काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।” पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
देउखुरी: घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताउनुभयो । उहाँले भन्नुभयो, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।” प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।
झापा: झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ । सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
महोत्तरी: जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर रु ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिनुभएको थियो । सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं: अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले आज जानकारी दिएको हो । प्रहरीले उनीहरुका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक÷एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले मानव वेचविखन तथा ओसारपोसार गरेको आरोपमा चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेकसाइडस्थित होटल मिराकलबाट चिनियाँ नागरिकसहित ३ जनालाई हिजो (मंगलबार) पक्राउ गरेको हो । पोखरा १६ संगमटोल बस्ने २२ वर्षीय सरु वि.क, पोखरा २२ आर्वा बस्ने ३४ वर्षीय भगवती अधिकारी र चिनिया नागरिक झी मिङ चेनलाई मानव वेचविखन तथा ओसारपोसार मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपोसार मुद्धामा ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । घटना केःहो ? कास्की प्रहरीका अनुसार साउन १३ लमजुङको साबिक भोज स्थायी घर भई पोखरा १६ संगमटोल बस्ने सरु विक र पोखरा २२ आर्वा बस्ने अन्दाजी ३४ वर्षीय भगवती अधिकारीले १४ वर्षीय बालिकालाई अभिभावकलाई कुनै जानकारी नदिई चिनिया नागरिकसँग बिहे गर्न प्रस्ताव गर्छन् । ‘तिमी दुःख पाउने केटी रहेछौं, हामीहरुले चाईनिज नागरिकलाइ चिनेका छौं, तिमी उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ’ भन्दै बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई चिनियाँ नागरिकसँग आर्थिक लिएर उनीहरुले विवाह गरिदिन्छन् । चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि बालिकालाई लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएको कास्की प्रहरीले जनाएको छ । बालिकालाई वेचविखन गर्ने उद्धेश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटलमा बन्धक बनाएको भन्दै पीडित बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानको क्रममा चिनिया नागरिकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खोटाङ: सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् । सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो । जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ । रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौ वर्षअघि सामूहिक रुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको जनाइएको छ । फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष सुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा एक सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।