कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेका छन् । निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो । ‘‘अति संवेदनशील मतदानस्थलका रूपमा रहेका मतदानस्थलमा पनि सुरक्षा चुनौती भने छैन, ’’ उहाँले भन्नुभयो, “कुनै पनि मतदानस्थलमा सुरक्षा थ्रेट नरहे पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर मजबुत सुरक्षा व्यवस्था मिलाएका छौँ ।” निर्वाचन बहिष्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने गरी निगरानी गरिरहेको प्रवक्ता तिवारीले बताउनुभयो । जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ«े गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ । जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ । पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ । अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ«े र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् । मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् । सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ । आज साँझ ५ः०० बजेसम्म नयाँका लागि मतदाता परिचयपत्र वितरण हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिृकत निलप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतलगायत कर्मचारी तोकिएको स्थानमा पुगेर मतदानस्थल निर्माण सुरु गर्नुभएको छ । आजसम्म आवश्यक सबै काम सकिन्छ ।”
धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् । गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ । घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ । घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ । उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।
डोटी- डोटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो । सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरेको छ । घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो । घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाो र गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।-
इलाम: इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
दाङः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि आज दिउँसो १ बजेसम्म मनोनयत दर्ताको समयभित्र उनै लबरुका छोरा प्रदीपले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आज दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रदीपले बुवाको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए। “लबरू चौधरी मेरो बुवा मात्र नभई यो ठाउँको जनताको सेवक र अभिभावक हुनुहन्थ्यो, उहाँको असायमिक निधनले हामी सबै स्तब्ध छौ,” प्रदीपले भने, “उहाँले देखाएको बाटो र उहाँको सपना पूरा गर्नलाई मतदाताले मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ।” आज वडाध्यक्षमा उम्मेदवारी दिएका प्रदीपलाई बिहीबार चुनाव चिह्न प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले ३१ वैशाख राति १२ बजेसम्म चुनावी प्रचार प्रसार गर्र्न पाउनेछन्। तुलसीपुर १७ मा ३ जेठमा मतदान हुनेछन्। अन्य वडामा भने ३० वैशाखमै मतदान हुनेछन्। यो वडामा मतदान सकिएपछि मात्रै अन्य वडाको मत गणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौँ, स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले “मतदान अधिकृत र सामग्री नपुगेको कतैबाट जानकारी नआएकाले निर्वाचन कार्यक्रमबमोजिम मङ्गलबार नै मतदान केन्द्रसँग सम्बन्धित काम अगाडि बढेको” जानकारी दिनुभयो । आयोगको कार्यक्रमबमोजिम वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसक्नु पर्नेछ । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् । मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गणेश पौडेलले पालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा पाँचवटै सूचना जारी गरी बुधबार सर्वपक्षीय बैठकको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम गरिने बताउनुभयो । काठमाडौँसहित सुगम मतदान स्थलमा भने निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मात्रै मतपत्र पु-याइनेछ । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “काठमाडौँसहित अन्य सुगम मतदान केन्द्रमा समेत बिहीबार मात्रै मतपत्र लगिनेछ ।” छाङ्रु, तिङ्कर र दुम्लिङ पुगे मतदान अधिकृत मतदान केन्द्र पुग्न सबैभन्दा कठिन मानिएको दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री लिएर पुगेका छन् । व्यास गाउँपालिकाका निर्वाचन अधिकृत कौशल ज्ञवालीले छाङ्रु र तिङ्करस्थित मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै मतदान अधिकृत र सामग्री पु¥याइएको जानकारी दिनुभयो । “पैदल हिँडेर पुग्नुपर्ने दुम्लिङ केन्द्रमा समेत मङ्गलबार राति ९ बजे मतदान अधिकृत सामग्री लिएर पुगेका छन्,” उहाँले थप्नुभयो । व्यास गाउँपालिकाको केन्द्रबाट छ घण्टा पैदल हिँडेर मतदान अधिकृतसहितको टोली दुम्लिङसम्मको यात्रा तय गरेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो । सात हजार ८०४ मतदाता रहेको व्यास गाउँपालिका अन्तर्गत ११ मतदान स्थलमा १३ वटा केन्द्र तोकिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता रहेका सबै मतदान केन्द्रमा मतदान हुने प्रस्ट्याउनुभएको छ । कालापानी र लिम्पियाधुरामा मतदान हुन्छ त ? भन्ने जिज्ञासामा प्रमुख आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका छ हजार ७४३ वडाको मतदाता नामावलीमा नाम हुने सबै केन्द्रमा आयोगले मतदान हुने गरी व्यवस्था गरेको जानकारी दिनुभयो । निर्वाचन अधिकृत ज्ञवालीले सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेको प्रस्ट्याउनुभयो ।
काठमाडौँ- तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि सुरु भएको मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आज आह्वान गरेको छ । सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन पनि पाउने छैनन् । यसबमोजिमको आचरण पालन गरिदिन प्रमुख निर्वाचन आयुक्तसहित पाँचै जना आयुक्तहरु र आयोगका सचिवको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा सम्बन्धित सबैमा आग्रह गरिएको छ । आँकडामा स्थानीय तह निर्वाचन यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।
नेकपा एमालेले काठमाण्डौंमा आयोजना गरेको चुनावीसभामा पुण्य गौतम पार्टी प्रवेश गरेका छन् । एमाले प्रवेश गरेलगत्तै उनले मञ्चमा कविता वाचन गर्ने अवसर पाएका थिए । पछिल्लो समय नेकपा एसमा रहेर कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहको निवासमा कुकुरले टोक्यो भन्दै चर्चामा आएका थिए । भाषणकाेक्रममा उनले काग्रेसकाे कुकुरले टाेकेकाे भन्दै एमाले नै असल पार्टी भएकाे बताए । पार्टी प्रवेशपछि उनले केपी ओलीलाई भ्लादिमिर पुटिन, नेल्शन मण्डेला जस्ता नेता भन्दै तारिफ गर्न समेत भ्याए ।त्यस्तै उनले सम्बाेधन गर्दै माधव नेपाल र प्रचण्डकाे भरमग्दुर अालाेचना गरे ।
कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । उहाँको गएराति निधन भएको हो । अचानक बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । कर्मीको हृदयघातका कारण निधन भएको बताइएको छ । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । उपमेयरको निधन भएको कारण याहँको निर्वाचन वैशाख ३० मा नगरी केही समयपछि हुने सम्भावना रहेको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनु भएको थियो । यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा चौधरी तुलसीपुर १७ को वडा सदस्य बिजयी हुनुभएको थियो ।-