काठमाडौं: हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।
बुटवल: रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्ऽ पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् । बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा- ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ । घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरूको नामवली १. जिल्ला धनुषा हंसपुर न.पा.-३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी । २. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.-१३ बस्ने वर्ष १८ को रोहन चौधरी । ३. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी । ४. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १५ को बरुण चौधरी । ५. जिल्ला सिराहा, सिराहा न.पा.-९ बस्ने वर्ष ३१ को राकेशकुमार दास । ६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.-५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । -सह-चालक) ७. जिल्ला धनुषा जनकपुर उ.न.पा.-२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया । ८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान । ९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान । १०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । -बस चालक) ११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.- ३ बस्ने वर्ष २० को राजेश यादव । १२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात । १३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह । १४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई । १५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई । १६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा । १७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा । १८. भारत बस्ने वर्ष ४ को यश शर्मा । १९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी । २०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ बस्ने वर्ष २२ को बिपिन बस्याल । २१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास । २२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव । २३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।
पोखरा: पोखरामा रक्त अभावलाई मध्यनजर गरि रामबजार युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले रामबजार युथ क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिन् । रामबजार युथ क्लवले युवाहरुलाई विकृती र विसंगतीबाट मुक्तगराई सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताउदै यसको अनुसरण अन्य संघ संस्था तथा क्लबहरुले गरेको खण्डमा सभ्य समाज निर्माण हुने उनको भनाई थियो । उक्त कार्यक्रममा वडा नं. १० का निर्वाचित सदस्य पूर्ण चन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु राम ब. गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाइटी यू.के ), रुपक गुरुङ (भु.पु अध्यक्ष, रामबजार सोसाइटी यू.के), डा.चन्द्र ब. गुरुङ (पञ्चायत कालका भु.पु सभासद एवम सल्लाहकार, रामबजार सोसाइटी यू.के), ज्ञान ब.थापा (अध्यक्ष, कृष्ण मन्दिर सञ्चालक समिति), क्या.थमन थापा (अध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), भुपेन्द्र कुँवर (निवर्तमान कोषाध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), माया गुरुङ (अध्यक्ष, माछापुच्छ्रे आमा समुह ) लगायतको सहभागिता रहेको क्लबका सचिव सनम गुरुङले जानकारी दिए । कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रा.लिका सञ्चालक सदस्य विकास थापा र रामबजार ट्याक्सी सेवा प्रा.लिका संयोजक झक वीर थापाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।
पोखरा: आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकलाई निम्तो दिनको लागि ‘डुलुवा’ को टिम एकमहिने यात्रामा भारत प्रस्थान गरेको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नारासहित नेपालका विभिन्न पर्यटकीय गन्तव्य पुगिसेको टोली आजै (आइतबार) छिमेकी राष्ट्र भारत प्रस्थान गरेको हो । यात्रा तयगर्नुपूर्व आयोजित पत्रकार सम्मेलन मार्फत सेलाएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउनका लागि निम्तो दिन नेपालका विभिन्न जिल्लासँगै भारत पुग्ने टोली नेता योगश भट्टराईले बताए । उनका अनुसार उक्त टोली भारतको मनाली, सिम्ला, देहरादुन, कार्गिल, लदाख, अमृतशहर, कश्मिर र नैनीताल पुग्नेछ । भने उक्त टोली जुलाई ५ तारिखमा बुटवल हुदै पोखरा फर्किकेछ । टोली नेता भट्टराईले जीपमार्फत यात्रा गरिने बताउदै सम्भावित स्थानमा प्याराग्लाईडिङ समेत गर्ने कार्यक्रम रहेको बताए । उनले एकमहिने यात्राको उद्देश्य अधिकतम मात्रामा पर्यटकलाई निम्तो बाँड्ने रहेको बताएका थिए । को–को छन् ‘डुलुवा’ समुहमा ? योगेश भट्टराईको नेतृत्वमा आज निस्केको टोलीमा सरोज भट्टराई, सुनिल बहादुर भट्टराई, बसन्त महत, सुमन भट्टराई, भरत तिमिल्सिना, घनश्याम गौतम, अनिल केसी, विशेष थापा, अमित थापा, अमृत ढकाल, विजय ढकाल, ठाकुर बराल, सुशान्त भट्टराई, रामराज गौतम, अभिषेक, नुरेन राना, रोशन गिरी र विकास भट्टराई रहेका छन् । उनीहरुले एक महिनाको यात्राको क्रममा गरेका हरेक गतिविधि ‘अफिसियल डुलुवा’ नामक युट्युब च्यानलमा सार्वजनिक गर्नेछन् । कसरी जुर्याे ‘डुलुवा’ ? सन् २००८ देखि प्याराग्लाइडिङ व्यवसायमा आवद्ध रहेका टोली नेता योगश भट्टराईले आफु शाहसिक यात्रामा रम्न मन पराउने बताए । उनका अनुसार पदयात्रा जस्ता शाहसिक कार्यमा रुचिराख्ने पोखरेली युवा जमातको साथमा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गुरुङ गाउँ ताङतिङमा जाने क्रममा ‘डुलुवा’ नाम जुराएको हो । अहिले सोही समुह ‘डुलुवा’ नामबाट लोकप्रिय हुदै आएको छ । यसको मुख्य योजनाकार र अगुवाई योगेश भट्टराईले नै गर्दै आएका छन् । सो टोलीले नेपालको ७० जिल्लाको यात्रा सकिसकेको छ । भने विभिन्न गाउँका सामुदायिक विद्यालयहरुमा खेलकुद तथा शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आएको छ । डुलुवा’लाई पर्यटन व्यवसायीको शुभकामना पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बोल्दै उनीहरुले गरेको प्रर्वद्धनात्मक कार्य निकै प्रसंशनीय रहेको उल्लेख गरेका थिए । ‘डुलुवा’को यात्राले पोखरामा थप पर्यटक भित्राउन मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका थिए । यसैगरि भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको यात्रामा निस्कनु आफैमा उदाहरणीय कार्य रहेको धारणा राखे । उनले भारतको प्रख्यात तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रमा पुग्न सुझाव दिदै आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । एक महिने यात्रामा निस्केको टोलीलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायत संस्थाले साथ दिएको छ ।
बागलुङः बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज यहाँस्थित बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ । विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताउनुभयो । “विमानस्थलको स्थलगत अध्ययन, अवलोकन ग¥यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।” उहाँले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा सुझाव राख्दै बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताउनुभयो । “नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ ।” बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गर्नुभयो । “व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन”, सचिव चोखालले भन्नुभयो, “धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राख्नुभयो । “कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पु¥याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो । विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताउनुभयो । बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ । वर्षात्का बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताउनुभयो । विमानस्थल सोही वडामा पर्दछ । “अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ”, उहाँले भन्नुभयो । यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ । बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौँ, उहाँले भन्नुभयो, “नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ ।” सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो । नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो । केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए । विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ । अब त विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुङ्गो भने लागेको छैन ।
पोखरा: पोखराको फुस्रे खोलास्थित दोविल्लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङको खोजीकार्य तिव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ शनिबार पौडी खेल्ने क्रममा दिउँसो करिब ३ बजे बेपत्ता भएका थिए । उनको नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय टोलीले खोजीकार्य गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘खोजीकार्य तिव्र छ । एपिएफको र नेपाल प्रहरीको एक्सपर्ट टिम हिजोबाट अहिलेसम्म र्याफ्टिङको टोलीसहित खोजीराको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘अझै ट्रसिङ भएको छैन । खोज्ने काम त जारी नै छ ।’ बेपत्ता भएका गुरुङ सहित फुस्रे खोलामा पौडी खेल्न ७ जना गएका थिए । सँगै गएका अन्य साथीहरुका अनुसार माथीबाट हाम फाल्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।
काठमाण्डौँः नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको छ । प्रतियुनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ । सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो । कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली आजदेखि उपलब्ध भएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यका साथ अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो । “झण्डै डेढवर्ष पहिलेदेखि उद्योगले हामीसँग ३५ एमभिए क्षमतामा बिजुली माग गर्दै आएको थियो, प्राधिकरणले आवश्यक तयारी गरेर मागअनुसार नै बिजुली उपलब्ध गराएका छौँ”, प्रमुख रेग्मीले भन्नुभयो, “बाँकी रहेको ९.५ मेगावाट बिजुली पनि एक साताभित्रै उद्योग परिसरमा उपलब्ध गराउँछौँ ।” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समय पहिले उद्योग परिसरको स्थलगत निरीक्षण गर्दै उद्योगलाई मागअनुसार बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तुलनात्मक रुपमा प्राधिकरणले पश्चिम नेपालमा स्थापना हुने उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउन प्रयास गरे पनि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका दुई टावर निर्माणमा भएको अवरोधका कारण सकेको छैन । हाल चमेलिया करिडोरमा उत्पादित बिजुली र टनकपुर नाकाबाट आयात भइरहेको बिजुली व्यवस्थापन गरेर पश्चिम नेपालमा वितरण गरिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणमा नवलपरासीको दुम्कीबासमा समस्या देखिँदै आएको छ । स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पूर्वको बिजुली पश्चिम जानसकेको छैन । हाल बर्दघाट आसपासमा १३२ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । त्यसले १०० मेगावाट बराबर मात्रै बिजुली प्रवाह गर्न सक्छ । बाह्र वर्षभन्दा लामो समय भए पनि सो आयोजनाका सम्बन्धमा स्थानीयवासीले राखेका माग सम्बोधन हुन नसक्नु र सर्वोच्च अदालतले समेत फैसला नगरिदिँदा राष्ट्रियरुपमा नै बिजुली प्रवाहमा समस्या भइरहेको छ ।
पर्सा: १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा रु एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु २१ करोड विनियोजन भएको हो । जसमध्ये तीन नगरपालिकालाई रु एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई रु ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई रु ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई रु ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो । त्यसैगरी, छिपहरमाई गाउँपालिलाई रु २८ करोड ३५ लाख, जगरनाथपुरलाई रु २८ करोड ८९ लाख, धोबिनीलाई रु २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई रु २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई रु २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु ३१ करोड २६ लाख, कालिकामाईलाई रु २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो । यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई रु दुई करोड, जगरनाथपुर गाउँपालिकालाई रु एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई रु दुई करोड, ठोरी गाउँपालिकालाई रु दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् ।
पोखरा: पोखरामा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको सुरु भएको छ । नेपालको विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागितामा आज (आइतबार) देखि राष्ट्रिय महाधिवेशन पोखरा सभागृहमा सुरु भएको हो । आगामी २४ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको उद्घाटन नेपाल मगर संघधका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे । आगामी २४ गते नेपाल मगर महिला संघले नया कार्यसमिति पाउँनेछ । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङका मगरहरुको समेत उपस्थिति रहेको बताइएको छ । सुनगाभाको लेन्सबाट हेरौं, नेपाल मगर महिला संघको राष्ट्रिय महाधिवेशनका तस्बिरहरु:

