आयोगको छ । त्यसैगरी, आधारभूत वस्तु तथा सेवाको सूचीमा समयानुकुल परिवर्तन गर्ने र न्यूनतम परिमाणको वार्षिक खाद्य सञ्चिति परिमाण तोकी त्यस्ता वस्तुको समर्थन मूल्यमा खरिद गर्न एक खाद्य आपूर्ति कोष स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यस्तो कोष स्थापना गर्न सङ्घ सरकारले प्रदेश सरकारलाई ऋण दिने गरी रकम विनियोजन गर्न सक्नेछ । आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिन पनि सुझाव दिइएको छ ।  त्यसका लागि दुर्गम तथा पिछडिएको क्षेत्रका लागि आवस्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउन सरकारले ढुवानी अनुदानसमेत उपलब्ध गराउनुपर्नेछ । अध्ययन प्रतिवेदनअनुसार राष्ट्रिय खाद्य कार्ययोजनाका आधारमा आवश्यक वस्तु तथा सोको परिमाण पालिकागत आधारमा तय गरिनेछ । सोही आधारमा रणनीतिक सञ्चय क्षेत्र तोकी आवश्यक वस्तुको सञ्चय र वितरण गर्ने व्यवस्था मिलाउनसमेत सुझाव दिइएको छ ।

  कुश्मा । आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।  उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले  उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, धाइरिङकी नवीना आचार्यले भन्नुभयो, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।” धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांगे्रसका युवानेता याम परियारले भन्नुभयो, “अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छौँ ।”  कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर एक सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन् । यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ ।    “हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ”, स्थानीय प्रमिला जिसीले भन्नुभयो, “हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन् । हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ ।” महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्कनुभएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिनुहुन्छ । उहाँ देशको बिगँ्रदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित हुनुहुन्छ । “पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु”, उहाँले  भन्नुभयो, “गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।” कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एकपटक भिड्न लाग्नुभएको छ । गिरीले तीन पटकसम्म लगातार निर्वाचन जित्नु भएको छ । उहाँले जोशीलाई पराजित गर्नुभएको थियो ।   प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार बन्नुभएको छ । त्यस्तै प्रदेशसभा–१ (ख)मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार हुनुहुन्छ ।   जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालनाका विषयमा निगरानी गरिरहेको निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो । “हामीले दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनावश्यक तडकभडक, आमसभा, बाजागाजा, ¥यालीलगायतका कार्यक्रम गर्न रोकेका छौँ ।” कात्तिक १७ गतेपछि दलहरूले आमसभालगायत कार्यक्रम गर्न पाउने छन् । 

  कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ ।  टीकापुरका पुराना फूल  व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किनुभयो ।” चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् ।  जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किनुभयो । “मखमली फूलका माला लगाउने हाम्रो चलन हो, बजारमा पाइन्छ भनेर ढुक्क भएँ, यहाँ त सकिएको रहेछ”, उहाँले भन्नुभयो, “फूलको नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु, के गर्नु यसअघि प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।” टीकापुर–३ की रमिता विकले पनि बजारमा माला पाउनुभएन । उहाँ पनि माला किन्न बजारसम्म पुग्नुभएको थियो । “माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु”, उहाँले भन्नुभयो, “विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ ।” कैलालीमा फूलखेतीका लागि जग्गा अभाव छैन । घर वरिपरि जग्गा हुँदा पनि फूल रोप्ने गरेको पाइँदैन । घरमै फूल रोपेको भए फूलको अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउनुहुन्छ । “हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन”, उहाँ भन्नुहुन्छ, “हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।” तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घरआँगन रङ्ग्याउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ । बजारमा माला र फूल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका किन्न आएका बताउनुभयो ।   संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक व्यक्तिले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउनुहुन्छ । “घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उहाँ भन्नुहुन्छ, “घर–घरमै दुई–चार बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ । यहाँका फूल सकिएपछि भारतबाट ल्याएर फूल बिक्री गरिँदैछ ।”

  काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा    भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

  काठमाडौं ।  नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।   “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।       विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।        गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।        विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।    म्हः (आत्म)पूजा      आजैको दिन नेवार समुदायमा  म्हः (आत्म)पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।      यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् ।           मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ ।  दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताउनुभयो ।  “दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भन्नुभयो, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।” उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताउनुभयो । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उहाँको लक्ष्य छ । उहाँले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताउनुभयो । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ । मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् ।  हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।

  झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ ।  पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बित्तिकै सुन्दर पार्कमा रहेको भव्य शालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले ११४औँ देवकोटा जयन्तीको अवसर पारेर माल्यार्पण गर्नुभयो । सुसेली साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञासभा सदस्य सुभद्रा अर्याल, साहित्यका पुण्य खरेललगायतले देवकोटाको बारेमा चर्चा गर्नुभयो ।  कार्यक्रममा साहित्यकार मीरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, देवेन खरेललगायतले कविता वाचन गर्नुभएको थियो । 

  काठमाडौं । निर्वाचन आयोगले झुठ फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।  फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उक्त निर्देशन दिएको हो।  झुठ फेसबुक पेज र ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।  उक्त फेसबुक पेज तथा ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।

  काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।       सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।  न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।