पर्सा : बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । ट्रकमा रहेका सामानको रु ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ख ९६७५ नंको ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
बुटवल: पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो । शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले बताएको हो । यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।
स्याङ्जा : रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् । लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताउनुभयो । “रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो”, उहाँले भन्नुभयो, “सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।” धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो । डिपोले यहाँ आएको मल सूचिकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उहाँले बताउनुभयो । कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । “धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ”, उहाँले भन्नुभयो, “केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।” स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।
काठमाडौँ: चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गत महिनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ । अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उहाँले भन्नुभयो, “यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ््नसक्छ ।” गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताउनुभयो । चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गत वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो । चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताउनुभयो । पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ । अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भन्नुभयो, “व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।” सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो । अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताउनुभयो । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उहाँले भन्नुभयो, “यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।” अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताउनुभयो । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्काे वर्षका लागि धकेलिन सक्ने उहाँको भनाइ थियो । समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताउनुभयो । मदन भण्डारी राजमार्गमा चालु आवमा रु दुई अर्ब विनियोजन भएकामा हालसम्म रु साढे तीन अर्ब खर्च भइसकेको छ । सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गत वर्षहरुमा जस्तै धेरै खर्च भएको उहाँले जानकारी दिनुभयो । मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरुपमा कम खर्च भएको छ । चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शिर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताउनुभएको थियो । सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उहाँले त्यसबखत जानकारी दिनुभएको थियो। चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियोे भने ९५ किमी मर्मत भएको थियो । हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी ६ गतेदेखि १२ गतेसम्म पोखरामा लागुऔषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरिने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले उक्त अभियानको मुख्य अभियन्ताको रुपमा र्यापर आशिष राना लाहुरे रहेको बताए । उनका अनुसार मुख्य कार्यक्रम ६ गते पोखरा सभागृहमा आयोजना हुनेछ । उक्त कार्यक्रममा र्यापर लाहुरेले प्रस्तुतीसँगै आफ्ना अनुभूती सुनाउनेछन् । एसपी थापाले लाहुरेको संलग्नता रहेको उक्त सचेतना कार्यक्रम नेपालमै पहिलोपटक आयोजना हुन लागेको दाबी गरे । कास्की प्रहरीले विगत देखि नै लागुऔषध विरुद्ध कार्यक्रम आयोजना गर्दै आएको बताउदै आगामी साता हुने उक्त कार्यक्रमले लागुऔषध नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए । लाहुरे भन्छन्, ‘आई डेयर, नो ड्रग्स’ लागुऔषध प्रयोग गर्दै आएका चर्चित र्यापर तथा कलाकार आशिष राना लाहुरेले कास्की प्रहरीको हिरासतमा ५६ दिन बिताए । त्यही समयमै उनले प्रण गरे र भने ‘आई डेयर, नो ड्रग्स’ । अहिले थुनामुक्त भएपछि कास्की प्रहरीको आयोजना र रिकभरी नेपालको सहयोगमा कार्यक्रम आयोजना गर्ने तालिका बन्यो । उक्त कार्यक्रमको अभियन्ता लाहुरे बनेका छन् । उनले पत्रकारहरुसमक्ष बोल्दै हिरासतकै समयमा कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले उनलाई कुलतबाट टाढा रहनुपर्ने भन्दै प्रेरित गरेको उनले बताए । ‘म यही कस्टडीमै हुदाँ खेरिपनि सरहरुको आएर बेलाबेलामा मटिभेसन दिनुहुन्थ्यो । मैले त्यो पोजेटिभिटी पाएर नै म पोजेटिभ भएर निस्केको हो, उनले भने, ‘म भित्र ५६ दिन बसे । त्यही समयमा सरहरुले भविष्यमा यसरी जानुपर्छ एज अ तिमी युवाहरुको भ्वाइस भएको हिसाबले त्यसो गर्दा समाजमा राम्रो रिजल्ट आउँछ भन्ने कारणले नै यो कार्यक्रममा भाग लिगेको हुँ ।’ र्यापर रानाले अब लागुऔषध प्रयोगकर्तालाई कुलतमुक्त बनाउने अभियानमा निरन्तर लाग्ने बताउदै आफ्नो नयाँ जीवनको सुरुवात भएको बताए । ‘यही नै मेरो नयाँ जीवनको सुरुवात हो । एक दिनमा एउटा राम्रो काम गर्दै जाऔं, उनले भने, ‘हाडवर्क र डेडिकेसन चाँही हुनुपर्छ । कामको मेहनत र फलहरु अनुसार दिन राम्रो हुदै जान्छ ।’ जन्मदिनमा लाहुरेको ‘बिरामी’को टिजर सार्वजनिक हुने चर्चित र्यापर तथा कलाकार आशिष राना लाहुरेले आफ्नो जन्मोत्वसको अवसरमा नयां गीत ‘बिरामी’ को टिजर सार्वजनिक गर्ने बताए । उनका अनुसार आगामी ११ गते नयाँ गीतको प्रोमो युट्युबमार्फत सार्वजनिक हुनेछ । सो गीतमा लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धि सन्देश र आफ्नो जीवनको अनुभूती समावेश गरिएको बताए ।
काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपिपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने बताउनुभएको हो । मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उहाँले स्पष्ट पार्नुभएको छ । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गर्नुभयो । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उहाँले बताउनुभयो । नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उहाँले बैठकमा भन्नुभयो । सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको उहाँले सांसदहरुसँग भन्नुभयो ।।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्। अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ। अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको अडियोमासमेत पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको सुनिन्छ। आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गालीगलौच र दुर्व्यवहार गरेको पर्यटन मन्त्रालय स्रोतलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले खबर लेखेको छ।मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्कीसमेत दिएका छन्।यसअघि टेलिफोनमा समेत मन्त्री आलेले अधिकारीलाई अश्लिल गाली गर्दै धम्की दिएका थिए।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौं तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।” एमसिसी र एसपिपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उहाँले आरोप लगाउनुभयो । अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले तत्काल गठबन्धन हेरफेर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उहाँले अहिले पार्टीमा त्यस्तो नभएको बताउनुभयो ।
रोल्पा: एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

