पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुर बीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदानप्रदान गर्नुपर्ने बताए । उनले पोखरा र भरतपुरका बीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना लगातका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयरसहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् । उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदी सहित शाखा महाशाखा प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजिकरण गरेका थिए ।
कास्की: पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । मापडण्ड पुरा नभएकै कारण १३ वर्षिय किशोर दिपेश शर्माको स्विमिङ पुलमा डुबेर मृत्यु भएपछि थप अनुसन्धानको माग गर्दै हिजो (आइतबार) आफन्तले जाहेरी दिएका हुन् । जाहेरी दर्तापछि उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । ‘जाहेरी नदिइकन प्रक्रिया अघि बढ्दैन । उहाँको बुवा आमा दिन सक्ने अवस्थामा हुनुहुन्थेन, प्रहरी निरिक्षक खड्काले सुनगाभा न्यूजसँग भने, ‘हिजो नै जाहेरी दिनुभएको छ । थप अनुसन्धान हुन्छ । सायद दाहसंस्कार पनि गरिसक्नुभयो होला ।’ पर्वत घर भई पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका १३ वर्षिय दिपेश शर्मा आमासँग गत शनिबार पौडी खेल्न सिएम स्विमिङ पुल पुगेका थिए । सोही क्रममा बेपत्ता भएका शर्मालाई डुबिरहेको अवस्थामा ११ फिट गहिराइमा भेटिएको थियो । उद्धार पश्चात थप उपचारका लागि फिस्टेल अस्पताल पुर्याउँदा चिकित्सक टोलीले मृत घोषणा गरेको थियो । मृतक दिपेशका आफन्तले कास्की प्रहरीलाई जाहेरी दिदैं स्विमिङ पुलमाथी अनुसन्धान गरि आवश्यक कारवाही गर्नुपर्ने माग राखेको छ ।
काठमाण्डौँ : नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ । इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् । खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने सूचनामा उल्लेख छ ।
कास्की: वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो । पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए । औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको निमिक्त प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ । विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ ।
पोखरा: हेमजा युनाइटेड क्लबको आयोजनामा जारी ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को अन्तिम चारमा चर्च व्याइज क्लब प्रवेश गरेको छ । पोखरा महानगरपालिका २५ स्थित गौरी शंकर खेलमैदानमा आज भएको खेलमा कालिका स्पोर्टस् क्लब चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च व्याइजको जीतमा आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गोल गरे । अशोक खवासको लामो रिलिजलाई आफनो नियन्त्रणमा लिदै चौधरीले बललाई पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । उक्त निर्णायक गरेका चौधरी म्यान अफ द म्याचको ट्रफिसहित नगद रु ५ हजार प्राप्त गरे । अब चर्च व्याइजले सेमिफाइनलमा अफ्रिकन फुटबल टोली र नेपाल सशत्र प्रहरी बलबीच हुने खेलको विजेता टोलीसँग आगामी ९ गते प्रतिस्पर्धा गर्नेछ । यसअघि उद्घाटन खेलमा ३–१ गोल अन्तरले वीरगञ्ज युनाइटेडलाई हराउदै आयोजक हेमजा युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेको क्लबका सचिव सुनिल गायकले जानकारी दिए । उनका अनुसार तेस्रो खेल सोमबार खुमलटार क्लब र बाग्मती क्लब बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि अन्तिम क्वाटरफाइनल खेल मंगलबार अफ्रिकन टोली र नेपाल सशत्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा: पोखरा महानगरपालिका १४ स्थित सेती दोभानमा एक युवकको शव फेला परेको छ । सेती नदी किनारमा आज बिहान करिब ११ बजे सडेगलेको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५/२६ वर्षको उक्त शवको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक किरण रावत नेतृत्व टोलीले मुचुल्का गरि उक्त शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।
पोखरा : पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुईरतीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउनसके पर्यटकको बसाईं लम्याउने योजनासहित पोखराका पर्यटन व्यवसायीहरूले पोखराका पर्यटकलाई बागलुङको बलेवा र भकुण्डे ल्याउनका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालेका छन् । नेपाल एशोसिएसन अफ ‘टुर एण्ड ट्राभल एजेण्ट्स’ (नाट्टा) गण्डकी प्रदेश तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यटन व्यवसायी बागलुङको बलेवा र भुकण्डेको प्रवद्र्धनमा जुटेका हुन् । पोखरामा आएका पर्यटकको बसाईं लम्ब्याउनका लागि खोज्ने वैकल्पिक पर्यटकीय गन्तव्य बागलुङको भैरवस्थान र भकुण्डे बनाउनका लागि गन्तव्य पहिचान र प्रवद्र्धनमा पोखराका पर्यटन व्यवसायी जुटेका हुन् । नाट्टामा आबद्ध होटल व्यवसायी, यातायात व्यवसायीलगायतका पर्यटनसँग सम्बन्धित व्यवसायीले पोखरा आएका पर्यटकलाई थप समय भुलाउनका लागि वैकल्पिक गन्तव्य खोज्ने क्रममा बागलुङको भैरवस्थान हुँदै भकुण्डे एउटा विकल्प हुने गरी प्रचारप्रसार र प्रवद्र्धनमा जुटेका हुन् । पोखरा आएका पर्यटक केही घण्टामै वैकल्पिक गन्तव्यमा पुग्नेगरी नयाँ गन्तव्य तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुट्दै आएको नाट्टाले यसपटक पोखरा आएका पर्यटकलाई पर्वत र बागलुङ जोड्ने बञ्जी पुल, बलेवा विमानस्थल क्षेत्र, भैरवस्थान मन्दिर, भकुण्डे घरबास, बराह ताल हुँदै बागलुङ बजार ल्याएर पञ्चकोट पुर्याउने योजनाका साथ पर्यटन व्यवसायीहरूलाई त्यस क्षेत्रको भ्रमणमा ल्याएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । “पोखराबाट नजिकका गन्तव्यमा पर्यटक पुर्याउन सके पोखराको मात्र नभई त्यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने हाम्रो उद्देश्य हो, पोखरा बसाईंका लागि आएका पर्यटकलाई थप दुई दिन लम्ब्याउन वैकल्पिक गन्तव्य आवश्यक हुन्छ, त्यसैले नाट्टाले समय समयमा नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्दै आएको छ”, अधिकारीले भन्नुभयो, “पोखरा आएका पर्यटक छोटो समयमै पर्वतको कुस्मा र बागलुङको बञ्जीजम्प हुँदै भैरवस्थान दर्शन गरेर भकुण्डे बसेर बागलुङको पञ्चकोट आउन सक्छन्, त्यसैले त्यस क्षेत्रको प्रवद्र्धन र अवलोकनका लागि नाट्टामा आबद्ध पर्यटन व्यवसायी र पर्यटन मन्त्रालयका कर्मचारी भैरवस्थान, भकुण्डे हुँदै बागलुङ बजार अवलोनका लागि आएका हौँ ।” पोखरापछि थप दुई दिन बिताउन कुस्मा, भैरवस्थान हुँदै भकुण्डे गज्जबको गन्तव्य बन्ने अधिकारीको भनाइ छ । पछिल्लो समय कुस्माको बञ्जी पुल अवलोनका लागि आउने पर्यटकलाई समेत बागलुङको भकुण्डेमा एक रात बिताउनका लागि आकर्षित गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । पोखरा आएका पर्यटकलाई बागलुङ पठाउँदा पोखराको पर्यटन व्यवसायमा समेत अप्रत्यक्ष फाइदा पुग्ने भएपछि व्यवसायी आफ्नै सक्रियतामा नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनमा जुटेका हुन् । आफैँ नपुगेको र नबसेको स्थानमा पर्यटकलाई जाउ भन्न समस्या हुने र पर्यटकले नयाँ गन्तव्य भनेजस्तो नभएपछि पोखराकै पर्यटन व्यवसायमा समस्या पर्ने भएपछि नाट्टामा आबद्ध पोखराका पर्यटन व्यवसायी आफैँ भैरवस्थान दर्शन, भकुण्डे घरबास हुँदै बागलुङ बजार आएका हुन् । भैरवस्थान र भकुण्डेको भ्रमणमा सहभागी पर्यटन व्यवसायीले पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डेलाई एक दिन वा दुई दिनको भ्रमणका लागि पर्यटक पठाउन समस्या नरहेको बताएका छन् । भकुण्डे घरबासको अर्गानिक खाना, आरामदायी बसाई, प्राकृतिक बातावरण र हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । भ्रमणमा सहभागी नाट्टा गण्डकीका द्वत्तिय उपाध्यक्ष तथा भ्रमण समूहका संयोजक कमला गिरीले भैरवस्थान र भकुण्डेमा पर्यटक रमाएर दुई दिनसम्म बिताउनसक्ने बताउनुभयो । भैरवस्थान र भकुण्डेलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाएर पर्यटक पठाउन पोखराका पर्यटन व्यवसायी लालयीत भएका छन् । उनीहरूले पदमार्ग र सवारीसाधन दुवै तरिकाले यहाँ पर्यटक आउने सम्भावना रहेको बताएका छन् । उनीहरूले पर्यटकीय गन्तव्य र घरबासको आतिथ्यता र व्यवस्थापन निकै राम्रो भए पनि सडकलाई भने केही सुधार गर्न आवश्यक रहेको बताएका छन् । घरबासमा पहुँनाका लागि खानाका लागि आलु, मकै, कोदो, साग भकुण्डेमै उत्पादन भएका कारण अर्गानिक परिकार, घरबास व्यवस्थापन, भ्यू–टावर, प्राकृतिक संरचना लगायतले पर्यटक आकर्षित गरिरहेको र सिजन याममा यहाँको घरबासमा पर्यटकले खाली नहुने भकुण्डेस्थित अतिथि सत्कार घरबासका अध्यक्ष खिम थापाले बताउनुभयो । पर्यटकीय सम्भावना रहेका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न तथा घरबास प्रवद्र्धनलाई गण्डकी प्रदेश सरकारले सदैव सहयोग गरिरहेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।
यो समाचार रुपन्देहीको मर्चवारी गाउँपालिकाको हो । पालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको मृत्यु भएको भन्दै अध्यक्ष गया प्रसाद बरईले एक सूचना जारी गर्दै बिदा घोषणा गरेका हुन् । सूचना अनुसार आज गाउँपालिका क्षेत्रमा रहेका वडा कार्यालय, निजी तथा सामुदायिक विद्यालय र अन्य संघसंस्थामासमेत बिदा दिइएको छ ।
पोखराः आफ्नो थातथलोबाट नेपालीभाषी लखेटिएपछि उनीहरुकै ताँतीमा मिसिएर झापाको बेलडाँगी आइपुगेका भुटानी डाक्टर भम्पा राईको आज बिहान पौने ३ बजे विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ । डाक्टर भम्पा ३० वर्षयता दमकमा बस्दै आएका थिए । नेपाल आएपछि भम्पा शरणार्थीहरुलाई देश फर्काउने आन्दोलनमा निरन्तर सक्रिय थिए । दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए। भुटानको साम्चीमा जन्मे–हुर्केका र भुटानी राजपरिवारमा निकटको सम्बन्ध रहेका ७२ वर्षीय राईले सन् १९९१ को मेदेखि झापा जिल्लामा बसोबास थालेका हुन् । नेपाल फिर्तीको आन्दोलनका २ खम्बामध्ये एक टेकनाथ रिजालपछि अर्का यिनै भम्पा थिए । राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।

