दार्चुलाः दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिनुभयो ।
काठमाण्डौँः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।
चितवनः भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुस गर्ने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय भूमि आयोगले चितवनमा आयोजना गरेको केन्द्र र प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा उहाँले संविधानले सुनिश्चित गरेका जनताका नैसर्गिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जग्गा भएकै नाताले कोही अर्बपति हुने र जग्गा नभएकै कारण कोही सडकपति हुने लोकतन्त्रको कलङ्कलाई सधैँका लागि नामेट पार्न राष्ट्रिय भूमि आयोगको अवधारणा अघि सारिएकाले सोहीअुनसार काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ । भूमिहीनलाई भूमि दिने विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रममार्फत अबको दुई वर्षभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको उहाँको भनाइ थियो । राष्ट्रिय भूमि आयोगमार्फत ७७ वटै जिल्लाबाट आवश्यक कार्यप्रारम्भ भइसकेको छ । आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न ४१९ स्थानीय तहसँग सम्झौता भएको । अठसठ्ठी स्थानीय तहबाट नापनक्साको कार्य प्रारम्भ भएको छ । साथै सिन्धुली, चितवन, मकवानपुरबाट भूमिहीन दलितलाई पूर्जा वितरणको कार्य प्रारम्भ भएको छ ।
रोल्पाः गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको भट्टराईले जानकारी दिनुभयो ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
पोखरा: वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेता रिहा भएका छन् । सरकारी गाडी नियन्त्रण गर्ने क्रममा बिहान पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रिहा भएका हुन् । उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गाडीलाई नियन्त्रणमा लिन खोजेका थिए । सोही क्रममा ४ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आजै रिहा गरेपनि सरकारी एक महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परेका थिए ।
पोखरा: पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ । जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठोक्किएर दुर्घटनामा परेको विमानमा सवार सबैको शव सङ्कलन गरी काठमाडौँ पठाइएको छ । तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो । सात वर्षको अवधिमा आइतबार भएको दोस्रो दुर्घटना हो । त्यसैगरी २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमइक्यु ट्वीनअटर विमान धावनमार्गमा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो । पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् । योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ ।
काठमाण्डौँः प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राख्नुभयो । प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“मूल्य वृद्धि ७ प्रतिशत छ, यो बढेर अब १० प्रतिशत पुग्नेवाला छ, मानवीय अर्थमन्त्रीज्यू यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ।” सांसद मानबहादुर विश्वकर्माले यो विज्ञान प्रविधिको युग भएकाले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको र त्यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजेटले ऊर्जाको क्षेत्रमा देशको आवश्यकताअनुसार प्राथमिकता दिएको छ, जुन बजेटको मुख्य विशेषता हो, सोलार इनर्जीबाट जनताको जनस्तर उठाउनुपर्नेमा बजेट बोलेको छ, आन्तरिक उत्पादनमा जोड दिएको बजेटले, दलित, महिला, उत्पीडित समुदायको लागि बजेटले समेटेको छ, त्यसैले पनि बजेट उत्कृष्ट छ ।” दलित समुदायका विद्यार्थीले पाउँदै आएको दलित छात्रवृत्ति कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने उहाँको माग थियो । सांसद गजेन्द्रबहादुर महतले बजेट कार्यान्वयनमा चुनौती हुने टिप्पणी गर्नुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय पूर्वाधारको विषयमा बजेटले प्राथमिकता दिन नसकेको टिप्पणी गर्नुभयो । सांसद मोहनप्रसाद पाण्डेले बजेट पूर्ण रुपमा सन्तुलित छ तर कार्यान्वयन चुनौतीपूर्ण छ भन्नुभयो । सांसद अञ्जना विसङ्खेले बजेट दलित, महिला, तथा सिमान्तकृत समुदायका निम्ति पूर्णरुपमा समावेशी रहेको र उत्पादन, बजार व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । सांसद गणेशकुमार पहाडीले पट्रोलियम पदार्थको मूल्य घटाउने विषयलाई बजेटले प्राथमिकता दिन नसकेको बताउनुभयो । सांसद तेजुलाल चौधरी र हरिराम अधिकारीले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।
वाग्मती: वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो । साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो । उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बाग्मती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटाँैडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा हेटौँडाका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

