पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

पोखरा :      गण्डकी प्रदेश सरकारले आउँदो आवको बजेट तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिएको छ ।    बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनीयोजन गरिएको हो । भौतिक पूर्वाधारदेखि सूचना प्रविधि उद्यान सम्मका आयोजना समेटिएका छन् । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको गण्डकी विश्वविद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि रु २४ करोड विनीयोजन गरिएको छ ।   उक्त बजेटमा विश्वविद्यालयको स्वायत्तता कायम हुने गरी एकमुष्ट अनुदानको रुपमा प्रदान गरिने जनाइएको छ । पोखरा महानगरपालिका–३२ ज्ञानकुञ्जमा उक्त विश्वविद्यालयको शैक्षिक भवन निर्माणाधीन अवस्थामा छ । आफ्नै संरचना नहुँदा अहिले विश्वविद्यालय समस्यामा छ ।   यस्तै प्रदेश राजधानी पोखरामा बन्न लागेको सूचना प्रविधि उद्यानको विस्तृत परियोजना प्रतिवेदन तयार पारी भौतिक पूर्वाधार निर्माण गर्न रु तीन करोड ७० लाख बजेट विनीयोजन गरिएको छ । प्रदेश सरकारले गत फागुनमा नै उक्त उद्यानको शिलान्यास गरी काम अगाडि बढाएको छ । पोखरा महानगरपालिका–१८ मा बन्ने उद्यानमा सबैको सहज पहुँच हुने उल्लेख छ । प्रविधिसँगै नवप्रवर्तन, र अध्ययन–अनुसन्धानमा उक्त उद्यानले टेवा पु¥याउने छ ।   गण्डकी प्रदेशलाई प्रविधिमय बनाउने र अन्तर्राष्ट्रिय जगत्सँग जोड्न ‘आइटी पार्क’ निर्माण गर्न लागिएको हो । ९६ रोपनी जग्गामा सो उद्यान बन्नेछ । बजेट वक्तक्यका क्रममा अर्थमन्त्री बरालले कास्कीको पुँडिटार र नवलपुरको लोकाहाखोलामा प्रादेशिक औद्योगिक क्षेत्र र ‘एक स्थानीय तह, एक उद्योग ग्राम’ स्थापनाका लागि रु एक करोड बजेट विनीयोजन गरेको उल्लेख गर्नुभयो ।    गौरवको आयोजनाका रुपमा रहेको औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले यसअघि देखि नै बजेट व्यवस्था गरे पनि जग्गा अभावका कारण कामले गति लिन सकेको छैन । कतिपय जिल्लाका स्थानीय तहमा ‘उद्योग ग्राम’ निर्माणको काम सुरु भएपनि प्रगति न्यून देखिएको छ ।   प्रदेश सरकारले गण्डकीको अर्को महत्वपूर्ण आयोजनाका रुपमा रहेको धौवादी फलाम खानी सञ्चालनका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ । सङ्घ सरकारसँगको साझेदारीमा उक्त फलामखानी सञ्चालनमा ल्याइने बजेट÷कार्यक्रममा उल्लेख छ ।   नेपाल सरकारले नवलपुरको धौवादीमा रहेको खानीबाट फलाम उत्खनन गर्न धौवादी फलाम कम्पनी लिमिटेड गठनसमेत गरिसकेको छ । हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडामा फलाम खानी भेटिएपछि सङ्घ र प्रदेश सरकारले फलाम खानी सञ्चालनको प्रक्रिया अगाडि बढाएको हो ।   यस्तै आउँदो वर्षभित्रमा ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य पूरा गर्न लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने र ग्रीड नपुगेका ठाउँमा सौर्य तथा वैकल्पिक उर्जामार्फत् विद्युत सेवा पुर्याइने छ । जलविद्युत्मा रु ३५ करोडको वित्तीय लगानी गरिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको लगानी साझेदारीमा जलाशययुक्त बूढीगण्डकी र उत्तरगङ्गा जलविद्युत् आयोजना यथासक्य निर्माण गर्न पहल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल सरकारले आफ्नै लगानीमा बनाउने घोषणा गरिसकेको छ । एक हजार २०० मेगावाट क्षमताको  उक्त आयोजना लामो समयदेखि बन्न सकिरहेको थिएन । उत्तरगङ्गा जलविद्युत् आयोजना पनि लामो समयदेखि अन्यौलमा छ । बागलुङको ढोरपाटन क्षेत्रमा बन्ने उक्त आयोजना निर्माणमा सरकारी घोषणा आएको वर्षौं बिते पनि काम अगाडि बढ्न सकेको छैन । कूल ८२८ मेगावाट क्षमताको उक्त आयोजनामा रु एक खर्ब ७० अर्ब खर्च लाग्ने अनुमान छ ।   प्रदेश गौरवका सडक, ‘एक निर्वाचन क्षेत्र, एक सडक’, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, प्रादेशिक सडकल तथा पूल पूर्वाधारका लागि रु दश अर्ब बजेट विनीयोजन गरिएको छ । आगामी वर्षमा प्रदेशभित्रको २०६ किमि सडक कालोपत्र, २० सडक पुल र १५  झोलुङ्गे पुल बन्ने जनाइएको छ । सडक जोडिन बाँकी गोरखाको चुमनुब्री गाउँपालिका र मुनाङको नार्पाभूमि गाउँपालिकाका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ ।   कोरला र त्रिवेणी नाकामा सीमा सुरक्षालाई चुस्त र मजबुत पार्न पूर्वाधार बनाइने भएको छ । गोरखाको आरुघाट हुँदै तिब्बत जोड्ने रुइला नाकासम्मको सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । सङ्घीय सरकारसँगको सहकार्यमा उत्तर–दक्षिण दु्रतमार्ग अन्तर्गत भिमाद–त्रिवेणी खण्ड र शालिग्राम करिडोरलाई पनि बजेट विनियोजन गरिएको छ । स्थानीय तहसँगको साझेदारीमा सडक पूर्वाधार बनाउन रु ५० करोड बजेट छुट्टाइएको छ ।     पोखरामा अत्याधुनिक सम्मेलन केन्द्र बनाउने योजना पनि बजेट÷कार्यक्रममा समावेश छ । पोखरा रङ्गशालाको स्तरोन्नतिसँगै प्रदेशभित्र खेल पूर्वाधारका लागि रु १५ करोड विनियोजन गरिएको छ । प्रदेश तथा स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि रु २२ करोड बजेट विनीयोजन गरिएको छ । प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पु¥याउन रु दुई अर्ब १५ करोड बजेट छुट्टाइएको बजेट वक्तव्यमा उल्लेख छ ।   स्थानीय तह र उपभोक्तासँगको सहकार्यमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकारले ‘लिफ्टिङ’ खानेपानी आयोजनामा लाग्ने विद्युत् महसुल पुरै छुट दिने घोषणा गरेको छ । त्यसका लागि रु पाँच करोड बजेट छुट्टाइएको छ ।    सिँचाइ आयोजनाको निरन्तरता र नयाँ निर्माणका लागि रु एक अर्ब ४५ बजेट विनीयोजन गरिएको छ । ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’मार्फत सामुदायिक क्याम्पसका प्राविधिक शिक्षा र सामुदायिक विद्यालयमा प्रविधिको विस्तार एवं गुणस्तरका सुधारका लागि रु १० करोड बजेट विनीयोजन  गरिएको छ ।   यसअघि प्रदेश गौरवका आयोजनाका रुपमा रहेका गण्डकी प्राविधिक प्रतिष्ठान, बहुसांस्कृतिक ग्राम, गल्फ कोर्ष, अन्तर्राष्ट्रिय क्रकेट मैदान, प्रादेशिक आयुर्वेदिक अस्पताल, ‘हाइ अल्टिच्युड’ खेल तालिम केन्द्रलगायत भने बजेटमा समावेश छैनन् । प्रदेश सरकारले आउँदो आवका लागि कूल रु ३५ अर्ब, ९० करोड, ९० लाखको अनुमानित आय÷व्यय सार्वजनिक गरेको छ । चालुतर्फ रु १३ अर्ब, २६ करोड ८८ लाख ५४ हजार पुँजीगततर्फ रु २२ अर्ब, १४ करोड, एक लाख ४६ हजार रहेको छ । प्रस्तुत बजेट/कार्यक्रमले ठूला आयोजनाको कार्यान्वयनमा तीव्रता आउने अर्थमन्त्री बरालले विश्वास व्यक्त गर्नुभयो ।  

काठमाण्डौँ  :      हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ ।       अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       हाल प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।       राजधानी काठमाडौँको आकाश बिहान खुले पनि मध्यम बदली छ । आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव ६ तथा न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ ।    चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो । प्रदेश सभामा अर्थमन्त्री रामजी बरालले बजेट भाषण गरिरहेका छन् । 

चितवन :    वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।   चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।         अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।  

पोखरा महानगरपालिकामा दलीय गठबन्धनका उम्मेदवार भई विजय हात पारेका मेयर धनराज आचार्यलाई  अटेरी अभियानले आज चुनावी वाचा सम्झाएका छन् ।    निर्वाचनमा प्रतिद्वन्द्वी रहेको अटेरीले चुनावी वाचालाई बुँदागतरुपमै पेश गर्दै निर्धारित समयमै पुरा गर्न शुभकामनासमेत दिए । ‘यो सुझावमूलक मायाको चिनो हो’ अटेरीले भनेको छ ।     मेयर आचार्यले चुनावताका १ वर्षभित्र पुरा गर्ने कामलाई पौडेलले फेहरिस्त उतारेर दिएका हुन् । जसअनुसार पहिलो वाचा पुरा गर्ने डेटलाइन भदौ १२ गते हो । आचार्यले पदबहालीको १ महिनाभित्र महानगरमा ‘मुभलेस सेवा’ सुरु गर्ने बताएका थिए ।    यस सेवाअन्तरगत सेवाग्राहीलाई कोठा चाहर्न नपर्ने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख छ । अटेरी अभियान आगामी प्रदेश र संघको निर्वाचन तयारीमा समेत जुटेको छ ।   

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।    दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।  

काठमाण्डौँ :     नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो ।     जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।     विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको जनाएको छ । 

काठमाण्डौँ :       प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।        आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।    विसं २०७६ कात्तिक ६ गते साँझ  नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ । उहाँ आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आउनुभएको छ ।       सांसद थापाले भन्नुभयो, “सडकमा न्यायको माग गर्दै निहारिका छ दिनदेखि  अनशन बस्दै आउनुभएको छ, बलात्कारपछि राज्यका सबै तहमा न्यायको भिख मागिरहनुभएको छ, तर सरकारको ध्यान पुग्न सकेको छैन, सो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।” अनशनरत निहारिका आफ्ना २१ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बस्नुभएको हो ।   जिल्ला अदालत धनुषाले उहाँमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ ।  सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।      

भोजपुर:      खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।      डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पुर्याउने गरेका छन् ।       वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।     स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।      केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताउनुभयो । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उहाँले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उहाँको भनाइ छ ।       एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन÷चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताउनुभयो । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।     वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न  ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘‘यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन । हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भन्नुभयो,‘‘सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’’     देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने  गरेको काठमाडौँमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताउनुभयो । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिनुभयो ।       यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’’       रामप्रसाद राई गाउँपालिका—१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिनुभयो । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ ।     किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन् । फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ ।     के हो वन लसुन :     नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ । तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको  फूलमा छ वटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबद्र्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ ।       शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ ।  वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् ।       भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ ।