गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शोक परेको छ । उहाँका पिता रामराज पहारीको ७६ वर्षको उमेरमा निधन भएको हो । पर्यटन व्यवसायमा लामो समयदेखि आबद्ध रहेका पहारी राजनीति र समाजसेवामा सकृय थिए । केहीअघि हृदयघात भएपछि विरामी परेका पहारीको अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेको थियो । उहाँको पोखराको लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएको हो । स्वर्गीय पहारीका २ श्रीमती, ३ छोरा र १ छोरी छन् । उनको पार्थिव शरिरलाई शान्तिघाटमा दाहसंस्कार गरिनेछ ।
बैतडी : बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बाँकी रहेका दनपा र दोगडा दुई पालिकालाई पनि एक–दुई दिनभित्रै पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारीदिनुभयो । पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्यचौकीबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारिस गर्ने गर्दछ । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ । पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणीकरणसहितको सिफारिस गर्दछ । यसपछि पालिकाले गरेको पूर्णखोप सुनिश्चिततालाई प्रमाणीकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिन्छ । सबै पालिका पूर्णखोप सुनिश्चितता भए पनि यही असार ६ गते बैतडीलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी छ । बैतडी जिल्ला विसं २०७२ असार ६ मै पूर्णखोपयुक्त जिल्ला घोषणा भइसकेको र त्यसपछि हरेक वर्ष पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
पोखरा : नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोल्नुभएको थियो । कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।
पोखरा : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , पृथ्वीनारायण क्याम्पस इकाई समितीले आफ्नो एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन् गरेको छ । पृथ्वी नारायण क्याम्पसमा भएको सो कार्यक्रम वर्तमान समयमा राष्ट्रको लागि युवाको भूमिका भन्ने मूल विषयका साथ भएको थियो । कार्यक्रममा युवाहरुको भुमिकालाई समेट्दै राष्ट्र निमार्णमा रहने भुमिकाहरु समेटिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पृथ्वीनारायण क्याम्पसका उप प्रध्यापक शोभाकान्त गौतमले आफ्नो भनाई राख्नुहुदै भने , ‘ राष्ट्र निर्माणका लागि युवाको भूमिका एकदमै महत्वपूर्ण रहन्छ , युवानै वर्तमान र भविष्य दुवै हो ।’ गौतमले युवाको परिचय जोड्दै पूरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष ) हरेक मानिसमा हुनू पर्ने बताए । साथै परिषद् नेपाल गण्डकी प्रदेश उपाध्यक्ष दिपक रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिए । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अर्की राष्ट्रिय सह छात्रा प्रमुख सृष्टि जोशीले वर्तमान समयमा विश्वविद्यालयमा भइरहेको दलगत राजनीति यसको प्रभाव र यसको नियन्त्रण सम्बन्धि प्रस्टाउदैँ राष्ट्रिय स्थरमा विद्यार्थी परिषद् को भुमिकालाई दर्शाए । ५० जना कार्यकर्ताहरुको सहभागितामा भएका यस कार्यक्रममा २५ जनाको नयाँ क्याम्पस इकाई समिति गठन भयो । कार्यक्रम सञ्चालन पीएन क्याम्पस इकाई समिति नवगठित सचिव आशा माया मगरले गरेका थिए ।
काठमाडौं : काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् । ललितपुर गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए साथै फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । कोभिड (१९ महामारी) ले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
पोखरा : गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्ष देखी सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगाएतका तालिमहरु समेत संचालन गरेको हो । पोखरा ५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए । भने कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा न ५, का नव( निर्वाचित वडा अध्यक्ष श्री बिष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगार संग जोड्न अनुरोध गर्दै वडा कार्यालयले रचनात्मक कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए । २०७९ ०२ २३ गते देखि सुरु गरिएको तालिममा २० जना सहभागी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वागत टोल आमा समुहका अध्यक्ष श्रीमति मधु थापाले गर्नुभएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक धनमाया श्रेष्ठले गर्नु भएको थियो । मापन कार्यक्रमको उद्घोषण श्री सन्तोष शर्माले गर्नु भएको थियो ।
पोखरा : पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएको आयोजकले जनाएको छ । पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भएको आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मल्ले २ घण्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा निर्धारित ४५ किलोमिटर दुरी पार गरे । महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भए । मगरले ३ घण्टा ३३ मिनेट ७ सेकेण्ड र तामाङले ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा ४५ किलोमिटर पुरा गरेका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवद्र्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतिक भएको उनले बताए । ‘देशमा सबै कुरा विभाजित छन् । तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ मेयर आचार्यले भने, ‘खेलकुद प्रवद्र्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ ।’ महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलोपटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र निरन्तरता दिने बताए । पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवद्र्धनमा जोड दिने उनको भनाइ थियो ।
पोखरा: पोखरामा आज (शनिबार) देखि सुरु भएको छैटौं हेमजा गोल्डकपको उद्घाटन खेलमा जित निकाल्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा पोखरा महानगरपालिका २५ हेम्जास्थित गौरी शंकर खेल मैदानमा आज भएको उदघाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजक टोली हेमजाको जितमा सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । भने वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट हेमजा युनाइटेडका सुमन अर्याल म्यान अफ द म्याचबाट पुरस्कृत भए । खेलको ११ औं मिनेटमै सुमन अर्यालले गोल गर्दै आयोजक टोलीले अग्रता दिलाए । हेमजाले दबदबा राखेको खेलको ३६ औं मिनेटमा कमल थापामगरको गोलले अग्रताले दोब्बर बनायो । दोस्रो हाफको तेस्रो मिनेटमै सुमन अर्यालले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे र टिमलाई ३–० को अन्तर बनाइदिए । ३ गोलले पछि परेको वीरगञ्जका लागि ८८ औं मिनेटमा कृप चौधरीले सान्त्वना गोल फर्काएका थिए । अब हेमजा युनाइटेडले सेमिफाईनलमा खुमलटार एफसी र बाग्मती एफसी बिचको विजेता टोलीसँग आगामी ८ गते खेल्नेछ । असार ११ गतेसम्म सञ्चालन हुने ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । सो अवसरमा बोल्दै हेमजामा खेल पुर्वाधार विकासका लागि आवश्यक पहल गर्ने धारणा राखे । पोखरामा रगंशाला भन्दा बाहिरपनि ठुला प्रतियोगिता सम्भव भएको सन्देश शुभकामना गोल्डकपले दिएको बताउदै गोल्डकपलाई निरन्तरता दिन समेत आग्रह गरे । आगामी दिनमा उक्त प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानका निम्ति महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उक्त प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोर्ट्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेम्जा युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले सञ्चालन गर्दै आएको फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
बैतडी : बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता छ । विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । नयाँ शैक्षिकसत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।” स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।” बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।

