पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

पोखराः    पोखरा महानगरपालिका २ स्थित बाग्लुङ बसपार्कमा ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार महिला घाइते भएका छन् ।   विहान करिब साढे १० बजे भूपीशेरचन राजमार्ग अंतर्गत बाग्लुङ बसपार्कको चोकमा हरिचोक तर्फ जादै गरेको ०३ ००१ च ७०७९ नम्बरको ट्रकले जिरो किमी आउँदै गरेको ध १ प ९१९७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पर्वत महाशिला गाउपालिका वडा न. ४ की अस्मिता सूवेदी खत्री  घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।   उनका अनुसार घाइते भएका उनको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचारको लागि फिस्टेल अस्पताल पठाइएको छ ।   ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।    

चितवन:       चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।      चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो ।     निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।     गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

काठमाण्डौँः    जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।   भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।    साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरीपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको अर्को विशेषता हो । साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।    सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेको गाई बस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।   यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यतासमेत रहेको छ । नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।   पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँ जस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।   नेवार समुदाय कला–संस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र साँस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर, वर्षासँगै ती सबै थाँती राखी धानबाली लगाउन व्यस्त हुन्छन् ।    नेवारी समुदायमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात  ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ ।  यस्तो अवसरमा किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ । धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरिमा रुझेर, हिलो माटोसँग पौँंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमाभन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने प्रचलन रहँदै आएको हो ।  साथै, नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । यस्तै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै यस बर्षको वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ ।   

दोलखा:      दोलखाको चरीकोट जिरी सडकखण्ड अन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।   भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग  ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईलाई स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो । गाडीसहित  चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ । 

अछामः  अछाममा पाँच दिन देखि हराइ रहेको किशोरको शव फेला परेको छ।    शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्ची स्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए।    मृत्यु हुने १७ वर्षीय विनोद शाही हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। उनको शव फेला परे पछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच विवाद भइ रहेको विष्टले बताए।    एमालेका कार्यकर्ताहरु कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। तसर्थ एमाले र कांग्रेसका कार्यकर्ताहरु बीच भएको विवादले दुवै पक्ष आक्रोशित बनेको छ ।   आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन, विष्टले भने, हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं। टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ।   उनी १७ गते देखि नै हराइ रहेको बताए पनि प्रहरीलाई शुक्रबार मात्रै मौखिक जानकारी दिइएको थियो र शनिबार प्रहरी कार्यालयमा हुलिया सहित हराएको निवेदन परेको थियो, सो निवेदनअनुसार प्रहरीले मातहत कार्यालयमा पत्राचार गरि खोजी गर्न सबै युनिटलाई जानकारी गराइ खोज अनुसन्धान सूूरु गरेका थियौँ विष्टले जानकारी गराए। । यसै क्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।    घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसि रहेको छ। दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइ रहेको छ। सहजीकरण गरि दिनको लागि हामीले नेताहरुलाई मंगलसेनबाट बोलाएका छौं उनले भने.  पार्टीका कार्यकर्ताहरु बीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिन देखि नै लफडा सुरु भएको प्रहरीको भनाइ छ। साथै शाहीको शव फेला परे पछि हिजो देखि सुरु भएको विवादले उग्र रूप लिएको हो । 

काठमाण्डौँः     राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।       मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा समाजका प्रबुद्ध वर्ग एवं बुद्धिजीवी तथा प्रदेशस्तरीय अगुवा कार्यकर्ताको आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले नेपालीहरुको परम्परा, धर्म, संस्कृतिलाई सँगै संरक्षण गर्नाका साथै सबै नेपालीबीच भाइचारा स्थापना गर्नु नै पार्टीको उद्देश्य रहेको विचार राख्नुभयो ।      अध्यक्ष थापाले सम्पूर्ण कार्यकर्ताहरुलाई आफ्नो क्षेत्रमा सङ्गठन निर्माणमा जुट्न आग्रह गर्दै आगामी प्रदेश र संसदीय निर्वाचनमा उम्मेदवारलाई अत्यधिक क्षेत्रमा विजयी तुल्याउन अहिलेदेखि खट्न निर्देशन दिनुभयो । कार्यक्रममा पार्टीका १४ जिल्लाका कार्यकर्ता एवं सुनसरी मोरङ, झापाका प्रबुद्ध वर्ग एवं बुद्धिजीवीको सहभागिता थियो ।

पोखरा:  नेपाल मगर महिला संघले अभिनेत्री मिरुना मगर र अभद्र व्यवहारका आरोपी फुर्वा लामाको विषयमा पक्ष विपक्ष गर्न आवश्यक नरहेको धारणा राखेको छ ।   पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष विनिता आलेमगरले सहमति भइसकेको विषयमा बोल्न आवश्यक नरहेको बताएकी हुन् ।  उनले उक्त घटनालाई अतिरञ्जित गर्न नहुने बताइन् ।   यतिबेला नेपाल मगर महिला संघको सिङ्गो टोली पोखरामा छ । उक्त संघको ७ औं राष्ट्रिय महाधिवेशनको लागि पत्रकार सम्मेलन आयोजना गरेको थियो ।   सोही क्रममा बोल्दै अध्यक्ष आलेमगरले संघको कानूनी सल्लाहकारको सुझाव अनुसार कुनै पनि समुदाय पक्ष विपक्षमा उत्रिन आवश्यक नरहेको बताईन् । ‘समाधान भइसकेको केसलाई विज्ञप्ती निकालेर बल्झायो भने झन पिडितलाई पिडा हुन्छ भन्ने हिसाबले उजागर गर्न चाहेनौ, उनले भनिन्, ‘सन्चो भइसकेको घाउलाई फेरि नकोट्याउ भनेर प्रेस विज्ञप्ती निकालेनौ ।’   अध्यक्ष आलेमगरले जातिय र धार्मिक सहिष्णुतामा असर पर्ने बताउदै सहमति भैसकेकाले सबै पक्ष संयमित हुनुपर्ने बताइन् । उनले उक्त घटनालाई अतिरञ्जित नबनाउन आग्रह गर्दै मगर महिला संघ आफ्नो समुदायको सामाजिक अधिकार र प्रतिष्ठाको पक्षमा सधै उभिने धारणा राखेकी थिइन् ।   पोखरामा हुने ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।   संघका केन्द्रीय अध्यक्ष विनाता आलेमगरले विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिइन् ।    उनका अनुसार उक्त महाधिवेशन पोखरा सभागृहमा २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने छ ।    नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रमको उद्घाटन्पूर्व नेपाल मगर संघ कास्कीको कार्यालयबाट सभागृहसम्म विभिन्न बाजागाजा सहित र्याली आयोजना गर्ने आयोजकले जनाएको  छ ।   २१ जिल्लामा छैन संगठन नेपाल मगर महिला संघले अझै २१  जिल्लामा आफ्नो संगठन विस्तार गर्न सकेको छैन ।  केन्द्रीय अध्यक्ष विनिता आलेमगरका अनुसार अहिलेसम्म ५६ जिल्लामा मात्रै जिल्ला समिति विस्तार गरेको  छ ।    वि. स. २०५५ सालमा स्थापना भएपनि मगर महिला संघले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ लगायतको विभिन्न २१ जिल्लामा जनसँख्या र भौगलिक बनोटका कारण संगठन विस्तार गर्न नसकेको बताइन् । ‘यही प्रदेशको मनाङ र मुस्ताङमा पनि संगठन छैन  । जम्मा तिन घर छ कसरी समिति बनाउने, उनले भनिन्, ‘यस्तै अरु जिल्लामा पनि पुग्ने क्रममा छौ । कतै भौगलिक विकटता छ । तरपनि हामी अझै संगठित बनाएर लागे पहलमै छौ ।’  

काठमाण्डौँः     कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ ।   एक्काइस दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उहाँ एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो हनुभएको हो ।  सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो हुनुभयो । पार्कीभन्दा नौ सेकेन्डले पछि पर्नुभएका उहाँ  एक घण्टा सात मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो हुनुभएको हो ।      त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो हुनुभयो । उहाँ एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो  । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चर्दै चौथो हुनभयो भने  तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ हुनुभयो । त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहनुभयो ।   त्यसैगरी महिलातर्फको २१दशमलव एक  किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम हुनुभएको छ । उहाँ निर्धारित दुरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो हुनुभएको हो ।     सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो हुनुभयो । नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहनुभयो ।       उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश ः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम हुनुभयो । उहाँले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो  ।   दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहनुभयो । सोही प्रतिस्पर्धाको महिलातर्फको  दौडमा सनी तामाङ प्रथम हनुभयो । उहाँले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो हुनुभयो।       कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ । तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ । त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम हुनुभयो । उहाँ १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको हो ।  सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो हुुनुभयो ।         ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभयो । यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गर्नुभएको थियो । 

  म्याग्दी:     म्याग्दीका एक युवाले संस्कृत साहित्यको  ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ ।      १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ ।      “प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्ड घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्”, ढुङ्गानाले भन्नुभयो, “परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।”      स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंँसी र दुई जर्सी गाई दुहुना छन् ।       ती भैँसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक रु चार लाख आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा वचत हुने उहाँको भनाइरहेको छ । फार्ममा अहिले रु पचास लाख लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।      “बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भन्नुभयो ।      प्रतिलिटर ९० रुपियाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्याउनुहुन्छ । उहाँले भन्नुहुन्छ “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर, गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।” पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ । जहाँ दुईलाई रोजगारीसमेत दिनुभएको छ ।     भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफै खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुहुन्छ ।       ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिदैन । आफुलार्य फापेको भैंसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले ढुङ्गानाको फर्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ । म्याग्दीमा बढ्यो दूधको मूल्य      म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।      मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।     मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो ।     दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ” पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।       उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।