पोखरा: पोखराबाट जोमसोम उडेको तारा एयर गन्तव्यमा नपुग्दै सम्पर्कविहीन भएपछि यात्रुका साथी एवं आफन्तहरु यतिबेला तथ्यको पर्खाइमा पोखरा विमानस्थल पुगेका छन् । करिब २ घण्टासम्म पनि जहाजबारे ठोस सूचना पाउन नसकेपछि विमानस्थल परिसरमा पुगेका आफन्तजन र अन्यको धैर्य टुट्दै गएको छ । प्रतिकुल मौसमका कारण खोजी र उद्धारकार्य हुन नसकेपछि विमानस्थलमा भेला भएकाहरुको आँखाबाट झरी बग्न थालेको छ । तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमानमा चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित २२ जना सवार छन् । तस्वीर : अर्जुन गाहा (सुशान्त)
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्मअनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न सबैको काँधमा ठूलो जिम्मेवारी आएको धारणा राख्नुभयो । मुख्यमन्त्री राईले गणतन्त्र स्थापनापछि अहिले हामी सिकाइको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पूरा हुदैँ जाने विचार व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि विभिन्न क्षेत्रका पछिपरेका नागरिकको हकअधिकार प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरी अन्य व्यक्तिको जीवन बचाउन सबैभन्दा ठूलो पुण्यकार्य हुने उल्लेख गर्नुभयो । उहाँले रक्तदान गर्ने दातालाई प्रमाणपत्र वितरण गर्नुभएको छ । सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गर्नु भएको थियो । गणतन्त्र दिवसकै अवसरमा महानगरले बिहान प्रदेशसभा सचिवालय भवन क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको थियो ।
काठमाडौं: १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
काठमाण्डौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गर्नुभएको छ । यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।
पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।
काठमाण्डौँ: आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन मे २९ तारिकको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउदैँ आएको छ । मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागीता रहेको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहणलाई सुरक्षित र व्यावसायिक बनाइनुपर्नेमा जोड दिनुभयो । कीर्तिमानी आरोही कामीरिता शेर्पाले पर्वतारोही शेर्पा पथ प्रदर्शकको समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले दिवस मनाउनुको औचित्यबारे प्रकाश पार्दै पुरस्कृत आरोहीको विवरण घोषणा गर्नुभएको थियो । कार्यक्रममा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार प्रख्यात आरोही निर्मल पुर्जालाई प्रदान गरिएको छ । यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, खिमलाल गौतम र दाबा शेर्पालाई प्रदान गरिएको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री आलेले वितरण गर्नुभएको थियो । औपचारिक कार्यक्रमअघि पर्यटन व्यवसायी एवं सरोकारवालाहरूको अगुवाइमा ठमेलदेखि कार्यक्रमस्थल कमलादीसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । पछिल्लो पटक कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । आप्पा शेर्पाले २१ पटक तथा अन्य कीर्तिमानी आरोहीले नयाँ रेकर्ड बनाएका थिए । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२०’ का अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म ६ हजार ५०७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला मात्र ४७१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो । सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको थियो । जापानी नागरिक जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोहीको रेकर्ड छ ।
पोखरा- तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको हाम्रा कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन । विमानमा १९ जना यात्रु रहेको जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ। मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले १० हजार ७१४ मत पाएका छन्। उनले नेकपा एमालेका भागवत राउतलाई १९३७ मतान्तरले पछि पारेका छन्। राउतले ८७७७ मत पाउँदा निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ७४१० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसैगरी उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९६६६ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई नेपाली कांग्रेसकी सरिता राईले ९५०० मतसहित पछ्याइरहेकी छन्। सुरूदेखि नै अगाडि रहेकी सरितालाई महेश्वरीले आइतबार बिहान उछिनेकी हुन्।
काठमाडौं, आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गर्नुभएको छ । ४ बजेबाट बजेट भाषण सुरु हुने भएकाले ३ बजेर ४५ मिनेट जानुभन्दा अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन उहाँले अनुरोध गर्नुभएको हो । ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो । सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको स्रोतले बतायो । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’

