काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण भएको छ। आइतबार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच रितेशकुमार सिंहको नेतृत्वको राजपा लोकतान्त्रिकले जसपासँग एकीकरण गरेको हो। कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगाययत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए।
काठमाडौं: खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गर्नुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले अहिले अनलाइनका समयमा पनि विद्यार्थीलाई किताब दिन नसक्नु विडम्बनापूर्ण भएको र यसले राज्यको प्राथमिकतामा विद्यालय नपरेको शङ्का उब्जाएको भन्दै तत्काल समस्या समाधन गर्न माग गर्नुभयो । उहाँले किसानलाई मलखाद उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । सांसद लक्ष्मी परियारले विद्यार्थी पुस्तकविनै कहिलेसम्म विद्यालय धाउनुपर्ने भन्दै बालबालिकाले चाँडो किताब पाउने वातावरण बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषकलाई मल र बीउ उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोराछोरीले उमेर पुगेर पनि नागरिकता नपाएर उनीहरु लाइसेन्स, प्रवेशाषाज्ञालगायत महत्वपूर्ण कागजातबाट बञ्चित हुनुपरेको भन्दै तत्काल संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउन माग गर्नुभयो । सांसद विद्या भट्टराईले विपद् र प्रकोपजन्य घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउनुभयो । सांसद बीनाकुमारी श्रेष्ठले जुन १२ विश्व बालश्रम उन्मूलन दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्दै रेस्टुरेन्ट तथा घरेलु कामदारका रुपमा बालश्रम शोषण भइरहेको भनी बालश्रम उन्मूलनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । सांसद विमला विश्वकर्माले हात्ती प्रभावित क्षेत्रका जनताको समस्या समाधान गर्न तत्काल हात्ती नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । उहाँले बालश्रमको पूर्ण अन्त्यका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद बीनादेवी बुढाथोकीले सरकारद्वारा हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा किसानलाई प्राथमिकता दिँदै आएको भए पनि अहिले खेतीका समयमा किसानले मल नपाएर सास्ती व्यहोर्नु परेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विन्दा पाण्डेले नागरिकता विधेयक दुई वर्षदेखि संसद्मा विचाराधीन रहेकाले नागरिकले नागरिकता पाउन नसकिरहेको भन्दै नागरिकताविहीन नागरिकको अधिकार सुनिश्चितताका लागि उक्त विधेयक तत्काल अघि बढाउन माग गर्नुभयो । सांसद विशाल भट्टराईले खोटाङको फोक्सिङटारस्थित सुनकोसीको पुल निर्माण शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णु शर्माले घोराहीको नेत्रलाल मार्गको कालोपत्र गर्न बजेटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले कालापानी, लिपुलेकलगायत सीमाका पीडित जनताको मर्काको सुनुवाइ हुनुपर्ने माग गर्नुभयो । सांसद शक्तिबहादुर बस्नेले गत शुक्रबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता किसिमका दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले मनसुन सुरु भएकाले विपद् जोखिमका घटना न्यूनीकरणको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद शेरबहादुर तामाङले विभिन्न प्रकोपजन्य घटनाका कारण सिन्धुपाल्चोकलाई सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेको र विश्वबैंकबाट करिब रु छ अर्ब पैसा आएको भए पनि पीडितले न्याय नपाएको भन्दै जिल्लाका नाममा आएको पैसा जिल्लामै खर्च गर्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद सत्या पहाडीले कर्णालीका जनतालो अझै पनि सडक र बिजुलीको आधारभूत सेवा पाउन नसकेको बनेका सडक पनि स्तरीय नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभयो । सांसद समीन हुसेनले हजीलाई डबल दस्तुर लिएर हज गर्न कसले पठाएको भनी प्रश्न गर्दै नागरिकता नपाएर नागरिकले कहिलेसम्म पीडा भोग्ने भन्दै जवाफ माग गर्नुभयो । सांसद सरवतआरा खानमले मुस्लिम समुदायलाई हजमा जान लगाएको आर्थिक भार कम गर्न र सहज बनाउन तथा हजयात्रीलाई अनुदान उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो । सांसद सरलाकुमारी यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा तीन दशक पहिलादेखि बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा ढिलाइ गरिएको र विमानस्थल निर्माणमा भाँजो हाल्न देशीविदेशी तत्वले भूमिका खेलिरहेको भन्दै छिटोभन्दा छिटो निर्माण प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले गृह मन्त्रालयले २०५२ सालमा दलित समुदायका नागरिकले चाहेमा गैर दलितसँग मिल्ने थर नागरिकतामा राख्न चाहेमा पाउने व्यवस्था गरेको भए पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक थर परेकाले दुवैमा एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हिरा विकले खोटाङको साकेल गाउँपालिकाको सडक बाटो अलपत्र अवस्थामा रहेको र सवारीसाधन सहजरुपमा सञ्चालनको वातावरण सिर्जना गर्न माग गर्नुभयो ।
काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उहाँले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने खालका बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलकै बाटो भएर हजारौँ पर्यटक तथा यात्रु ओहोरदोहोर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला, नेपालका सबै विमानस्थलमा थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँछु ।” मन्त्री आलेले आफू नागरिकको सेवक भएकाले नागरिकसहित देशकै हितका काममा तल्लीन रहने बताउनुभयो । उहाँले यात्रुको पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जानसक्ने र लगेजका लागि कुर्न नपर्ने गरी सुविधा दिन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौ महिनाभित्र कामसक्ने वातावण मिलाउन आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका भौतिक पूर्वाधारको निर्माणसँगै तिनीहरुको उचित सरसफाइदेखि व्यवस्थित बनाउनसमेत उहाँले आग्रह गर्नुभयो । मन्त्री आलेले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्याससमेत गर्नुभएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि उक्त नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरिसक्ने गरी कूल रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इञ्जिनीयरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्ट्रक्सनले लिएको छ । भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा लिइएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङस्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइनेछ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट (दुईतर्फी व्याग लिन मिल्ने) बेल्ट हुने भएको छ । फरक प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले उक्त विमानस्थल निर्माणका लागि रु एक खर्ब २० अर्बको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासोसमेत गर्नुभयो । सोही प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।
पोखराः छिमेकी देश भारतका घुमन्तेलाई पोखरा आउन निम्तो दिँदै यहाँबाट निस्केको टोली ‘डुलुवा’ भारतको उत्तरी प्रान्त जम्मु–काश्मिर पुगेको छ । टोलीले त्यहाँका स्थानीय र टूर्स एण्ड ट्राभल एजेण्टलाई पोखराको आकर्षण र प्रकृतिबारे जानकारी दिन प्रेसमिटको समेत आयोजना गरेका छन् । टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए । टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भनेका छन्। गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले, लद्दाख हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।
बैतडीः बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । “कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुसन्धान थालिएको हो”, उहाँले भन्नुभयो, “केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।” जन्ममिति सच्याएर कहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।” यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताउनुभयो । यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्र्तगत थप कारबाही हुने जनाइएको छ । यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
काठमाण्डौँ : सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६सय र एक हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म एक हजार ४०० डायमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म नै एक हजार ६०० डायमिटरको पाइप बिच्छ्याइनेछ ।याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उहाँले सुनाउनुभयो । वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।
मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ्ग र २६ वर्षीय अमिना तामाङ्ग (बाबु छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त घाइते भएका र उपचारको क्रममा हेटौँडा अस्पतलामा दुबैको मृत्यु भएको हो ।
इलामः इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ । प्रविधिमा फड्को मारेको नगरपालिकाले आफ्नो बैठकलाई जनतामाझ पारदर्शी बनाउन डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो । जनताले प्रष्ट देख्न पाउने गरी डिस्प्लेमा सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रमुख रणबहादुर राईले आफ्नो पहिलो एजेण्डाका रूपमा नगरका कार्यक्रम पारदर्शी बनाउने जनाउँदै पहिलो निर्णयका रूपमा डिजिटल डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो । नगरप्रमुख राईले डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्य बढी जिम्मेवार हुने बताउनुभयो । नगरवासीले सूचना पाउने अधिकारको सूनिश्चितता गरेको उहाँको भनाइ छ । नगरपालिकाका सूचना अधिकृत उज्वल सुवेदीले दुईवटा क्यामेरा नगरसभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेजमार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिनुभयो । यसअघि सो नगरमा स्थानीय तह निर्वाचन २०७९ को मत परिणामसमेत डिस्प्लेमार्फत सार्वजनिक गरिएको थियो । जिल्लाका १० पालिकामध्ये यसरी कार्यपालिका बैठक सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । नगरलाई प्रविधिमैत्री बनाउन नगरका सवारी साधनमा जिपीएस जडान गरिएको छ । प्रशासकीय अधिकृत भट्टराईका अनुसार अब विभिन्न सिफारिससमेत अनलाइनबाटै लिइने बताइएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले कार्यपालिका सदस्य ख्याम भुजेललाई नगरको प्रवक्ता तोकेको छ । नगर आर्थिक विकास समिति संयोजकमा ९ नं वडाका वडाध्यक्ष देवेन्द्र आचार्य, विपद् व्यवस्थापन समिति संयोजकमा वडा नं १ का वडाध्यक्ष राजकुमार शेरेङ्गलाई तोकिएको छ ।
कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए । उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे। काम र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए।

