बागलुङ: बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालिएको छ । नगर कार्यपालिकाको मङ्गलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका निम्ती जग्गा खोजी गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ती दिइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडाध्यक्षसहितको समिति बनाइएको छ । त्यसमा वडा नं १ का वडाध्यक्ष जयबहादुर खत्री, वडा नं ३ का अध्यक्ष सोनी केसी र वडा नं ४ वडाध्यक्ष कुमारविक्रम क्षेत्री सदस्य रहनुभएको छ । समितिले अबका १० दिनभित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच विषयगत समिति गठन गरिएको हो । नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद् व्यवस्थापन समितिमा वडा नं ९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमारविक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९-८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिकासमेत निर्माण गरेको छ । असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । कार्यपालिका बैठकले नगर क्षेत्रभित्र नयाँ सडक खोल्नका लागि अति आवश्यकताबाहेक सबै रोक्ने निर्णय गरेको छ । नगरभित्रका सबै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नति गर्ने गरी योजना बनाइएको हुँदा नयाँ सडक खोल्ने काम रोक्ने निर्णय गरिएको गौतमले बताउनुभयो । “नगरभित्र सबै वडाका गाउँगाउँमा सडक पुगेको छ”, गौतमले भन्नुभयो, “कुनै स्थानमा नपुगेको भए वडाले निर्णय गरेपछि मात्र नगरबाट स्वीकृत हुन्छ, नयाँ सडक निर्माण गर्दा मापदण्डअनुसार मात्र निर्माण गरिने छ, इन्जिनियर गएर हेरेपछि मात्र सडक खनिने छ, डोजरको प्रयोग पनि न्यूनीकरण गरिनेछ ।” अहिले भएका सडकको थप व्यवस्थापन गरी नगरभित्र बाह्रै महिना यातायात सञ्चालनका निम्ती नगरपालिकाले यस्तो निर्णय गरेको गौतम भनाइ छ । नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारका रुपमा रहेको मालढुङ्गामा पुल नजिकै रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाइटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडि बढ्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
अछाम: अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकामा तपेन्द्र धमाला र अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
बागलुङ: नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । बागलुङका दुर्गम भेगका विद्यालयभन्दा जिल्ला सदरमुकाममै रहेको रुद्रेपिपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताउनुभयो । अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रैपिपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताउनुभयो । उहाँले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्तक समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिका ठूलो समस्यामा परेको बताउनुभयो । जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुःखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको भन्दै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने बताउनुभयो । “सदरमुकामका ठूला विद्यालय रुद्रेपिपल, विद्यामन्दिर र कालिका कन्या माध्यमिक विद्यालयमा विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, हामीलाई पठनपाठनमा समस्या देखिएको छ”, प्रधानध्यापक श्रेष्ठले भन्नुभयो, “सरकारको लापरबाहीकै कारण हो या अन्य कुनै कारण हो यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न सकेका छैनन्, जति सक्दो छिटो पाठ्यपुस्तक पुर्याउन आवश्यक देखिन्छ ।” जिल्लामा पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । “आंशिक रुपमा पाठ्यपुस्तक आएको छ, हामीले पुस्तक व्यवसायीलाई समयमै पाठ्यपुस्तक ल्याउनका लागि अनुरोध गरेका थियौँ”, प्रमुख उपाध्यायले भन्नुभयो, “अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने छन्, हामी विश्वस्त छौँ ।” बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् ।
चितवन: समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गर्नुभएका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उहाँले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताउनुभयो । उहाँले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भन्नुभयो, “अहिले थाइराइड हर्माेन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उहाँको भनाइ छ । उहाँका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्माेन उत्पादन गर्दछ । यो हर्माेन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्माेनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने उहाँले बताउनुभयो । थाइराइड हर्माेन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा खतिवडा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्माेन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उहाँको भनाइ छ । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्ने उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उहाँको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै उहाँले भन्नुभयो, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उहाँको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्माेन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उहाँले कुनै खानेकुराका कारण थाइराइड नहुने बताउनुभयो ।
कास्की: माछापुच्छ्रे गाउँपालिका ८ का नवनिर्वाचित वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गरेसँगै आफ्ना कार्य योजना अघि सारेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै सबैभन्दा पहिले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने निर्णय गरेका हुन्। सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता यसअघि मुक्तिनाथ वैंक हेम्जा शाखा मार्फत प्रदान गरिदै आइएको थियो । वृद्धाहरुलाई आवतजावतमा समस्या र झन्झटलाई मध्यनजर गर्दै वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङले दोहोर्याए । ‘वृद्ध, वृद्धाहरु चर्काे टन्टलापुर घाममा हेम्जाको मुक्तिनाथ शाखामा लाइन बसेको देखेपछि दुख लाग्यो, उनले भने, ‘त्यसैले सबैभन्दा पहिला यही वडाबाटै भत्ता प्रदान गर्ने पहिलो बैठकबाट निर्णय गरेका छौ । अब उहाँहरु भत्ताको लागि घाममा लाइन बस्नुपर्ने छैन ।’ अध्यक्ष गुरुङले आफुले गरेका प्रतिवद्धताहरुलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताउदै नागरिकलाई सर्वसुलभ र नागरिकमैत्री सेवा प्रवाह गर्ने बताए । ‘हाम्रो वडाबासीले अब सिंहदरबार घरघरमा आएको महसुस गर्नुहुनेछ, उनले भने, ‘हामीले स्थानीय नागरिकलाई सहज रुपमा वडाबाट पाउने सबै सेवाहरु उपलब्ध गराउनेछौं । हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको सेवक हौं । हामी उहाँहरुकै काममा समर्पित हुनेछौं ।’ स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेका कृष्ण दवाडीसँग हार व्यहोरेका गुरुङले यसपटक दवाडीलाई १ सय ३० मतले पराजित गरेका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङ युवा पर्यटन व्यवसायी समेत हुन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती प्रेसित गर्दै मिश्रले राजीनामा दिएका हुन् । मिश्रको विज्ञप्तीः स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु। हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु। विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ। मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु। पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ। नेपालको जय होस्! रवीन्द्र मिश्र विवेकशील साझा पार्टी ११ जेठ २०७९
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ । नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो । उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।
दमौलीः व्यास नगरपालिका ५ तल्लो गुणादीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिँदा भिमाद नगरपालिका २ का ४० वर्षिया पवित्रा थापाको ज्यान गएको हो । ज्यान गुमाएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । स्कुटर चालक उनका २० वर्षिया छोरा सुशिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।
भरतपुर: भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छाै ।”

