चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८: ४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः १५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।
काठमाण्डौँः प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो । अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।
काठमाण्डौँः पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान जारी छ । सङ्घको अध्यक्ष पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा र राजेन्द्रमान श्रेष्ठले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शेर्पाले प्यानलसहित उम्मेदवारी दिनुभएको छ भने श्रेष्ठको अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । सङ्घको निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी दिएको छ । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि शेर्पा समूहले उम्मेदवारी मनोनयन गराएको छ । यस्तै पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्नुहुने भएको छ । शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार हुनुहुन्छ । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् । मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा हुनुहुन्छ । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । प्रज्ञा भवनमा विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका छन् । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनलागेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक छ । दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक गर्दै जानकारी दिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाले जारी गरेको सुचना अनुसार जेठ २७ गते (आज) महानगरको ५ वटा स्थानमा खोपको व्यवस्था गरेको हो । पोखरा महानगरपालिका २ विन्ध्यबासिनीस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका १९ स्थित लक्ष्मी नारायण मन्दिर, पोखरा महानगरपालिका ५ मालेपाटनस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका ७ रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्र र पोखरा महानगरपालिका १० रामबजारस्थित शहरी स्वास्थ्य केन्द्र गरि कुल ५ स्थानमा बुस्टर डोज लगाउन पाइनेछ । कोभिशिल्ड, भेरोसेलको दोस्रो मात्रा लगाइसकेको ३ महिना पुरा भएको खोपकार्ड अनिवार्य रुपमा साथमा लिएर जानुपर्नेछ । त्यसैगरि जोनसेन र फाइजरको बुस्टर खोपको पनि व्यवस्था रहेको बताइएको छ ।
सुर्खेतः जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारीे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरुभएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरी उम्मेदवारी दिएका छन् भने नेपाली कांगे्रसले प्रमुख र केही सदस्य पदमा मात्र उम्मेदवारी दिएको छ । कांगे्रस जिल्ला सचिव देवकुमार सुवेदीले जिससका नौमध्ये पाँच पदमा मात्र उम्मेदवारी दिएको जानकारी दिनुभयो । कांगे्रसबाट प्रमुखमा दिलीपकुमार वाग्ले, सदस्यहरूमा उजिरसिंह कामी, रत्नादेवी ढुङ्गाना, लीलाजङ्ग शाह र गौरी दमाईको उम्मेदवारी छ । सत्ता गठबन्धनको केन्द्रीय निर्देशनानुसार साझेदार दल माओवादी केन्द्रका लागि बाँकी पद छाडेको र मतदानको बेलासम्म माओवादी केन्द्र सहमतिमा आउने सम्भावना रहेको सचिव सुवेदीको भनाइ छ । एमाले–माओवादी केन्द्रका तर्फबाट प्रमुखमा एमालेका गङ्गाराम सुनार, उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवालको उम्मेदवारी छ । सदस्यहरूमा एमालेबाट डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मीना मल्ल, सावित्रा टमटा तथा माओवादी केन्द्रबाट शान्ति तारामी र तुलबहादुर नेपाली उम्मेदवार हुनुहुन्छ । जिससमा स्थानीय तहका प्रमुख–उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्था छ । सुर्खेतमा नौ स्थानीय तहका १८ मतदाता छन् । तीमध्ये एमालेका नौ, कांगे्रसका आठ र माओवादी केन्द्रका एक छन् ।
काठमाण्डौँः वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
काठमाण्डौँः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।
तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।

