मतगणना सुरु भएदेखि निकट प्रतिष्पर्धी रहेका धरान उपमहानगरपालिका स्वतन्त्र मेयर प्रत्यासी हर्क साम्पाङले चौथो दिन बिहानदेखि अन्यलाई उछिनेका छन् । बिहीबार बिहानको पछिल्लो अपडेटबाट हर्कले झिनो अग्रता लिएका हुन् । उपमहानगरपालिकामा हाल सम्म २९ हजार ७६४ मत गणना भइसक्दा हर्कले १७९ मतले प्रतिष्पर्धीलाई उछिनेका छन् । सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तरको संख्या बढाउदै गएका छन् । निर्वाचन आयोगको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले भने ६८९५ मत प्राप्त गरेकी छिन् । यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।
पोखराः पोखरा महानगरपालिकाको मेयरतर्फ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मैदानमा छन् । त्यस्तै, उपमेयरमा एमाले र कांग्रेसका प्रतिष्पर्धीको रोचक भीडन्त जारी छ । यसैबीच, ३६ हजार ८१३ मत गणना भइसक्दा समाजवादीका धनराज आचार्यले १५ हजार २८८ र एमालेका कृष्ण थापाले १३ हजार ३२९ मत प्राप्त गरेका छन् । गठबन्धनमार्फत उम्मेदवारी पाएको समाजवादीको उपमेयरमा उम्मेदवार छैन तर उसले हालसम्म २६ मत पाएको छ । यसैगरी, मेयरमा उम्मेदवार नभएको कांग्रेसले रुखमा ११ मत पाएको छ । उम्मेदवार नै नभएपछि उक्त चिन्हहरुमा खसेको मतको कुनै अर्थ छैन । महानगरभित्रको अझै १ लाख ६ हजार ४१३ मत गन्न बाँकी छ । यही अनुुपातमा रुख र कलममा मत जाने हो भने अन्तीम गणनासम्म मेयर र उपमेयरलाई असर नपार्ला भन्न सकिँदैन । गठबन्धनले मतदाता शिक्षामा ध्यान दिन नसकेको हो वा मतदाताले आफ्नै पार्टी वा चुनाव चिन्ह छोड्न नसकेको हो यसबारे स्वयं मतदाता नै जानकार छन् । अझ रोचक त भुँइकटहरले पनि २ मत पाएको छ । जसका उम्मेदवारले अन्तीम घडीमा उम्मेदवारी फिर्ता लिएका थिए ।
पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम । एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ । हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् । अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् । एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।
भैरहवा- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् । एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।
पोखराः स्थानीय तह निर्वाचनका दिन स्याङजाको वालिङमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेका छन् । पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरुको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पोखरेलले उपचारमा पूर्ण ध्यान दिन कलेज प्रशासनलाई निर्देशन दिएका छन् । ‘स्वास्थ्यविधि र प्रविधि गरी उपचार गर्नुहोला’ पोखरेलले भनेका छन् ‘हामी सबैलाई चाँडै निको भएर फर्केको हेर्न आतुर छौं ।’ उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो भने अन्य ८ घाइते भएका छन् । त्यस्तै, एकजना उपचारपछि घर फर्किएको कलेजले जनाएको छ । घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भइहेको छ । २ बालक अर्थोवार्ड र २ जनाको जनरल वार्डमा छन् । हाल घाइते सबै खतरामुक्त रहेको कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिएकी छिन् ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुको उपचारार्थ पोखरको गण्डकी मेडिकल कलेज ल्याइएको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि १४ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जानकारी दिए । ११ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको छ । उद्धार कार्य अझै जारी छ ।
पोखरा महानगर वडा १६ का जीतबहादुर परियारले बिहान साढे ७ बजे मतदान गरेका छन् । विन्दवासिनी मावि मतदानस्थलबाट भोट हालेर फर्किएपछि परियार सुनगाभा न्यूजसँग गफिए । ‘आफ्नो अधिकार प्रयोग गर्न आएको हुँ’ खासै उत्साहित नदेखिएका परियारले भने ‘नेताहरु झुठा छन्, गर्छन् भन्ने विश्वास पनि छैन तर ठग्छन् भन्ने थाहा भएपनि भोट हालियो ।’ गाउँमै सिंहदबार भनेर भनेपनि सबै गफै भएको जनताकालागि त्यो केवल गफ भएको उनको प्रतिक्रिया थियो । परिवारको सहारामा व्हिलचेयरमा मतदान गर्न आएका ६३ वर्षीय परियारले यसअघि ०७४ मा पनि भोट हालेको तर अपांगकालागि केही सुविधा नपाएको गुनासो पाेखे । ‘मलाई ढाँट्छन् भन्ने स्योर छ’ अपांग परियारले भने ‘जुन जोगी आएपनि कान चिरेको भनेझैं हो ।’ स्वच्छ नेता चुन्न मतदान गरेपनि आफ्नो भोटको कदर नभएको तीतो पोख्दै उनले भने ‘आश्वासन दिनेबाहेक खासै केही भएन, जसले जीतेपनि खासै फरक पर्दैन ।’ जनतालाई गरेको वाचा यसपटकको निर्वाचनबाट पुरा होस् भन्दै उनले पुनः आशावादी हुनुबाहेक अर्काे विकल्प नभएको उनले सुनाए ।
पोखराः पोखरा महानगरको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् । उनले पोखरा १६ स्थित विन्दबासिनी मतदान स्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका हुन । उनी अब निरीक्षणमा निस्किनेछ्न ।
पोखराः स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत शुक्रबार मतदान हुँदैछ । मतदानसँगै अत्यावश्यकस्थत मानिने गणनास्थलकोसमेत तयारी भइरहेको छ । पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् । मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् । सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।