अछाम । एमबीबीएस डाक्टरभन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । विश्वकर्माले सरकारी, गैरसरकारी निकायमा र प्रहरीमा समेत आफू वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जन डाक्टर भएको नक्कली परिचयपत्र बनाएर अनुचित फाइदा लिएको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा वीर अस्पताल र शिक्षण अस्पतालको डाक्टर भनेपछि उहाँलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । प्रहरीले विश्कर्माको साथबाट डाक्टर दीपक विसीको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास, चक्रबहादुर नामको मतदाता परिचयपत्र फेला परेको छ । डाक्टर दीपक भनेर विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि ढाँटेको भनेर प्रहरीमा स्वीकारेको बताइएको छ । पक्राउमा परेका विश्वकर्माको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर १८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ । हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । ‘वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् । आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् । आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ । पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । त्यसको एक साता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको छ । नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।
काठमाडौं: प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले तत्काल सौन्दर्य प्रतियोगिता 'ब्युटी पेजेन्ट' गर्न नदिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र ब्युटि पेजेन्टलगायतका मनोरञ्जनात्मक प्रतिस्पर्धा संचालन गर्न दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यतामा आधारित कुनैपनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र संचालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ’ निर्णयमा भनिएको छ । ब्युटी पेजेन्टको नाममा एक युवतीमाथि बलात्कारको आरोप लागेपछि समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो निर्णय गरेको हो। समितिले यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति पनि अपराधका मतियार भएको ठहर गरेको छ । मतियारले घटना घटाउनका लागि वा घटना भइसकेपछि पीडितलाई न्याय नदिन, वा न्यायको पहुँचमा बाधा अड्चन पुर्याउन सहयोग गर्ने भएकाले यस्ता मतियारलाई प्रचलित कानून बमोजिम कानूनी कारवाहीको दायरामा ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । महिला हिंसा विरुद्धका उजुरी तथा मुद्दाहरूलाई उच्च प्राथमिकता दिई द्रुतमार्ग मार्फत् शीघ्र न्याय प्राप्ति हुने अवस्था सृजना गर्न, पीडितलाई संरक्षण एवं मनोपरामर्श उपलब्ध गराउन पनि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देश गरेको छ ।
पोखराः पोखरा महानगरपालिका १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई पराजित गर्दै पोखराका महानगरपालिकाकै एकमात्र महिला वडा अध्यक्ष बनेकी हुन् । नेकपा एमालेको प्यानल विजयी बनेको उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । यसैगरि महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् ।
वीरगञ्ज, पर्सा प्रहरीले १२ बोरको घरेलु बन्दुकसहित २७ वर्षीय युवकलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहरलाई १२ बोरको एकनाले बन्दुकसहित नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा चलाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले तेलिया टोल जाने बाटो भएर १२ बोरको एक नाले घरेलु बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मुद्दा प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो।
काठमाडौं, स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रक्रिया नै रोकिएको थियो । बाजुराको बुढीगङ्गाा गाउपालिकामा भने मतगणना कार्यमा विवाद भएको थियो । निर्वाचन आयोगमा यी घटनाको बारेमा उजुरी आएको उहाँको भनाइ छ । आयोगले अव छिट्टै यस विषयमा आवश्यक निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । केही दिनमा यी दुई पालिकाको विषयमा आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । ‘मतदान र मतगणना रोकिएका यी दुई पालिकाबाट आयोगमा उजुरी आएको छ । आयोगले यी विवादलाई समाधान गरेर चाँडै समाधान गर्नको लागि वातावरण बनाउने कोसिस गर्दैछ,’उहाँले भन्नुभयो ।
काठमाडौं, जेठ ८ गते । देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएको आधिकारिक विवरण अनुसार १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् । प्रदेश १ मा दुई पालिका अध्यक्षमा स्वतन्त्र विजयी प्रदेश १ अन्तर्गत भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दाँथल कुमार कुलुङ राई विजयी हुनुुभयो । उहाँले एक हजार ८१४ मत प्राप्त गर्नुभयो । राईको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको महेश राईले एक हजार ७८६ मत ल्याउनुभयो । यसैगरी, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली फराकिलो मतान्तरले विजयी हुनुभएको छ । रुम्दालीले पाँच हजार २१ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमाले का रुपलाल तामाङले तीन हजार ८१६ मत ल्याउनुभयो । मधेश प्रदेशमा एक नगरप्रमुख र उपप्रमुख दुवैमा स्वतन्त्र विजयी महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार प्रहलाद कुमार क्षेत्री विजयी हुनुभयो । उहाँले १४ हजार २१० मत ल्याउनुभयो । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले आठ हजार ३२३ मत ल्याउनुभयो । बर्दिबास नगरउपप्रमुखमा पनि स्वतन्त्र उम्मेद्वार तारादेवी विजयी हुनुभयो । उहाँले नौ हजार ७३६ मत ल्याउनुभयो । देवीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण माया गौतमले आठ हजार १८५ मत ल्याउनुभयो । गण्डकी प्रदेशमा एक गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र विजयी मनाङ्गको मनाङ ङिस्याङ गाँउपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी हुनुभयो । गुरुङको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याउनुभयो । कर्णाली प्रदेशमा दुई नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार जुम्लाको चन्दननाथ नगरपालिका प्रमुुखमा स्वतन्त्र उम्मेद्वार राजुसिंह कठायत दुई हजार ४०३ मतसहित विजयी हुनुभयो । यसैगरी, कालिकोटको खाँडचक्र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही दुई हजार ९१९ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी काँग्रेसका पदमबहादुर शाहीले दुई हजार ३४१ मत प्राप्त गर्नुभयो । यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माेहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा प्यारी लाल शाही विजयी हुनुभयो । उहाँहरु तीनै जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यसैगरी, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ विजयी हुनुभएको छ । सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिका अध्यक्ष र एक नगरउपप्रमुखमा स्वतन्त्र बाजुराको बुढीनन्दा नगरउपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी हुनुभयो । बोहोराले चार हजार ७७ र उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रिता देवी सिंहले तीन हजार ६७७ मत प्राप्त गर्नुभयो । यसैगरी, बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा सन्तोष प्रकाश जोशी तीन हजार १८९ मतसहित विजयी हुनुहुन्छ ।
काठमाडौं गृह मन्त्रालयले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धी प्रकाशित सामग्रीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धानका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ। शुक्रबार नै आवश्यक कारबाही गर्न प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानबिन समिति बताएको छ। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी प्रहरी निरीक्षक सपना खड्का हुनुहुन्छ। प्रवक्ता पोखरेलका अनुसार शुक्रबार गठन गरिएको छानबिन समितिले काम सुरु गरिसकेको छ।

