बागलुङ: पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको सङ्ख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो । “नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो”, उहाँले भन्नुभयो, “गणनामा भेटिने नाउर र झारलको सङ्ख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।” नाउरको सङ्ख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो । “झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।” पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ । नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायीत हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ ।
काठमाडौँ: मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो । भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो । यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिए । अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ । अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पु¥याउने अस्पतालको तयारी रहेको छ । यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ । अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिनुभयो । स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्शासमेत तयार पारिसकेको छ । “भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए” उहाँले भन्नुभयो, “त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो ।” उहाँले स्तरोन्नति गरेपछि विधागत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार ९मौखिक प्रतिस्थापन विधि०, यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ । भवन विभागले एक पाँचतले र अर्को चारतले भवन बनाउन थालेको हो । पाँचतले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुने छ । यस्तै चारतले भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन् । बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन् । अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन् । निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ । उहाँले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरु गर्ने बताउनुभयो । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए । नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ । अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ । मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ । नेपालमा कूल नसर्नेरोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ । अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ । यस्तै १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ । महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउनुहुन्छ । “भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्” उहाँले भन्नुभयो, “सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ ।” शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ । त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ । बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिनुभयो । उहाँले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउनुहुन्छ । “मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्” उहाँले भन्नुभयो, “नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ ।”
भक्तपुर: आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ ।” कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए । भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे । उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे । विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउनुहुन्छ । विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो । नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ । अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ । सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए । सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ ।
काठमाण्डौँः नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभयो । नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ दिएको भन्दै देशका समग्र युवालाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा व्यावसायिक वातावरण निर्माण भएको र देश विकास गर्नसक्ने क्षमताका युवाहरु उद्यमशीलतामा सहभागी हुँदा अझै राम्रो वातावरण बन्न जाने भन्दै नेपालका युवा व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैंजु, चितवन शाखाका अध्यक्ष राजेश गौतम लगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । यसैबीच शुक्रबार साँझ सम्पन्न सो अधिवेशनले चितवन शाखाको अध्यक्षमा सूर्यभक्त अधिकारीलाई चयन गरेको छ । अधिकारी चितवनका इलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । त्यसैगरी अधिवेशनले सो मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्वितीय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दीपक खनाल, राजन पौडेल र दिलीप पौडेल चयन हुनुभएको छ ।
काठमाण्डौँः प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्री देउवा ले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।” प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्नसक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्व बुझाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन् । स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो । त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन सङ्कटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको जनाएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण सुरु भएको हो ।
रामपुर (पाल्पा): रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उहाँले बाली लगाउनै छाड्नुभएको छ । अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताउनुभयो । “दुःख गरेर मकै लगायो उत्पादन लिन पाइएलाभन्दा बाँदरले खाएर स्याहार्न नपाएपछि लगानी व्यर्थ मात्रै भयो”, उहाँले भन्नुभयो । मकैको विकल्पमा सूर्यमुखी खेती गर्न थालेको उहाँ बताउनुहुन्छ । “मकै पसाउन थालेपछि खेतबारीमा बाँदरको समूह पसेर एकै पटकमा सखापै पार्ने, घरभित्र पनि लुकेर भण्डारण गरेर राखेको मकै खाने, एक्लै घरमा भएमा मानिसलाई नै झम्टने गर्दछ, बाँदर धपाउने समस्याले किसानले कतिपय स्थानमा जग्गा बाँझै राख्न बाध्य भएका छन्”, अर्यालले भन्नुभयो । तल र माथि जङ्गलबीचमा बस्ती र खेतीयोग्य जमिन हुँदा दुईतर्फबाट आएका बाँदर गाउँबस्तीमा पसेर क्षणभरमै खेतीबाली नोक्सानी गर्ने गरेको अर्यालको भनाइ छ । बाँदर नियन्त्रणका लागि विकल्पको व्यवस्था गर्न रम्भा गाउँपालिकाको कार्यालयमा अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको अर्यालले बताउनुभयो । मकैबाली छाडेर अहिले उहाँले करिब छ रोपनी जग्गामा सूर्यमुखी लगाउनुभएको छ । उहाँजस्तै गाउँका अन्य किसानले पनि सूर्यमुखी खेती सुरु गरेका छन् । बाँदरले मकै, तरकारी, फलफूल मात्रै होइन धानबालीमा पसी माडेर सताउने गरेपछि सगाहाको अम्मेट ठाउँमा करिब २० रोपनी जग्गा बाँझो अवस्थामा छ । बाँदरले नोक्सानी गर्न थालेपछि मेहनतअनुसारको उब्जनी लिन नपाउँदा दुई वर्षयता सो जमिन बाँझिन पुगेको हो । धानबाली पनि बाँदरले मासेर नोक्सान गर्न थालेपछि अहिले सो ठाउँमा किसानले खेती लगाउनै छाडेका छन् । खेती लगाउन सुरु गरेदेखि बाँदर खेतबारीमै लुकेर बस्ने र पसाउन थालेपछि बाली नसकिँदासम्म खेतबारी नै नछाड्ने गरेको सगाहकै अर्का कृषक मित्र सिं थापाले बताउनुभयो । उहाँ पनि बाँदर समस्याले हैरानीमा परेपछि जमिन नबाँझियोस् भनेर करिब तीन रोपनीमा सूर्यमुखी खेती गर्नुहुन्छ । थापाले यसभन्दाअघि १० रोपनी जग्गामा मकै खेती गर्दै आएको बताउनुहुँदै अहिले बाँदरको समस्याका कारण बाध्यताले सूर्यमुखी लगाउनु परेको बताउनुभयो । उहाँले मकैखेती गरेर राम्रो उत्पादन लिँदै आउनुभएको थियो । वन जङ्गलमा बाँदरका लागि आहारको अभाव हुनु र अर्कोतर्फ गाउँमा बस्ती पातलिँदै जादा बाँदरले मानवबस्तीमा नै पसेर सताउने गरेको बताइन्छ । अहिलेको समय खेतमा पसाउँदै गरेको मकैबाली जोगाउन किसानलाई सकस छ । किसानको दैनिकी बाँदर धपाउनमै बित्ने गरेको छ । एक÷दुईको सङ्ख्यामा हिँड्ने बाँदरले खासै नोक्सानी गर्दैन तर ठूलो समूहमा आएका बाँदरले खेतबारीमा पसेपछि बाली नै सखापै पार्ने गरेको छ । समूहमा हिँड्ने बाँदरले क्षणभरमै बालीनाली सखाप पारिदिने गरिेको किसान बताउँछन् । मकै, भटमास, आलु, बदाम, धान, कोदो, जौ, गहुँ, फापर, मूला, गाँजर, तरकारी, गोलभेँडा, फलफूल बाली सबै केही बाँकी नराखी खाएर नोक्सान पार्दछ । अहिले गाउँमा प्रत्येक घरमा एक/दुई जना बाँदर धपाउनकै लागि कुरुवा बस्नु परेको छ । तर, ठूलो समूह बनाएर आएका बाँदलाई एक दुई जनाले धपाउँन सकिदैन । मानिसलाई नै झम्टने गरेको पनि पाइन्छ । बाँदर आतङ्कका कारण भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझै छाडेर गाउँ छाड्नुपर्ने अवस्था आएको छ । कहिल्यै बाँदर नलाग्ने ठाउँमा पनि हिजोआज बाँदर पस्न थालेको रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने उदयराज अर्यालले बताउनुभयो । मानिसको ओहोरदोहोर हुने, बस्ती बाक्लै भएको ठाउँमा पनि दुई तीन वर्षयता बाँदर पसेर सताउन थालेको अर्यालको भनाइ छ । “खेतमा मकै पसाउन थालेपछि बाँदरले हैरानी पारेको छ, धपाउँन खोज्दा पनि झट्ट नभाग्ने, मकैमा पसेपछि भर्खर फल लाग्दै गरेका घोगा भाँचेर खाइदिएको छ, बाँदर भगाउने उपाय नहुँदा किसानलाई सकस भएको छ”, उहाँले भन्नुभयो । बेझाडखेत रामपुरको मुख्य बजार बेझाड संग जोडिएको छ । यहाँ दैनिक साना ठूला गरी सयौँ सवारी साधन गुड्ने, मानिसको ओहोरदोहोर बाक्लै हुने गर्छ । तरपनि बस्ती भरिँदै जादा बाँदर पनि पस्ने गरेको अर्का स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ । आलु, मकै, तरकारी लगायतका बाली पसाउन नपाउँदै खोतलेर खाइदिने गरेको उहाँले बताउनुभयो । “आफैँले दुःख गरेर गरेको खेती राम्रोसँग फलाउँला भनेको फल लाग्न थालेपछि बाँदरले खाइदिन्छ, खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनु दुःख मात्रै गर्नुपर्याे”, उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार प्रत्येक घरबाट एक।एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ । रामपुर नपा–८ आँपचौरका रामप्रसाद अर्यालले ११ रोपनी जग्गामा विभिन्न खेती गर्नुहुन्छ । बालीनाली जोगाउनै समस्या परेपछि बाँदर आतङ्क रोक्न सरकारसमक्ष उहाँको अनुरोध छ । समूहमा बाँदर पसेर खेतबारीका अन्नबाली खाएर सखाप पार्ने हुँदा अनिवार्यजसो बाँदर कुरेरै यहाँका नागरिकको दिन बित्ने गरेको छ । बाँदर धपाउने कुनै विकल्प नहुँदा गुलेली तथा लौराले धपाउने गरेको अर्यालले बताउनुभयो । एक समूहमा बढीमा २०० सम्म बाँदर खेतबारीमा पस्ने गरेको पाइएको छ । आँपचौरकै ७४ वर्षीय पुरुषोत्तम अर्याल आफूले जानेदेखि नै खेतबारीमा दैनिक बाँदर कुर्ने गरेको बताउनुहुन्छ । बिहान उज्यालो हुन नपाउँदै बाँदर लखेट्न खेतमा जानुपर्ने र साँझ अबेरसम्म पनि निगरानीमै बस्नुपर्ने हुँदा परिवारमा एक जना बाँदर कुर्नैका लागि खटिनु परेको अर्यालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाँदर कुरेरै जीवन बित्ने भयो, जाने बुझेदेखि नै खेतको मुहानमा बसेर बाँदर कुर्ने गरेको हो, अहिलेसम्म बाँदरकै निगरानीमा जीवन बित्यो, एक जनाले त अनिवार्य बिहान सबेरै उठेर रात नपरुञ्जेलसम्म खेतमा बसेर बाँदरको निगरानी गर्नुपर्छ नत्र लगाएको बाली भित्र्याउनै पाइदैन ।” पाल्पाका विभिन्न स्थानका किसान बाँदर आतङ्कले हैरानीमा परेका छन् । बर्सेनि बाँदरको समस्या किसानले सम्बन्धित निकायमा पोखेकै छन् । कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर नगरको समन्वयमा बाँदरको समस्यालाई दृष्टिगत गर्दै बाँदर धपाउने यन्त्र कृषकलाई वितरण गरेर समाधानको प्रयास पनि गर्याे । तर पूर्णरुपमा भने नियन्त्रणमा आउन सकेन । नगरले बाँदर लाग्ने स्थानमा कागती, सुन्तला, बेसारलगायतका बाली लगाउन प्रोत्साहन गरेपनि कतिपय ठाउँमा सिँचाइको अभावले समस्या देखिएको छ । पाल्पाका रामपुर, रम्भा, निस्दी, पूर्वखोला, बगनासकालीलगायतका विभिन्न ठाउँमा बाँदर आतङ्कले सताउने गरेको पाइन्छ । बाँदर आतङ्क रोक्न नसक्दा बर्सेनि अन्नबाली खाएर नोक्सानी व्यहोर्न किसान बाध्य बन्दै आएका छन् ।
कास्कीः जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेलले प्यानलसहित विजय हात पारेका छन् । समितिको उपप्रमुखमा सरिता कुमालले जीत हात पारिन् । पौडेलले नेपाली कांग्रेका दीपेन्द्र ढकाल र कुमालले उषा थापालाई पराजीत गरेका हुन् । प्यानलका सदस्यमा सीतादेवी विक, हर्क बहादुर गुरुङ, राजु अधिकारी, गणेश बहादुर घर्ति, वालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली चयन भएका छन् ।
काठमाण्डौँः शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपालले सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आव २०७९/८० को बजेटमा शिक्षा क्षेत्रलाई न्यून रकम विनियोजन गरिएकामा चिन्ता व्यक्त गरेको छ । शिक्षामा कार्यरत करिब ३०० गैरसरकारी संस्थाको सो सञ्जालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी प्रस्तावित बजेट करिब ११ प्रतिशत नेपाल सरकारले विभिन्न मञ्चमा कूल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धताभन्दा न्यून रहेको भनिएको छ । कोरोना महामारीले सार्वजनिक शिक्षालाई पुर्याएको क्षतिलाई सम्बोधन गर्न र नेपालको संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षालाई व्यवहारतः कार्यान्वयन गर्न यस वर्ष शिक्षा क्षेत्रलाई छुट्याइएको लगानी अपर्याप्त हुने सो अभियानको भनाइ छ । “शिक्षा क्षेत्रमा हालको अपर्याप्त लगानी सार्वजनिक शिक्षा सुधार गर्ने र यसका लागि लगानी बढाउने विभिन्न राजनीतिक दलको प्रतिबद्धता विपरीत छ । तसर्थ गुणस्तरीय, समावेशी र समतामूलक शिक्षा र सिकाइको अधिकार सुनिश्चित गर्ने आफ्नो दायित्वप्रति सचेत रहन यस अभियान नेपाल सरकारलाई आग्रह गर्दछ”, एनसिइ नेपालको विज्ञप्तिमा भनिएको छ । एनसिइ नेपालले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि तीनै तहका सरकारले आफ्नो बजेटबाट कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्याउनुपर्ने माग गर्दै वकालत तथा अभियान सञ्चालन गर्दै आएको छ । सो सञ्जालले दिवा खाजालाई कक्षा ६ सम्म विस्तार गर्ने, प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिद गर्ने, सरकारी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता गर्न दरबन्दी पुनरावलोकन गर्ने, स्थानीय तहसँगको सहकार्यमा सामुदायिक विद्यालयको नक्साङ्कन गरी विद्यालय समायोजन र आवासीय विद्यालय निर्माण गर्ने तथा विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने जस्ता व्यवस्थालाई भने सकारात्मकरुपमा लिएको छ ।
नेपाल आयल निगम लिमिटेडले हाल कायम गरिएको १ लिटर पेट्रोल मूल्य १ सय ८० बाट बढाएर २ सय ३ रुपैयाँ बनाउनु पर्ने बाध्यता रहेकाे जनाएको छ । निगमले हाल १ लिटर पेट्रोलको २ सय २ रुपैयाँ ९३ पैसा लागत रहेको र यही लागतमा खरिद गरिरहँदा २२ रुपैयाँ ९३ पैसा घाटा रहेको जनाउँदै मूल्यवृछि गर्नैपर्ने बाध्यता रहेको जनाएको छ । लागत मूल्य अनुसार बिक्री गर्दा यस आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब रुपैयाँ नोक्सान भएको निगमले उल्लेख गरेको छ । उक्त घाटामा पेट्रोल, डिजेल, हवाई इन्धन, मट्टितेल र खाना पकाउँने ग्यासको लागतसमेत समावेश छ । निगमका अनुसार प्रति लिटर डिजेलमा १९ र मट्टितेलमा १५ रुपैयाँ घाटा छ । त्यस्तै, हवाई इन्धनमा १७ देखि ६४ रुपैयाँ घाटा छ भने ग्याँसमा प्रति सिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताएका छन् । रसिया–युक्रेन युद्धलाई मूल्यवृद्धिको कारण देखाएको निगमले उल्लेखित पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाइराख्न लागत मूल्यलाई नै कायम गर्नुपर्ने स्थिति रहेको स्पष्ट पारेको छ ।