पोखराः गण्डकी प्रदेश सरकारले यस आर्थिक वर्षमा अत्यधिक कर वृद्धि गरी नागरिकलाई शोषण गरेको भन्दै विरोधस्वरुप अभियानकर्मीहरुले भदौ १ गते विरोध कार्यक्रम आयोजना गरेका छन् । विभिन्न शीर्षकमा बढाइएको करले जनताको ढाड भाँच्ने काम भएको भन्दै अभियानकर्मी र नागरिक समाज सरकारको निर्णयविरुद्ध धर्ना बस्ने तयारी गरिरहेको छ । आगामी १ गते पोखराको शहीदचोकमा साढे १० बजे धर्ना बस्ने कार्यक्रम रहेको छ । धर्नाको आयोजना नागरिक समाज कास्की र वातावरण संरक्षणकालागि महाअभियान कास्कीले गरेको हो । धर्नाबारे जानकारी दिँदै अभियानकर्मी लोकदर्शन कोइरालाले आफ्नै सम्पत्ति बाँडफाँड गर्दापनि उच्च कर बुझाउनुपर्ने भन्दैै आक्रोश व्यक्त गरे । ‘जनताबाट कर उठाएर सरकार मन्दिर निर्माण समिति, आमा समूहलाई पैसा दिँदैछ’ अभियानकर्मी कोइराला भन्छन् ‘त्यहाँबाट भोट आउँछ, नेता त्यतै पैसा बाँड्न लागिपर्छन् ।’ आफु र अभियानकर्मीहरु धर्म विरोधी नभएको भन्दै उनले गण्डकीमै गतिलो क्यान्सर, मुटु अस्पताल बनाउन आवश्यक भएको उल्लेख गरे । पछिल्लो बजेटमा सरकार बाउँ–बाजेको नाममा ट्रष्ट बनाएर रकम विनियाजन गर्ने घृणित खेलमा लागेकोप्रति नागरिक समाज र वातावरण अभियानकर्मीहरुको विरोध रहेको उनले सुनाए । ‘नेताहरु चुनाव र भोट केन्द्रित भए’ कोइरालाको गुनासो छ । यसैअनुरुप अभियानकर्मीहरुले भेला भई सरकारको विरोधस्वरुप धर्ना कस्ने तयारी गरेका हुन् । भदौ १ गते शहीदचोकमा आयोजना हुने धर्नामा आम पोखरेलीलगायत सम्पूर्णलाई सहभागी भई ऐक्यबद्धता जनाइदिन पनि उनले आग्रह गरका छन् । कोइरालाले भने ‘आउनुहोस्, सँगै बोलौ, विरोध गरौं, सरकार आफै मोटाउन बढाइएको करको विरोध गरौं ।’
काठमाडौं : सिंहदरबारमा आज(आइतबार) नायब सुब्बाहरुले कर्मचारीको वृत्ति विकासलगायत माग राख्दैँ आन्दोलन गरेको छ । अहिले यही विषयलाई लिएर देशभरका नायब सुब्बाहरु आन्दोलित छन् । सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकारअन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका छन्। नासुलगायत राजपत्रअनङ्कित कर्मचारीको वित्ति विकासमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ। तहगत प्रणाली पनि लागू गर्न माग गरिएको नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए। ‘योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्,’ उनले भने। उनीहरूले संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने पनि बताएका छन्। साथै साउन ३० भित्र आफूहरूले उठाएका माग पूरा गरिनुपर्ने उनीहरूको माग छ।
स्याङजाः स्याङजाको भिरकोटस्थित खिलुङको पहरोमा २० वर्षीय रबिन गुरुङ मृत अवस्थामा भेटिएका हुन् । मामाघरमा बस्दै आएका गुरुङ बिहीबार दिउँसो बाख्रा चराउन उक्त क्षेत्रको जंगलतर्फ गएका थिए । रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयवासीले भिरमा उनलाई देखेका थिए । त्यसपश्चात् प्रहरीमा खबर गरेपछि वालिङ प्रहरीको टोलीले उनलाई आज बिहान साढे ८ बजे भिरबाट निकालेको हो । प्रहरी भिरमा पुग्दा रबिन मृतावस्थामा भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ‘हामीलाई बिहान ७ बजेतिर भिरमा एक व्यक्ति मृतावस्थामा रहेको हुनसक्ने भनि खबर आएको थियो’ जिप्रका स्याङजाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले भने ‘करिब ३ सय मिटर अग्लो पहराबाट हामीले शव झिकेका छौं ।’ गुरुङको मृत्यु भेडा–बाख्रा चराउन जाँदा भिरबाट लडेर भएको हुनसक्ने अनुमान गरेको बताउँदै खनालले यसबारे थप अनुसन्धान भइहेको र मृतकको पोष्टमार्टमपछि विस्तृत जानकारी दिनसक्ने बताए । स्थानीय ठेगाना स्याङ्जा, बिरुवाको तुलसीचौर भएका गुरुङ मामाघर बस्दै आएको स्थानीयले जानकारी दिएका छन् ।
कास्कीः माछापुच्छ्रे गाउँपालिकाले करार पदमा विभिन्न कर्मचारीको माग गरेको छ । गाउँपालिकाले आज विज्ञापनमार्फत २० जना करार कर्मचारीको माग गरेको छ । यसअघि नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिका कार्यालयले करारका कर्मचारीलाई हाजिर गर्न रोकेको थियो । पालिकामा स्वास्थ्यतर्फ २५ र अन्यमा ३८ कर्मचारी करारमा रहेका थिए । नयाँ करार राख्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘लोकसेवा आयोगसँग माग नगरी करारमा कर्मचारी नियुक्त नगर्नु’ भनेको छ । यसैबीच, पालिकामा डेढ दर्जन करारका कर्मचारीलाई हटाई उनीहरुको रिक्त स्थान भर्न पुनः करारमै कर्मचारी माग गरिएको हो । यस विषयमा जिज्ञासा राख्दा पालिका अध्यक्ष मिनबहादुर गुरुङले पहिलेका कर्मचारीलाई नियमतः हटाइएको जानकारी दिए । ‘हटाउन सक्ने व्यवस्था भएर हटाइएको हो’ अध्यक्ष गुरुङले भने ‘तर विज्ञापनअनुसार उहाँहरु पुनः प्रतिष्पर्धा गर्न सक्नुहुन्छ ।’ गुरुङले योग्यता, अनुभव र दक्षताको आधारमा पुनः पहिलेकै कर्मचारी पनि प्रतिष्पर्धामार्फत आउन सक्ने बताए । त्यसो त ६–६ महिनामा करार नवीकरण हुने व्यवस्था रहेको बताउँदै यसपटक अवधि सकिन अघि कोही पनि कर्मचारी नवीकरण गर्न नआएको र निवेदन पनि नदिएको गुरुङको भनाई छ । ‘हामी नयाँ–नयाँ छौं’ भन्दै पालिका अध्यक्ष गुरुङले पहिलेदेखि बिग्रेको, भत्केको परिपाटीलाई सुधार गर्ने प्रयास भएको बताए । ‘हाम्रो नियत कसैलाई निकालेर आफन्तलाई जागिर खुवाउने होइन’ उनले भने ‘कार्यकुशलता भएकालाई निरन्तरता दिन सकिने सम्भावना पनि छ ।’ पालिकाको आधिकारिक पेजमा विज्ञापन प्रकाशित भएपछि सञ्जालका प्रयोगकर्ताले विभिन्न टिप्पणी गरेका छन् । बढी जसो टिप्पणी भने ‘अब कांग्रेसले भर्ती खुलाउने पालो’ भन्नेमा आधारित छ ।
पोखराः स्याङ्जामा गत आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । कृषि तथा पशुपक्षी र सानो पुँजीको लगानीमा जिल्लामा पछिल्लो समय ८ सय ९४ घरेलु तथा साना उद्योग थपिएका हुन् । तुलनात्मक रुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । गत आर्थिक वर्षमा ८ सय ९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय)तर्फ ६ सय ८४ नयाँ दर्ता भएको प्रमुख रेग्मीले बताए । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको कार्यालय जनाएको छ । आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा उद्योग तथा व्यवसाय दर्तामा भने कमी आएको छ । आव २०७७/०७८ मा १ हजार ४ सय ७५ उद्योग दर्ता भएका थिए भने पछिल्लो वर्ष ९ सय ६६ पसल तथा व्यवसाय दर्ता भएका छन् । २०७७/०७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा ५ सय ८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २ सय ८२ मात्रै दर्ता भएका छन् । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता अनिवार्य गरेपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ । कार्यालयले गएको आर्थिक वर्षमा ७९ वटा उद्योग र १ सय १० वटा वाणिज्य (पसल, व्यवसाय)को दर्ता खारेजी गरिएको छ । जिल्लामा २०७९ असार मसान्तसम्ममा ८ हजार ९ सय १२ उद्योग दर्ता भएकोमा ५ हजार ८ सय ८३ वाणिज्य (पसल, व्यवसाय)मात्रै सञ्चालनमा रहेका छन् ।
पोखरा: पोखरामा पहिलो पटक नेवार समुदायले घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका छन् । काठमाडौँ, भक्तपुरमा सिमित नेवार समुदायको घिन्ताङ घिसी २१ औँ शताब्दीमा पोखरेलीहरुले प्रत्यक्ष अवलोकन गर्न पाए । पोखरामा मंगलबार २८ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसरमा भक्तपुरका नेवार समुदायहरुले पहिलो पटक घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका हुुन् । अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसर पारेर नै भक्तपुर देखि ६२ जनाको जम्बो टोली सोमबार पोखरा आइपुगेको थियो । नेवार समुदाय देशभर नै छरिएर रहेको छ तर नेवार समुदायहरुले आफ्नो संस्कृति छोड्दै गएकाले नेवारी पात्रोमा संस्कृति सातासात भन्ने उदेश्य राखेर टोली पोखरा आएको हो । भक्तपुुरका राज प्रजापतिले घिन्ताङ घिसी कलाकार सहितको जम्बो टोली पोखरा आएपछि उनले भक्तपुरमा काठमाडौँ र लतिलपुरमा मात्र नेवार समुदाय, कला संस्कृति सिमित हुन थालेको भन्दै अन्य जिल्लाका नेवार समुदायले संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘संस्कृति छ हामी छौँ नभए कोही पनि हुदैन त्यसैले आफ्नो संस्कृति जर्गेना गर्न अगाडी बढ्न अभिप्रेरित गर्न पोखरा आए ।’ पछिल्लो समय युवाहरुले आफ्नो समुदायका संस्कृतिलाई वास्ता नगर्दा भाषा, सस्कृति धरापमा परेको छ । पोखराका अस्टमान प्रधानाङ्गले २९ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसमा पोखराका नेवार समुदायले आफै घिन्ताङ घिसी प्रस्तुत गर्ने बताए । प्रधानाङ्गले भने, ‘नेवार समुदायले संस्कृति सातासात भन्ने उद्देश्य लिएको छ यसै अनुरुप हामीलाई सहयोग गर्न भक्तपुरदेखि टोली आएको छ, पोखराका युवाहरुलाई नाँच र बजाउन तालिम प्रदान गरेका छौँ, अब पोखराका नेवार समुदालयले घिन्ताङ घिसीको संरक्षण गर्छ ।’ भक्तपुरका नेपाल भाषा साहित्य तःमु ज्याका प्रतिनिधि राजाराम बासीले अवका युवाहरुले आफ्नो संस्कृति संरक्षण र पुस्तातरण हुन नसके लोप भएर जाने बताए । बासी भन्छन्, ‘पोखरामा पहिलो पटक घिन्ताङ घिसी देखाइएको हो, अब पोखरेली नेवार समुदाय आफै अग्रसर हुन् आवश्यक छ ।’ संस्कृति बचाउन अगाडी सर्न सवैलाई उनको आग्रह छ । के हो घिन्ताङ घिसी, कसरी नाचिन्छ ? भक्तपुर नगरपालिकाको सबै वडामा गाईजात्रा दिन घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ । यो नाँचमा नाच्नेहरुको हातहातमा लट्ठी हुन्छ । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै देखाउँछन् । भक्तपुरका विश्वरामका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ । ‘भक्तपुरमा परम्पराकालदेखि नै यो नाँच नाच्दै आएकाले हाम्रो बच्चाहरु सवै घिन्ताङ घिसीमा नाच्न सक्छन् तर अन्य जिल्लामा सिक्न र सिकाउन नसक्दा यो नाँच पोखरामा आउन नसकेको हो’ विश्वराम भन्छन् । गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाँच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको विश्वराम ट्वायनले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि झन् आकर्षक हुँदै गएको उनको अनुभव छ । ‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए’ उनले भने । मेटिँदै घिन्ताङ घिसीको मर्म ताहामचा गना तय् ग्वाखँ प्वालय तय् ग्वाखँ प्वालय् मन्हयंसा खुसी चुइक छोय् नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाऊँ कि’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ । विश्वरामका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’
पोखराः सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीलाई वृद्धि गरेको तलबदर असमान भएको भन्दै कास्कीका सरकारी कार्यालयका नायब सुब्बा (नासु)हरुले आज काम गरेका छैनन् । जिल्लाभित्र केही कार्यालयमा नासुहरुले पेन डाउन गरेका छन् भने दिउँसो १२ बजेपछि कार्यालयबाट निस्केर शहीदचोकमा भेला भएका छन् । मालपोत कार्यालय लेखनाथमा नासुहरुले पेनडाउन गरेपछि सेवा प्रभावित भएको छ । लेखनाथका नासुहरु अहिले शहीदचोकतर्फ आइरहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु पनि शहीदचोकतिर निस्कन सुरु गरेका छन् । नासुहरुले आज काम नगर्ने वा १२ बजेपछि बिदा (क्याबि) लिने जानकारी आफु मातहतका सिनियरलाई हिजै जानकारी गराएका थिए । सोही अनुरुप प्रशासन कार्यालयका कर्मचारी अहिले बाहिर निस्केका छन् । ‘अहिलेसम्म त सबै काम भइरहेको छ तर अब साथीहरु विरोध कार्यक्रमतर्फ जाने तरखरमा हुनुहुन्छ’ प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए । यता, मालपोत कार्यालय कास्कीमा भने आज काम हुन सकेन । सेवाग्राहीका घुइँचो लागेपनि अहिले ठप्प भएको मालपोत कार्यालयले जानकारी दिएको छ । ‘हामी ३ जना हाकिममात्रै छौं’ एक कर्मचारीले भने ‘हामीलाई हिजै जानकारी थियो, ३ जनालेमात्रै सेवा दिन नसक्ने भएपछि हामीहरु यत्तिकै बसेका छौं ।’ तलबदार असमान भएको र सरकारले तोकेको प्रतिशतभन्दा फरक परेपछि आन्दोलनमा उत्रनुपरेको नासुहरुले बताएका छन् । चालू बजेटले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर, तलब लागू हुने समयमा भने शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब साढे २४ प्रतिशतसम्म बढाइएपछि आन्दोलित भएको उनीहरुको भनाई छ । कास्कीमा आन्दोलनको नेतृत्व गरिरहेका मालपोत कार्यालय कास्की नासु सूर्य तिवारीले विरोधस्वरुप शहीदचोकमा भेला भएको बताएका छन् । ‘सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको भनियो’ तिवारीले भने ‘तर शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब भने २४ प्रतिशतले बढाइयो ।’ सरकारले असमान दरले तलब बढाएको विरुद्धमा आन्दोलन आजबाट सुरु भएको भन्दै उनले थपे, ‘सरकारले हामीलाई तलबमा हेप्यो ।’ सरकारले अन्यलाई भन्दा नासुलाई कम तलब बढाएर हेपेको तिवारीको ठहर छ । आज विरोधस्वरुप भेला भएको र भोलीदेखि कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको नासुहरुको भनाई छ । तलब दरको असमान वृद्धिमा आज राजधानी लगायत देशैभर नासुहरुको विरोध कार्यक्रम रहेको छ । शहीदचोकमा मालपोत, प्रशासन, नापी, अदालतलगायतका कर्मचारी सहभागी छन् । संघीय सरकारअन्तर्गत नायब सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ ।
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो । विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो । जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो । “सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पार्यौँ र नापजाँच गर्यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर (सन्तोष भट्टराई)लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कल चाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।” यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ । चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो । नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आइयुसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ । नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ । चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् । उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिनुभएको छ ।
पोखराः पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट जहाज उड्ने प्रतीक्षाको घडी अन्त्य भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ गतेदेखि उडान सुरु गर्ने निर्णय गरेको छ । यस विषयमा जानकारी दिँदै विमानस्थलका इन्जिनियर एवं आयोजना प्रमुख विनेस मुनकर्मीले आइतबारकै निर्णयअनुरुप विमानस्थल सञ्चालन हुने जानकारी दिए । ‘विमानस्थलका सबै काम सम्पन्न भइसक्यो’ मुनकर्मीले भने ‘झिनामसिना काम सक्न अझै समय बाँकी छ, समितिले तोकेको मितिदेखि विमानस्थ सञ्चालनमा आउँछ ।’ विमानस्थलबाट व्यावसायिक उडानअघि क्यालिब्रेशन फ्लाइट गर्नुपर्ने बताउँदै मुनकर्मीले यसबारे चीनसँग कुरा भइरहेको र छिट्टै जानकारी आउने उनको भनाई छ । सम्भवतः अक्टोबर महिनाभित्र क्यालिब्रेशन उडान हुने प्राधिकरणको ठम्याई छ । विमानस्थलको सञ्चालन मिति तोकिएको पुस १७ अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष हो ।

